शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वुहानबाट फर्केर १४ दिन खरिपाटी क्वारेन्टाइनमा बसेका जनकपुरका युवाको यस्तो छ सुझाव

वुहानबाट फर्केर १४ दिन खरिपाटी क्वारेन्टाइनमा बसेका जनकपुरका युवाको यस्तो छ सुझाव

सुरुमा सामान्य भाइरस रहेको लागे पनि सरकारले ‘लकडाउन’ गरेपछि प्रतिकूल अवस्था आउन सक्ने उनलाई लागेको थियो।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

जनकपुरधाम- ‘मैले वुहानले भोगेको विकराल अवस्था देखेको छु। होस्टलको कोठामा बसेको बेला फनफनी कुदेको एम्बुलेन्सको ‘साइरन’ अझै मेरो कानमा गुन्जिरहेको हुन्छ। हरेक समय व्यस्त रहने वुहान सहर सुनसान भएको देख्दा आफैँलाई विश्वास लागिरहेको थिएन। तर, अन्य कुनै उपाय थिएन, कोरोना संक्रमणबाट जोगिन।’

triton college

चीनको वुहानबाट जनकपुर फर्केका चन्द्रभुषण साहको भोगाइ हो यो। चन्द्रभुषण वुहानमा ‘मेसिन इन्जिनियरिङ’ मा विद्यावारिधी गरिरहेका छन्। वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययन गरिरहेका उनी अधिकांश समय पढाइलेखाइमा व्यस्त रहन्थे। साथीहरुको कानेखुसीबाट भाइरस संक्रमण भएकोबारे सुनेका थिए, चन्द्रभुषणले। तर यकिन चाहिँ भइसकेको थिएन।

‘सुरुमा हामीले भाइरस आइसकेको हल्ला सुनेका थियौँ,’ उनी भन्छन्, ‘तर बजारहरु सबै खुल्ला थियो, जनजीवन सामान्य थियो, कसैलाई विश्वास लागेको थिएन।’

चीनको नयाँ वर्षमा ठूलो भिडभाड हुने गरे पनि यसपटक खासै चहलपहल नदेखेको उनी बताउँछन्। ‘चिनियाँहरु एक सातासम्म धुमधामका साथ नयाँ वर्ष मनाउने गर्दछन्, कन्सर्टहरुमा भाग लिन्छन्, सपिङ गर्दछन्,’ चन्द्रभुषण भन्छन्, ‘तर यसपटक त्यस्तो केही थिएन। बल्ल हामीलाई शंका लाग्यो, भाइरसको असर रहेछ शायद।’

‘जनवरी २५ देखि चीनमा एक सातासम्म नयाँ वर्ष मनाइन्छ। त्यसबेला सबै आ–आफ्नो घर फर्कने गर्दछन्, तर सरकारले अचानक मेट्रो, बस, रेल बन्द गर्यो,’ उनी सम्झन्छन्, ‘सबैथोक बन्द गरेर सरकारले घरमै बस्न कडा निर्देशन जारी गर्यो। त्यसपछि एक महिनासम्म हामी कोठा बाहिर निस्कन पाएनौँ।’ चाइनिज नयाँ वर्ष सुरु हुनु एक दिनपूर्व त्यहाँको सरकारले २४ जनवरीमा लकडाउन गरेको उनले बताए।

corrent noodles
Metro Mart

सुरुमा सामान्य भाइरस रहेको लागे पनि सरकारले ‘लकडाउन’ गरेपछि प्रतिकूल अवस्था आउन सक्ने उनलाई लागेको थियो। हुबेई प्रान्तसहित सरकारले अन्य प्रान्तहरुमा पनि ‘लकडाउन’ गरेपछि भाइरसको प्रकोप बढ्नसक्ने आफूहरुलाई लागेको चन्द्रभुषणले बताए।

बुहानमा ‘लकडाउन’ घोषणा भएपछि बाहिर निस्कन पूर्ण रुपले प्रतिबन्ध रहेको भन्दै उनले भने, ‘कोरोना संक्रमण फैलिन नदिन हामीले पनि यसको पूर्ण पालन गर्नु जरुरी छ।’ लकडाउनमा आम नागरिकलाई खानपानको व्यवस्थापन गर्न सरकारले निश्चित समय तोकेर खाद्यान्न पसलहरु खोल्ने अनुमति दिएको उनले सुनाए।

अमेरिका, भारतलगायतका मुलुकले आफ्ना नागरिकहरुलाई बोलाउन थालेपछि आफूहरु अतालिएको उनले बताए। ‘सबै देशले आफ्नो नागरिकहरुलाई फिर्ता बोलाउन थालेपछि हामी चिन्तित भयौँ, पक्कै पनि केही गम्भीर कुरा छ भनेर, त्यसपछि हामीले पनि पहल थाल्यौं। र, अन्ततः सरकारले हामीलाई स्वदेशसम्म पुग्न मद्दत गर्यो,’ चन्द्रभुषणले भने।

१५ फेब्रुअरीमा नेपाल आएपछि चन्द्रभुषणसहित १७५ जना खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिन बस्नुपर्यो। क्वारेन्टाइन पुग्दा र बाहिर निस्कदा कोरोना ठहर नभएपछि उनी बल्ल आफ्नो घर जनकपुर आइपुगे।

कोरोना संक्रमणबाट जोगिन एकमात्र उपाय ‘सेल्फ क्वारेन्टाइन’ रहेको भन्दै उनी यस ‘लकडाउन’ को अवधिमा घरभित्रै बस्न सबैलाई आग्रह गर्दछन्। ‘मैले कोरोनाको उद्गमस्थल वुहानलाई हेरेको छु, चीन जस्तो मुलुकलाई पनि संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे भएको छ, चीनको तुलनामा हामी धेरै पछाडि छौँ, त्यसैले संक्रमण रोक्न हामी सबै घरमै बस्नुको विकल्प छैन्,’ चन्द्रभुषण भन्छन्।

घरभित्र बसेर सरसफाइमा ध्यान दिन सकिए कोरोना संक्रमण फैलिन नदिन ठूलो सहयोग भेट्ने उनको भनाइ छ।

नेपालमा पनि कोरोना संक्रमण भएको देख्दा चन्द्रभुषणलाई चिन्तित बनाएको छ। ‘संघीय र प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने, ‘शंकास्पदको बढीभन्दा बढी परीक्षण गर्न जरुरी छ। टेस्ट किट बढाएर परीक्षणतर्फ जोड दिनु अहिले सबैभन्दा बढी महत्वपूर्ण छ।’

वैदेशिक रोजगारीबाट फर्कनेको संख्या प्रदेश २ मा सबै भन्दा बढी रहेको भन्दै उनले उनीहरुको खोजबिन गरी जाँच गराउन सरकारले ध्यान दिनुपर्ने बताउँछन्। संक्रमित नभएपनि विदेशबाट आएकाहरुलाई परीक्षणको लागि १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने उनको सुझाव छ।

‘लकडाउन’ कार्यान्वयन गराउन नेपाली सुरक्षाकर्मीले ठूलो योगदान दिइरहे पनि नागरिक स्वयं सचेत हुनुपर्ने उनको भनाइ छ। ‘लकडाउन’ कार्यान्वयन गराउन दिनभर सडकमा खटिरहने सुरक्षाकर्मीलाई चन्द्रभुषणले आफ्नै खर्चमा मास्क, पञ्जालगायतका सामग्रीसमेत वितरण गरेका छन्।

प्रकाशित: Mar 29, 2020| 15:21 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।