बुधबार, वैशाख २६, २०८१

कोरोनाका कारण अन्य सरुवा रोगमा कमी आएको हो ?

गएको वर्षसम्म यो समयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरुको लामो लाइन लाग्थ्यो। झाडापखाला, डेंगी, मौसमी फ्लु, भाइरल ज्वरो, रुघाखोकी, छाला तथा आँखा पाक्ने, स्क्रब टाइफस आदिका बिरामीको भीड हुन्थ्यो।
 |  सोमबार, भदौ ८, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, भदौ ८, २०७७

काठमाडौंं– गएको वर्षसम्म यो समयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरुको लामो लाइन लाग्थ्यो। झाडापखाला, डेंगी, मौसमी फ्लु, भाइरल ज्वरो, रुघाखोकी, छाला तथा आँखा पाक्ने, स्क्रब टाइफस आदिका बिरामीको भीड हुन्थ्यो।

triton college

लाइन यस वर्ष पनि छ, तर मात्र कोरोना परीक्षण गर्नेको।

विगतका वर्षहरुमा बर्खाको समयमा विभिन्न सरुवा रोगको महामारी फैलिने र अस्पतालमा बिरामीको भीड लाग्ने. गरेको भए पनि यस वर्ष भने अस्पतालमा बिरामी निकै कम पुग्ने गरेको पाइएको छ।

त्यसो त गएको करिब ६ महिनादेखि कोरोना भाइरसको महामारीले देशलाई आक्रान्त बनाएको छ। कोरोना संक्रमित देखिनेबित्तिकै नेपालकै एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुलाई कोरोना फोकस बनाइयो भने अन्य अस्पतालमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द भए। यसले गर्दा अन्य संक्रामक रोगहरु ओझेलमा परेको चिकित्सकहरुले बताउँदै आएका छन्। कोभिड–१९ सुरु भएपछि अन्य मौसमी संक्रामक रोग घटेको हो कि भन्ने प्रश्न पनि उठेको छ।

सरकार तथा अस्पतालहरु कोरोनामा केन्द्रित हुँदा अन्य संक्रामक रोगहरुको यकिन तथ्यांकसमेत राख्न नसकिएको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अहिले कोरोना फोकस अस्पतालको रुपमा छ। जसले गर्दा अन्य सरुवा रोगका बिरामी अन्य अस्पतालमा रेफर गरिएको छ।

corrent noodles
Metro Mart

गत वर्ष महामारीकै रुपमा डेंगीको जोखिम बढेको थियो। नेपालमा पहिलोपटक १६ वर्ष अगाडि देखिएको डेंगीले विगत २–३ वर्षको अन्तरालमा महामारीकै रुप लिएको छ। गत वर्ष नेपालमा १६ हजारको हाराहारीमा डेंगीको संक्रमण देखिएको थियो, जसमध्ये ६ जनाको मृत्यु भएको थियो। यो वर्ष पनि विभिन्न जिल्लामा पुसदेखि जेठको अन्तिमसम्म ८२ जनामा डेंगी देखा परेको छ।

७ वर्ष अगाडिमात्रै नेपालमा प्रमाणित भएको स्क्रब टाइफसका कारण सन् २०१९ मा ५५५ जनामा संक्रमित भएकोमा ३ जनाको मृत्यु भएको थियो। अघिल्ला तीन वर्षमा स्क्रब टाइफसका कारण १६ जनाको मृत्यु भएको थियो। अहिले पनि देशका विभिन्न भागमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन्। तर, अस्पतालमा बिरामी भने नआएको चिकित्सकहरु बताउँछन्।

किन कमी देखियो सरुवा रोग ?

कोभिडका कारण भएको लकडाउनका कारण मानिसरु घरभित्रै बसे। जसले गर्दा भिडभाड, धुवाँधुलो र अन्य प्रदूषणबाट उनीहरु टाढा रहे। नियमित रुपमा हात धुने, खानपानमा ध्यान दिने सावधानीका कारण पनि सरुवा रोगको प्रकोप नदेखिएको हुन सक्ने सम्बद्ध चिकित्सकहरुको अनुमान छ।

मानिसहरुबीचको दूरीका कारण यो रोग अहिले फैलन नपाएर पनि कम देखिएको हुनसक्ने सरुवा रोग विशेषज्ञ डा. अनुप बस्तोला बताउँछन्। ‘अर्कोतर्फ परीक्षणका लागि आउन नपाएर पनि बिरामीहरु कम देखिएको हुनसक्ने सम्भावना छ,’ डा. बास्तोलाले भने । बिरामी भएरै पनि मानिसहरु घरमै बसिरहेको अनुमान उनको छ।

सरुवा रोगको उपचार गर्ने टेकु अस्पतालमा विगतका वर्षमा बिरामीको लामो लाइन लाग्थ्यो। लाइन त अहिले पनि छ तर कोरोना परीक्षणका लागि। ‘एकाधबाहेक अन्य रोगका कारण मानिसहरु अस्पताल पुग्दैनन्। अर्कोतर्फ कोरोनासँग मिल्दो लक्षणका कारण अरु रोगका बिरामीले पनि कोरोनाकै उपचार गरिरहेको हुनसक्ने सम्भावना पनि छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्।

मानिसहरुबीच घुलमिल, भेटघाट कम भएकाले समेत सरुवा रोग कम देखिएको हुनसक्ने डा. पुन बताउँछन्। भन्छन्, ‘डेंगु संक्रमित मानिस अरुको सम्पर्कमा नआएमा यो रोग सर्न पाउँदैन। अन्य सरुवा रोगको हकमा पनि यस्तो भएको हुन सक्छ।’

कोरोना महामारीकै बेलामा नेपालमा स्क्रब टाइफसका बिरामी पनि देखिएका छन्। डा. पुन भन्छन्, ‘विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो। तर अहिले कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा परेका छन् भन्ने अनुमान छ।’ अर्कोतर्फ कोरोना संक्रमणको लक्षण र स्क्रब टाइफस हुँदा शरीरमा देखिने लक्षण प्रायः एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने डा. पुन बताउँछन्।

सरुवा रोग अस्पताललाई कोरोनाको हब अस्पतालको रुपमा राखिएकाले त्यहाँ पुग्नेहरुलाई अन्य अस्पतालमा पठाउने गरिएको छ। सरुवा रोगमात्र नभएर अहिले कोरोनाका कारण प्राथमिकतामा नपरेका अन्य शारीरिक एवं मानसिक रोगको समयमै उपचार नहुँदा दिर्घकालीन रोग निम्त्याउन सक्ने चेतावनी विज्ञहरुले दिँदै आएका छन्।

प्रकाशित: Aug 24, 2020| 06:30 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्