बिहिबार, कात्तिक १३, २०७७

Happy Dashain
विशेष

‘क्लिन फिड’ बाट यसरी हुनेछ मुलुकलाई फाइदा

1602726882.jpg
तस्बिर : एनबीए न्यूज।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू हुँदा नेपाली विज्ञापनको बजार बढ्नुका साथै राजस्व वृद्धि र नेपाली कलाकारको ‘ब्रान्डिङ’ समेत हुनेछ।   

सरकारले ७ कात्तिकदेखि विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको छ। यो निर्णय लागू भयो भने विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बज्ने छैनन्।

सरकारले क्लिन फिडको नीति गत वर्षदेखि नै लागू गर्ने तयारी गरे पनि भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिजन संघहरूले लागू नगर्न दबाब दिएका थिए। त्यसैले ऐन प्रारम्भ भएको एक वर्षपछि अर्थात् कात्तिक ७ गतेदेखि लागू हुने भएको हो। 

विरोधकै बीच लागू 

यसअघि सरकारले १ साउन २०७४ देखि नै क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो। तर, नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबाबमा थप तयारीका लागि भन्दै निर्णय स्थगित गरिएको थियो।

त्यसबेला इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ) ले पनि विज्ञप्ति जारी गर्दै ‘क्लिन फिड’ को व्यवस्था तत्काल लागू नगर्न नेपाल सरकारसँग आग्रह गरेको थियो।

२०७६ असारमा ‘क्लिन फिड’ समेटिएको विधेयक संसद्मा पेस भएपछि त्यसको विरोधमा केही व्यवसायीले आन्दोलनसमेत गरे। उनीहरुले भारतीय प्रसारक वा सरकारले विज्ञापन हटाएका सामग्री दिने अवस्था नभएसम्म यो व्यवस्था लागू नगर्न सरकारलाई दबाब दिएका थिए।

आईबीएफले त नेपाललाई क्लिन फिडसहितको च्यानल दिन नसक्ने चेतावनी नै दिएको थियो। विधेयकको विरोधमा इन्टरनेट तथा डिजिटल टेलिभिजन समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले ९ असार २०७६ देखि २४ घण्टासम्म विदेशी च्यानल बन्दसमेत गरे। 

क्लिन फिड लगाउने विधेयकको विरोधमा तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण र इकबाल मियाँले प्रतिनिधिसभामा संशोधन प्रस्तावसमेत दर्ता गराएका थिए। 

फाइदै–फाइदा

विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ (३) मा विदेशी विज्ञापनलाई नेपाली सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने पनि उल्लेख छ। 

योसँगै अब नेपालमा विदेशी च्यानलमा विज्ञापन बन्द हुने मात्रै होइन, नेपाली च्यानलमा समेत ‘डबिङ’ गरिएका विदेशी विज्ञापन प्रसारण हुने छैनन्। 

नेपालमा प्रसारण हुने विदेशी च्यानलमध्ये अधिकांश भारतीय छन्। त्यसमा पनि नेपाली केवल टेलिभिजन सेवा प्रदायक कम्पनीले ‘डाइरेक्ट अपलिंक’ गर्ने भएकाले भारतीय च्यानलहरू ‘रियल टाइम’ मै नेपालमा पनि प्रसारण भइरहेका छन्। यसरी रियल टाइममै विदेशी च्यानल प्रसारण हुने व्यवस्था अन्य मुलुकमा छैन।

क्लिन फिडको व्यवस्था लागू भएसँगै विज्ञापन बजार बढ्ने मात्रै नभएर नेपाली विज्ञापन व्यवसायी, कलाकार र सञ्चारमाध्यमले प्रत्यक्ष लाभ पाउनेछन्।

‘रियल टाइम’ मा सोझै ‘अपलिंक’ हुने भएकाले ती च्यानलमा प्रसारित विज्ञापन पनि निर्बाध रूपमा नेपाली दर्शकसम्म आइपुग्छन्। नेपालमा भारतीय च्यानल हेर्ने र हिन्दीलगायतका भाषा बुझ्ने जमात ठूलो छ। त्यसैले विदेशी कम्पनीहरू नेपालका लागि छुट्टै विज्ञापन बनाउन आवश्यक ठान्दैनन् भने नेपाली बजारका लागि विज्ञापन गर्ने विदेशी कम्पनीले समेत भारतीय च्यानलकै उपयोग गर्छन्।

नेपाली च्यानलबाट प्रसारण गर्नै पर्ने भए पनि उनीहरुले विदेशी विज्ञापनमा नेपाली आवाज मात्रै थपेर प्रसारण गर्छन्। जस्तो, अहिले कुनै भारतीय उत्पादनको विज्ञापन नेपाली च्यानलमा नेपाली भाषामा त बज्छ तर त्यसमा कलाकार सबै भारतीय वा विदेशी हुन्छन्। अर्थात् डबिङ गरिएका विज्ञापन बज्छन्। 

यसबाट नेपालको विज्ञापन बजारले कुनै लाभ पाइरहेको छैन। राज्यले अर्बौंको राजस्व गुमाइरहेको छ। अब भने त्यस्तो विज्ञापन नेपालमै निर्माण गर्नुपर्नेछ। जुनसुकै देशको ‘प्रोडक्ट’ भए पनि नेपाली स्रोतसाधनले बनाएर र नेपालीले नै अभिनय गरेको हुनुपर्नेछ। यसबाट विदेशी कम्पनीमाझ नेपाली कलाकारको ‘ब्रान्डिङ’ समेत हुनेछ।

नेपाल विज्ञापन संघ (आन) का अनुसार नेपाली विज्ञापनको बजार वार्षिक १२ अर्ब रुपैयाँ हाराहारीको छ। यसको करिब ३५ प्रतिशत हिस्सा टेलिभिजनले ओगटेको छ।  

क्लिन फिडको व्यवस्था लागू भएसँगै विज्ञापन बजार बढ्ने मात्रै नभएर नेपाली विज्ञापन व्यवसायी, कलाकार र सञ्चारमाध्यमले प्रत्यक्ष लाभ पाउनेछन्। त्यो पनि विशेषगरी टेलिभिजन च्यानलले। आनको अनुमानमा ‘क्लिन फिड’ लागू हुँदा करिब ५ अर्बको विज्ञापन नेपाली बजारमा थपिनेछ। 

संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘क्लिन फिड’ लागू हुँदा सञ्चारमाध्यम, विज्ञापन व्यवसायी, कलाकर्मी र राज्यलाई समेत फाइदा हुने बताउँछन्।

‘क्लिन फिड लागू भए विज्ञापन बनाउन स्वदेशी साधन–स्रोत, सीप तथा कलाकारको प्रयोग हुन्छ,’ उनी भन्छन्, ‘यसले राजस्वमा उल्लेख्य योगदान पु¥याउँछ, देशको आम्दानी बढाउँछ।’

प्रतिक्रिया दिनुहोस्