बिहिबार, मंसिर १८, २०७७

स्वास्थ्य/जीवनशैली समाचार

के गरिब देशहरुले कोरोना भ्याक्सिन चाँडै पाउलान् ? 

1605724103.png

काठमाडौं-  जसै कोरोना भाइरसविरुद्धका भ्याक्सिनहरुको सफल परीक्षण भएका समाचार आइरहेका छन्, उसै गरी धनी देशहरुले ती भ्याक्सिनको अर्डर दिन सुरु गरेका छन्। कसैले त पहिल्यै करोडौं डोज भ्याक्सिन बुक गराइसकेका थिए। 

relifeinsurance

भ्याक्सिन संक्रमण र मृत्यु रोक्नमा सफल हुनसक्छ। तर, प्रश्न छ, नेपालजस्ता गरिब देशले त्यस्तो भ्याक्सिन कहिलेसम्म पाउलान?

कैयौं देशहरुमा कोरोना भ्याक्सिन बनाउने काम जारी छ। यीमध्ये एउटा भ्याक्सिन औषधि कम्पनी फाइजर र जर्मन स्टार्टअप बायोनटेकले बनाएको छ।

उनीहरुका अनुसार आगामी केही हप्तामा केही करोड डोज भ्याक्सिन बनाउन उनीहरु सफल हुनेछन्। अहिले नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृतिको पर्खाइ छन् उनीहरु। यो वर्ष (सन् २०२०) को अन्त्यसम्ममा भ्याक्सिनका ५ करोड खुराक र आगामी वर्ष (सन् २०२१) सम्मे १.३ अर्ब खुराक बनाइसक्ने फाइजरले जनाएको छ।

फाइजर र बायेनटेकले बनाएको यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। भ्याक्सिन लगाएका हजारौं स्वयम्सेवीमा भ्याक्सिनको कुनै नकारात्मक प्रभाव पाइएको छैन।

विशेषज्ञहरुले गरीब र विकासशील देशहरुले भ्याक्सिन प्राप्त गर्न धेरै अवरोधको सामना गर्नुपर्ने बताएका छन्। यस्तो अवस्थामा विश्व जनसंख्याको एउटा ठूलो भाग भ्याक्सिनबाट वञ्चित हुनुपर्ने अवस्था आउनसक्छ।

गरिब देशको चिन्ता

संक्रमणबाट बच्नका लागि एक व्यक्तिलाई यो भ्याक्सिनको दुई खुराक दिनु पर्नेछ, जसको मूल्य ४० अमेरिकी डलर पर्छ। धनी देशले करोडौं खुराकका लागि बयाना गरिसकेका छन्। तर गरिब देशसम्म भ्याक्सिन कसरी पुग्छ भन्ने बारे अझै स्पष्ट भइसकेको छैन। अक्सफोर्ड विश्वविद्यालयको मेडिसिन विभागका ट्रुडी लङ भन्छन्, ‘यदि हामीसँग फाइजरको मात्र भ्याक्सिन छ भने प्रत्येक व्यक्तिलाई यसको दुई खुराकको आवश्यकता पर्ने छ। यस्तोमा नैतिक रुपमा यो अप्ठ्यारो द्विविधा हुनेछ।’

नियामक निकायबाट स्वीकृति पाएका कुनै पनि भ्याक्सिनको वितरण समानरुपले होओस भन्ने सुनिश्चित गर्नका लागि गत अप्रिलमा विश्व स्वास्थ्य संगठनले कोभाक्स केन्द्र बनाएको थियो। यो केन्द्रले सरकार, वैज्ञानिक, सामाजिक संस्था र निजी क्षेत्रलाई एक साथ ल्याउँछ। फाइजर अझै यसमा समावेश भइसकेको छैन। कम्पनीका प्रवक्ताले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘संभावित आपूर्तिबारे हामीले आफ्नो चाहना कोभाक्सलाई सूचित गरिसकेका छौं।’

सेन्टर फर ग्लोबल डेभलपमेन्टमा नीति अनुसन्धानकर्ता रशेल सिल्वरमनका अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिन गरिब देशमा चाँडै पुग्ने सम्भावना देखिंदैन। फाइजरलाई पहिले बयाना बुझाइसकेका देशहरुको आधारमा उनले १.१ अर्ब खुराक सम्पूर्ण धनी देशमा जाने निश्चित भइसकेको बताउँछिन्। भन्छिन्, ‘त्यती भएपछि गरीब देशका लागि धेरै बाँकी रहँदैन।’

नैतिकता

जापान र बेलायतजस्ता देश जसले भ्याक्सिनका लागि पहिल्यै अर्डर दिइसकेका छन् उनीहरु कोभाक्स केन्द्रका सदस्य छन्। यस्तोमा उनीहरुले खरिद गरेका भ्याक्सिनमध्ये केही खुराक गरिब र विकासशीललाई दिनसक्ने संभावना छ। उता ६० करोड खुराकका लागि अर्डर बुक गरिसकेको अमेरिका कोभाक्स केन्द्रको सदस्य छैन। यद्यपि, जो बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरे भने परिस्थितिमा केही सुधार हुनसक्छ।

संयुक्त राष्ट्र संघको बाल कल्याण संस्था युनिसेफमा कोभिड– १९ भ्याक्सिनका संयोजक बेन्यामिन सबै देशले नयाँ भ्याक्सिन पाउनु जरुरी रहेको बताउँछन्। उनी भन्छन्, ‘हामी वास्तवमै यस्तो स्थितिबाट बच्नु पर्छ जहाँ सबै भ्याक्सिनमाथि धनी देशको मात्र कब्जा रहोस र गरिब देश यसबाट वञ्चित रहुन्।’

अरु पनि छन् दौडमा 

उसो त भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेको फाइजर र बायोनटेक मात्र होइनन्। अमेरिकी कम्पनी मडर्नाले पनि आफूले बनाएको भ्याक्सिन निकै सफल भएको घोषणा गरेको छ।

अन्य केही भ्याक्सिनको काम पनि अन्तिम चरणमा पुगेको छ। बेल्जियमको कम्पनी जानसेनले बनाउँदै गरेको भ्याक्सिनको अन्तिम चरणको अनुसन्धान बेलायतमा भइरहेको छ।

विश्वमै जनजीवन सामान्य बनाउनका लागि भ्याक्सिन अत्यन्त जरुरी छ। किनभने अझै पनि ठूलो जनसंख्यामा कोरोना भाइरस संक्रमणको खतरा छ। हालका लागि हामीले आफ्नो रहनसहन र बानीव्यहोरामा संयम कायम राख्नै पर्छ।

मडर्नाले आफ्नो भ्याक्सिनको परीक्षण अमेरिकामा मात्रै ३० हजार जनामा गरेको छ। उसका अनुसार यो भ्याक्सिन ९४.५ प्रतिशत सफल सावित भएको छ।

बेलायतको औषधि कम्पनी एस्ट्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले अर्को भ्याक्सिन बनाइरहेका छन्। यसको परीक्षणको अन्तिम नतिजा आगामी केही हप्ताभित्रै आइसक्ने छ।

यसबीच रुसले बनाएको स्पुतनिक भी भ्याक्सिन परीक्षणका तथ्यांकहरु पनि सार्वजनिक गरिएका छन् र ती उत्साहवर्धक छन्। 

केही अरु भ्याक्सिन पनि परीक्षणको अन्तिम चरणमा छन्। यीमध्ये चीनमा वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस र साइनो फर्मा, र रुसको गेमालेया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलजी एन्ड माइक्रोबाइलोजी पनि सामेल छन्।
 

प्रतिक्रिया दिनुहोस्