इटहरी- दुई दिनअघि चिनियाँ सर्वे टोली सगरमाथा शिखरमा पुग्दा विश्वभर चर्चाको विषय बन्यो। सगरमाथाको उचाइ मापनका लागि पुगेको चिनियाँ टोलीले चुचुरोबाट प्रत्यक्ष प्रसारण गरेको दृश्य संसारका धेरै सञ्चारमाध्यमले समाचारका विषय बनाए।
ठिक एक वर्षअगाडि नेपाली टोलीले पहिलोपटक सगरमाथा चुचुरोमा पुगेर मापन गरेको थियो। नाप्ने नेपाली सर्वेयर हुन् खिमलाल गौतम।
गोरखापत्रको सूचनाले साकार गरेको सगरमाथा सपना
गौतमको जन्म कास्कीको माछापुच्छ्र्र्रे गाउँपालिका–३ मा भएको हो। उनको बाल्यकाल माछापुच्छे हिमालको आँगनमा बित्यो। गौतमको घरबाट माछापुच्छेको आकाशे दुरी २० किलोमिटर मात्रै थियो। तर उनले नाम जानेको पहिलो हिमाल भने सगरमाथा हो।
कक्षा पाँचमा पढ्दा विश्वको सबैभन्दा अग्लो हिमाल भन्ने थाहा पाएपछि उनलाई सगरमाथाप्रति प्रेम बढ्यो।
२०६१ सालमा खरिदार सरहको सर्वेयर पदमा सरकारी जागिरमा जोडिएको सात वर्षमै सगरमाथा शिखर चुम्ने विश्वको प्रथम निजामती कर्मचारीको टोलीका एक सदस्य चुनिए गौतम।
उनी २०६८ जेठ ४ गते बिहान ५ः२० मा बिहान चुचुरामा पुगेका थिए। सन् २०११ मा सरकारले प्रथम कर्मचारी टोलीलाई सगरमाथा आरोहण गर्न गोरखापत्रमा सूचना निकाल्यो। उनले आवेदन भरे। २०६६ मा उनी टोलीमा छनोट भए। त्यसपछि उनी लाङटाङको याला पिकमा भएको तालिममा प्रथम भए।
प्रथम कर्मचारीका रुपमा सगरमाथा शिखर चुमेको ठिक आठ वर्षपछि उनी नेपालका मात्रै हैन विश्वकै प्रथम सर्वेयरको रुपमा सगरमाथामा पुगे। उनी २०७६ जेठ ८ मा शिखरमा पुगेका थिए। त्यसअगाडि चुचुरोमा विश्वका धेरै प्राविधिक पुगे पनि सर्वेयरका रुपमा पुग्ने गौतम नै पहिलो हुन।
हिलारी र तेन्जिङभन्दा डेढ घन्टा बढी चुचुरोमा
विश्वका प्रथम आरोहीद्वय एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चुचुरोमा १५ मिनेट बिताएका थिए। गौतमको टोलीले भने १०५ मिनेट बिताएको थियो। त्यसो त गौतमको टोलीको जिम्मेवारी चुचुरोमा पाइला राख्नु मात्र थिएन। सगरमाथाको नापचाँच गर्नु थियो।
२०१९ मे २२ को बिहान ३ बजे चुचुरोमा पुगेका उनीहरुले मापनका लागि विभिन्न काम गरे। यस क्रममा ग्राउन्ड पेनिट्रेटिङ राडर (जीपीआर) बाट हिउँको गहिराइ नापे भने टप अफ द लाइन ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टमबाट सिग्नल ल्याएर शिखर मापन गरे।
टोलीका चार सदस्यमध्ये दुई जना सगरमाथा मापन र २ जना आधार शिविरमा समन्वयमा खटिएका थिए। प्रमुख नापी अधिकृत गौतम भने यन्त्र उपकरणसहित चुचुरोमा थिए। उनको साथमा नापी अधिकृत रबिन कार्की थिए। सर्भेक्षक सुरजसिंह भण्डारी र सहायक सर्भेक्षक युवराज धिताल आधार शिविरमा रहेमा थिए।
मुख्य प्रशिक्षकका रुपमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक छिरिङ जांबु शेर्पा थिए। अन्य सहयोगीमा दोर्ची शेर्पा र लाक्पा शेर्पा थिए।
चुचुरो मापनमा सहभागी मात्रै सगरमाथा मापनका पूर्ण जनशक्ति भने हैनन्। अन्य विभिन्न मापन कार्यमा ८० भन्दा बढी कर्मचारी खटिएका थिए। नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलको नेतृत्वमा सचिवालय स्थापना गरिएको थियो।
उचाइ मापन गर्न सगरमाथा नजिकै क्षेत्रमा चुचुरो देखिने स्थानमा नापीका नियन्त्रण बिन्दु स्थापना गर्नुपर्ने हुन्थ्यो। समुद्र सतहदेखि नेपालको तराई हुँदै सगरमाथा नजिकका ती विभिन्न बिन्दुमा परिशुद्ध उचाइ पुर्याउनुपर्ने हुन्थ्यो। विभिन्न बिन्दुमा जीपीआर अब्जरभेसन गर्नुपर्ने हुन्थ्यो। मौसमी तथ्यांक लिनुपर्ने हुन्थ्यो। यी काम गर्न सर्भेयर कर्मचारी विभिन्न भूमिकामा खटिएका थिए।
८२०० मिटरमा बेहोस, दुई औंलामा चोट
गौतमको यात्रा अनुभव जति साहसिक छ, त्यति नै कष्टकर पनि। उनी चुचुरो मापन गरिसकेर अक्सिजन सकिएका एक साथीलाई सहयोग गरेर आउँदाआउँदै ८२०० मिटरमा बेहोस भए। केही बेरपछि विदेशी आरोहीले धक्का दिएपछि मात्रै होसमा आए।
गौतम भन्छन्, ‘बेहोस भएको अवस्थामा किन नहेरेको भनेर तल आएर शेर्पा साथीसँग रिसाएँ। तर, उनीहरु मलाई लिन जान लागेका रहेछन्।’
गौतमलाई मे २३ मा ६५०० मिटर उचाइबाट हेलिकप्टरले सीधै काठमाडाैंको नर्भिक अस्पतालमा पुर्यायो। अस्पतालका डाक्टर विप्लव सापकोटाले दुई खुट्टाको बूढी औंलामा गम्भीर चोट लागेको बताएका थिए।
त्यसपछि गण्डकी अस्पतालका डाक्टर झपेन्द्र पोखरेलले नियमित पराशर्ममा दाहिने खुट्टाको अलिक निको भयो । देब्रे खुट्टाको औंला निको भएन। गौतमले दिल्लीको एपोलो अस्पतालमा पुगेर औंलाको टुप्पो काटेर फाले।
६ महिनापछि मात्रै जुत्ता लाउन पाएको दिन सम्झँदै उनी भन्छन्, ‘अहिले पनि नंग छैन। म सगरमाथाको सानो घाउ बोकेर बसिरहेको छु। घरिघरि सम्झाइदिन्छ यो औंलाले अतीतका रोचक र कठिन दिनहरु ।’
अबको सपना- पृथ्वीको दुई ध्रुव यात्रा
गौतम अहिले प्राविधिक उपसचिव अर्थात् प्रमुख नापी अधिकृतका रुपमा कार्यरत छन्। गौतमको नाममा सगरमाथा चुचुरोमा पहिलोपटक पुग्ने नेपाली कर्मचारी र सगरमाथा चुचुरोको पहिलोपटक मापन गर्ने सर्वेयरका रुपमा रेकर्ड छ।
चिनियाँ टोलीले पनि दुई दिनअगाडि चुचुरो मापन गरेर फर्किएको छ। टोलीलाई गौतमले बधाई दिएको समाचार विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले लेखेका छन्। गौतम भन्छन्, ‘मैले भविष्यमा कुनै त्यस्तो लक्ष्य लिएको छैन किनभने महत्त्वपूर्ण काम सम्पन्न गरिसकेको छु।’
पृथ्वीका ध्रव अवलोकन गर्ने लक्ष्य रहेको गौतम बताउँछन्। पृथ्वीको तेस्रो ध्रुव भनिने सगरमाथामा दुई पटक उभिइसकेका उनी भन्छन्, ‘मौका र खर्चको जोहो गर्न सकेमा पृथ्वीका उत्तरी र दक्षिणी ध्रुवमा पुग्ने सपना छ।’
नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने घोषणासमेत गरेका छन्। चिनियाँ राष्ट्रिपतिको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले गत वर्षको असोज २६ मा सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।