विहीबार, साउन २९, २०७७

समाचार समाज

मुस्लिम धर्मावलम्बीले मनाए बकर इद

1596296191ROS_2-Ktm.jpg
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदका अवसरमा शनिबार काठमाडाैंकाे नैकापमा इस्लाम धर्मावलम्बी प्रार्थना गर्दै। कोभिड १९ काकारण इस्लाम धर्मावलम्बीले घरमै नमाज पढेर इद मनाएका छन्। तस्बिर : रासस 

काठमाडौं- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) शनिबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने डरले घरमै पढेका छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

विगत वर्षमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्थ्यो।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले राष्ट्रिय मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षित रुपमा बकर ईद मनाउन आह्वान गरेको थियो।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।

“अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैं आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो,” पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्