सोमबार, साउन २६, २०७७

समाज
1589809124NELP3.jpg

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण २०७६ चैत ११ गतेदेखि नेपालभर बन्दाबन्दी (लकडाउन) लागू भयो। यातायात ठप्प भयो, कलकारखाना बन्द भए, शैक्षिक संस्थाहरुमा ताला लाग्यो। मानिसहरु घरभित्रै थुनिन बाध्य भए।

केही दिन त लकडाउनले खासै ठूलो असर गरेन। किनकी मानिसहरुले केही खाद्यान्न जोहो गरेका थिए। तर, जो दैनिक ज्याला मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्छन्, उनीहरुका लागि लकडाउन दुरुह सावित हुन पुग्यो।

लकडाउनका कारण हातमुख जोर्न समस्या भएकाहरुका लागि केही सहयोगी हातहरु अघि सरे। तिनैमध्येका एक हुन्, जुजुकाजी महर्जन। लकडाउनको चौथो दिनदेखि नै उनले समस्यामा परेकाहरुलाई खानाको प्याकेट बाँड्न थाले। उनको टिमले दैनिक २५० जनालाई खानाको व्यवस्था गर्न थाल्यो। त्यो क्रम अहिले पनि जारी छ।

व्यक्तिगत तथा संस्थागत रुपमा स–सानो स्तरको स्रोत जुटाउँदै उनले २५ हजारभन्दा बढी खानाको प्याकेट बाँडिसकेका छन्। करिब २ हजार परिवारलाई राहतको पोको थमाएका छन्।

‘मसँग त्यस्तो ठूलो स्रोत केही छैन। व्यक्तिगत तथा केही संस्थाहरुको सहयोगमा काम गरिरहेको छु,’ जुजुकाजी भन्छन्। भक्तपुरका विकास नकर्मी, संयक हसना (हसना महर्जन) लगायतले उनलाई सघाएका छन्।

राहतको पोका तयार गरेर बाँड्ने तयारी गर्दै जुजुकाजी महर्जन।

सुरुमा उनले सडकमा बस्ने बालबालिका, विभिन्न कारणले बेसहारा बनेर सडकमा आश्रित हुनुपरेकाहरु, अपांगता भएकाहरुलाई प्राथमिकता दिए। बिहान ७–८ जना भेला भएर डल्लुमा खाना पकाउने अनि प्याकिङ गरी गाडीमा हालेर ठाउँठाउँमा डुलाउने उनको दैनिकी हो। सुरुसुरुमा खानासँगै मास्क, साबुन, स्यानिटाइजर पनि बाँडे।

सहयोग जुट्दै गएपछि उनले चामल, दाल, तरकारी, नुन, तेलको पोको बनाएर विपन्न परिवारलाई बाँड्न थाले। यो क्रम अहिले पनि जारी छ।

‘हामीले पछिल्लोपल्ट बाँडेको राहतले एक सातालाई पुग्छ होला, त्यसैले अहिले विश्राम लिएका छौं। लकडाउन पनि कडा भएको छ,’ जुजुकाजीले आइतबार नेपाल समयसँगको कुराकानीमा भने। राहत वितरणकै क्रममा क्यान्सर पीडित एक परिवारसँग जोडिएको र आफ्नो माध्यमबाट उक्त परिवारलाई थप सहयोग जुटेको उनले सुनाए।

१० दिनजति उनले काठमाडौंबाट पैदल विभिन्न जिल्ला हिँडेकाहरुलाई खाना खुवाए। कालिमाटी तरकारी बजारमा खानाका प्याकेट पुर्‍याए।

लकडाउनका लागि समस्यामा परेकाहरुलाई बाँड्न खाना तयार गरिँदै।

सामाजिक काममा जुजुकाजीको यो नयाँ अनुभव होइन। हर्टबिट नामक संस्था खोलेर उनी झन्डै १५ वर्षदेखि सामाजिक काम गरिरहेका छन्। अहिलेको महामारीमा काम गर्न उनलाई आफूसँग भएको नेटवर्क र डाटाबेसले महत्वपूर्ण सहयोग पुगेको छ।

सप्तरीको राजविराज नगरपालिकाका मेयर सतिश सिंहको ध्यान किसानको समस्यामा पुग्यो। किसानहरुले गहुँ काट्न नपाएको देखेपछि आफैँ अग्रसर भएर किसानहरुलाई गहुँ काट्न लगाए ।

आफ्नो नगरपालिकाका सबै वडाका प्रतिनिधिहरुलाई भेला गरी जनतामाझ कोरोनाको बारेमा चेतना जगाउन, क्वारेन्टाइन निर्माण गर्न, राहत वितरण गर्न निर्देशन दिए। जनताले लकडाउनको पूर्ण पालना गरेका छन् कि छैनन् भनेर अनुगमनमा निस्किए।

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग भिडियो कुराकानी गर्दै राजविराज नगरपालिकाका मेयर सतिस सिंह।

राष्ट्रिय जनता पार्टी (हाल जनता समाजवादी पार्टी) वीरगन्ज महानगरपालिका कमिटी अध्यक्ष ओमप्रकाश सराफ वीरगन्जमा नै कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई दबाब दिन धर्नामा नै बसे। पर्सामा कोरोना संक्रमित बढ्दै गएको तर परीक्षणको व्यवस्था नभएको भन्दै उनी आन्दोलित भएका हुन्।

तीव्र दबाबपछि नारायणी अस्पतालमा कोरोना परीक्षण हुन थालेको छ। तर, त्यहाँको सेवा भने अस्तव्यस्त छ। अहिले सराफ नारायणी अस्पतालको सेवा प्रभावकारी र सबैका लागि सहज बनाउन लागिपरेका छन्। यसका लागि उनी धर्ना बसेको दुई साता बितिसकेको छ।

नारायणी अस्पतालको सबै सेवा सुचारु गरी पर्सादेखि सर्लाहीसम्मका करिब ५० लाख जनतालाई स्वास्थ्य उपचार सेवा सरल, सहज बनाउनुपर्ने उनको माग छ। ‘गण्डक अस्पताल नारायणीकै कोरोना अस्पतालमा परिणत भएकोले नारायणी अस्पतालमा रहेका संक्रमितलाई त्यहाँ स्थानान्तरण गरी नारायणीलार्य जनरल अस्पतालको रुपमा सुचारु गर्नुपर्छ,’ सराफ भन्छन्।

लकडाउनपछि सराफ राहत वितरणमा पनि सक्रिय भए। आफ्नो नेतृत्वमा ५३०० थान मास्क तथा खाद्यान्न विपन्न तथा दलित समुदायलाई बाँडिएको उनले सुनाए।

वीरगन्जस्थित नारायणी अस्पतालको सबै सेवा सुचारु गर्नुपर्ने मागसहित धर्ना बसेका ओमप्रकाश सराफ।

पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले आफ्नो नगरपालिकामा राहत बाँड्न सहजीकरण गरिरहेका छन्। स्वास्थ्य सामग्री तथा स्यानिटरी सामग्री वितरणमा आफूले विशेष ध्यान पुयाएको उनको भनाइ छ।

कतिपय स्थानीय तहमा राहत वितरणमा अनियमितता भएको, विवाद भएर हात हालाहाल नै भएको, पाउनुपर्नेले नपाएको समाचार आइरहँदा शर्मा भने आफ्नो नगरपालिकामा अत्यन्तै व्यवस्थित र न्यायपूर्ण रुपमा राहत वितरणको काम भइरहेको दाबी गर्छन्।

नेकपाकी युवा नेतृ निलम ढुंगेलले आफ्नो नेतृत्वमा विराटनगर वडा नं. ८ स्थित नेकपाका विभिन्न कमिटी सदस्य तथा शुभचिन्तकहरुसँग मिलेर रकम संकलन गरी दैनिक ज्यालादारी गर्ने श्रमिक तथा सुकुम्बासी २०० घरधुरीलाई खानेकुरा, साबुन तथा मास्क वितरण गरिन् ।

प्रदेश २ प्रदेश सभाका सभामुखका राजनीतिक सल्लाहकार अनिल महासेठले आफ्नो क्षेत्रमा कोरोना भाइरसको चेकजाँचका लागि स्थानीय अस्पतालमा चाहिने सामग्रीहरु जुटाई सेवा सुरु गराएको बताएका छन् ।

डा. रामदेव पण्डितले आयुर्वेद चिकित्सा प्रणालीबाट मानिसहरुलाई यस संकटको घडीमा आफ्नो रोग प्रतिरोधात्मक क्षमता विकास गर्न तथा मनोबल उच्च राख्न जनचेतना फैलाए ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ विश्वकर्माले आफ्नो नेतृत्वमा ७३६ बेडको क्वारेन्टाइन सेवा निर्माण गर्न सहयोग पुर्‍याए । उनी त्यस क्षेत्रमा थप ४००० बेड थप्ने प्रयासमा छन् । उनी प्रदेश १ सरकारसँग कोरोनाबाट उत्पन्न हुने समस्या समाधानका लागि निरन्तर क्रियाशिल छन्।

विवेक मगरले तेस्रो लिंगी समुदाय र स्थानीय समुदायबीच मध्यस्थकर्ताको भूमिका निभाएका छन् । उनले राहत वितरण गर्न तथा उक्त समुदायका विविध समस्याको समाधान गर्न मद्दत पुर्‍याएको बताए।

आफ्नो समुदायमा महामारीले निम्त्याएको मनोवैज्ञानिक समस्याको लागि परामर्श दिने तथा घरेलु हिंसा सम्वन्धी जनचेतना जगाउने काम आफूले गरेको उनको भनाइ छ। उनी आफैं तेस्रो लिंगी हुन् ।

कोरोना महामारीका कारण संकटमा परेकाहरुका लागि सारथी बनिरहेका यी सबै अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आईपीजे) र काठमाडौंस्थित लिडरसिप एकेडेमीद्वारा सञ्चालित ‘नेपाली इमर्जिङ लिडर्स प्रोग्राम (एनईएलपी) नामक कार्यक्रमसँग जोडिएका छन्।

यो सञ्जाललाई उनीहरुले महामारीको समयमा सहयोग संकलन तथा आवश्यक परेका मानिसलाई खाद्यान्न बाँड्न र जनचेतना फैलाउन सदुपयोग गरेको बताएका छन्।

ड्यानियल ओर्थ, कार्यक्रम अधिकृत (आईपीजे)

उनीहरुले गरिरहेको परोपकारी कार्यको बारेमा युनिभर्सिटी अफ सान डिएगोले आफ्नो वेबसाइटमा रिपोर्टसमेत प्रकाशित गरेको छ।

आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले नेपाली युवामा देखिएको जोशजाँगर र सहयोगी भावनाबाट आफू प्रभावित भएको बताउँछन् एनईएलपीमा भिन्न भूगोल, समुदाय, राजनीतिक दल, लिंग तथा विभिन्न क्षेत्रका युवाहरु जोडिएको बताउँदै उनले विविधतामा एकता र सहकार्य नै कार्यक्रमको उद्देश्य रहेको जानकारी दिए।

तीन वर्षदेखि सञ्चालित यो कार्यक्रममा ५२ जिल्लाका ८३ जना आवद्ध भएको जानकारी दिँदै उनले अर्को वर्ष ७७ वटै जिल्ला समेट्ने योजना रहेको सुनाए। ‘नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो,’ ओर्थले भने, ‘युवा नेतृत्वको अग्रसरतामा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई सघाउनु कार्यक्रमको उद्देश्य हो।’

प्रतिक्रिया दिनुहोस्