बिहिबार, कात्तिक १३, २०७७

Happy Dashain
मनोरञ्जन
1602901781.PNG

मनोरञ्जनको प्रमुख विकल्प बनेको छ भिडियो ब्लगिङ साइट युट्युब। गीतसंगीतका साथै सिनेमा तथा अन्य टेलिशृंखलाको मज्जा युट्युबबाटै लिन सकिन्छ। 

समाचार, अन्तर्वार्ता, सूचनाजस्ता सामग्री पनि युट्युब तथा फेसबुकमार्फत सार्वजनिक गर्ने गरिएको छ। 

परम्परागत सीडी, डीभीडी तथा रेडियो एवम् टेलिभिजनलाई छाडेर यस प्रकारका माध्यममा मनोरञ्जनदेखि जानकारीमूलक तथा समाचारमूलक सामग्री सार्वजनिक हुने गरेका छन्।

मनोरञ्जनात्मक सामग्रीका लागि नेपालमा युट्युब सबैभन्दा बढी प्रयोग गरिने माध्यमका रुपमा छ। युट्युबमा राखिने यस्ता सामग्रीको फेसबुक, ट्विटर, ह्वाट्स एप, इमो, विच्याटलगायतका एप्लिकेसन तथा सामाजिक सञ्जालबाट विज्ञापन गरिन्छ। यी माध्यममा ‘सेयर’ गर्ने मात्र नभई ‘स्पोन्सर’ गर्ने गरिन्छ।

कुनै कम्पनी, संस्था वा व्यक्तिगत रुपमा उत्पादित यी सामग्रीलाई ठूलो रकम खर्च गरेर ‘बुस्ट’ गर्ने गरिएको छ। बुस्ट गरिएका कन्टेन्ट (सामग्री) हरु नियमितभन्दा ठूलो संख्याका प्रयोगकर्तामाझ पुग्ने भएकाले यो प्रचलन निकै बढेको छ। युट्युबमार्फत ‘रिलिज’ गरिएका सामग्रीलाई बुस्ट गरेर ‘ट्रेन्डिङ’ मा पार्ने ‘ट्रेन्ड’ नै चलेको छ।

नयाँ फिल्मले फिल्मभित्रका गीत तथा फिल्मका ‘ट्रिजर’ तथा ‘ट्रेलर’ लाई ठूलो रकम तिरेर विभिन्न माध्यमबाट बुस्ट गराउँछन् भने नयाँ गीत तथा टेलिशृंखला पनि बुस्ट गर्ने गरिएको छ। यसरी बुस्ट गर्दा नेपालबाट विभिन्न माध्यममार्फत डलर पठाउने गरिन्छ। 

गत माघमा नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाट नगरिए त्यसलाई गैरकानुनी मानिने व्यहोरोको सूचना जारी गरेको थियो। 

त्यतिबेला यो सूचनाको सामाजिक सञ्जालमै आलोचना भयो। कतिपयले सबै प्रकारको विदेशी विनिमयलाई करको दायरामा ल्याउन राष्ट्र बैंकले गरेको पहलको स्वागत पनि गरे।

त्यसपछि केही ठूला कम्पनीहरुले सामाजिक सञ्जालमा विज्ञापन गर्दा बैंकिङ प्रणाली मार्फतसमेत गरे। मनोरञ्जन क्षेत्रको मात्र नभई अन्य विज्ञापनसमेत पनि फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जाल तथा एपमा गरिने भएकाले विज्ञापनकमा क्षेत्रमा काम गर्ने कम्पनीहरुले यसलाई बैंकिङ प्रणालीमा जोड्ने औपचारिकता पूरा गरे।

सामाजिक सञ्जालमार्फत पे–पल लगायत विभिन्न कम्पनीका ‘मास्टरकार्ड’ को प्रयोगबाट गोप्य रुपमै भुक्तानी गर्न मिल्ने भएकाले यसको नियमन राम्रोसँग हुन सकेको छैन। 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका महानिर्देशक बमबहादुर मिश्रले राष्ट्र बैंकको सूचनापछि थुप्रै संघसंस्थाले बैंकिङ प्रणाली प्रयोग गर्ने गरेको बताए।

कति कम्पनीले सामाजिक सञ्जालमा विज्ञापन गर्छन् भन्ने तथ्यांक नभएकाले औपचारिकताका लागि बैंकिङ प्रणालीमा आएका कम्पनीहरुबाट सन्तुष्ट हुने कि नहुने भन्ने टुंगो छैन।

मिश्रका अनुसार अहिले केही सुधार छ। प्रयोगकर्ताको नै तथ्यांक नभएकाले कारोबारको वास्तविक तथ्यांक भने आउन सक्ने सम्भावना छैन।

गत माघमा प्रकाशित गोरखापत्रको एक समाचारअनुसार नेपालबाट सामाजिक सञ्जालमा स्पोन्सर गरेबापत वार्षिक पाँच अर्बभन्दा बढी रुपैयाँ विदेश जान्छ। यो औपचारिक तथ्यांक होइन। नियमन नै हुन नसकेका कारण खास तथ्यांक कतै पनि छैन।

कुरा रह्यो मनोरञ्जन क्षेत्रको। मनोरञ्जन क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका, विभिन्न कालखण्डहरु देखेका, विभिन्न प्रविधि हुँदै डिजिटलमा आइपुगेकाहरुलाई अहिले ‘कन्टेन्ट बुस्ट’, ‘स्पोन्सर’ जस्ता कुरा टाउको दुखाइको विषय बनेका छन्।

यस क्षेत्रका अधिकांशको बुझाइमा युट्युबको ट्रेन्डिङमा पर्ने गीत बुस्ट गरिएका ‘कन्टेन्ट’ हुन्। ‘ट्रेन्डिङमा आइपुग्दासम्म डलर पेल्न पर्छ, आइसक्यो भने कमाउन थाल्छ’, एक निर्माता भन्छन्।

विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मीको प्रश्न छ, ‘चर्को मूल्यमा तयार हुने म्युजिक भिडियोको भ्युजसमेत आपैंm खर्च गरेर किन्नुपरेको अवस्था छ। दैनिक २०–२५ वटा गीत रिलिज भइरहेका छन्, दुई लाखको भोकलदेखि लिएर लाखौं तिरेका मोडल देखाएर जति बुस्ट गरे पनि साँवा उठेको छैन। जहाँ प्रतिफल शून्य छ, त्यहाँ यति धेरै लगानी किन?’

युट्युबमा आफ्नो सामग्री चलाउन बुस्ट गर्नु बाध्यता नै बनिसकेको छ। कतिपय कम्पनी वा निर्माताले भने बुस्ट गर्ने गरेका छैनन्। उनीहरु राम्रो उत्पादन दिनसके बुस्ट गरिरहनु पर्दैन भन्छन्, तर यो अहिलेको वास्तविकता होइन।

एक–डेढ लाख रुपैयाँसम्ममा एउटा गीतको अडियो र भिडियो दुवै तयार हुने र तयार भएको सामग्री सीधै सार्वजनिक गर्न सकिने समयदेखि अहिले आइपुग्दा उत्पादन मूल्य बढ्नुका साथै विज्ञापन गर्नु पनि अनिवार्य बनिसकेको छ। यसो गर्दा कतिपय निर्माताले लाख होइन ‘लाखौं’ खर्च गरिरहेका छन्।

गीत तयार गर्दा चर्चित गायकको स्वर, म्युजिक भिडियो तयार गर्दा चर्चित ‘मोडल’ र  ‘बुस्ट’ मा रकम खर्च हुने गरेको छ। 

‘कर्म गर, फलको आश नगर’ शैलीमा पैसा खर्च हुने गरेको छ। यो बुस्टको प्रवृत्तिले नयाँलाई यस क्षेत्रमा आउन कठिन त छ नै वर्षौंदेखि राज गरिरहेका व्यक्ति पनि ‘बुस्ट’ गर्न नसकेर पलायन हुने त होइन? 

सबैजसो उत्पादनका लागि विज्ञापन अनिवार्य भएजस्तै मनोरञ्जन क्षेत्रका लागि पनि विज्ञापन अनिवार्य भएको छ। 

अन्य उत्पादनको विज्ञापन नेपाली ‘प्लेटफर्म’ मा हुने गरेको छ भने मनोरञ्जनको विज्ञापन न्यून रुपमा मात्रै नेपाली प्लेटफर्ममा र अत्यधिक रुपमा विदेशी प्लेटफर्ममा हुने गरेको छ। एउटा राम्रो गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिसकेपछि आफ्ना नेपाली दर्शकमार्झ पु¥याउने यस्ता प्लेटफर्महरुको साहरा लिनुपर्छ, जुन प्लेटफर्म नेपालका आफ्ना उत्पादन होइनन्। 

त्यसो त ‘अग्र्यानिक उत्पादन’ भन्दै गरिएका कुनै पनि वस्तुको विज्ञापनसमेत यस्ता सामाजिक सञ्जालमा गर्नुपर्ने बाध्यता आइसकेको छ। 

इन्टरेनटमाथिको निर्भरता र विश्वव्यापीकरणका कारण विज्ञापनको प्रवृत्ति फेरिएको छ। यही प्रवृत्तिमा मनोरञ्जन क्षेत्र भासिएको छ। अन्य उत्पादन सीधै बजारमा पठाउन सकिएला तर मनोरञ्जनका सामग्री सी पठाउन नसकिने अवस्था आएको कलाकार तथा निर्माताहरुको अनुभव छ। 

मनोरञ्जन क्षेत्रमा यसअघि राम्रो गीत, राम्रो संगीत र राम्रो संगीत संयोजन चाहिन्थ्यो। राम्रो म्युजिक भिडियो आवश्यक पथ्र्यो भने त्यो सवै पूर्ण भइसकेको उत्पादनलाई युट्युबमा राखेसँगै विज्ञापनका लागि थप ‘राम्रै’ लगानी चाहिने भएको छ।
 

प्रतिक्रिया दिनुहोस्