अचेल सहरका सडकहरु रित्ता छन् र, बाँदरले बुझ्न सकेका छैनन् खाना दिने त्यती धेरै मानिसहरु कता गायब भए?
काठमाडौं उपत्यकाको बढ्दो जनसंख्या र भौतिक संरचना निर्माणका कारण जनावरको प्राकृतिक आवास खोसिंदै गए पनि जनावरहरु खास गरी बाँदरको खानपिनको व्यवस्था भइरहेको थियो। प्राय मन्दिर वरपर रहने बाँदरलाई श्रद्धालुले फल र अन्य खानेकुरा दिन्थे । तर, मानिसहरु घरबाट निस्कनै छोडेपछि बाँदरले न खान पाएका छन् न खाना दिने मान्छे नै देखिन्छन्। अहिले भोका बाँदरहरु आक्रमक बन्दै गएका छन्। जहाँ जे भेटिन्छ खानका लागि जम्मा गरिरहेका छन्। नजिकका जंगलमा पनि खानेकुरा खोजिरहेका छन्।
तीन वर्षदेखि स्वयम्भू परिषरमा बाँदरलाई खाना खुवाउँदै आएकी शोभा बज्राचार्य भन्छिन्, “मानिसहरु बाहिर ननिस्कँदा बाँदरहरु भोकै छन्।” अहिले शोभा आफ्ना भाइसँग मिलेर प्रत्येक दिन बाँदरलाई पाँच किलो खाना खुवाउँछिन्। यसले काठमाडौंका सबै बाँदरलाई पुग्दैन।
पशुपति क्षेत्रमा मात्रै करिब ५०० बाँदर रहेको अनुमान गरिन्छ। यस क्षेत्रमा बाँदरले रुखको बोक्रा खाँदै गरेको भेटिन थालेका छन्। भोका बाँदर बटुवाको झोला तान्नेदेखि खानाको खोजीमा घर पसलमा समेत पुग्न थालेका छन्।
पशु अधिकारकर्मीहरु लकडाउनको प्रभाव देशभर परिरहँदा सडकमा डुलिहिंड्ने जनावरहरुको अवस्था निकै कठिन भएको बताउँछन्। एनिमल नेपालकी राधा गुरुङका अनुसार खानाका लागि मानिसमै निर्भर रहने कुकुर, विरालो, गाइ जस्ता हजारौं बेवारिसे जनावरका साथै जंगली बाँदर र परेवाजस्ता चराहरुलाई समेत सुरक्षा चुनौती थपिएको छ। “यिनीहरु मानिसले दिएको, फ्यांकेको खानामा निर्भर हुन्छन्,” गुरुङ भन्छिन्।
गुरुङका अनुसार घोडा, गधा र खच्चर जस्ता घरपालुवा जनावर पनि खाद्द संकटको मारमा परेका छन्। किनभने ढुवानीका लागि यि जनावर पाल्ने श्रमिकहरु आफैंसँग पर्याप्त रासन छैन। र, कमाई नहुँदा उनीहरुले पशुलाई पर्याप्त खाना दिन सकिरहेका छैनन्।
काठमाडौंका सडकमा भेटिने सामुदायिक कुकुरले पनि पर्याप्त खाना पाइरहेका छैनन्। खाना नपाउँदा कुकुरले पनि बाँदरले जस्तै बटुवाका झोला तान्ने गरेको दृष्य सडकमा देखिन थालेको छ।
तर, वन्यजीव सम्बन्धी विशेषज्ञ मुकेश चालिसे भने अहिले बाँदरलाई सिकाउने उपयुक्त मौका भएको बताउँछन्। उनी भन्छन्, “यस्तो बेला बाँदरले प्राकृतिक रुपबाट आफ्नो खाना कसरी प्राप्त गर्ने भन्ने सिक्न सक्छन्।”
यद्यपि, उनी जंगली जनावरको जीवनमा मानवीय हस्तक्षेपको विरोध गर्छन्। भन्छन्, “पशुपति क्षेत्रको वनमा अहिले करिब ४५० बाँदर छन् जबकि यो क्षेत्र ५० बाँदरका लागि हो। यहाँ जंक फूड सजिलै फेला पर्ने हुँदा बाँदरको संख्या बढेको हो।” जंक फूडले जनावरको स्वस्थ्य, उर्वरता र आयुमा गम्भीर असर पारेको उनी बताउँछन्।
“जब अनावश्यक मानवीय हस्तक्षेप बन्द हुन्छ, बाँदरले खाने र बाँच्ने प्राकृतिक तरिकातर्फ फर्कन सिक्ने छन्,” चालिसे भन्छन्।
-डीपीए