सुन्दरीजलस्थित बीपी कोइराला संग्रहालयमा एउटा पुरानो ट्वीनअटर विमान राखिएको छ। संग्रहालयले एक डलरमा किनेको यो विमान ४६ वर्षअघि अपहरणमा परेको थियो।
विमानमा बोकिएको ३० लाख रुपैयाँ नियन्त्रणमा लिन अपहरण गरिएको इतिहासले यो विमानलाई विशेष बनाएको हो।
४० वर्षसम्म नेपाली आकाशमा उडेको यो विमान जुम्ला उडानका क्रममा ०७० फागुन ४ गते अर्घाखाँचीको मसिने लेकमा दुर्घटनामा परेको थियो।
विमानको स्वामित्व निगमको भए पनि बिमाको प्रक्रिया पूरा गर्न विमान उत्पादक म्याकलरेन्स कम्पनीलाई न्यूनतम रकम (एक डलर) तिरेर विमान संग्रहालयमा ल्याइएको संग्रहालयका अध्यक्ष परशुराम पोखरेल बताउँछन्।
दुर्घटनामा परेको विमानको भग्नावशेष निगमको नेपालगन्जस्थित कार्यालयमा राखिएको थियो। त्यहाँबाट ट्रकमा लोड गरी २०७३ जेठ ९ संग्रहालयमा ल्याइएको पोखरेलले जानकारी दिए। विमानलाई अहिलेको अवस्थामा ल्याइपुर्याउन ५० लाख रुपैयाँ खर्च भएको थियो।
अपहरणको कथा
विमान २०३० जेठ २८ गते विराटनगर विमानस्थलबाट उडेपछि भारतको विहारस्थित फारबिसगन्ज पुर्याइएको थियो।
प्रमुख अपहरणकारी थिए वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल। काठमाडौंका लागि उडेको विमान अपहरण गरेपछि फारबिसगन्जस्थित घाँसे मैदानमा अवतरण गराई ३० लाख भारतीय रुपैयाँ कब्जा गरिएको सुवेदी बताउँछन्।
विमानको अपहरण बीपी कोइरालाको सहमतिमा भएको थियो। अपहरणमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनोहरि बराल, विनोद अर्याल र मदन अर्याल संलग्न थिए।
सुवेदीका अनुसार लोकतन्त्र स्थापनाका लागि संघर्ष गरिरहेको नेपाली कांग्रेसलाई तत्कालीन पञ्चायती शासकसँग लड्न आर्थिक स्रोत अभाव थियो। त्यही अभाव पूरा गर्न विमान अपहरण गरिएको थियो।
उनले भने, ‘बैंक लुट्ने योजना सफल हुन सकेन। व्यक्तिको धन लुट्न नहुने निष्कर्षमा पुग्यौं। अनि विमान अपहरण गर्ने योजना बनेको हो।’
जापानमा विमान अपहरण भएको समाचार ‘रिडर डाइजेस्ट’ मा पढेका आधारमा अपहरण गर्ने आँट आएको सुवेदीले बताए।
उनले भने, ‘विमान अपहरण बीपीको सहमतिमा भएको हो। व्यक्तिसँग पैसा लुट्न बीपीले दिनुभएन। विमानमा विराटनगरको बैंकबाट काठमाडौं पैसा पठाइन्थ्यो। त्यसमा सुरक्षा हुँदैनथ्यो। त्यसैले विमान अपरहण गरेर पैसा कब्जा गर्यौं।’
इनरुवा र रंगेलीस्थित नेपाल बैंक लुट्न नसकिएपछि विमान अपहरण गरिएको उनले बताए।
फारबिसगन्जमा विमानमा रहेका बैंकका तीनवटा बाकस निकालिएपछि विमान पुनः फर्केर विराटनगर अवतरण गरेको थियो।
बीपीको साहित्य सिर्जना सुन्दरीजलमै
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राजनीतिक बन्दी जीवन बिताएको ठाउँ हो यो संग्रहालय। उति बेला तत्कालीन शाही नेपाली सेनाको ब्यारेक रहेको यही ठाउँमा कोइरालाले १० वर्ष बन्दी जीवन बिताएका हुन्।
बीपीलाई यहाँ २०१७ सालदेखि २०२५ सालसम्म आठ वर्ष र २०३३ सालदेखि २०३४ सालसम्म दुई वर्ष राखिएको थियो।
बीपीसँगै गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, प्रेमराज आङदम्बे, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलगायतले सुन्दरीजलमा बन्दी जीवन बिताएका थिए।
संग्रहालयमा सात सालको क्रान्तिमा कांग्रेसका मुक्ति सेनाले प्रयोग गरेको तोप, बुलेट प्रुफ ट्याक्टर सुरक्षित छन्। बीपीले दैनिक जीवनमा प्रयोग गरेका सामग्री पनि सुरक्षित छन्।
संग्रहालयमा बीपी, गिरिजाप्रसादसँगै सुशील कोइरालालगायतका नेता नेपालगन्ज जाँदा चढ्ने गरेको बा १ च ५०६७ नम्बरको जिप पनि छ।
संग्रहालयको बीचमा अग्लो कपुरको रुख छ। कोइरालाले आफ्ना धेरै साहित्य सिर्जना यही रुखमुनीको चौतारीमा बसेर गरेको मानिन्छ। उपन्यासहरू ‘मोदि आइन’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ तथा कथासंग्रह ‘श्वेतभैरवी’ उनले त्यहीं सिर्जना गरेका हुन्।
२०७२ को भूकम्पपछि भत्किएको संग्रहालय मर्मत गर्न सकिएको छैन। कोठाहरुमा सामान अलपत्र छ। भवन पुनर्निर्माण चाँडै पूरा हुने पोखरेलले बताए। भवन पुरातत्त्व विभागले निर्माण गरिरहेको छ।
संग्रहालय गोकर्णेश्वर नगरपालिका–१ मा २४ रोपनीमा फैलिएको छ।