बुधबार, जेठ १४, २०७७

समाचार

खाने–सुत्ने क्वारेन्टिनमा, काम आफ्नै खेतबारीमा

1588930420karnali.jpg
भेरी नगरपालिका–१ पिपेस्थित ज्यामिरे ओढारमा बनाइएको क्वारेन्टाइनमा बसेका पिपेबासी। तस्बिर : रासस

सुर्खेतको बराहताल गाउँपालिकाले जनज्योति मावि बड्डीचौरमा क्वारेन्टिन निर्माण गरेको छ । गाउँपालिकामा भित्रिएकालाई त्यही क्वारेन्टिनमा राखिन्छ । क्वारेन्टिनमा बसेका मध्ये थमराज आचार्य एक हुन् । उनी साँझ र विहान मात्र त्यो क्वारेन्टानमा जान्छन् । दिउँसो भने खेतबारीको काम गर्छन् ।

कारण, उनको घर नजिकै छ । क्वारेन्टिनको सुरक्षार्थ प्रहरी पनि खटाइएको छ । तर प्रहरीको आँखा छल्दै उनी बेलाबेलामा घर र खेतबारीमा काम गर्न पुग्छन् । खाना र नास्ता खाने समयमा भने टुप्लुकै क्वारेन्टिनमा आइपुग्छन् । यो क्वारेन्टिनबाट प्रहरीको आँखा छलेर बाहिर निस्कने उनी एक्ला होइनन् ।

उनीसँगै क्वारेन्टिनमा बस्ने बड्डीचौरका अधिकांशले दिनभरी घरबारीको काम गर्छन् । परिवार र गाउँका मान्छेसँग मज्जाले गफिन्छन् । क्वारेन्टिनमा निगरानीमा बस्नुपर्ने भए पनि त्यसो छैन ।

जाजरकोटको भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन ओडारमा बस्छन् । साँझ र बिहान क्वारेन्टिनको खाना खान्छन् । दिनभरी भने खेतिबारीमै व्यस्त हुन्छन् । ओडारमा बस्ने अरु सात जनाको दैनिकी पनि हरिको जस्तै छ ।

क्वारेन्टिनमा बसे पनि उनीहरु गाउँ र घरमा जान्छन् । दिनभरी बारीमा मल बोक्छन् । त्यहाँ क्वारेन्टिनको सुरक्षार्थ प्रहरीसमेत छैनन् । खाना क्वारेन्टिनको खाने तर निगरानीमा नरहेका उनीहरुका कारण गाउँमा त्रास छ ।

उल्लेखित केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । हिजोआज आम नागरिक खेतीपातीमा व्यस्त छन् । क्वारेन्टिनमा राखिएकाहरु पनि अहिले काम नगरे पछि के खाने ? भन्दै घरखेतको काम गर्छन् । क्वारेन्टिनमा राख्नुको मुख्य उद्देश्य भनेको उनीहरुमा कोरोनाको संक्रमण भएको अवस्थामा अरुमा संक्रमण नहोस् भन्ने नै हो ।

त्यही कारण उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो । जहाँ उनीहरु कम्तिमा १४ दिनसम्म निगरानीमा बस्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा बस्ने र नमूना परीक्षण गर्दा कोरोना नदेखिएमा मात्र त्यहाँबाट विदा हुनुपर्ने हो ।

तर हाल कर्णालीमा रहेका क्वारेन्टिनहरु नाम मात्रका छन् । क्वारेन्टिनमा देखाउनका लागि मात्र मानिसहरुलाई राखेको पाइएको छ । अधिकांशले अहिले क्वारेन्टानको भात खाने, राति आएर सुत्ने गरे पनि दिउँसोमा पनि खुलेआम समुदायमै डुल्ने गरेका छन् ।

यसले गाउँमा संक्रमणको जोखिम थप बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । त्यतिमात्र होइन, अधिकांश स्थानीय तहले १४ दिनसम्म क्वारेन्टिनमा राख्ने, खाना खुवाउने र सुताउने काम मात्र गरेको पाइएको छ । १४ दिनपछि उनीहरुको नमूना परीक्षण नै नगरी घर पठाउने गरेका छन् । नमूना परीक्षण नहुँदा उनीहरुमा कोरोना संक्रमण भए नभएकोबारे कुनै जानकारी नै छैन ।

स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनहरु जनप्रतिनिधिले कमिसन खाने र क्वारेन्टिनमा बस्नेले भतेर (खाना) खाने ठाउँ जस्तो भएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । किटको अभाव देखाउँदै ग्रुपमा एक–दुई जनाको स्वास्थ्य परीक्षण गरेर घर पठाउने गरिएको छ ।

यसले क्वारेन्टिन नाम मात्रका भएको, स्थानीय तहले क्वारेन्टिनको नाममा बजेट सक्ने काम मात्र भएको, गाउँमा जोखिम थप बढेको र १४ दिनसम्म आफ्ना मान्छेलाई पाल्ने काम मात्र भइरहेको भन्दै स्थानीयले आलोचना गर्न थालेका हुन् । स्थानीय तहले भने जनचेतनाको कमीका कारण सबै नागरिक क्वारेन्टिनमा बस्न नमानेको बताउँदै आएको छ ।

‘जिल्ला वाहिर र विदेशबाट नागरिकलाई घरघरमा पुगेर क्वारेन्टिनमा ल्याउन खोज्दा जनताले प्रतिकार हुन थाले,’ गाउँपालिका महासंघ कर्णाली प्रदेशका सचिव खड्कराज सेजुवालले भने, ‘घरमा लुकेकालाई प्रहरी लगाएर क्वारेन्टिनमा ल्याउन खोज्दा पनि सम्भव भएन ।’ यता कर्णाली प्रदेश सरकारले खेतिपातीको समय भएको भन्दै क्वारेन्टिनमा बसेकाहरु सामाजिक दुरी कायम गरेर काम गर्न सक्ने जनाएको छ ।

‘अहिले खेतिपाती सकेनौँ भने भोलि भोकमरी पर्न सक्छ,’ कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी भन्छिन्, ‘क्वारेन्टिनमा बसेकाले पनि सामाजिक दूरी कायम राखेर खेतिबारीको काम गर्न पाउँछन् ।’

 

प्रतिक्रिया दिनुहोस्