बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'कोरोनाको जोखिम बढे पनि शान्तिसुरक्षामा सम्झौता हुँदैन'

'कोरोनाको जोखिम बढे पनि शान्तिसुरक्षामा सम्झौता हुँदैन'

सरकारले स्पष्ट रुपमा भनेको छ– २५ जनाभन्दा बढी भेला हुन पाइँदैन। यो नियम पालना गरिदिए प्रहरीलाई सजिलो हुन्थ्यो।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिरहेको छ। नेपालमा पनि जोखिम बढ्दो छ। आज (बिहीबार) बिहानसम्मको तथ्यांकअनुसार २४ हजार ४३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। ७ हजार ६१३ सक्रिय संक्रमित छन्। ९१ जनाको मृत्यु भइसकेको छ।

triton college

पछिल्लो समय सुरक्षाकर्मीमा पनि कोरोनाको संक्रमण बढ्दो छ। एकातिर शान्तिसुरक्षाको जिम्मेवारी अनि अर्कोतिर भाइरस संक्रमणको जोखिम। यस्तो अवस्थामा नेपाल प्रहरीले कसरी काम गरिरहेको छ त ? यसै विषयमा हामीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतसँग संक्षिप्त कुराकानी गरेका छौं।

प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ। नेपाल प्रहरीले स्वास्थ्य सुरक्षाका लागि कस्तो रणनीति अपनाइरहेको छ?

कोरोना संक्रमण देखा पर्नेबित्तिकै हामीले स्वास्थ्य मन्त्रालयले तयार गरेको मापदण्डअनुसार सुरक्षाका उपाय अवलम्बन गर्छौं। संक्रमितको सम्पर्कमा आएका, सँगै खाने वा एउटै ब्यारेकमा बसेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर पीसीआर परीक्षण गराउँछौं र उनीहरुलाई क्वारेन्टिनमा राख्छौं। त्यसपछि उनीहरुको कन्ट्याक्ट टेसिङको काम गर्छौं।

ब्यारेकहरुमा औषधि छर्कने काम भइरहेको छ। मेसहरु व्यवस्थित गर्ने काम भइरहेको छ। पहिले एउटै कोठामा पनि धेरैले काम गर्नुपर्ने अवस्था थियो। अहिले संक्रमण देखिन थालेपछि हामीले भौतिक दूरी कायम गराएर राख्ने गरेका छौं। एकआपसमा सम्पर्क नहोस् भनेर न्यूनतम मानिसहरुले काम गर्ने वातावरण बनाइएको छ। पहिलो तहमा फिल्डमा ड्युटी गर्ने कर्मचारीहरुलाई पीपीई, भाइजर, मास्क, पन्जा अनिवार्य प्रयोग गर्न लगाइएको छ।

corrent noodles
Metro Mart

दोस्रो तहमा खटिने प्रहरी कर्मचारीहरुलाई पनि मास्क र पन्जा अनिवार्य प्रयोग गर्न भनिएको छ। प्राकृतिक प्रकोप लगायतमा खटिने सुरक्षाकर्मीहरुलाई पनि स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ। ब्यारेकहरुमा औषधि छर्किने त छँदैछ, सबै कर्मचारीहरुलाई साबुन–पानीले हात धुन तथा स्यानिटाइजर प्रयोग गर्न निर्देशन दिइएको छ।

प्रहरी प्रधान कार्यालयमा नै कोरोना संक्रमण धेरै जनामा देखिएको छ। कसरी पस्यो त्यहाँ कोरोना ?

यही स्रोत हो भनेर खुलाउन असहज नै छ। तर, शुरुवातचाहिँ सवारी चालकहरुबाट भएको देखिन्छ। ४ जना चालकलाई देखिएपछि मेसमा सामान ल्याउनेहरुमा देखिएको थियो। तरकारी लगायत सामान बाहिर लिन जाँदा पनि संक्रमण भएको हुन सक्छ। वा गाडी चलाएर बाहिर गएको बेला फर्किएको कारण पनि हुन सक्छ। तर, यही कारण हो भनेर खुलेको अवस्था भने छैन।

हालसम्म कति जना प्रहरीमा संक्रमण देखिएको छ ?

अहिलेसम्म देशैभर ४५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १६५ जना संक्रमणमुक्त भइसकेका छन्। २८५ जना संक्रमित प्रहरीहरु आइसोलेसनमा उपचाररत छन्। ती मध्ये ११२ जना प्रहरी प्रधान कार्यालयभित्रका हुन्। २८ जना उपत्यका क्षेत्रमा छन्। बाँकी सबै उपत्यका भन्दा बाहिर उपचाररत रहेका प्रहरी हुन्।

कोरोनाको जोखिमकै बीच पनि बेलाबेला सडक आन्दोलन भइरहेको हुन्छ। मानिसहरुको भीड लाग्छ। यस्तो अवस्थामा प्रहरीले कसरी काम गरिरहेको छ ?

सरकारले स्पष्ट रुपमा भनेको छ– २५ जनाभन्दा बढी भेला हुन पाइँदैन। यो नियम पालना गरिदिए प्रहरीलाई सजिलो हुन्थ्यो। मानिसहरु भेला भएपछि प्रहरीले हस्तक्षेप गर्नैपर्ने हुन्छ। कसैलाई समात्नैपर्ने अवस्था पनि हुन्छ। पक्राउ गर्नुपर्ने अवस्थामा हामीले पीपीई लगाएका सुरक्षाकर्मीलाई अगाडि सार्छौं। त्यो सम्भव नभए भाइजर र मास्क लगाएकालाई प्राथमिकतामा राखेर नियन्त्रण गरिरहेका हुन्छौं।

प्रहरीमा संक्रमण बढ्दै गयो भने फिल्डमा खटाउन जनशक्ति कम हुने अवस्था पनि आउन सक्ला, त्यस्तो अवस्थामा के हुन्छ रणनीति ?

हामीले प्रहरी खटिने ठाउँमा कमी गरेका छैनौं। तर, हिजोको भन्दा संख्या केही घटाएका छौं। थप मद्दतका लागि भनेर हामीले रिजर्भ टोली तयारी अवस्थामा नै राखेका छौं। लगातार ड्युटीमा खटिने कर्मचारीलाई अलग्गै ब्यारेकमा राख्ने र १४–१५ दिनमा अर्को टोली खटाउने गरिरहेका छौं। नियमित ड्युटी गरिरहेकाहरुमा संक्रमण देखियो भने पनि उनीहरुलाई क्वारेन्टिनमा राख्न सहज हुन्छ भनेर हामीले फेरबदल गरिरहेका छौं।

महामारीसँगै समाजमा अपराध पनि बढ्न सक्ने आँकलन प्रहरीले नै गरेको छ। यसमा कत्तिको चनाखो हुनुहुन्छ ?

नेपाल प्रहरीको पहिलो काम भनेकै शान्तिसुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नु हो। यसमा सम्झौता हुँदैन। कोरोना महामारी, प्राकृतिक प्रकोपजस्ता समयमा पनि प्रहरीले फ्रन्टलाइनमा रहेर नै काम गर्नुपर्ने भएकोले त्यता पनि खटिनुपर्छ। लकडाउनकै समयमा पनि केही आपराधिक घटना भएका छन्।

लकडाउन खुकुलो हुँदा अपराध बढेको छ। अपराध नियन्त्रण र रोकथामका लागि गस्ती, पेट्रोलिङलगायत चेतनामूलक काम भइरहकै छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगायतबाट पनि विभिन्न क्रियाकलाप भइरहेका छन्। अपराध भइहाल्यो भने त्यसलाई सक्रिय अनुसन्धान गरेर अपराधीलाई नियन्त्रणमा लिई कानुनी कारवाहीमा ल्याउने काम भइरहेकै छ। धेरै घटनाहरुमा प्रहरीले एकदम छिटो अपराधी नियन्त्रणमा लिएर अनुसन्धान गरेको पनि छ।

कोरोना संक्रमणबाट प्रहरी पनि जोखिममा छन्। तर, प्रहरीले नै गर्ने पत्रकार सम्मेलनमा भीड देखियो नि ?

हो, त्यस्तै भयो। तर, पत्रकार आफैं पनि सचेत हुनुपर्छ। प्रहरीले पनि वैकल्पिक विधि अपनाउनुपर्छ। त्यो भनेको भर्चुअल पत्रकार सम्मेलन हो। सरकारले तयार गरेका सुरक्षा मापदण्डहरु पूर्ण पालना गर्न प्रहरी प्रतिबद्ध छ।

प्रकाशित: Aug 13, 2020| 07:17 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।