शुक्रबार, वैशाख १४, २०८१

‘जिन्दगी फेरि सँगै बाँच्न पाउने भयौं’

छातामाथि परेको आवाज सुनिन छाड्यो, उभिई पछि फर्केर हेरें। श्रीमतीलाई देखिनँ। एक मिनेटअगि म बाटोका डिलतिर चुच्चे ढुंगामा अलमलिएको बेला पछिबाट श्रीमतीले भनेकी थिइन् – “तपाईं उता दगुर्नुहोस्, म यता जान्छु।” उनको यति कुरा सुनेपछि म त्यसरी सास रोकेर अगाडि नै दगुरिरहें। उनी पछि नै फर्किछन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

“तपाईं उता दगुर्नुहोस्, म यता जान्छु।” यति सुनेपछि म सास रोकेर दगुरिरहें। उनी अर्कोतिर फर्किछन्। उभिएर हेर्दा उनलाई देखिनँ। मनमा भयानक त्रास छायो।

triton college

कोरोना संकटका कारण चैत ६ गतेदेखि सम्पूर्ण शिक्षण संस्था बन्द भए। काठमाडौंबाट धेरै विद्यार्थी–शिक्षक गाउँ फर्किए।

चैत दोस्रो साता मलाई पनि गाउँ जानुपर्ने थियो। केही दिनमै देशभरि बन्दाबन्दी हुने भएपछि चैत ८ गते सपरिवार बागलुङतर्फ लाग्यौं।

९ गते बिहान पर्वत सदरमुकाम कुस्मा पुगियो। बागलुङ, म्याग्दी, तातोपानी, मुस्ताङ, जोमसोम, मुक्तिनाथ आदि क्षेत्रमा जाने नाका कुस्मा अत्यन्त रमणीय छ। लामा र अग्ला धेरै झोलुङ्गे पुल, कालीगण्डकी तर्ने केबलकार तथा विश्वकै दोस्रो अग्लो ‘बन्जी जम्प’ भएको स्थान यही हो।

तिनै पुलमध्येकै एक अग्लो झोलुङ्गे पुल तरेर हामी बागलुङ प्रवेश गर्यौं। पारिपट्टि जिप पर्खेर बसेको थियो। आधा घण्टाभित्रै घरमा पुग्यौं, जहाँ पिताजी र माताजीमात्र हुनुहुन्छ केही वर्षयता।

corrent noodles
Metro Mart

दसैंमा मात्र झुलुक्क दुई दिन मुख देखाउन आउने छोराबुहारी र नातिनातिनी (हामी तीन भाइ, तीन बुहारी र तीन नातिनातिनीसमेत गरी थप नौ जना) लाई सँगै घरमा देख्दा उहाँहरू गदगद हुनुहुन्थ्यो।

तर काेराेनाका कारण बन्द हुन लागेकाे देश कहिले खुल्ने र देशकाे स्थिति के हुने भन्ने चिन्ताले चाहिँ पिराेलिनु पनि भएकाे थियाे। केही बेरेमा बुहारीहरूकाे सहयाेगमा भातभान्साकाे व्यवस्था माताजीले नै गर्नुभयाे। चार महिनाकाे बन्दाबन्दीकाे समयमा त्यही क्रममै भान्साकाे काम उहाँले गरि नै रहनुभयाे।

स्नेह भन्नु पनि कस्तो अचम्मको तत्त्व रहेछ! जोर्नीको समस्याले उठबसमै ‘ऐया ऐया’ हुने माताजीलाई चार महिना एक दर्जनजति जहानको साँझबिहानको भातभान्सामा कुनै समय दिक्क लागेन।

बन्दाबन्दी सुरु भइहाल्यो। गाउँमा केही दिन तलमाथि, वरपर टाढैबाट बोलचाल गरेरै बसियो। यसो गर्दा गर्दै चैत सकियो। वैशाख लाग्यो। नयाँ वर्ष पनि घरमै मनाइयो। ‘नेपालमा कोरोना संक्रमित धेरै बढेका छैनन्’ कै अवस्था थियो। जिल्लाभित्र र खासगरी पालिकाभित्र एक ठाउँबाट अर्को ठाउँ, एउटा वडाबाट अर्को वडामा पैदल जान थुनछेक नगर्ने नगरपालिकाको नीति थियो।

तापनि नेपालमा कोरोना संक्रमणको सुरुताकाकै घटना बागलुङ जिल्लाकै भएकाले जिल्लाभरि सचेतता थियो। नगरपालिकाले सम्बन्धित वडाका उत्साही युवा परिचालन गरेर नाका प्रवेशमा कडाइ गरेको थियो।

गाउँमै भए पनि परिवारबाट कोही पसलमा पुगेर आउँदा जुत्ताचप्पल केही परै खोल्ने र साबुनपानीले राम्ररी हातगोडा धोएर अरूको नजिक आउने अवस्था थियो। संक्रमण पुष्टि भएका दुई महिला, जो विदेशबाट आएका थिए उनीहरू केही समयमै संक्रमणमुक्त भएपछि तत्कालका लागि जिल्ला कोरोना संक्रमणशून्य भयो।

घरमा ७२ र ७९ वर्षका मातापिता भएकाले उहाँहरूले खेतीपाती गर्न सम्भव थिएन। खेत अरूले कमाउने भए पनि दुई–तीन वर्षदेखि बारी बाँझै थियो। हामीले ‘घरमै कति बसिरहनु? व्यायाम पनि हुन्छ’ भनेर बाँझो बारीमा मकै लगाउने निधो गर्यौं र वैशाखको सुरुमै बोकेझार फाँडेर त्यहीं जलाएपछि मकै रोप्न तयार भयो। हाते हलो भनिने मिनी ट्रेलर चलाएर मकै लगायौं। क्रमशः कोदाको बिउ राख्ने, कोदो रोप्ने काम पनि भयो।

बन्दाबन्दी लम्बिँदै गयो। सहरमा बस्नेहरू कोठाभित्रै। गाउँमा त खेतखोला, जंगल आदि ठाउँमा स्वच्छन्द विचरण गर्ने अवसर।

पारिवारिक पर्वका कारण श्रीमती माइती जानुपर्ने भयो। असार लाग्दानलाग्दै मध्य वर्षाको आभास हुने वातावरण थियो। बाटाभरि पानी, भेल र पहिरो थियो। घरदेखि २०–२५ मिनेटको ओरालो झरेपछि राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर नछाडिकनै ससुरालीमा पुगिन्छ। बन्दाबन्दीका समयमा यातायात खासै चलेको थिएन। फटाफट हिँड्दा चार घण्टा लाग्छ।

वर्षायाममा एक्लै त्यस बाटोबाट पठाउन आफैंलाई कठिन भयो। नगरपालिका कार्यालय मेरै वडामा भएको र ससुराली घर तथा नगरप्रमुखको घर वडा नं. ७ मा भएको हुनाले उहाँलाई फोन गरें, भन्नुभयो – “लौ, म त अहिल्यै घर जान लागेको छु, गाडी तयार छ, छिट्टै पठाउनुस्।” उहाँहरू कोरिडोरबाट नभएर कृषिसडक हुँदै जान लाग्नुभएको रहेछ। त्यसै दिन श्रीमतीको जन्मदिन भएकाले घरमा विशेष खानेकुरा तयार पारिँदै थिए। तर, खाना नखाईकनै मेयरको गाडी भेट्न एक घण्टाजतिको पैदल बाटोमा ‘आधा घण्टाभित्र ल्याइपुर्याउँछु’ भनें। गाउँकै एकजना डाक्टर भाइले मोटरसाइकलमा कुस्मी सेरासम्म पुर्याइदिने भए।

'अब ढुक्क भयो' भन्ने ठानेकै बेला भाइको फोन आयो– “दाजु, जुम्ली खोलो बढेर बाइक पारि लान सकिनँ, भाउजूलाई भने पारि लगेर छाडिदिएँ।” धन्य, उताबाट मेयरज्यूले आफ्ना सहयोगीलाई मोटरसाइकल लिएर कुदाउनुभएछ र सुखद संयोग मिल्यो।

उनी गएको एक हप्तापछि उताबाट म पनि बोलाइएँ– “नयाँ घर सरेपछि आउनुभएको छैन। भेटघाट पनि हुन्छ। दुवैजना सँगै फर्कनुहोला, जसरी पनि आउनुहोस्।” नाइँ भन्न सकिनँ।

दुईतीन दिनदेखि झरी रोकिएको थियो। म कालीगण्डकी कोरिडोर हुँदै पैदल जाने सोचले घरबाट निस्कें। कोरिडोरमा पुगेर केही बेर हिँड्दा संयोगवश सदरमुकामबाट सामग्री बोकेर आएको पिकअप भेटियो र एक घण्टाभित्रै सजिलोसित ससुराली घरमा पुर्याइदियो। गाडीबाट झर्ने बेलामा गाडीवाला भाइलाई ‘भोलि बिहान दुईजना यहींबाट फर्कन्छौंं मान्छे नराखी आउनू है’ भनिपठाएको थिएँ।

साँझ पर्दानपर्दै निकै ठूलो पानी पर्न थाल्यो। रातभरि मुसलधारे पानी बर्स्याे। बिहान त खोलानाला बढेर ड्याङड्याङडुङडुङ आवाज छ। बाटोभरि पहिरो छ। हिजोको गाडी पनि आउन नसक्ने भएर थन्किएछ। उहीँ बसौं भने काठमाडौं फर्कन हतार छ। जिल्ला प्रशासन कार्यालय चहार्नु, सवारी पास बनाउनु आदि गर्दा थप दुईतीन दिन लाग्न सक्छ।

''झरी नथामिउन्जेल एकदुई दिन यतै बस्ने कि !'' म भने ''आजै जानुपर्छ'' भन्ने रटानमा थिएँ। अन्ततः दिउसो १ बजे हामी हिँड्यौं।

गाडी भेटिने सम्भावना थिएन। कोरिडोर सडकमा गत हिउँदमा ठाउँठाउँमा बम पड्काएर फराकिलो बनाइएकाले थर्किएर चर्केको जमिन ठाउँठाउँमा भत्केर पुरिएको, हिलो भएको थियो। पहिरो छल्दै, तर्कंदै, उफ्रँदै छाता ओढेर खोल्साखोल्सीमा जुत्ता हातमा बोकेर साढे दुई घण्टापछि एउटा ठूलो र लामो भिरको नजिक टुसुक्क बस्यौं।

घरबाट पिताजीको फोन आयो। अहिले पानी पर्न छाडेको र भिरनेर आइपुगेको जानकारी गरायौं। भिरतर्फ हेर्दा माथिबाट ढुंगामाटो खसिरहेको छ। डर लाग्दो दृश्य देखियो। भिरको बाटो पार गर्न १० मिनेट लाग्थ्यो।

मैले भनें– “हामी पनि कालीप्रसाद रिजालले झैं गरौं ल?” “कस्तो कुरा हो उनको?”– श्रीमतीले भनिन्। वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजालको “काँढामा हाँसेको जिन्दगी” शीर्षकको आत्मसंस्मरण ग्रन्थ सम्पादन गर्ने क्रममा ती घटना थाहा भएका थिए।

मैले छोटकरीमा भनें– “धनकुटा क्याम्पसमा प्रमुख भएका रिजाललाई सरकारले विराटनगरमा अर्कै काममा खटाएपछि सपरिवार विराटनगर बसाइँ सर्नुपरेछ। बाटामा लेउतीको पुल खोलाले बगाएको रहेछ। निरन्तर झरी छ आजजस्तै। बटुवालाई माझीले तारिदिँदा रहेछन्। तर, आँखैअगाडि कतिपय मानिसका भारीहरू तार्दा खोलाले बगाएर लगेको देखेछन्।

अनि रिजालले भनेछन्– ''पहिले साना दुइटा छोराहरूलाई पारि पठाऔं, उनीहरूलाई खोलाले बगाएछ भने हामी पनि किन बाँच्नु ! हाम फालौंला।'' पत्नीले भनिछन्– ''हैन, म पहिले पारि जान्छु। मलाई केही भइहालेछ भने तपाईं यी छोराहरू लिएर धनकुटा फर्कनुहोला। बाबु भएपछि छोराहरूले दुःख पाउने छैनन्।''

तर, पछि उनीहरू सबै सकुशल पारि पुगेछन्। हामी पनि त्यसै गरी अलिकति अगि र पछि भएर जाऔं। एउटाले पहिरो हेर्ने र नआएको संकेत दिएपछि अर्को दगुर्ने गरौं। त्यसो भयो भने पहिरोमा परे पनि एकै चिहान भइँदैन।”

मसँग चार जनालाई पानी ओत्ने खालको ठूलो आकारको छाता थियो। त्यो छाता खोलेर ठूलो झोला बोकेंं र म अघि लागें। छातामा ढुंगाका केही छिर्काछिर्की परे पनि म कटिहालें। त्यसपछि म उभिई माथि हेरेर इसारा गरें। श्रीमती पनि उसै गरी दगुरेर आइन्। माटासित ससाना ढुंगा धेरै माथिबाट छ्यारछ्यार खस्तै थिए। माटो, ढुंगा नखसेको बेला दगुर्न थाल्यो भने खस्ताखस्तै कटिसकिने रहेछ। सजिलो भो। लामो सास फेर्दै अगाडि बढदै थियौं।

अचानक ठूलो आवाज आयो। दायाँबायाँ केही देखिन्न। माथि भिर छ। नेपाली सेनाले भर्खर एक दुई महिनाअघि बम पड्काएर फराकिलो पारेको बाटो। डिलमा पुगे दुई–तीन सय मिटर तल छ्वाङ्ङ कालीगण्डकी देखिन्छ। जाे बगरै छाेप्ने गरी बढिरहेकाे छ। ज्यादै तर्सियौं हामी। यस्तो बेला सबभन्दा पहिले सम्झिने सन्तान। हामी दुवैको मनमा सँगै लागेछ – “छोरी सानै उमेरमा टुहुरी हुने भई।”

अनि श्रीमती रोकिइन् र केही पछि हटिछन्। मचाहिँ अलि अगि नै बढें। ‘एक जनाले हेर्ने र एक जना दगुर्ने’ सल्लाह त्यही थियो। तर, माथि हेर्दा पहिरो खस्ने ठाउँ नदेखिने, खसेको आवाज मात्र सुनिने।

अलिक अगि बढेर यसो माथि हेरेको त आकाशभरि टुक्रे ढुंगा सलह झैं खस्दै छन्। लाग्यो– “अब जीवन सकिने भो।” अनि त्वरित् बुद्धिले काम गर्याे– “दगुर् भाइ, दगुरे बाँच्न सक्छस्, यहाँ अलमलिइरहे सकिन्छस्।” यसपछि देब्रे हातले दरो गरी छाता समाएँ र बुरुक्क गरेर चुच्चे ढुंगाको थुप्रोमाथि उफ्रँदै कुदें झोला बोकेर त्यस्तो बाटोमा, त्यो कुदाइ, अहिले सम्झन्छु –“अन्तिममा निकाल्नुपर्ने बल होला त्यो। छाताभरि बाक्लो असिना परेजस्तो आवाज आइरह्यो। म आफ्नो जीवनको अगाडिको यात्रा सम्झेर एक मिनेटजति दौडें हुँला।

छातामाथि परेको आवाज सुनिन छाड्यो, उभिई पछि फर्केर हेरें। श्रीमतीलाई देखिनँ। एक मिनेटअगि म बाटोका डिलतिर चुच्चे ढुंगामा अलमलिएको बेला पछिबाट श्रीमतीले भनेकी थिइन् – “तपाईं उता दगुर्नुहोस्, म यता जान्छु।” उनको यति कुरा सुनेपछि म त्यसरी सास रोकेर अगाडि नै दगुरिरहें। उनी पछि नै फर्किछन्।

मनमा अकल्पनीय भयानक घटनाको आशंका भयो। एकै छिनमा पहिलो पहिरोनेर झुलुक्क छाता देखियो। मन केही हलुको भयो। उनी ठूलो पहिरोभन्दा पारि र म वारि भएछौं। यसो हेर्दाहेर्दै त्यही ठाउँमा माथिबाट तीनवटा सालका रूखसहित ठूलै पाखो गररर्र खस्यो र सिंगो सडकभरि आएर थुप्रो लाग्यो।

मैले देखें– माथिबाट ठूला ढुङ्गा र ढिस्को खसे पनि बिचमा बज्रिँदा सिसा झैं फुटेर टुक्राटुक्रा पर्दो रहेछ। त्यही भएर छाताले रोक्न सकेको रहेछ। अनि आफूलाई बचाउने छातातिर फर्केर हेरें– प्वालै प्वाल! हातगोडामा राम्ररी ख्याल गरें– कहीं, कतै केही भएको छैन। म त सुकशल छु, डरलाग्दो सपनाबाट ब्युँझे जस्तो। 

श्रीमती पनि पहिलो पहिरो पुनः छल्दै पारि पुगेको देखें मैले, अनि फोनमा कुरा भयो। माथिबाट खसेको ढुंगाले लाग्दा चप्पल फुत्किएर छुटेछ। तर गोडामा चोट भने लागेनछ।

अब डेढ घण्टाको बाटो छ घरमा पुग्न। भिरमाथिबाट घुम्नुपर्दा अर्को डेढ घण्टा थप हिँड्नुपर्छ। तै, काठमाडौंदेखि लगाएको चप्पल ‘पानी, हिलोले बिग्रन लागेको छ, लगाउन नमिल्ने भयो भने अप्ठेरो पर्छ’ भनेर पातलो तुने चप्पल बाटोमा किनेर झोलामा राखेका थियौं। त्यही लगाइछन् उनले।

त्यसै उकुसमुकुसका बिच घरबाट आएका फोन उठाएनौं हामीले। घर नपुगी हामी अप्ठेरोमा परेको खबर नगरौं भनेका पनि थियौं। तर, भाइले फोन गर्दा चाहिँ छोटकरीमा कुरा राखेको थिएँ, ऊ त हामीलाई भेट्न दगुरिहालेछ।

हामी झन्डै एक किलोमिटर तलमाथिको बाटो भएर हिँड्दै अगाडि आयौं र डेढ घण्टापछि पुनः भेटियौं। भेटेपछि उनकाे पहिलो वाक्य थियो – “जिन्दगीको पिठो सकिएको रहेनछ, आस मारेको जिन्दगी फेरि सँगै बाँच्न पाउने भयौं।” म त केही बोल्नै सकिनँ, फिस्स हाँसेछु मात्रै।

एक छिनमा भाइ पनि आइपुग्यो अनि तीन जना भयौं। घर पुगेपछि घटनाको बेलीबिस्तार लगायौं। पितामाताले केही बोल्न सक्नुभएन।

रातिको खाना खाने बेलामा पिताजीतिर हेरेर मैले ठट्टा गर्दै भनें– “दुई दिनअघि किन्नुभएको छाता मैले त पहिलो दिनमै झ्यालजस्तो पारेर ल्याइदिएँ।” यसको प्रतिउत्तर दिँदै गर्दा पिताजीको स्वरमा स्नेहमय भावको उद्वेलन स्पष्ट अनुभव हुन्थ्यो। उहाँले भन्नुभयो– “भो त्यसमा चित्त नदुखाऊ, तिमीहरू सकुशल आयौ। ईश्वरले तिमीहरूको सधैं कल्याण गरून्।”

प्रकाशित: Sep 05, 2020| 08:45 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।