समाचार

हुन छाड्यो कन्ट्याक्ट ट्रेसिङ, बढ्यो लापरबाही

1602296097.jpg
भैरहवास्थित मायादेवी फलफूल बजारमा मास्क नलगाइकन बसेका व्यापारी। तस्बिर : नरेश केसी

भैरहवा– घटना १ : तीन दिनअघि सिद्धार्थनगर नगरपालिकाका वडा सदस्य सुबोध तुलाचनको कोरोना संक्रमणबाट ज्यान गयो। स्वास्थ्यमा अत्यन्तै सचेत र नियमित व्यायाम गर्ने इन्जिनियर तुलाचनलाई कुनै रोग थिएन। 

NLG Insurance
agrakhi
Yeti parketing

तुलाचन एक दिन एक्कासि बिरामी परे। होम आइसोलेसनमा बसे। निकै च्याप्यो। अस्पताल जान खोज्दा एम्बुलेन्स पाएनन्। भैरहवाजस्तो सुविधा सम्पन्न सहरमा जनप्रतिनिधि बिरामी हुँदा एम्बुलेन्स नपाइनु विडम्बना हो।

तुलाचनलाई जेसिजका अध्यक्ष मंगल भण्डारीले आफ्नै सवारीसाधनमा अस्पताल पुर्याए। भेन्टिलेन्टरमा बसेको सातौं दिनमा उनको निधन भयो।

घटना २ : बुटवलमा प्रदेशसभाले प्रदेशको नामकरण र राजधानीको टुंगो लगाउँदै थियो। प्रदेशसभा गेटको डेढ सय मिटर पूर्व नेपालगन्ज रोड (सिन्दूर होटलअगाडि) प्रदेश राजधानी बुटवलबाट अन्यत्र लैजान पाइँदैन भन्दै विरोध कार्यक्रम चलिरहेको थियो।

कार्यक्रममा हजार हाराहारीमा मान्छेहरू छरिएर बसेका थिए। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका जिल्लासभापति अब्दुल रज्जाक र संविधानसभा सदस्य इस्तियाक अहमद खान पनि त्यहीं थिए।

आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा, विभिन्न दलका नेताकार्यकर्ता सहभागीलाई तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेले सम्बोधन गरे। उनै घिमिरेलाई दुई दिनपछि कोरोना पुष्टि भयो। उनी अहिले होम आइसोलेसनमा छन्। 

घटना ३ : प्रदेश सभामा विपक्षी दलका सांसदहरुसँग कम्तीमा तीनचार मिनेट लडिबुडी खेल्दै मयार्दापालकको सहयोगले  रोस्टममा पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीको प्रस्ताव गरे।

सरकारको योजनाअनुसार नै पारित भयो। भौतिक दूरीका हिसाबले अत्यन्तै नजिक भएर धेरै बैठक र छलफलमा सहभागी भए। उनलाई पनि कोरोना संक्रमण भयो। 

यी तीन घटनाले भीभाडमा रहेका मानिसमा कोरोना संक्रमण देखिन थालेको प्रस्ट हुन्छ। मन्त्री र नगर प्रमुखले दैनिक सयौं मान्छेसँग भेटघाट र छलफल गर्थे। 

त्यसैले आन्दोलनका सहभागी, सांसद, प्रदेश सरकारका मन्त्री, मर्यादापालक, बैठकमा सहभागी पत्रकार तथा सयौं सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा छन्। कतिपयलाई संक्रमण भइसकेको छ। 

सिद्धार्थनगरपालिका उपप्रमुख उमा काफ्ले र सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारूलाई कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल पत्रकार महासंघ रूपन्देहीका सहसचिव कमल रायमाझी भर्खरै संक्रमणमुक्त भएका छन्।

अग्रपंक्तिमा  खटिने सुरक्षाकर्मी तथा पत्रकार भन्छन्, ‘परीक्षण गराउने हो भने कन्फर्म पोजेटिभ देखिन्छ। नगराएकै बेस।’ आफैं चासो राखेर परीक्षण गराउने असाध्यै कम छन्। 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि उसको प्रत्यक्ष सम्पर्क आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुन्छ। जसअनुसार ती व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तथा स्वास्थ्य अवस्था बुझ्नुपर्ने हुन्छ। तर प्रदेश ५ मा त्यस्तो कार्य गरेको पाइँदैन। 

चैत ११ गतेदेखि लकडाउन गरिए तापनि असार मसान्तसम्म कोरोना संक्रमितलाई खोजी–खोजी उपचार गर्ने, संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीसमेत यति बेला सम्पर्कमा आएका छैनन्। 

व्यक्ति आफैं बिरामी भएर परीक्षण गरे अवस्था थाहा हुने तर सरकारको भर परे पालै नआउने अवस्था छ।

बुटवल, भैरहवा, चार नम्बर, तुलसीपुर, कोहलपुर, प्यूठान खलंगा, तम्घास, सन्धिखर्क, तानसेन, परासीजस्ता लुम्बिनी प्रदेशका सहरमा एम्बुलेन्स पाइँदैन। त्यसैले बिरामी आफैं निजी प्रयोगशालामा पुगेर कोरोनाको स्वाब दिने गरेका छन्। 

परीक्षणमा हेलचेक्र्याइँ त छँदै छ। आममानिस पनि कोरोनासँग डराउन छाडेका छन्। अधिकांशले मास्क लगाएको देखिँदैन। चोकका चियापसलदेखि सुविधा सम्पन्न होटलमा भेटिने ग्राहकको मुखमा मास्क देखिँदैन। 

सरकारी कार्यालय र सुविधा सम्पन्न कम्पनी तथा सपिङ कम्प्लेक्समा बाहेक अन्यत्र स्यानिटाइज गर्न छाडिएको छ। मानिसहरु होटल तथा रेस्टुरेन्टमा बसेर निर्धक्क खाइरहेका छन्। 

हाटमा विगतमा झैं कारोबार हुन थालेको छ। कुनै स्वास्थ्य मापदण्ड अपनाइएको छैन। भैरहवाको मायादेवी फलफूल बजार यसको नमुना हो। व्यापारी कसैले पनि मास्क लगाएका देखिँदैन। 

रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीजस्ता तराईका जिल्लाको दक्षिणी भूगोलमा पाँच प्रतिशत मानिसले पनि स्वास्थ्य मापदण्ड अपनाएका छैनन्।

कतिपय त कोरोना भनेको केही होइन भन्दै हल्ला फिँजाउन थालेका छन्। यसबारे स्थानीय सरकार पनि मौन छ।   

विगतमा टोलटोलमा छेकबार लगाउनेहरू अहिले निष्क्रिय छन्। कबाडी बटुल्ने, तरकारी, दूध, फलफूल, कार्पेट काँधमा बोकेर घरघर बेच्न हिँड्नेको चहलपहल बढेको छ। उनीहरुको मुखमा पनि मास्क देखिँदैन। 

रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रमा मोटरसाइकलमा राखेर सीमापार आवतजावत गर्ने बढेका छन्। प्रहरी प्रशासन पनि निरीहजस्तै छ।

मास्क नलगाउनेलाई जरिवाना तिराउने प्रहरी, मास्क नलगाउनेलाई मास्क खै भन्दै प्रश्न गर्ने सामाजिक अभियन्ता, मास्क दिएर लगाउन अनुरोध गर्ने स्थानीय सरकार पनि जनताको अटेरीपनका अगाडि घुँडा टेकेका छन्। 

‘मास्क खै’ अभियान सञ्चालन गरेका लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीका अध्यक्ष शिवनाथ गुप्ता भन्छन्, ‘सुरुसुरुमा मान्छेलाई सम्झाउँदा मान्थे। अहिले उल्टै गाली पो गर्छन्।’ 

संस्थाले रूपन्देहीमा मास्क वितरण गर्दै आएको छ। क्लोज कन्ट्याक्टमा रहेकामा लक्षण देखिएमा मात्रै पीसीआर परीक्षणका लागि पहल गरिएको सिद्धार्थनगर स्वास्थ्य शाखा प्रमुख उमा थापाले बताइन्। 

कोरोना केही होइन भन्ने बुझेर पनि बुझपचाउने र पहुँच भएका ठाउँमा पनि सामान्य स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमितको दर हवात्तै बढेको स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले बताए। 

प्रदेश जनस्वास्थ्य निर्देशानालयका निमित्त प्रमुखसमेत रहेका उनले भने, ‘अहिले संक्रमितको संख्या बढेको छ। १५–२० दिनपछि मृत्युदर पनि हवात्तै बढ्न सक्छ। हामी दिनप्रतिदिन हेलचेक्र्याइँ गरिरहेका छौं।’

 

प्रतिक्रिया दिनुहोस्