शुक्रबार, मंसिर १९, २०७७

समाज

यस्तो छ मिथिला र मूर्तिपूजाको सम्बन्ध

1603161116.jpg

जनकपुरधाम– सरकारले मन्दिरमा नियमित पूजाबाहेक भीडभाड नगर्न भने पनि देशैभरका शक्तिपीठमा श्रद्धालुको भीड लागेको छ। मिथिलाञ्चलका मन्दिरमा पनि पूजाआराधना भइरहेका छन्। ठाउँठाउँमा दूर्गाको मूर्ति बनाइएको छ। 

relifeinsurance

मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा समेत मूर्तिपूजाको आकर्षण हेर्नलायकको छ यति बेला।

मिथिलावासी देवीदेवतालाई पारिवारका सदस्यजस्तै ठान्छन्। त्यसैले मूर्ति निर्माणअघि विवाहित बेहुलीभैंm नवदुर्गालाई माइतीमा भित्र्याउने परम्परा छ।

पूजा अवधिसम्म देवीलाई माइती आएकी चेलीलाई जस्तै मीठो परिकार अर्पण गरिन्छ। अनि मूर्ति सेलाउने बेलामा सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाइन्छ।

जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दासले माता सीतालाई छोरीलाई झैं माया गर्थे। यसलाई उनका उत्तराधिकारीले निरन्तरता दिँदै आएका छन्।

संस्कृतिविद्हरू भक्तिका नौ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिन्छन्। यसका साथै मिथिलाकी छोरी भएकीले मिथिला भूमि पवित्र मान्ने गरिन्छ।

मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्रप्रसाद विमल देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने अनि परिवारका प्रिय सदस्यजस्तै मधुर व्यवहार गर्ने परम्परालाई वात्सल्य मार्गको संज्ञा दिन्छन्। 

डा. विमलका अनुसार यो रसिक सम्प्रदायको दार्शनिक सूत्र हो। सीता मिथिलाकी चेली र नवदुर्गासहितका अन्य देवी पनि सीताकै स्वरूप भएकाले मिथिलाञ्चलमा देवीलाई चेलीबेटीका रूपमा माया गर्ने परम्परा रहेको उनी बताउँछन्। 

त्रिवि केन्द्रीय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडीले देवी मात्र होइन, मिथिलामा राम, कृष्ण, महादेव लगायतका देवतालाई घरकै सदस्यजस्तो माया, प्रेम, स्नेह गर्ने चलन रहेको बताए। 

‘कृष्णलाई किसना भन्नु तथा रामलाई भिनाजुजस्तै गाली गर्ने परम्परा यसका उदाहरण हुन्,’ कापडीले भने।

वैदिक समाजमा प्रकृतिको पूजा गरिन्थ्यो। सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, आदिको पूजा गरिन्थ्यो। मूर्ति पूजा हुँदैनथ्यो ।

संस्कृतिविद् विमलका अनुसार मोहनजोदाड़ो र हडप्पा सभ्यतापछि उत्खनन गर्दा शिस्न (लिंग) र भग (योनी) को प्रतिमा फेला परेको थियो  । जसलाई केहीले शिवपार्वती तथा केहीले उत्पादन (वंशवृद्धि) सँग जोडेर व्याख्या गरेका छन्।

डा. विमल हडप्पा सभ्यतालाई आर्य र अनार्यबीचको संगम कालको संज्ञा दिन्छन्। उनी मोहनजोदाडो, हडप्पा तथा गुफाकालमा विभिन्न चित्रकला फेला परे पनि मिथिला समाजमा मूर्तिपूजाको प्रचलन १६ औं शताब्दीदेखि सुरु भएको बताउँछन्। 

अर्का संस्कृतिविद डा. रेवतीरमण लाल आर्यसमाजमा मूर्ति पूजाको परम्परा महाभारतकालदेखि सुरु भएको दाबी गर्छन्। नवप्रस्तर युगमा समेत मूर्ति पूजा परम्परा रहेको उनी बताउँछन्। 

जर्मन समाजशास्त्री दुर्खिमको ‘ल अफ थ्री स्टेज’ सिद्धान्तलाई कोट्याउँदै लालले भने, ‘प्रारम्भिक समाजमा भूतप्रेत र पिसाचवाद मानिन्थ्यो। मध्यकालमा बहुदेवतावादको वर्चस्व भयो अनि आधुनिक समाजमा एकेश्वरवाद प्रचलनमा छ।’ 

भौतिक दूरीको ख्याल गर्न आग्रह

महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्सा गाउँमा रहेको मन्दिरमा आरतीको समयमा हुने भीड नियन्त्रण गर्नका लागि भौतिक दूरी पालन गराउन लगाइएको छ। आरतीमा सहभागी हुनेका लागि गोलो घेरा बनाइएको दुर्गा पूजा सेवा समिति पर्साका अध्यक्ष चन्द्रमोहन ठाकुरले बताए।  

जिल्ला प्रशासन कार्यालयले शक्तिपीठमा भीडभाड नगर्नसमेत निर्देशन दिएको छ। जनकपुरधामस्थित राजदेवी मन्दिरमा प्रवेश गर्नुअघि तापक्रम मापन गरिँदै आएको छ। यसका साथै मन्दिर प्रवेशका लागि मास्क प्रयोग अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्