बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : कोरोनाविरुद्ध तयारी तीव्र, ७५ शय्याको आईसीयू

प्रदेश ५ : कोरोनाविरुद्ध तयारी तीव्र, ७५ शय्याको आईसीयू

प्रदेशका विभिन्न १९ अस्पतालमा ११० शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्रालय अस्पताल महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

प्रदेश सरकारले १० करोडको कोष स्थापना गरी उच्च सतर्कता अपनाएको छ भने जिल्लाजिल्लामा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरिएको छ। अस्पतालकाे निगरानी मन्त्रीस्तरबाटै गर्न थालिएकाे छ।

triton college

भैरहवा - कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले उच्च सतर्कतासहित पूर्वतयारी तीव्र पारेको छ। प्रदेशभर भेन्टिलेटरसहितका ७५ शय्याको आईसीयू तयारी अवस्थामा राखिएको छ।

यस्तै विभिन्न अस्पतालमा २५ वटा व्यक्तिगत सुरक्षण किट (पीपीई) र २२ वटा भीटीएम (नमुना परीक्षण लैजाने माध्यम) उपलब्ध रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

एक लाख ९८ हजारको स्क्रिनिङ

प्रदेशका विभिन्न स्थानमा ४० हेल्थ डेक्स स्थापना गरिएको छ। स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. सबु काफ्लेका अनुसार १ लाख ९७ हजार ८ सय ३४ जनाको स्क्रिनिङ भइसकेको छ। ४९ जनामा कोरोना भाइरसको शंका देखिएको छ।

corrent noodles
Metro Mart

लुम्बिनी प्रादेशिक अस्पतालमा १५, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) भैरहवामा एक, भीम अस्पतालमा ४, कपिलवस्तु अस्पतालमा २, राप्ती प्रादेशिक अस्पतालमा १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४, भेरी अस्पतालमा २० र नेपालगन्ज मेडिकल कलेजमा २ जनाको परीक्षण गरिएको छ।

रुपन्देहीमा १३, दाङमा ३, बाँकेमा ७ गरी कुल २३ जनाको स्वाब परीक्षण गरिएकामा १७ जनाको कोरोना नेगेटिभ आएको छ भने ६ जनाको रिपोर्ट आउन बाँकी छ।

११० शय्याको आइसोलेसन

प्रदेशका विभिन्न १९ अस्पतालमा ११० शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्रालय अस्पताल महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए।

यूसीएमएसमा १०, लुम्बिनी मेडिकल कलेजमा १०, देवदह मेडिकल कलेजमा १० र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेसन तयारी अवस्थामा छ।

यस्तै तिनाउ अन्तर्राष्ट्रिय अस्पतालमा ८, गुल्मी अस्पतालमा ७, मिसन अस्पताल पाल्पामा ६, मेडिटेक अस्पतालमा ६, नेपालगन्ज मेडिकल कलेजमा ६, भेरी अस्पतालमा ६, पृथ्वीचन्द्र अस्पतालमा ५ र सिद्धबाबा अस्पतालमा ५ शय्याको आइसोलेसन तयार पारिएको छ।

लुम्बिनी सिटी अस्पतालमा ४, कपिलवस्तु अस्पतालमा ४, भीम अस्पतालमा ४, राप्ती प्रादेशिक अस्पतालमा ३, लुम्बिनी प्रादेशिक अस्पतालमा २, मर्सिसिटी अस्पतालमा २ शय्याको आइसोलेसन तयार छ।

मास्क लगाएर सामूहिक रुपमा गन्तव्यतर्फ जाँदै कपिलवस्तुका महिला।

भीम अस्पतालमा विशेष सुविधा

रहवास्थित भीम अस्पताललाई कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा रुपान्तरण गर्न लागिएको छ। अस्पतालमा आईसीयूसहितको ३० शय्या तयार छ।

कोरोना भाइरसको पोजेटिभ संकेत देखिएमा भीम अस्पतालमा राखेर उपचार गर्ने तयारी भएको छ। अस्पतालमा भेन्टिलेटर पनि थप्न लागिएको छ।

बुटवल धागो कारखानामा ४० शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आइसकेको छ। अस्पतालमा आईसीयू र भेन्टिलेटरको पनि सुविधा छ। भैरहवाकै राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रमा ल्याब स्थापना गरिँदै छ।

शैक्षिक तालिम केन्द्रमा पनि आइसोलेसन बनाइँदै छ। देवदह क्याम्पस, आयुर्वेद अस्पताल बेलझुण्डी, अर्बुद रोग अस्पताल बाँके र नेपाल प्रहरी अस्पतालमा आइसोलेसन तयार गरिएको छ।

ज्वरो परीक्षणका लागि भिन्नै क्लिनिक

यूसीएमएस भैरहवामा बिहीबारदेखि फिभर क्लिनिक सञ्चालनमा आएको छ। क्लिनिकका प्रशासन संयोजक तेजकुमार केसीका अुनसार २ चिकित्सक, एक नर्स, एक एटेन्डर र एक जना सुरक्षाकर्मी खटिएका छन्।

सबै जना पीपीईमा रहनेछन्। यो विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सञ्चालित क्लिनिक हो।

प्यूठानमा मास्क वितरण गरिँदै।

मन्त्रीको नेतृत्वमा रेस्पोन्स टिम

सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रणका लागि रेपिड रेस्पोन्स टिममा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सदस्य छन्।

उनीहरु चौबीसै घन्टा निगरानीका लागि खटिने गरेका छन्।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि छुट्टै सूचना प्रणाली बनाउने भएको छ। शंकास्पद व्यक्तिको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राख्ने, प्रदेशमा रहेका एम्बुलेन्सको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले राख्नेछन् । एम्बुलेन्स चलाउन सुरक्षा निकायका चालक तयारी अवस्थामा राखिएको छ।

१० करोडको कोष स्थापना

प्रदेश ५ सरकारले १० करोड रुपैयाँको कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको छ। कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन्। प्रदेशका नेकपा र कांग्रेसका प्रदेशसभा सदस्यले १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

अस्पताल व्यवस्थापन संयाेजकमा पनि मन्त्री

कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।

मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक अस्पतालमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, भीम अस्पतालमा सामाजिक विकासमन्त्री सुदर्शनप्रसाद नेपाल, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी संयोजक तोकिएका छन्।

समिति सदस्यमा अस्पताल रहेको स्थानका नगरका प्रमुख, प्रमुख जिल्ला अधिकारी, मेडिकल सुपरिटेन्डेन्ट, छिमेकी निजी क्षेत्रबाट सञ्चालित अस्पतालका सञ्चालक छन्।

मन्त्रिपरिषद्ले समितिलाई यथासक्य छिटो आइसोलेसन स्थापना गर्न निर्देशन दिएको छ। आइसोलेसन निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्यसचिव कार्यरत रहेको कार्यालयमा नियमअनुसार खर्च गर्ने गरी एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।

मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई कोरोनाविरुद्धको अभियानमा सहभागी गराइने, मेडिकल कलेजले कोरोनाका बिरामीलाई अनिवार्य उपचारको व्यवस्था मिलाउने र सार्वजनिक सवारीसाधनलाई जिल्लाबाहिर जान रोक लगाइने निर्णय भएको छ।

यस्तै स्थानीय तहले बाहिरबाट आएकालाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न लगाउनुपर्नेछ। वडाले बाहिरबाट आएका व्यक्तिको रेकर्ड राखेर क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने र पालिकाभित्र कोरोनाको लक्षण देखिए एम्बुलेन्सको व्यवस्था गरी अस्पतालमा पुर्याउने व्यवस्था गर्नुपर्ने निर्णय भएको छ।

भैरहवाको बुद्धचोकमा स्थापना गरिएको हेल्थ डेस्क।

 

सिमानामा चुनौती

भारतका विभिन्न सहरमा रहेका नेपाली घर फर्किने क्रम रोकिएको छैन। कतिपय नेपाली भारतमा निजी सवारीसाधन रिजर्भ गरेर फर्किरहेका छन्। जसले गर्दा सीमा क्षेत्रमा चुनौती थपिएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘सरकारले प्रवेशमा कडाइ गरे पनि मानिस आउने क्रम रोकिएको छैन। हामी उनीहरुलाई क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउँछौं।’

गाउँगाउँमा क्वारेन्टाइन

प्रदेशका सबै स्थानीय तहले आफ्नै स्रोतसाधनमा विद्यालय र सार्वजनिक भवनमा क्वारेन्टाइन बनाइरहेका छन्। विदेशी मुलुकबाट गाउँ आएकालाई दुई सातासम्म क्वारेन्टाइन राख्ने गरी पालिका स्तरमा संयन्त्र बनाइएको छ।

मजदुरलाई रासन

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ। बिहीबार बसेको नगरको सचिवालय बैठकले लबडाउनबाट प्रभावित भई दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको हो।

त्यस्ता परिवारलाई पहिलो चरणमा १० किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय भएको प्रवक्ता सुरेन्द्र श्रीले बताए। उनीहरुलाई टोल विकास संस्थाको सिफारिसमा राहत उपलब्ध गराइनेछ।

विदेशबाट फर्कनेले भित्र्याए त्रास

गौमुखी गाउँपालिका ४ पूजामा केही दिनअघि प्यूठानमा भारतबाट फर्केका एक युवकका कारण सबैजना त्रसित छन्। उनी स्वास्थ्य परीक्षण गराउन गएका छैनन्। गाउँले डराइरहेको पूजा मुख्यपोखराका अर्जुनबहादुर केसीले बताए।

लिबासेस्थित प्रहरीको सहयोगमा विदेशबाट आउनेलाई निगरानीमा राखिएको छ। सहरी क्षेत्र र विदेशबाट फर्किएका मानिसको चहलपहल बढेपछि त्रास उत्पन्न भएको गुल्मी रेसुंगा नगरपालिका भाडागाउँका इन्द्रजंग बस्नेतले बताए।

उनले भने, ‘गाउँमा दुईजना भारतबाट आएका छन्। सबैले उनीहरुलाई घरभित्रै बस्न भनेका छन्। हामी पनि कहीं गएका छैनौं।’
यस्तै कतार एयरको विमानमा आएकी युवतीमा कोरोना भाइरस देखिएपछि उक्त विमानमा आएका व्यक्तिका कारण प्रदेशमा अर्को त्रास उत्पन्न भएको छ।

चैत ४ गते आएको नेपाल आएको उक्त जहाजमा रुपन्देहीका ३, बाँकेका ४, नवलपरासीका २, गुल्मीका एक, दाङका एक, कपिलवस्तुका एक, अर्घाखाँचीका एक र पाल्पाका एक जना थिए।

स्थानीय प्रशासनले सूचना जारी गरेर ती व्यक्तिलाई स्वास्थ्य परीक्षणमा आउन अपिल गरेको छ। तर उनीहरु सम्पर्कमा आएका छैनन्।

भारतबाट आएका क्वारेन्टाइनमा

पाल्पामा भारतबाट फर्किएका ३७ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई तानसेन नगरपालिका–६ बर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनाशकाली गाउँपालिका–१ चिर्तुङधारामा रहेको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए।

बर्दियामा भारतबाट फर्किएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
सुनौलीमा अलपत्र २९ नेपालीलाई नेपाल प्रवेश गराई विभिन्न क्वारेन्टाइनमा राखिएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार १० जनालाई सियारी, १० जनालाई शुद्धोधन र ९ जनालाई बुटवलमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ।

घर र पार्टी कार्यालय क्वारेन्टाइन

सामुदायिक तथा संस्थागत विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ। दलहरुले पनि आफ्नो भवन क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने निर्णय गरेका छन्।

सत्तारुढ नेकपा बाँकेले कोरोना रोकथामका लागि पार्टी कार्यालय क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएको छ। प्यूठानमा राष्ट्रिय जनमोर्चाका नेता भरतमणि न्यौपानेले प्यूठान नगरपालिका–८ बाग्दुलामा रहेको घरको हल होम क्वारेन्टाइनका लागि दिने घोषणा गरेका छन्।

विभिन्न सामाजिक संघसस्ंथा र व्यक्तिहरुले मास्क, स्यानिटाइजर वितरण गरिरहका छन्। मायादेवी च्यारिटेबल फाउन्डेसनले भैरहवामा हेल्थ डेस्क सञ्चालन गरेको छ।

१२ जिल्ला रहेको प्रदेश ५ का बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी भारतसँग सीमा जोडिएको छ। भारतमा जनता कर्फ्यु लागे पनि तराईका जिल्लामा चहलपहल घटेको छैन। पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, रुकुममा भने चहलपहल घटेको छ।

निजीले मान्न थाले डर
निजी अस्पतालले भने ज्वरो आएका बिरामीरीलाई भर्ना गर्न आनाकानी गरिरहेका छन्। केही दिनअघि दिल्लीबाट प्यूठान घर भएका एक जना बिरामी बुटवलको मेडिटेक अस्पताल पुगे।

परीक्षण गर्दा ज्वरो देखिएपछि उक्त अस्पतालले यूसीएमएस भैरहवा रिफर गर्यो। यूसीएमएसले भीम अस्पताल भैरहवा रिफर गरेपछि बिरामी बिचल्लीमा परे।

अन्ततः भीम अस्पतालले बिरामी भर्ना गरेर उनको स्वास्थ्य परीक्षण गरेको थियो। स्वाब परीक्षण गर्दा कोरोना देखिएन। निजी अस्पतालले कोरोना लक्षण देखिएका बिरामीलाई विभिन्न बहानामा भर्ना नगरेको विषयमा प्रदेश सांसद विष्णु पन्थीले आपत्ति जनाएका छन्।

मुख्मन्त्री भन्छन्, संयम बनौं, घरभित्रै बसौं

मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाइँमा सबै नागरिकलाई सरकारी आदेश पालना गर्न सजग गराइरहेका छन्। उनले भनेका छन् ‘लकडाउनमा सबै सेवा बन्द हुँदैनन्। खाद्यान्न स्वास्थ्य सेवा सुरक्षा सेवा जारी रहन्छन्। हामी जनतालाई भोकै मर्न दिँदैनौं।’

पोखरेलले संक्रमित गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताए। ‘बाहिरका मानिसको आवतजावत रोक्न सके यो लडाइँ जित्न सक्छौ,’ उनले भने, ‘संयमता जरुरी छ। पोषिलो खानेकुरा खाने, घरभित्रै बस्ने गरौं।’

प्रकाशित: Mar 26, 2020| 14:15 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।