बुधबार, जेठ १४, २०७७

समाचार कला - साहित्य
1590153290siddhi_.jpg

जेलमा बस्दा कवि सिद्धिचरणले गंगालाल, गणेशमान, केदारमान आदिलाई क्रान्तिकारी पाठ पढाई अध्ययन गर्ने र लेखक, कवि हुने प्रेरणा दिँदै विद्वान् कवि र नेतासमेत बनाए। यस प्रकार उनी महान् गुरु र अगुवा हुन् यो देशका।

नेपालका महान् कवि सिद्धिचरणसितको मेरो परिचय त्यसबेलादेखि भयो जब मैले उहाँलाई कलकत्ताबाट छापिने मेरो मासिक पत्रिका ‘प्रभात’ को पहिलो अंकका लागि एउटा कविता पठाइदिनुहुन पत्राचार गरेको थिएँ। त्यो ई.सं. १९५१ अप्रिल महिनाको कुरा थियो।

उहाँले हार्दिकताका साथ मेरो अनुरोध स्वीकार गरी हामीलाई शुभेच्छा र आशीर्वादका भावनाले ओतप्रोत भएको ‘प्रभात’ शीर्षकको एक कविता पठाउनुभयो। उहाँ मेरो एक अति प्रिय कवि भएको हुनाले सो कविता पाउँदा म त साँच्ची नै दंग परेँ। त्यो कविता समयमै आएको थियो र त्यसमा अभिव्यक्त भएका भावहरू यस्ता थिए–

प्रभात रे, प्रकाश रे, नवीन ज्योति खुल्छ रे
शताब्दिदेखि मूर्च्छित अचेत प्राण उठ्छ रे।

मलाई थाहा छ, सिद्धिचरण नेपालका सर्वोच्च कवि हुन्। तर यिनै सर्वतोमुखी प्रतिभाका सम्बन्धमा मैले त्यतिखेर मात्र थाहा पाएँ जब स्व. सूर्यविक्रम ज्ञवालीले नेपाली साहित्यकाशका दुई तारा सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटासम्बन्धी शीर्षकमा एक लेख प्रकाशित गर्नुभयो।

वास्तवमा दार्जिलिङवासीहरूको तर्फबाट नेपाली प्रतिभाहरू सम्बन्धमा लेखिएको यो प्रथम लेख थियो। तिनताक नेपालमा नेपाली कवि र तिनका कृतिहरूबारे समालोचना लेख्ने चलन थिएन। यसको कारणहरूमध्ये एकचाहिँ के हुन सक्छ भने त्यसबेला साहित्यिक समालोचना र त्यसको ज्ञान गरिमाको प्रचलन नेपालमा पनि चलेको थिएन र अर्को मुख्य कारणचाहिँ त्यसबेलाको राणासरकारका क्रूर अवस्थामा केवल राणा र तिनका परिवारको मात्र स्तुति गाउनुपर्दथ्यो।

उपर्युक्त लेखमा हामीले नेपालका कविहरूको प्रतिभाको उच्च प्रशंसा गरेको विषयलाई सर्वप्रथम पढ्न पाएका थियौं। फलतः हामीले के सोच्यौं भने नेपालजस्तो सानो देशमा पनि यस्ता उच्च र व्यापकस्तरका प्रतिभाशाली मानिसहरू बसेका रहेछन्।

अब म यहाँ प्रस्तुत उद्देश्यमुताबिक केवल कवि सिद्धिचरण श्रेष्ठका विषयमा चर्चा गर्नेछु। माथि भनिएको लेखमा कवि सिद्धिचरण नेपालको पूर्वी भागमा रहेको ओखलढुंगा भन्ने ठाउँमा जन्मिएका रहेछन् र त्यो उनको पवित्र जन्मस्थल रहेछ भन्ने थाहा भएको थियो।

पछि म हुर्किंदै ठूलो भएर जब उनको कविता ‘ओखलढुंगा’ पढेँ तब त मैले त्यो कवितालाई बेग्लै आनन्दानुभूति र बेग्लै गहिराइका साथ बोध गरेँ। यो एउटा साहित्यिक परमानन्दको स्रोत छाडेका छन् कविले हाम्रा लागि। यो अनन्त छ।

ज्ञवालीज्यूले ‘ओखलढुंगा’ कविताको चर्चा गर्दै कसरी कवि सिद्धिचरणलाई ओखलढुंगामा बिताएको बाल्यकालको सम्झना बारम्बार भइरहन्थ्यो भन्ने कुरा सो लेखमा वर्णन गर्नुभएको छ। कसरी कवि ओखलढुंगालाई प्रेम गर्थे, त्यो जन्मभूमि जहाँ उनी ती बनेली र फाँटहरूमा खाई, खेल्दै, गाउँदै, नाच्दै परिव्याप्त घुमे। तर जब उनी हुर्के, बढे, ठूला भएर काठमाडौं जानुपर्यो तब उनले यो अति प्रियस्थललाई चटक्कै गुमाउनुपर्यो।

जब कविले यो कविता १९३५ ई.सं. मा लेखे तब उनी त्यतिखेर २२ वर्षका मात्र थिए। म त्यतिखेर एउटा सानो फुच्चे केटो थिएँ। समय बित्दै जाँदा म सरकारी हाइस्कुल दार्जिलिङमा पढिसकेर कलकत्ताको सरकारी ललितकला कलेजमा ६ वर्षको लागि ई.सं. १९३९ मा पढ्न गएँ। म त्यहाँ पढ्दै, काम गर्दै र ३ वटा उपन्यास लेख्दै ई.सं. १९५१ मा ‘प्रभात’ पत्रिका प्रकाशन गर्न पुगेँ।

त्यसपछि पेरिसमा अध्ययन समाप्त गरी मनु थापासित विवाह पनि गरेर लन्डनमा कार्यरत रहेका बेलामा राजा महेन्द्रसँग दर्शनभेट हुँदा मलाई नेपाल आउने मनसाय बक्स हुँदा म १९६१ मा काठमाडौं आएँ र मित्र नारायणप्रसाद बास्कोटाजीकोमा बसेका बेला उनले मलाई कवि सिद्धिचरणज्यूसित परिचयार्थ लगे।

त्यो एउटा मेरो लागि साँच्ची नै अभूतपूर्व संवेदनशील क्षण थियो। सो पहिलो भेटमा नै उनले मेरो हात समाई मलाई बस्न भनिएको आशीर्वचन प्राप्त गरेँ। अग्लो, पातलो कदको कविलाई त्यहाँ मैले अत्यन्त सुमधुर, भावुक र सहृदयी पाएको थिएँ। त्यसपछिका दिनहरूमा हाम्रो बारम्बार भेटघाट हुने गर्थ्याे र मलाई बारम्बार अभिप्रेरणा मिलिरहन्थ्यो।

तत्कालै उनीसित १९६१ को नोभेम्बरमा मलाई ककनीको सौन्दर्य शिरोमणिस्थलमा गई केही दिन बस्ने सौभाग्य प्राप्त भएको थियो र ती दिनहरू हामीहरूले निकै सिर्जनशील उत्पादनका रुपमा बिताएका थियौं। त्यहाँका विविध प्राकृतिक छविछटा, सूर्योदय र सूर्यास्त, हिमाली शृंखलाका गौरवशाली महिमा र तिनका गतिशील दृश्यहरूका बीचमा रही हामीले धेरै सिर्जनाका कार्य गर्यौं।

तीमध्ये मैले बनाएका राजा महेन्द्र र कवि सिद्धिचरणका चित्रहरू र उनका सुन्दर कविताहरू उल्लेखनीय छन्। त्यहाँ मैले उनीसित जम्मा एक दिन अत्यन्त सुमधुर र अविस्मरणीय रुपमा बिताएको छु। ती कविता र मैले बनाएको कविज्यूको तस्बिर उनका सुपुत्र रविचरण श्रेष्ठसँग सुरक्षित छन्।

राणा शासनको विरोध गरी जनताको स्वतन्त्रता र कल्याणका लागि कलमवीर भई विद्रोह गरेबापत १९९७ मा उनलाई १८ वर्षको जेल र सर्वस्वहरण गरिएको थियो। जेलमा बस्दा नेपालमा प्रथम उपन्यास ‘सुमती’का स्रष्टा उनका पिता क्रान्तिकारी विष्णुचरण श्रेष्ठ पछि ८० वर्षको उमेरमा जेलमा ल्याइएका थिए र बिरामीमै निकालिएपछि घरमा उनको देहावसान भयो।

एउटै छोरो जेलवासी सिद्धिचरणलाई बाबुको अन्त्येष्टिमा दागबत्ती दिन पनि दिइएन। उता जेलमा बस्दा भने कवि सिद्धिचरणले गंगालाल, गणेशमान, केदारमान आदिलाई क्रान्तिकारी पाठ पढाई अध्ययन गर्ने र लेखक, कवि हुने प्रेरणा दिँदै विद्वान् कवि र नेतासमेत बनाए। यस प्रकार उनी महान् गुरु र अगुवा हुन् यो देशका।

अन्तमा, उनी जस्ता उच्च सिर्जनशील प्रतिभाको कदर कसले गर्नु पर्दैन? हामी सम्पूर्ण देशवासीले उनको कदर हार्दिक र भौतिक स्तरबाट गर्न कत्ति पनि कसर राख्नु हुँदैन। हामी उनका ऋणी छौं।

माथि उल्लिखित ककनीको त्यो संगतलगायत आजीवन उनीसित मेरा भएका सत्संगतहरूले म उनको विषयमा यस्तो निचोड निकाल्न चाहन्छु–
कविजी आज हामीसमक्ष छैनन् तर उनको मीठो सम्झना र उनले दिएका योगदानहरू हाम्रो समक्ष रहिरहेका छन्। कवि सिद्धिचरण एक उच्च मानवीय स्तरका आत्मा थिए जो गरिब र निम्न वर्गीय जनताका पक्षमा निडर भई बोल्ने एक लोकप्रिय विद्रोही कवि थिए। उनको साहित्य, स्वतन्त्रता, राष्ट्रियता, प्रजातन्त्र र न्याय एवम् शाश्वत मानवीय संवेदनाप्रतिको आजीवन प्रतिबद्धता जहिले पनि उच्चस्तरमा टड्कारो भई चम्किरहने कुरामा दुईमत छैन।

उनीजस्ता एक उदाहरणीय व्यक्तित्वको महान् मरणले हामीसमक्ष हाम्रो पिँढी र यो शताब्दीकै एक अति उच्च कविको अमर छवि छाडेको छ। नेपाली र विश्वजनसमुदायमा उनी झन् झन् हृदयग्राही हुँदै जानेछन्।

(युगकवि सिद्धिचरण शताब्दी स्मृतिग्रन्थबाट साभार। जेठ ९ युगकविकाे जन्मदिन हाे।)

प्रतिक्रिया दिनुहोस्