शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • युट्युबे 'सेलिब्रेटी' बन्न सडकमै 'न्यायाधीश' हुने कथित अभियन्ताको कथा

युट्युबे 'सेलिब्रेटी' बन्न सडकमै 'न्यायाधीश' हुने कथित अभियन्ताको कथा

यही बेला चितवन पुगेकी छिन्, आफूलाई महिला अधिकारकर्मी दाबी गर्ने सावित्री सुवेदी। सदाझैँ भीड बटुलेर ‘बलात्कारीलाई फाँसी दे’ भन्दै चर्को नाराबाजी गरिरहेकी छिन्।
 |  बुधबार, असार २३, २०७८

अनिल यादव

अनिल यादव

बुधबार, असार २३, २०७८

काठमाडौं- बेपत्ता भएको ९ दिनपछि मृत अवस्थामा भेटिएकी चितवनकी सुजिता भण्डारीको प्रकरण अहिले अनुसन्धानको चरणमा छ। यो हत्या हो या आत्महत्या, प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। 

triton college

यही बेला चितवन पुगेकी छिन्, आफूलाई महिला अधिकारकर्मी दाबी गर्ने सावित्री सुवेदी। सदाझैँ भीड बटुलेर ‘बलात्कारीलाई फाँसी दे’ भन्दै चर्को नाराबाजी गरिरहेकी छिन्। 

मंगलबारकै चर्चा गरौँ।

‘जय नारी’ भन्दै अभियान चलाइरहेकी सावित्री सुजिताको मृत्युलाई लिएर नाराबाजी गरिरहेकी थिइन्। नाराबाजीपछि भाषण गरिरहेकी उनलाई एक मिडियाकर्मी सोध्छन्, ‘घटनास्थलमा विष पनि भेटिएको छ, कतिपय स्थानीयवासीले विष खाएर मरेको पनि भनिरहनुभएको छ नि?,’ जवाफमा उनी चिच्याउँदै बोल्छिन्, ‘मरेको देख्यो मान्छेले? उसलाई अपहरण गरियो, बलात्कार गरियो र हत्या गरियो। यसमा दुई मत छैन।’

कुनै पनि घटनामा सावित्री कसरी न्यायाधीशझै 'फैसला' गर्छिन्? कसरी अनुसन्धानलाई प्रभावित पार्न खोज्छिन्? अनि कसरी भीडलाई निर्देशित गर्न खोज्छिन्? सायद त्यो बुझ्नलाई अनुसन्धानको क्रममा रहेको सुजिताको रहस्यमय मृत्युमाथि उनले गरेको यो भाषण काफी छ। 

corrent noodles
Metro Mart

अनि, यही भाषणलाई थुप्रै युट्युबहरूले सुजिताको न्यायका लागि सावित्री काठमाडौंबाट चितवन आएको आशयमा भीडियो बनाएका छन्। मानौँ कि, सावित्री साँच्चिकै न्यायाधीश नै हुन्। उदाहरणका लागि, 'अग्नि खबर नेपाल'को शीर्षक नै पर्याप्त छ, ‘सावित्री सुवेदीले चितवन हल्लाए, यस्तो रहस्य खुलाए सुजिताको बारे।’

मंगलबार चितवनमा सावित्रीले नेतृत्व गरेको भीडका कारण झडपको अवस्था नै सिर्जना भयो। स्थानीयसँगको झडपमा ७ जना प्रहरी नै घाइते भए। त्यसपछि राप्ती नगरपालिकाका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ४ को डढुवासम्म कर्फ्यू आदेश नै जारी गर्नुपर्‍यो। 

यो अवस्थाको सिर्जना हुनुमा सदाझैँ ‘भावनात्मक र उत्तेजित भाषण’ छाडेर भीडलाई उद्वेलित गर्न माहिर सावित्रीको पनि भूमिका देखिन्छ। मंगलबार पनि उनी सदाझैँ उही पुरानै नारा लाइरहेकी थिइन्, ‘बलात्कारीलाई फासी दे। सुजितालाई न्याय दे। न्यायिक निकाय होसियार! छोरी मार्न पाइँदैन। बुहारी मार्न पाइँदैन।’

त्यति मात्रै होइन, उनी सदाझैँ सकिनसकी चिच्याउँदी भनिरहेकी थिइन्, ‘यो मानवताविरोधी घटना हो। एउटा छोरीको जीवन जिउने अधिकार निमोठिएको छ। एउटा फक्रँदै गरेको फूल चिमोटिएको छ। एउटा सुन्दर सपना बोकेर जन्मिएकी मजस्ती एउटी छोरीलाई मारिएको छ। एकदम खेदजनक छ। हामी यसको घोर भत्सर्ना गर्छौँ। तुरुन्तै अपराधीलाई पक्राउ गर, फाँसी दे।’

रिजालले भनेझै सावित्री जसरी ‘न्यायाधीश’सरह फैसला गर्दै भीडलाई निर्देशित गर्न खोजिरहेकी छिन्, त्यसले साँच्चिकै प्रहरीको अनुसन्धानमा असर परिरहेको छ।

प्रहरीको कमजोरीले यो घटनाभन्दै बारम्बार गाली गरिरहेकी थिइन्। अनि, उनीसँगै नाराबाजी गरिरहेकाहरू ‘हो मा हो’ मिलाइरहेका थिए। 

स्थानीय राजेन्द्र रिजाल सुजिताको मृत्यु प्रकरणमा ‘सेलिब्रेटी’ देखिने रहरको आन्दोलनले प्रहरीको अनुसन्धानलाई प्रभाव पारिरहेको बताउँछन्। ‘सुजिताको मृत्यु के कारणले भएको भन्ने प्रहरीले पत्ता लगाउनुपर्छ। उनलाई न्याय मिल्नुपर्छ तर यसरी अनाहकमा आन्दोलन गर्दा प्रहरी दवाव होइन, विषयबाट भड्काउने सम्भावना पनि रहन्छ,’ उनले सोसियल मिडियामै लेखेका छन्, ‘त्यसैले कसैलाई सेलिब्रेटी देखिने रहरका लागि भएको यस्तो आन्दोलनको काम छैन। जनताले प्रहरीलाई सूचना दिएर अनुसन्धानमा सहयोग गर्ने हो। अनावश्यक मुडभेड पैदा गर्ने होइन।’

रिजालले भनेझै सावित्री जसरी ‘न्यायाधीश’सरह फैसला गर्दै भीडलाई निर्देशित गर्न खोजिरहेकी छिन्, त्यसले साँच्चिकै प्रहरीको अनुसन्धानमा असर परिरहेको छ। ‘अनुसन्धान त तथ्यका आधारमा हुन्छ, सामान्य अनुसन्धान त सर्वसाधारणले पनि गर्न सक्लान् तर त्यसको गहिराइमा पुग्न त सबै प्रहरी पनि काविल हुँदैनन्। त्यसका लागि विशेष क्षमता भएका विशेष प्रहरी नै खटिएका हुन्छन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘सुजिताको मृत्यु प्रकरणमा हामी गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ। तर, विडम्बना के छ भने यहाँ त भीडले पहिल्यै एउटा निष्कर्ष निकालिरहेको छ, अनि हामीलाई त्यही अनुसार अनुसन्धान गर्न भनिरहेको छ।’

000

त्यसो त सावित्री सुजिता प्रकरणमा मात्रै होइन, जति पनि महिलासँग जोडिएका हिंसा र मृत्युका घटना हुन्छन्, देशभर जहाँ होस् तुरुन्तै पुगिहाल्छिन्। महिलाहरुको समूह भेला गर्छिन्। अनि, घटना जतिसुकै गम्भीर किन नहोस्, सुक्ष्म अध्ययनबिना हचुवाको भरमा सडकमा उत्रिएर गर्जिन थालिहाल्छिन्, नाराबाजी गरिहाल्छिन्। चर्चाका लागि हदैसम्म प्रस्तुत हुन तयार हुन्छिन्। 

अनि, उनको त्यही गर्जनलाई बेच्न पल्केका युट्युबरहरू त्यसैलाई कन्टेन्ट बनाएर युट्युबमा हालिहाल्छन्। उदाहरणका लागि, चितवनकै सविता भण्डारीको मृत्यु प्रकरणलाई पनि लिन सकिन्छ। 

गत वैशाख ४ गते सविता घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानको क्रममा पोस्टमार्टम रिपोर्टले सविताको मृत्युको कारण आत्महत्या देखाएको थियो। तर, उपलब्ध फोन कल, स्क्रिनसर्ट र ससुराले गरेको यौन दुर्व्यवहारको 'क्लिप'का आधारमा प्रहरीको अनुसन्धानले सविता आत्महत्या गर्न बाध्य भएको निष्कर्ष निकाल्यो। त्यसपछि सविताका श्रीमान्, ससुरा र आमाजुलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनमा मुद्दा चलायो। 

कुनै पनि घटनामा सावित्री कसरी न्यायाधीशझै 'फैसला' गर्छिन्? कसरी अनुसन्धानलाई प्रभावित पार्न खोज्छिन्? अनि कसरी भीडलाई निर्देशित गर्न खोज्छिन्? सायद त्यो बुझ्नलाई अनुसन्धानको क्रममा रहेको सुजिताको रहस्यमय मृत्युमाथि उनले गरेको यो भाषण काफी छ। 

जब अदालतले तीनै जनालाई केही रकम धरौटीसहित रिहा गर्‍यो, त्यसपछि सविताको मृत्यु भएको एक महिनापछि एकाएक यो घटना चर्चामा आयो। परिवारले न्याय नपाएको भन्दै गुहारेपछि सोसियल मिडिया तातियो। 

अनि, यही बहानामा सावित्रीले काठमाडौंदेखि चितवनका सडकसम्म नाराबाजी लगाउन थालिहालिन्। प्रहरीले अनुसन्धान टुंगोमा पुर्‍याएर अदालतमा फैसला हुने क्रममा रहेको मुद्दालाई उनले ‘सविताको हत्या’ र प्रहरीको मिलेमतो भन्दै उछाल्दिइन्। मुद्दा आत्महत्या दुरुत्साहनमा चलिसक्यो, तर सावित्रीले अदालतको फैसलालाई चुनौती दिँदै ‘यो हत्या हो’ भनेर करार गरिदिइन्। 

यता चितवन प्रहरीका एसपी कसैको नाम त लिँदैनन्, तर अनुसन्धानको प्रकृति र चरित्रबारे सामान्य ज्ञान समेत नभएका र प्राविधिक पाटोलाई समेत नबुझेकाहरूले हचुवाको तालमा उफ्रिदिँदा पनि अनुसन्धान सही ढंगबाट गर्न गाह्रो भइरहेको बताउँछन्। भीडको पछि नकुदेर प्रहरीलाई राम्रोसँग अनुसन्धान गर्न जनताले सहयोग पुर्‍याए चाँडै निष्कर्षमा पुग्न सकिने उनको तर्क छ। अनुसन्धानमा अनुभवी प्रहरी अधिकृतहरु यस्ता हर्कतले प्रहरीलाई दबाबभन्दा पनि अनावश्यक झन्झट पैदा गर्ने र क्षतिको अवस्था सिर्जना गर्ने अनुभव सुनाउँछन्। ‘कञ्चनपुरमा भएको निर्मला प्रकरणलाई अलपत्र पार्न यस्तै कुराहरुले पनि सहयोग पुर्‍यायो,' एक अनुभवी अनुसन्धान अधिकृत भन्छन्, ‘सार्वजनिक रुपमा आफूलाई हिरो बनाउन विषयवस्तु र अनुसन्धानको डाइनामिक्स नै नबुझी सिर्जना गरिने दबावहरू राम्रा होइनन्।’

अर्का एक अनुसन्धान अधिकृत भन्छन्, ‘कुनै घटनाको अनुसन्धानमा कहीँकतैबाट प्रहरी प्रभावित भयो भने त्यसमाथि प्रश्न गर्नुपर्छ। दबाब सिर्जना पनि गर्नुपर्छ तर त्यस्तो कुनै संकेत र छनक नभएका परिघटनामा समेत सस्तो लोकप्रियता आर्जन गर्न र आफैलाई अनुसन्धानकर्ता र न्यायाधीशको रुपमा सडकमा उतार्नेहरूलाई अभियन्ता कसरी भन्ने? 

000

पछिल्लो समय महिलासँग जोडिएका प्रायःघटनामा ‘जय नारी’ भन्दै नाराबाजी गर्न, सडक तताउन पुगिहाल्ने सावित्रीको खार्स चर्चा ०७५ भदौबाट भएको हो। जतिबेला उनले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै महिलाहरु एउटा समूहलाई नेतृत्व गर्दै माइतीघरमा उत्रिएकी थिइन्। त्यतिबेला उनी र उनको समूहले कालो पेटीकोट लगाएर माइतीघरमा गरेको अर्धनग्न प्रदर्शनले धेरैको ध्यान खिचेको थियो। प्रदर्शनका क्रममा प्रहरीले उनीसहित केही महिलालाई पक्राउसमेत गरहेको थियो। त्यही कारण उनी समाचारका हेडलाइन पनि बनेकी थिइन्। मिडियाभर छाएकी थिइन्। 

त्यहाँबाट सुरु भएको चर्चा, अहिलेसम्म कायमै छ। चाहे त्यो चितवनमा पुगेर गर्जिदा होस् या युट्युबमा पुगेर ‘भुँडी भएका र बुढी भएकासँग चिया खाइन्न, सेकेन्ड ह्यान्ड माल नो’ भन्दै अन्तर्वार्ता दिएर। 

पूर्व डिआइजी हेमन्त मल्ल यस्तै केही युट्युबर र अभियन्ताले भीडमा भ्रम छरिरहेको बताउँछन्। ‘हामीकहाँ केही खराब पात्र छन्, जो युट्युबर, नागरिक समाज या सामाजिक अभियन्ताका नाममा या आफ्नो ‘इमेज बिल्डिङ’का लागि चाहिने/नचाहिने सामग्री पस्किएर र भाषण गरेर समाजलाई गलत बाटोमा डोर्‍याइरहेका छन्,’ उनी भन्छन्, ‘यसरी उनीहरूले समाजको मानसिकता नै परिवर्तन गर्न खोजिरहेका छन्। सही कुरालाई झुटो भन्दिने, झुटोलाई सही भन्ने, समाजमा भाँडभैलो निम्त्याउने उनीहरुको प्रवृत्ति नै भइसक्यो । सही होस् या गलत, यसले आमजनताको धारणामा प्रभाव पारिरहेको हुन्छन्। सत्य एकातिर हुनसक्छ तर भीड अर्कोतिर निर्देशित गरिरहेको हुनसक्छ।’

यो पनि पढ्नुहोस्:
युट्युबमा नजर-२
अदालतको फैसला नआउँदै युट्युबरको इजलासले ‘हत्या’ घोषणा गरेको एउटा केस

युट्युबमा नजर- १
युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन


प्रकाशित: Jul 07, 2021| 17:30 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्