बुधबार, मंसिर १०, २०७७

विशेष समाचार
1605234251.jpg
पाेखराकाे फेवाताल छेउको पामेफाँटमा लगाइएको जेठोबुढो धान। तस्बिर सौजन्य : मनहर कडरिया

जेठोबुढोका सामुन्ने बासमती पनि बाउन्ने हुन्छ। यद्यपि बासमतीको प्याटेन्ट राइट भारतले नेपालबाटै चोरेको भन्ने छ। अब जेठोबुढो कसरी जोगाउने भन्ने चिन्ता छँदै छ। 

पोखरा-  माछापुच्छ्रे हिमाल, फेवाताल लगायतका प्राकृतिक सम्पदा मात्रै होइन, पर्यटक आकर्षित गर्ने अनेक सामग्री छन् पोखरामा।

सबैलाई लोभ्याउने खाद्यान्नमध्ये एक हो जेठोबुढो चामलको थकाली भात। जेठोबुढो धान यस्तो प्रजाति हो, जुन अन्त खासै फल्दैन। 

६ सयदेखि ९ सय मिटरको हावापानीमा फल्ने धानको चामलबाट पाक्ने भात निकै बास्नादार हुन्छ र मिठो पनि। पोखराका रैथानेकहाँ यसैको भात पाक्छ। 

जेठोबुढो नभई पोखरेलीका चाडपर्व खल्लो हुन्छ, पाहुनापाछाको सत्कार हुँदैन। 

बासमती चामलको जति धक्कु लगाए पनि जेठोबुढोका सामुन्ने त्यो बासमती बाउन्ने हुन्छ। यद्यपि बासमतीको प्याटेन्ट राइट भारतले नेपालबाटै चोरेको भन्ने छ। यसमा मुलुक कमजोर हुनुको फाइदा उसले उठाएको हुन सक्छ। 

जेठोबुढो धानको महत्त्व झन्झन् पछिल्ला वर्ष बढेको छ। जसरी हाम्रा हिमाल र तालहरुको मूल्य हामीले पछिपछि आएर बुझ्यौं, त्यस्तै भएको छ, हाम्रो यो प्राकृतिक अर्काे सम्पत्तिका बारेमा पनि। महत्त्व जति बढेको छ, यसको अस्तित्व भने झन्झन् खतरामा परेको छ। 

जेठोबुढो धान झुल्ने पोखराका कुँडहर, बिरुवा, पामे लगायतका फाँट घरैघरै भरिन थालेका छन्। छेउकुनाका फाँट अझै चोखा छन् र त्यहाँ जेठोबुढो धान झुल्न पाएको छ। यसैको महत्त्व बुझेर पोखरा महानगरपालिकाले यसको संरक्षणमा कदम चालेको छ। 

किसानलाई विकासे र हाइब्रिडको सट्टा रैथाने बाली जेठोबुढो धान रोप्न हौस्याएको छ। 

कम्तीमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबुढो धान खेती गर्ने किसानलाई आर्थिक सहयोग गरिसकेको छ महानगरले। उत्पादकत्व वृद्धिका आधारमा थपिँदै जाने गरी किसानलाई यस वर्ष पाँच लाख ६० हजार रुपैयाँ वितरण गरिसकेकोका मेयर मानबहादुर जीसीले बताए। 

एक त जेठोबुढो धान हाम्रो आफ्नै हो। पहिचानको सवालमा पनि हाम्रो शिर यसैले ठाडो राख्छ। हामीलाई जेठो बनाउँछ। 

अर्काे पछिल्लो समय विकासे र हाइब्रिड जातका बिउबिजनको उत्पादन गतिलो छैन। बिउ लाग्दैन। कीरा र रोग अनेकथरी लाग्छ।

जसरी हामी थुप्रै बालीका लागि बिउ किन्न भारत वा तेस्रो देश निर्भर हुने गरेका छौं, त्यसबाट हामी भोलि भोकमरीको सिकार बन्ने निश्चित छ। 

अरुले बिउ नदिए खेती गर्ने समस्या आउने गरी अघि बढ्नु भयंकर आत्मघाती काम भइरहेको बताउँछन् महानगरका कृषि तथा पशु स्वास्थ्य महाशाखा प्रमुख मनहर कडरिया। 

पोखरामा खेतीयोग्य जमिन घरैघर बनाएर सिध्याउन नदिने गरी पनि महानगरपालिकाले कदम चाल्नुपर्छ, चाहे त्यो निर्मम र कठोरै किन नहोस्। 

आखिर मानिसलाई पहिलो आवश्यकता बास होइन गास हो। बसोबासका लागि निश्चित ठाउँमा अग्ला भवन र अपार्टमेन्ट बनाउने र खेतलाई खेतै रहन दिने हो भने सहरलाई भोलिका दिनमा भोकमरीबाट पनि जोगाउन सकिन्छ। 

जेठोबुढोको भाउ तोकियो

पोखरेली जेठोबुढो धानको पहिलोपटक न्यूनतम समर्थन मूल्य तोकिएको छ। 

सरकारले केन्द्रीय स्तरमा बर्सेनि मध्यम र मोटा धानको मूल्य तोके पनि स्थानीयस्तरमा भने पहिलोपटक यस्तो प्रयास भएको हो। 

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार जेठोबुढो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार रुपैयाँ तोकिएको छ।  

स्थानीयस्तरमा क्विन्टलभन्दा पनि मुरीका आधारमा धान किनबेच हुन्छ। 

सामान्यतया एक क्विन्टलमा दुई मुरी हुने भएकाले किसानले एक मुरी धानको कम्तीमा चार हजार ५०० रुपैयाँ पाउनेछन्। 

प्रति एकाइ लागतका आधारमा यो मूल्य तोकिएको कडरियाले बताए। उनले भने, ‘यो न्यूनतम मूल्य हो। अर्थात् किन्ने र बेच्ने तयार भए भने यो भन्दा बढीमा पनि कारोबार हुन सक्छ।’ 

टाठाबाटा किसानले प्रतिमुरी पाँच हजारदेखि ५५ सयसम्म पनि पार्ने गरेका छन्। 

अहिले धानखेतीमा लागत बढ्दै गएकाले किसानलाई खासै फाइदा छैन। प्रतिमुरी उत्पादन लागत तीन हजार ८०० रुपैयाँसम्म परेको कडरियाले बताए। 

उनका अनुसार पोखराको पहिचानसँग जोडिएको र किसान नठगियून् भन्नकै लागि पहिलोपटक मूल्य तोकिएको हो। 

पोखरा महानगरगरले मेयर मानबहादुर जीसीको उपस्थितिमा यो मूल्य तोकेको हो। 

बैठकमा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि, गण्डकी प्रदेशको भन्दै व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कास्की, बिउबिजन प्रयोगशालाका प्रतिनिधि सहभागी थिए। 

महानगरको सहकारी विभाग प्रमुख जेठोबुढो धानको अनुुन्धान र बिउ सुधारमा काम गर्दै आएको जैविक विविधताका लागि स्थानीय पहल (लिबर्ड), तीन वटा सहकारी र कृषि सञ्जालका प्रतिनिधिको सहभागितामा धानको मूल्य तय गरिएको हो। 

महानगरले यस्ता उपजको बजार ग्यारेन्टी लिने र गुणस्तरको आधारमा ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने मेयर मानबहादुर जीसीले बताए। 

पोखरा र आसपासका मुख्य फाँटमा पोखरेली जेठोबुढो रोप्ने गरिएकोमा केही वषदेखि हाइब्रिड धान पनि भित्रिएकाले बास्नादार धान जोगाउन महानगरले लगानी समेत गर्दै आएको छ। 

हाइब्रिड धानको बिउमा परनिर्भर बन्नुपर्ने, बाला नलाग्ने, रोग किरा बढी लाग्ने, रासायनिक मल विषादीको प्रयोग बढी हुने भएकाले स्थानीय रैथाने जातको जेठोबुढो जोगाउन पहल थालिएको हो। 

रैथाने धान स्वादिलो भएको, धेरै माग, दिगो उत्पादन हुने र यहाँको हावापानी सुहाउँदो भएकाले जेठोबुढो प्रवर्धनमा महानगरले चासो देखाएको उनले बताए। 

समर्थन मूल्य तोकिएपछि किसानको धान नबिकेमा महानगरले नै किनिदिनुपर्छ। पोखराको हकमा सहकारी संस्थाहरु धान किन्न तयार भइसकेको कृषि महाशाखा प्रमुख कडरियाले बताए।

कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखराभित्र ११ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। त्योमध्ये ४० प्रतिशत खेतमा जेठोबुढो धान लगाइन्छ। अरु धानभन्दा जेठोबुढोको उत्पादकत्व भने कम छ। सामान्य धान आठनौ मुरी फल्ने ठाउँमा जेठोबुढो तीनचार मुरी मात्र फल्छ । जेठोबुढो धान पाक्न ६ महिना लाग्छ। 

फेवा, बिरुवा, पामे, ठूलाखेत, कुँडहर, अर्मला, आर्बा, अर्घौं, खास्टे, सिसुवा, लगायत फाँटमा जेठोबुढो धान उत्पादन हुन्छ। 

यी फाँटमा फल्ने जेठोबुढोका ३३८ मध्येबाट हावापानी सुुहाउँदो लिबर्डले ६ वटा जात निर्धारण गरेको छ। ‘पोखरेली जेठोबुढोधान’ को नाममा २०६३ सालमा नेपाल सरकारबाट पोखरा आसपासका क्षेत्रमा सिफारिस गरिएको हो। 

 

प्रतिक्रिया दिनुहोस्