काठमाडौं- लद्दाखमा भारत–चीन सीमामा दुबैतर्फ सेनाको तैनाथी बढेको छ। भारतले सैनिक विमानहरु महत्वपूर्ण स्थानमा तैनाथ गरेको छ भने जल सेनालाई हिन्द महासागरमा उपस्थिति बढाउन भनेको छ।
भारतीय सेनाका २० सैनिक मारिएपछि भारतीय नेतृत्वको तीखो प्रतिक्रिया लगत्तै सेना पनि ‘उच्च सतर्कता’मा रहेको होे।
लद्दाखमा भारत–चीन सीमामा सैनिक, हतियार, वाहन र अन्य उपकरण ठूलो मात्रामा तैनाथ गरिएको र स्थानीय सैन्य कमाण्डरलाई कुनै पनि संंभावनाका लागि तयार रहन भनिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
चीनतर्फ पनि चिनियाँ सेना अगाडि बढेको खबर छ। केही मिडियाको दाबी अनुसार गलवान–श्योक नदीको संगम र दौलत बेग इलाकाको बीच चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा नाघेर केही किलोमिटर भित्र पसेको छ। यद्यपि भारतीय सेना वा सरकारबाट यसको पुष्टि भएको छैन।
मिडिया रिपोर्टहरुका अनुसार भारतले चीनविरुद्ध आर्थिक प्रतिक्रियाको तयारी तीब्र पारेको छ। यसबाट केही महत्वपूर्ण सरकारी टेन्डरमा चिनियाँ कम्पनीलाई सहभागी हुन नदिने, भारतीय कम्पनीमा भएको चिनियाँ लगानीबारे पुनर्विचार गर्ने जस्ता सम्माभवना हुन सक्छ।
यसबीच गलवान क्षेत्रमा भएको हिंंस्रक झडपपछिको तनाव कम गर्न दुवै तर्फका मेजर जनरल स्तरमा भएको वार्ता विना निस्कर्ष टुंगिएको छ। अर्को वार्ता विहीबार पुनः हुने बताइएको छ।
कुटनीतिक स्तरमा दुबै देश वक्तव्यबाजी र आ–आफ्नै अडानमा छन्।
चीनको विदेश मन्त्रालयले गलवान उपत्यकामा आफ्नो दाबी प्रस्तुत गरेपछि भारतले ‘अतिशयोक्तिपूर्ण’ र ‘असमर्थनीय’ दाबी नगर्न चेतावनी दिएको छ।
बुधबार भारत र चीनका विदेशमन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि दुबैले आ–आफ्ना अडान प्रस्तुत गरेका थिए। यद्यपि, समस्याको शान्तिपूर्ण समाधान चाँडै निकाल्न पनि दुबै पक्षले सहमति जनाएका थिए।
दक्षिण एसियाका यी दुई ठूला अर्थतन्त्र र न्यूक्लियर शक्तिसम्पन्न देशबीचको तनावपूर्ण सम्बन्ध अझ विग्रिएमा त्यसको असर सम्पूर्ण दक्षिण एसियामा पर्नसक्छ।