नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको २५ वर्ष भएको छ। सन् १९९८ सेप्टेम्बर ६ मा मलेसियामा सम्पन्न पहिलो एसीसी ट्रफीमा नेपालले बाङ्लादेशसँग प्रतिस्पर्धा गरेको थियो।
अहिलेसम्म आइपुग्दा नेपालले पहिलो श्रेणीको क्रिकेटका साथै एक दिवसीयसम्मको यात्रा तय गरेको छ। २५ वर्षअघिको सोही खेलमा सहभागी नेपाली टोलीका उपकप्तान लेखबहादुर (एलबी) क्षेत्रीसँग नेपाली क्रिकेटका विभिन्न विषयमा नेपाल समयका लागि विनय ज्योति सापकोटाले गरेको कुराकानी :
अचेल के गर्दै हुनुहुन्छ?
सरकारको नियम पालना गरेर घरमै बसेको छु। विशेष केही छैन।
२५ वर्षअघिकाे अन्तर्राष्ट्रिय डेब्यूलाई कसरी सम्झनुहुन्छ?
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको प्रतियोगिता त्यही हो। नेपालले पनि क्रिकेट खेल्दोरहेछ भन्ने सन्देश गयो। हामी पनि अन्तर्राष्ट्रिय खेल खेल्दा धेरै खुसी भयौं।
खेलमा हामीलाई जसरी हुन्छ लामो समय टिक्न भनिएको थियो। त्यसैले डिफेन्सिभ तरिकाले खेल्यौं।
मलाई राम्ररी बङ्गाली बोल्न आउँथ्यो। खेलेपछि खेलाडीसँग कुरा गर्दा उनीहरूले राम्रो रेस्पोन्स गरेका थिए।
उनीहरुले दैनिक २५ रिंगेट तलब पाउने कुरा बताएका थिए। यसको मतलब अन्तर्राष्ट्रिय खेलाडीसँग गफ गर्ने वातावरण पनि त्यही बेला बनेको हो।
बाङ्लादेशका कप्तान अक्रम खान थिए। अनिमुल इस्लाम उपकप्तान थिए। इस्लाम अहिले आईसीसीको विकास परियोजनामा छन्।
अन्तर्राष्ट्रिय खेलमा उनको प्रभावकारी नेतृत्व रहेकाले नेपाललाई आईसीसीसँग समन्वय गर्न सहज हुन सक्छ। त्यसबारे नेपाली क्रिकेटका पदाधिकारीले सोच्नुपर्छ।
नेपाली क्रिकेटको अवस्थाचाहिँ कस्तो थियो?
उति बेला आफ्नै तरिकाले खेल्ने अभ्यास थियो। फ्रेन्चाइज क्रिकेट (डीपीएल, पीपीएल, सीपीएल) र टि–२० त पछि मात्र आएका हुन्।
तल्ला तहमा क्लबस्तरीय खेल धेरै हुन्थे। जस्तै– महावीर कप, नगरपालिका कप, भट्टराई कप आदि। अहिले क्रिकेटको ग्ल्यामर र लोकप्रियता बढेको छ।
राष्ट्रिय खेलाडीले तलब पाउन थालेका छन्। विज्ञापन, फ्रेन्चाइज, ब्रान्ड एम्बेस्डर भएर पनि खेलाडीले नगद आर्जन गर्न थालेका छन्।
यस्तै खेलाडी विभिन्न विभागीय क्लबमा आबद्ध छन्। सीमित स्रोतसाधन र व्यवस्थापकीय पक्षका आधारमा हेर्दाचाहिँ हामी केही पछाडि नै छौं।
अन्य देशको क्रिकेटको विकासक्रम र नेपाली क्रिकेटको विकासक्रममा के भिन्नता पाउनुभएको छ?
भिन्नता छ। अफगानिस्तानलाई नै हेरौं। उसले सन् २००४ मा फेब्रुअरीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। क्रिकेटमा अफगानिस्तान धेरै अगाडि बढिसक्यो। हामी पछाडि छौं।
अफगानिस्तान अहिले टेस्ट खेल्दै छ। हामी ओडीआईमा फेरि स्थापित हुन संघर्ष गर्दै छौं।
क्रिकेटको अन्तिम गोल टेस्टमा पुग्न नेपालले कस्तो अभ्यास गर्नुपर्ला?
हामीले टी–२० धेरै खेलिरहेका छौं। त्यसबाट एकदिवसीय खेल अगाडि बढाउन सकिँदैन। त्यसैले खेलाडीको वृत्तिविकास गर्नुपर्छ। क्रिकेटको संरचनात्मक विकास गर्नुपर्छ। खेलाडीलाई तालिम दिनुपर्छ।
देशभित्र र देशबाहिर दुई दिवसीय र तीन दिवसीय म्याचको बढीभन्दा बढी अभ्यास गर्नुपर्छ। नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै रंगशाला हुनुपर्छ। अनि मात्र क्रिकेटमा फड्को मार्न सकिन्छ।
आगामी १० वर्षमा हाम्रो टेस्ट खेल्ने लक्ष्य छ र पुनः ओडीआई स्टाटस प्राप्त गर्ने हो भने खेलाडीलाई बढीभन्दा बढी प्रशिक्षण दिनुपर्छ।
खेलाडीले विदेशमा खेल्न पाएकै छन्, मैत्रीपूर्ण खेल खेलाइएकै छ भनेर चित्त बुझाउनु भन्दा खेलाडीको वृत्तिविकासमा ध्यान दिनुपर्छ। मैत्रीपूर्ण प्रतियोगिता त त्यहाँको मौसमलाई स्विट गर्न मात्र खेलाइने हो।
खेलाडीलाई ‘एक्सपोज’ गर्न उनीहरुलाई ‘अफ टाइम’ मा तालिम दिनुपर्छ। बलर छ भने उसको बलिङ स्किल तिखार्न राम्रो देशमा एक्सपोजर दिन सकिन्छ। ब्याट्सम्यानलाई पनि त्यस्तै अवसर दिनुपर्छ।
टी–१०, द हन्ड्रेडजस्ता नयाँ विधा आइरहेका छन्। यसमा कत्तिको उत्साहित हुनुहुन्छ?
यस्ता प्रतियोगिताले क्रिकेटको ग्ल्यामरलाई जीवित राख्छ। तर उपलब्धि हासिल गर्नचाहिँ तात्त्विक सहयोग गर्दैन। बालबालिकालाई क्रिकेटमा आकर्षित गर्न र खेलमा जोडिनका लागि ठिक हो तर हाम्रो लक्ष्य प्राप्त हुन सक्दैन।
नेपाली खेलाडीका उति बेलाका प्रतिस्पर्धा र अहिलेका प्रतिस्पर्धामा कस्ता अन्तर छन्?
उति बेला राष्ट्रिय प्रतियोगिता र लोकल प्रतियोगिता खेल्नैपर्थ्याे। २०५७/५८ सम्म जय ट्रफी हुन्थ्यो। तत्कालीन राजा वीरेन्द्रका नाममा प्रतियोगिता सुरु भयो।
त्यसपछि क्रिकेटको राष्ट्रिय प्रतियोगिता भने शून्यजस्तै भयो। क्रिकेट फ्रेन्चाइजमा भर परेको छ। पहिले एकल रुपमा टीभी र मोबाइलमा भिडियो हेरेर खेल सिक्न सक्ने अवस्था थिएन, अहिले छ। पहिले कोचले जे भन्छ त्यतिमात्र थियो सिक्ने उपाय।।
महिला क्रिकेटले अन्तर्राष्ट्रिय खेल सुरु गरेको ११/१२ वर्ष भइसकेको छ। यसको विकासक्रम कसरी होला?
नेपालमा महिला क्रिकेटले दुःख पाएको छ। अन्तर्राष्ट्रिय खेलाडीले अहिलेसम्म तलब नपाउनु पीडादायी कुरा हो। सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएपछि गर्विलो इतिहास कायम गरेको महिला क्रिकेटले २०११/२०१२ सम्म राम्रो गर्दै गयो।
त्यसपछि भने गिर्दो अवस्थामा छ। महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा ठूलो उपलब्धि हासिल गर्न सक्ने थियो। क्रिकेट विकासमा लागेका पदाधिकारीको अकर्मण्यताले यस्तो भएको हो।
संन्यास लिएका नेपाली क्रिकेटरको अवस्था कस्तो छ?
म आफैं पनि संन्यासपछि पूर्णकालीन रूपमा क्रिकेटमै जोडिएर रहन सकिनँ। व्यक्तिगत क्षमताका आधारमा म अर्कै पेसामा संलग्न भएँ।
पवन अग्रवाल बैंकर बने। यस्तै धेरै खेलाडी बिदेसिएका छन् रोजगारीका लागि। विनोद दासचाहिँ क्रिकेटमै रहे।
क्रिकेटले पहिचान त दियो। तर संन्यासपछिको जीवन निर्वाह प्रक्रियामा चाहिँ खेलाडीको क्षमतामै भर पर्नुपर्ने अवस्था छ। क्यान र मुलुकले संन्यासपछिका खेलाडीलाई वास्ता गर्दैनन्। पूर्वकप्तान राजु खड्का शिक्षण पेसामा लागे। उनले पहिलो शतक बनाएका थिए तर उनलाई राज्यले सम्मान गरेन।
त्यसैले सरकारले खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ। एउटा प्रतियोगितमाा जित्दा पाएको दुई–चार लाख रुपैयाँ त्यत्तिकै सकिन्छ। त्यसको सट्टा खेलाडीको भविष्य सुरक्षित गर्न विशेष योजना ल्याउनुपर्छ।
क्यान र राखेपको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ?
म क्रिकेटका गभर्निङ संस्थाप्रति आशावादी छु। कमजोरी छन् तर सुधार गर्दै जानुपर्छ। दुवै संस्थाप्रति म आशावादी छु।
राखेपले संरचना बनाइरहेको छ। क्रिकेटप्रति देशको लगानी पनि राम्रो छ। यसले हाम्रो भविष्य राम्रो छ।
क्रिकेट विकासमा देखिएका कमजोरी?
सबैभन्दा मुख्य समस्या जसले पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउँछु भनेको पाइन्छ। यति सानो देशमा त्यो सम्भव छ?
यो होडबाजी ‘क्रिकेट क्रिकेट क्रिकेट...’ भन्नका लागि राम्रो हो। तर सीमित स्रोत भएको देशमा यसरी क्रिकेटको विकास हुँदैन।
त्यसैले सबै ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनुपर्ने भन्ने मानसिकता गलत छ। थोरै संख्यामा र पूर्वाधारसहितको मैदान बनाउन जरुरी छ।
क्रिकेटले नेपाली समाजमा पारेको प्रभाव कस्तो छ?
नेपाली समाजमा क्रिकेटको प्रभाव राम्रो छ। डिजिटलाइजेसन र ग्ल्यामरका हिसाबले क्रिकेट अन्य खेलभन्दा माथि छ। यसले धेरै युवालाई आकर्षित गरेको छ।
तर यो आकर्षणलाई न्याय गर्न हामीले सरकारी र गैरसरकारी क्षेत्रमा खेलाडी कोटा राख्नुपर्छ। जसरी संविधानमा समावेशी राखिएको छ त्यसरी नै खेलाडीलाई पनि विभिन्न क्षेत्रमा समायोजन गर्नुपर्छ।
खेलकुदका लागि कोटा छुट्याएमा यसले खेल क्षेत्रमा लाग्न प्रेरणा गर्छ भने सामाजिक रुपमा सबल बनाउँछ।
क्रिकेट तराई र उपत्यका केन्द्रित नै देखिन्छ नि?
सबै खेल सबै ठाउँमा विकास हुन सम्भव छैन। हाम्रो भौगोलिक विकटता र पूर्वाधार अभावले यस्तो भएको हो। अहिले राजनीतिक फाइदाका लागि यस्तो भएको हो कि भन्ने शंका पनि छ।
दीर्घकालीन रुपमा सम्भव भएका ठाउँमा मात्र क्रिकेटको विकास गर्नुपर्छ। ७७ वटै जिल्लामा क्रिकेटको विकास गर्न सकिँदैन।
यसले मात्र प्रतिफल दिन्छ। मैले क्रिकेट विकासलाई निरुत्साहित गरेको होइन। विकास उपलब्धिमूलक हुनुपर्छ।
अन्त्यमा केही भन्नुहुन्छ कि?
क्रिकेटमा लागेका योङस्टारसँग मेरो निवेदन छ– स्वस्थ रहनका लागि मात्र क्रिकेट खेल्न चाहनुहुन्छ भने त्यसरी नै खेल्नुहोस्।
राष्ट्रलाई प्रतिनिधित्व गर्ने गरी खेल्ने हो भने यसलाई समय दिएर खेल्नुहोस्। दृढसंकल्प लिएर क्रिकेटमा लागेमा मात्र फाइदा हुनेछ।