शनिबार, असार २७, २०७७

प्रविधि

सगरमाथाको उचाइभन्दा साढे तीन गुणा माथि बेलुनमा

1593220577space_ballon.jpg

सात वर्षअघि उद्यमीहरुले स्ट्राटोस्फेयरसम्मको योजना बनाए। तर पर्यटकले धर्ती छोड्न सकेनन्। अहिले उनीहरु फेरि प्रयास गर्दैछन्।

सात वर्षअघि दुई उद्यमीले विश्वलाई नै मात खुवाउने विचार अघि सारे– पर्यटकलाई स्ट्राटोस्फियरसम्म एउटा कोमल बेलुनमा यात्रा गराउने। त्यो बेलुन समुद्र सतहबाट १९ माइल माथि जानेछ। अर्थात् साढे ३० किलोमिटर माथि।

स्ट्राटोस्फियर भन्नाले समुद्र सतहबाट १० देखि ३० किलोमिटरसम्मको उचाइलाई चिनिन्छ। त्यसको बीचमा पुग्नु भनेको सगरमाथाको उचाइभन्दा साढे तीन गुणा माथि पुग्नु हो।

यो स्ट्राटोस्फियरको त्यस्तो उचाइ हो, जहाँबाट आकाश कालो देखिने छ र पृथ्वीको वक्रतासमेत छुट्याउन सकिनेछ। दुर्भाग्यवश यो यात्रा कहिले पनि सम्भव नै भएन। तर तिनै उद्यमी त्यही योजनाका साथ फेरि काममा फर्किएका छन्।

देखाएका सपना पूरा गर्ने बाचा गरेको धेरै वर्षपछि उनीहरुले नयाँ कम्पनी ‘स्पेस पस्र्पेक्टिभको’ नाम बताउँदै अधुरो सपनामा मलजल गर्न आइपुगेका छन्।

अहिले खगोल पर्यटन व्यवसायको भविष्य दिवास्वप्नजस्तै छ। विश्वका सात अति धनाढ्य मानिसहरुले यसमा दशौँ मिलियन अमेरिकी डलर लगानी गरिसकेका छन्। उनीहरु अन्तरिक्षको अन्तर्राष्ट्रिय स्टेसन घुम्न चाहन्छन्। तर कुनै कम्पनी एक जनालाई पनि त्यहाँसम्मको यात्रा गराउन सफल भएका छैनन्।

तर ‘स्पेस पस्र्पेक्टिभ’का संस्थापकहरु अझै पनि आफ्नो व्यावसायिक योजना चुस्त रहेको बताउन हिचकिचाउँदैनन्। जो विदा मनाउन नयाँ ठाउँको खोजी गरिरहेको छ, घण्टौंसम्म क्रुजमा रमाउन चाहन्छ, उनीहरुका लागि खगोल व्यापारीहरुले सपना देखाउन छोडेका छैनन्। घण्टौँ क्रुजमा विताए पनि त्यहाँको अन्तरिक्ष दृष्य भने मिनेटभर मात्र हेर्न पाइनेछ।

‘यो एकदमै राम्रो योजना छ,’ नयाँ कम्पनीका दुई मुख्य कार्यकारीमध्येका एक जेन पोयन्तरले भनिन्। उनले मुख्य कार्यकारी पद श्रीमान् ताबेर म्याकुलमसँग साझा गरेकी छिन्। ‘यो रकेटजन्य उडानभन्दा धेरै कम गतिमा दौडने यन्त्र हो– बेलुन यात्रा। मलाई थाहा छ, त्यस्ता धेरै मानिस हुनुहुन्छ जो रकेटमा यात्रा गर्न मन पराउँदैनन्। तर स्पेसमा घुम्न चाहन्छन्,’ पोयन्तरले भनिन्।

उनीहरुले पहिले पनि यस्तै योजना लिएर आएका थिए सन् २०१३ मा। पोयन्तर र म्याकुलमले त्यसबेला २०१५ मा पृथ्वीबाट बेलुनले मानिस लिएर अन्तरिक्षमा जाने बताएका थिए।

उनीहरुको त्यो परिकल्पना विश्वमै पहिलो थियो।

तर कम्पनीले प्रयोगस्वरुप साना बेलुनको क्रियाकलापमात्र अघि बढायो। जुन उच्च स्थानमा उडिरहेको केएफसीकको चिकेन स्यान्डविच (हाइ फ्लाइङ चिकेन स्यान्डविच अफ केएफसी) को विज्ञापनमा प्रयोग गरियो।

यता गत वर्षबाट विश्व दृष्यको योजना पुनः सुरु भएयता पोयन्तर र उनका श्रीमानलाई दैनिका कामभन्दा टाढै राखिएको थियो। उनीहरु अझैसम्म पनि अल्पमतका उद्यमी हुन्। तर उनीहरुले फेरि यो सपना देखे।

धेरै विकल्पहरु हेर्दा, स्पेस पस्र्पेक्टिभ ट्रिपको ध्येय भनेको विश्व दृष्यसँग सम्बन्धित यात्रा हो। फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट पाइलटसहित पर्यटक बोकेको एक ठूलो बेलुनले यात्रा गर्ने छ। स्पेस पस्र्पेक्टिभले बनाएको डिजाइनमा ८ जना पेइङ पर्यटकहरु रहन सक्छन्। यो विश्व दृष्य यात्राको पुरोना मोडेलभन्दा एक जना धेरै हो। जसले एक लाख फिट उचाइमा पुर्याउने छन्।

‘हामी चम्किलो बेलुनमा १२ माइल्स प्रतिघण्टाको दरले आरोहण गर्न सक्नेछौं,’ म्याकुलमले नयाँ परिकल्पना सुनाउँदै भने, ‘त्यसैले हामी दुई घण्टामा बेलुन तैरिने सहतमा पुग्न सक्नेछौँ।’

५० माइल माथि रहेको ह्याटलाई हामीले विश्वको टोपी भन्ने गरेका छौं। जसलाई अन्तरिक्षको सीमा भनेर चिनिन्छ। यो उचाइलाई करमान लाइन भनेर पनि चिनिन्छ। र, यसले पृथ्वी र अन्तरिक्ष छुट्याउने काम गर्छ। पृथ्वीबाट उडान भरेको बेलुन त्यो उचाइको एक तिहाइ सम्म पुग्नेछ।

तर यो उचाइ हाम्रो विश्व गोलो छ भनेर देख्नको लागि पर्याप्त छ। पोयन्तरका अनुसार यात्राका लागि रकम ७८ हजार अमेरिकन डलरदेखि एक लाख २५ हजारसम्म पर्ने छ। यो रकम विश्वदृष्यको योजना अनुसार फरक पर्न सक्छ।

विश्व दृष्यको नयाँ डिजाइनमा सरलिकरण पनि गरिएको छ। जसमा इच्छाएको दिशामा चलिरहेको बतास पत्ता लगाएर बेलुन चलाउन प्रयास गर्नुको सट्टा स्पेस पस्र्पेक्टिभले हावाको दिशामै बेलुनको उडान भर्ने छ। त्यसपछि भरिएको हाइड्रोजन (जसले बेलुनलाई हलुका बनाएको छ)लाई हटाएर बेलुनलाई विस्तारै तल झारिने छ। त्यो एटलान्टिक ओसन वा गल्फ अफ मेक्सिकोमा झर्ने छ।

साथै यात्रुहरुसँग पारासुट साथै हुनेछ। जसले बेलुन अवतरण हुन नमाने यात्रुलाई सुरक्षित तवरले पृथ्वीमा अवतरण गराउने विश्वास दिलाउने छ।

‘स्पेस पस्र्पेक्टिभले कामको सुरुवाती विकास कार्यका लागि राम्रो लगानी पाउनु पर्छ। जसमा अर्को वर्षको पहिलो त्रैमासिकमा पाइलट बाहेकको उडान आवश्यक छ,’ पोयन्तरले भनिन्, ‘सबै कुरा योजना अनुरुप भए पर्यटकसहितको पहिलो उडान सन् २०२५ को सुरुमा गर्न सकिने छ।’ यो उनीहरुको सुरुको योजनाको लक्ष्यभन्दा एक दशक पछि हो।

पोयन्तर र म्याकुलमले अरु पनि महत्वाकांक्षी योजनामा काम गरे। गुगलका कार्यकारी एलन स्टेक चढेको बेलुन र क्र्याफ्टमा पनि उनीहरुले काम गरे। जसबाट स्ट्राटोस्फियर भन्दा केही तलबाट विश्व रेकर्ड राख्न सफल प्यारासुट डाइभ गराइयो।

उनीहरुले डेनिस टिटोसँग पनि सहकार्य गरे। जो व्यक्तिगत खर्चले अन्तर्राष्ट्रिय स्पेस स्टेसनको भ्रमण गर्न जाने मानिसलाई सहकार्य गर्ने कामको उद्यमी हुन्। उनले इन्स्पिरेसन मार्सको स्थापना गरे। उनले निजी खर्चबाट फ्लाइबाईको सहायताले रातो ग्रह (मंगल)मा जाने महत्वकांक्षी योजना ल्याए। अफसोच, उनको योजना पहुँचबाहिर प्रमाणित भयो किनभने उपलब्ध रकेटहरु पर्याप्त शक्तिशाली थिएनन्।

‘हामीले अप्ठ्यारो समयमा धेरै गाह्रो कुराहरु गरेका छौं,’ म्याकुलमले भने, ‘जसमा कति योजना सफल रहे कति असफल। केही त तपाईंलाई राम्रा लागेका छन्, छैनन् त ? सायद सम्भाव्यता कम भयो होला। तर इन्पिरेसन मार्स जस्ता प्रेरणा मूल्यवान छन्।’

‘स्पेस पर्स्पेक्टिभ कमिसनको बजार अध्ययन अनुसार सालाखाला २० लाख मानिसहरु बेलुनमा अन्तरिक्षको यात्रा गर्न इच्छुक छन्। जसमा ट्रिलियन डलरसम्मको खर्च हुन सक्नेछ,’ पोयन्तरले भनिन्, ‘यो अत्यन्तै खुसीको खवर हो।’

तर त्यो बजेटमा अन्तरिक्षमा पुग्न गाह्रो र सोचेको भन्दा धेरै ढिलो हुनेछ। बजार पनि अनुपयुक्त रहन्छ। साथै धेरै कम्पनीले आफ्नो स्पेससिप अन्तरिक्षमा पुग्नुभन्दा अघि यो व्यवसाय छोड्नेछन्।

रिकार्ड ब्रान्सनको भर्जिन ग्यालेक्टिक (स्थापना २००४)ले उसको रकेट अन्तरिक्षको किनारासम्म पुर्याएको थियो। जसमा उसका कामदार पनि थिए। तर उसले आफ्नो कमर्सियल उडान कहिले गर्ने भन्नेवारे निर्णय गर्न सकेको छैन। जसको टिकट मूल्य दुई लाख ५० हजार डलर अनुमान गरिएको छ।

त्यस्तै जेफरे पी बेजोस (अमेजनका मुख्य कार्यकारी)को ब्लू ओरिजिनले आफ्ना साना र पुनः प्रयोग गर्न सकिने जहाजको सफलापूर्वक परीक्षण गरेको छ। तर जहाजमा मानिस थिएनन्। यसले पनि अहिल सम्म पर्यटक लिएर अन्तरिक्षमा जाने कुरा बताउन सकेको छैन। यसले पनि यात्रीको खर्च अनुमान गर्न सकेको छैन।

अन्तरिक्षकै कुरामा, स्पेस एक्स एक रकेट कम्पनी हो। यसको स्थापना एलोम मस्कले गरे। उसले पनि अन्तरिक्षमा मानिस लाने उद्योगमा हात हाल्ने भनेको छ। तर योजना ल्याइसकेको छैन। यसले लाखौं डलरमा नासाको लागि क्रु ड्रागन बनाएको थियो जसले अन्तरिक्षमा रहेर पृथ्वीको परिक्रमा गर्छ।

(न्यूयोर्क टाइम्समा केन्नेथ चाङले लेखेको सामग्री विनय सापकोटाले अनुवाद गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्