बिहिबार, कात्तिक १३, २०७७

Happy Dashain
स्वास्थ्य/जीवनशैली
1602140152.jpg

काठमाडौं– ‘दृष्टिप्रतिको आश’ नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा करिब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ। 

यसमा थप करिब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ।

नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसंख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ। यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४५ जनसंख्यामा रहेको पाइएको थियो। अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए पनि जनसंख्या वृद्धि र ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको संख्यामा त्यति फरक परेको देखिँदैन।

विश्व स्वास्थ्य संगठनले विश्वमा बढ्दो दृष्टि समस्यालाई ध्यानमा राखी सन् २०२० सम्म अन्धोपनलाई २५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य राखेको छ।  

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रका अनुसार संघले २० वटा आँखा अस्पताल, १२१ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाहरुको माध्यमबाट देशका प्रायः सबै क्षेत्रमा आँखा उपचार सेवा पुर्याएको छ।

२०१९ मा मात्रै संघले मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुको माध्यमबाट कुल ३३ लाख २३ हजार ४४ जनाको आँखा जाँच गर्नुका साथै २ लाख ६५ हजार ९७८ जनाको मोतिविन्दु लगायत आँखाका अन्य रोगहरुको शल्यक्रिया गरेको संघका कार्यकारी निर्देशक मिश्र बताउँछन्। मिश्रका अनुसार सन् १९८१ मा नेपालमा कुल जनसंख्याको ०.८४ प्रतिशत अन्धोपनको स्थिति रहेकोमा सन् २०११ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.३५ प्रतिशतमा झर्न पुगेको छ। 

अझै आँखा स्वास्थ्यका क्षेत्रमा थपिँदै गएका नयाँनयाँ चुनौतीलाई पनि आकलन गर्न आवश्यक रहेको उनी बताउँछन्। औसत आयुमा वृद्धि, प्रविधिको अत्यधिक प्रयोग, प्रदूषण, आधुनिक खानपान आदि कारणबाट आँखामा नयाँ रोग देखिँदै पनि गएको उनी बताउँछन्।

त्यसैले आँखा रोगको निवारणका लागि पूर्वतयारी र आवश्यक रोकथामका विधिहरुको विकासमा समयमै ध्यान दिनुपर्ने उनी बताउँछन्। 

अनलाइन कक्षाले आँखामा समस्या बढ्दै

कोरोना महामारीको समयमा अध्ययन अध्यापन सुचारु गराउन अपनाइएको अनलाइन कक्षाले आँखा स्वास्थ्यमा नकारात्मक असर बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले पनि मान्यता दिएकाले विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्।

बालबालिकाहरुले दिनमा ४ देखि ६ घण्टाको विद्यालय अनलाइन कक्षा, गृहकार्य अनि १ देखि २ घण्टाको मोबाइल, ट्याब्लेट हेर्दाको समय गरी दिनमा बालबालिकाहरुले कम्तिमा ८ घण्टा डिजिटल स्क्रिनमा हेरेर बिताउने गरेका छन्। 

यसरी लामो समयसम्म डिजिटल स्क्रिनमा व्यस्त हुँदा आँखामा तत्कालिन तथा दीर्घकालिन असर पर्ने आँखा रोग विषेशज्ञहरुले बताउँदै आएका छन्। आँखामा पर्ने तत्कालिन असरमध्ये आँखा पोल्ने, आँखा बिझाउने, आँशु बग्ने समस्या देखिन थालेको छ।

डिजिटल स्क्रिनबाट आउने विकिरणहरुले निन्द्रामा समेत गडबडी हुने तथ्य पनि विभिन्न अध्ययनहरुले देखाइसकेका छन्।  आँखा रोग विषेशज्ञ तथा दृष्टि विशेषज्ञ संघका प्रवक्ता डा. दिपकुमार शाहका अनुसार एकनासले धेरै लामो समयमा आँखासमेत नझिम्काई स्क्रिनमा हेरिरहँदा आँखा सुख्खा हुने, भारी हुने समस्या देखिएका छन्।  

कसरी जोगाउने स्क्रिनबाट आँखालाई ?

विद्युतीय उपकरणमा धेरै नजिक गएर २० सेन्टिमिटर भन्दा कम लामो समयसम्म सामान्यतया ३ देखि ६ घण्टा पढ्दा विद्यालय उमेरका (लगभग ३ देखि १२ वर्ष उमेरसम्मका) बालबालिकामा दीर्घकालिन रुपमा अदूरदृष्टिदोषको समस्या बढ्दै गएको देखिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०५० सम्ममा विश्वका आधा जनसंख्यामा अदूरदृष्टिदोषको समस्या देखिने प्रक्षेपण गरेको भए पनि अत्यधिक डिजिटल उपकरणको प्रयोगले दृष्टिदोषको समस्या प्रक्षेपण गरेभन्दा अझै अगाडि देखिने अनुमान गर्न सकिने डा. शाह बताउँछन्।

उनका अनुसार डिजिटलबाट आउने विकिरणबाट आँखा जोगाउन बजारमा विभिन्न किसिमका सुरक्षात्मक चश्माहरु पनि आएका छन्। तर ती चश्माहरु विद्यालय बालबालिकाहरुका लागि उपयोगि हुने–नहुने यकिन छैन।

बालबालिकालाई स्क्रिनबाट आँखा जोगाउनको लागि अनलाइन कक्षा व्यवस्थित गर्नुपर्ने विज्ञहरु बताउँछन्।  डब्लुएचओले डिजिटल स्क्रिन प्रयोगका सम्बन्धमा मापदण्ड नै बनाएको छ। जसअनुसार ५ वर्षमुनिका बालबालिकालाई १ घण्टाभन्दा कम, ५ वर्ष माथिका बालबालिकालाई केही समयको विश्राम लिई दिनमा २ देखि ३ घण्टामात्रै डिजिटल स्क्रिनको प्रयोग गराउन मिल्छ। 

शिक्षक, अभिभावक तथा बालबालिकाका लागि सुझाव

–कक्षा सत्रको समयावधि १ कक्षाभन्दा कम तहका बालबालिकाका लागि ३० मिनेटको मात्रै अनलाइन कक्षा सञ्चालन गर्ने

–कक्षा १ देखि ८ कक्षासम्मका बालबालिकाका लागि ४५–४५ मिनेटको दुई सत्र गरी दिनमा डेढ घण्टाको मात्रै कक्षा सञ्चालन गर्ने

–९ देखि १२ कक्षासम्मका बालबालिकाका लागि ४५–४५ मिनेटको गरी ४ सत्रमा अनलाइन पढाउन सकिन्छ। यी तहका बालबालिकाहरुका लागि ३ घण्टाको अनलाइन कक्षा चलाउने

– ४५ मिनेटको कक्षालाई २०–२० मिनेटको गरी दुई सत्रमा सञ्चालन गर्ने। यसबीचमा ५ मिनेट विश्राम दिने र त्यो विश्रामको समयमा पानी पिउने, २ मिनेट जति उभिने, ३ मिनेट जति हिँडडुल गर्ने र ५ देखि १० मिनेट आँखा झिम्क्याउने गर्नुपर्छ।

साथै प्रकाश भएको कोठामा बस्ने तर धेरै चम्किलो प्रकाशमा नबस्ने, हावाको आवतजावत हुने राम्रो भेन्टिलेसन भएको कोठामा बस्न चिकित्सकहरुले सुझाव दिएका छन्। साथै डिजिटल उपकरण १८ देखि २४ इन्च टाढा राख्ने, कम्युटरको स्क्रिनलाई आँखाको सतहदेखि १५ देखि २० डिग्रिको तल पारेर राख्न चिकित्सकहरुको सुझाव छ।  

आँखाको समस्या हुन नदिन निम्न कुरामा ध्यान दिनुपर्छ 

–दिनमा २ पटक सफा र चिसो पानीले आँखा सफा गर्ने

–दिनमा कम्तिमा २ देखि ३ लिटर पानी पिउने

–बिहानपख तातोपानीमा सफा कपडा भिजाएर राम्ररी सो कपडालाई निचोरी आँखा सेक्ने  

–डिजिटल उपकरणको प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्ड विश्राम लिएर २० फिट टाढाका दृश्यहरु हेर्ने

–यदि हामी लगातार २ घण्टादेखि डिजिटल प्रयोग गरिरहेका हुन्छौँ भने कम्तिमा १५ मिनेटको विश्राम लिनुपर्छ  

–सुत्नुभन्दा कम्तिमा १ घण्टा अगाडिदेखि डिजिटल उपकरणको प्रयोग बन्द गर्ने

– दृष्टि धमिलो भए, टाउको दुखेमा तुरुन्तै आँखा परीक्षण गराउनुपर्छ 

प्रतिक्रिया दिनुहोस्