नवजात र पाँच वर्ष उमेरसम्मका बालबालिकाको स्वास्थ्यमा महामारीको सीधा असर कम भए पनि यसबाट उत्पन्न हुने अन्य गम्भीर असरबाट उनीहरू बच्न सक्ने छैनन्।
हामी कोभिड– १९ वैश्विक महामारीको दसौं महिनामा पुगेका छौं। तर, अहिलेसम्म यसले मानव जीवनमा पार्ने तमाम असरबारे सबै जानकारी पाइएको छैन।
यो अभूतपूर्व संंकटले हाम्रो जीवनका सबै आयामलाई छोइसकेको छ। त्यसैले असरका केही संकेत भने देखिइसकेका छन्। यही भाइरसका कारण हामी अनिश्चित भविष्यको यात्रातर्फ लम्किएका छौं। यहाँनिर एउटा प्रश्न उब्जिन्छ– यो महामारी जारी छँदा जन्मिएको पुस्ताले यो अवधिलाई कसरी सम्झिएला?
महामारीको पुस्ताले एउटा नयाँ संंसारमा जन्म लिएको छ जुन यसअघिको कुनै पनि समयभन्दा अधिक सम्पन्न र स्वस्थ छ। त्यसैले हालै जन्मिएको पुस्ताको सम्झनामा महामारीका घाउ हुने छैनन्। तर उनीहरूले लामो समयसम्म यसको असर भोग्नुपर्नेछ।
हामीले सन् १९१८–२० को स्पेनिस फ्लू महामारीबारे पुस्तकमा पढेर थाहा पाएका हौं। प्रश्न उठ्छ, अहिलेको पुस्ताले पनि इतिहासका पुस्तकबाटै महामारीबारे थाहा पाउला?
यो प्रश्नको उत्तर दिनुअघि इतिहासका केही घटना चिहाउनुपर्छ।
वैज्ञानिक र शोधकर्ताका अनुसार सन् १९१८ मा जन्मिएका बालबालिकाले कम शिक्षा प्राप्त गरे र गरिब पनि भए।
यस्तै सन् २००८ को आर्थिक मन्दीको चपेटामा परेका देशका गर्भवती आमाले कम तौल भएका शिशु जन्माए।
सन् १९९८ मा समुद्री तुफान अल निनोले इक्वेडरमा विनाशकारी बाढी ल्यायोे। त्यति बेला जन्मिएका शिशुको तौल कम थियो। बाल विकासको समस्या पाँचदेखि सात वर्षसम्म रह्यो।
त्यसैले माथिको प्रश्न अलिक गम्भीर छ। महामारीमा जन्मिएको पुस्ताको स्थिति पुरानो पुस्ताको भन्दा भिन्न नहुने प्रारम्भिक संकेत देखिएका छन्। जब कि हरेक पुस्ता पुरानोभन्दा अधिक विकसित, सीपयुक्त र स्वस्थ्य हुनु सामान्य नियम हो।
विश्व बैंंकले तयार पारेको वैश्विक ह्युमन क्यापिटल इन्डेक्स (एचसीआई) अनुसार महामारीको पुस्तामा यसको सबैभन्दा नकारात्मक असर पर्नेछ।
सन् २०४० सम्म वयस्क हुने यो पुस्ता अविकसित (स्टन्टेड) हुनेछ र ह्युमन क्यापिटलको मामिलामा पछि पर्नेछ। विश्वका लागि यो विकासको सबैभन्दा कठिन चुनौती बन्ने सम्भावना पनि छ।
एचसीआईमा त्यो मानव पुँजी नापिन्छ जुन आज जन्मिने बच्चाले जन्मिएको १८ औं वर्षमा प्राप्त गर्ने अपेक्षा राख्छ। यसमा स्वास्थ्य र शैक्षिक योग्यता सामेल हुन्छ।
कोभिड– १९ ले पुराना महामारीले जस्तै गर्भवती आमा र बालबालिकाको स्वास्थ्यमा मात्रै प्रभाव पार्ने होइन, गर्भमा हुर्किरहेका शिशुसहित यो पुस्तालाई लामो समयसम्म सताइरहनेछ।
यी बालबालिकाको स्वास्थ्य, भोजन र शिक्षामा परिवारले अधिक खर्च गर्न नसक्दा यस्तो समस्या आउने भएको हो। यो महामारीले विशेष गरी गरिब परिवारमा शिशु मृत्यु दर बढ्ने र बाँचेकाहरू अविकसित हुने सम्भावना धेरै छ।
यसबाहेक लाखौंं बालबालिका र गर्भवती महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनेछन्।
एचसीआईका अनुसार कम र मध्यम आय भएका ११८ देशमा शिशु मृत्युदर ४५ प्रतिशतसम्म बढ्न सक्छ।
विश्लेषण भन्छ– कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा शिशु मृत्यु दरमा ४.५ प्रतिशतले कमी आउँछ। अहिले महामारीका कारण अधिकांश देशको कुला गार्हस्थ उत्पादनमा ठूलो नोक्सान भइरहेको छ। यसबाट पनि शिशु मृत्यु दरको अवस्थाबारे अनुमान गर्न सकिन्छ।
यस बेला विश्वले कुपोषण र गरिबी हटाउन गम्भीर प्रयास गर्नु जरुरी छ। नयाँ इन्डेक्स भन्छ– महामारी एउटा अस्थायी झट्का भए पनि नयाँ पुस्ताका बालबालिकामा यसको असर गम्भीर हुनेछ।