विदेश समाचार

भारत-पाक सीमा व्यथा : १० किलोमिटरको बाटाे बन्द हुँदा २ हजार किलोमिटरको फन्को

1599727322India_pak.jpg

‘भारतका महोदय र पाकिस्तानका महोदय, हाम्री छोरीको शव हामीलाई दिनुहोस्, हाम्रो फूल हाम्रो हातमा दिनुहोस्, बस ! यति उपकार गरिदिनुस्’

agrakhi
Yeti parketing
honda

खैरुन्निसाका बुढा आमा बुवाले यो अनुरोध एक भिडियो सन्देशका रुपमा रेकर्ड गराए। भिडियो सन्देश लद्दाखकी लोकप्रिय गायिका शेरीन फातिमा बलतीले आफ्नो फेसबुकमार्फत् सेयर गरिन्।

३० वर्षीया खैरुन्निसा भारतको लद्दाखस्थित सीमावर्ती गाउँ बयोगाङकी हुन्। उनको शव सोमबार बिहान पाकिस्तान प्रशासित गिलगित–बल्तिस्तानको सीमामा रहेको थोंगसोममा फेला पर्‍यो।

शव भेटिनुअघि केही दिनदेखि उनको खोजी भइरहेको थियो। साथै उनको परिवारले तस्बिरसहित लद्दाखका विभिन्न सीमावर्ती क्षेत्रमा खोजीका लागि विज्ञापन पनि गरेका थिए।

खैरुन्निसाको मृत्यु कसरी भयो भन्ने थाहा भएको छैन। घटनाको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको दुर्घटना, हत्या वा आत्महत्या के कारणले मृत्यु भएको हो भन्ने खुलिसकेको छैन।

तर उनको शरीर अहिले पाकिस्तानको सीमावर्ती स्कर्दूस्थित जिल्ला अस्पतालको मुर्दाघरमा छ। अब उनको शव भारत पठाउनका लागि भारतले आधिकारिक रुपमा आवेदन दिनुपर्छ।

भारतको आवेदनले मात्रै उनको शव सहजै आउने छैन। यो निकै घुमाउरो र कष्टकर बाटो भएर भारत आउनुपर्छ। यही कष्टकर र घुमाउरो बाटोको विरोध सीमावर्ती क्षेत्रमा वर्षौँदेखि भइरहेको छ। सीधा बाटो शव आउने हो भने जम्मा १० किलोमिरटरको दूरी हो। तर यो शव परिवारले बुझ्नका लागि २ हजार किलोमिटरभन्दा लामो यात्रा तय गर्नुपर्छ।

मृत्युको नदी

सीमावर्ती क्षेत्रमा यो यस किसिमको पहिलो घटना होइन। पाकिस्तानको यस क्षेत्रमा कयौँ पटक श्योक नदीमा बगेर आउने शव फेला पर्ने गरेका छन्।

‘श्योक’ बाल्ती भाषाको शब्द हो जसको अर्थ मृत्यु भन्ने हुन्छ। र यो मृत्यु नदी यस क्षेत्रको सबैभन्दा खतरनाक नदीका रुपमा परिचित छ।
हरेक वर्ष यो नदीमा दुर्घटनाको शिकार भएर थुप्रै मानिसले ज्यान गुमाउने गरेका छन्। यस नदीमा आत्महत्या गर्नेको संख्या पनि ठूलो छ।
यो नदीमा भारत प्रशासित क्षेत्र र पाकिस्तानी दुबै क्षेत्रबाट शवहरु आइपुग्ने गरेका छन्।

नदीमा आउने शवलाई आमरुपमा बाल्तिस्तानको सीमावर्ती इलाकामा अन्त्यष्टी गरिन्छ। यो अन्त्यष्टि निकै महंगो खालको हुने गरेको छ। अर्थात् यहाँ अन्त्यष्टी गरिने शव पुनः निकाल्न मिल्ने गरी सुरक्षित रुपमा राखिन्छ, ताकि पुनः कुनै देशमा (जस्तै भारतमा) पठाउनु परेमा सहजै निकाल्न सकियोस्।

मरने वाली महिला ख़ैरुन्निसा के मां-बाप

खैरुन्निसाको परिवारले लद्दाखका कमिश्नरलाई एक पत्र लेख्दै आफ्नी छोरीको शव ल्याइदिन पाकिस्तानसँग पहल गरिदन अनुरोध गरेको छ। परिवारजनले आफ्नी छोरीको शवको छिटोभन्दा छिटो अन्त्यष्टी गर्न चाहन्छ। साथै परिवारले सीमा क्षेत्रमा रहेका सैनिकलाई पनि आफ्नो छोरीको शव ल्याउन सहज वातावरण बनाइदिन आग्रह गरेको छ।

तर परिवारको यो आग्रह सहजै अनुमोदन हुन सक्ने देखिँदैन। किनकी दशकौँ पहिले केबल १० किलोमिटर दूरीमा रहेको यो क्षेत्र युद्धका कारण दुई हजार किलोमिटरभन्दा लामो दूरीमा परिणत भएको छ।

पाकिस्तानको सीमावर्ती जिल्लाका डिउडी कमिश्नरका अनुसार खैरुन्निसाको शव वाघा सीमाबाट भारत पठाइनेछ। तर त्यसका लागि भारत सरकारले आवेदन दिनुपर्छ, त्यो आवेदन अहिलेसम्म प्राप्त भएको छैन।

उनले सिधै ती महिलाको शव घरमा पठाउन मिल्ने भए जम्मा १० किलोमिटर को दूरी मात्रै रहेको भन्दै यो बाटो १९७१ को युद्धका कारण बन्द भएको बताए। उक्त युद्धपछि यो सीमा बन्द गरेर वाघा सीमा उपयोग गर्न थालिएको थियो।

सन् १९७१ मा के भएको थियो ?

जब डिसेम्बर १९७१ मा भारत र पाकिस्तान आफ्नो तेस्रो युद्ध लडिरहेका थिए त्यतिबेला भारतले बल्तिस्तानका केही गाउँ कब्जामा लिएको थियो। जसमा चलुंका, त्याक्शी, थाङ र तुरतुक गाउँ पनि थिए। ती गाउँ भारतीय कब्जामा आएपछि भारत–पाकिस्तानबीच नयाँ सीमा अस्तित्वमा आयो।

त्यो नयाँ सीमा भौगोलिक रुपमा मात्रै हैन मानवीय संकटको सीमा पनि बन्यो। १९७१ मा युद्धकै बेला अलग भएका सयौँ व्यक्ति र परिवार पनि अलगअलग भए।

उक्त युद्धपछि दुबै देशतर्फ रहेका छुटेका परिवारहरुले दुबै देशलाई आफ्नो परिवारजनसँग मिलाइदिन आग्रह गर्दै आए। उनीहरुले पाकिस्तानको खपलु, भारतको तुरतुक रोड, कारगिल, स्कर्दू रोड खोल्न माग गर्दै आएका छन्।

सीमावर्ती क्षेत्रका दुबै देशका स्थानीयहरुले समयसमयमा विरोध प्रदर्शन गर्दै आए पनि उनीहरुको मागको सुनुवाई अहिलेसम्म भएको छैन। १९७१ मा छुटेका आफ्ना प्रियजनलाई भेट्न वर्षौसम्म कुरिरहेका कतिपयले आफ्नो प्राणपखेरु त्यागिसकेका छन्, कतिपय सरकारी कार्यालयहरुको चक्कर लगाइरहेकै छन्।

स्थानीयहरुका अनुसार पहिले त दुबै देशले भिषा नै जारी गर्दैनथे। अहिले भिषा पाउन सकिन्छ तर सबैले पाउन कठिन छ। कसैले भिषा पाइहाल्यो भने भारत छिर्नका लागि स्कर्दुबाट लाहोर, त्यहाँबाट वाघा हुँदै भारत जानुपर्छ।

त्यहाँ भिषा मात्र होइन अन्य थुप्रै प्रमाणहरु पेश गर्नुपर्छ। १९७१ मा बन्द भएको १० किलोमिटरको बाटो नखुल्दा उनीहरु कति लामो दूरी पार गर्नुपर्छ जुन अत्यास लाग्दो छ।

कति लामो छ बाटो ?

खैरुन्निसा जसको शव श्योक नदीमा भेटिएको थियो, उनीबारे पाकिस्तानी अधिकारी भन्छन्, ‘सीमा बन्द भएपछि जुन बाटो बन्द भयो त्यो लगभग १० किलोभिटर थियो। तर त्यो पाकिस्तानको अन्तिम गाउँ फरानोबाट लगभग १६८ किलोभिटर दूरीमा छ।’

उनका अनुसार अव त्यो शव भारत पठाउन कानुनी प्रक्रिया अपनाउनु पर्छ जसका लागि यी मार्गहरु पहिल्याउनुपर्छ। सकुर्दूबाट लाहोरसम्म ९८४ किलोमिटर छ। लाहोरबाट वाघा सीमासम्म २८ किलोमिटरको दूरी छ।

त्यहाँबाट अमृतसर र अमृतसरबाट लद्दाखको राजधानी लेहको दूरी ८९८ किलोमिटर छ। लेहबाट स्कुर्दू नजिकको थाङ गाउँको दूरी २१३ किलोमिटरभन्दा धेरै छ। यस हिसाबले १० किलोमिटरको दूरी पार गर्न त्यहाँका मानिसहरु वर्षौँदेखि २ हजार २९१ किलोमिटरको दूरी हिड्न बाध्य छन् त्यो पनि भिषा प्राप्त भयो भने।

थुप्रै मानिस आफ्ना प्रियजन भेट्नका लागि २ हजार २९१ किलोमिटर दूरीको बाटो नाप्न पनि तयार छन् र वर्षौँदेखि भिषा प्रक्रियामा रुमल्लिइरहेका छन्। जसमध्ये हजारौँ मानिस सीमा पार गर्ने मनको इच्छा मनमै दबाएर संसारबाट बिदा भइसकेका छन्।

त्यसैले श्योक नदीमा बग्दै आएको शवलाई महंगो रुपमा अन्त्येष्टी गरिँदै आएको छ ताकि कुनै दिन १० किलोमिटर लामो सीमा क्षेत्र खुल्यो भने आफन्तजनले आफ्नाहरुको शव लिएर पुनः अन्त्येष्टी गर्न सकून्, आफ्नै माटोमा राख्न सकून्।

बीबीसी हिन्दीबाट साभार

 

प्रतिक्रिया दिनुहोस्