शनिबार, जेठ १७, २०७७

समाचार

संक्रमित नभेटिँदै यसकारण सिल भयो कर्णाली

1588640858karnali_sarkar.jpg

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् । तर अन्य प्रदेश सिल नहुँदै कर्णाली प्रदेश सोमबार राति १२ बजेदेखि सिल भएको छ ।

संक्रमित नभेटिए पनि ५ कारणले गर्दा कर्णाली प्रदेश सिल गरिएको हो । कर्णालीमा कार्यरत डाक्टर, प्रदेश सरकार र जानकारहरुका अनुसार कर्णाली प्रदेश सिल गरिनुका पछाडि निम्न कारण छन् ।

तत्काल पीसीआर परीक्षण गर्न सक्ने अवस्था नहुनु

कर्णाली प्रदेशमा कोरोना संक्रमणको परीक्षणका लागि तीन वटा पीसीआर मेसिन छन्– दुईवटा ठूलो क्षमता र एउटा सानो क्षमताको । तर स्वाव संकलनमा प्रयोग हुने किट अभाव छै ।

किट अभावमा पीसीआर परीक्षण रोकिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग आपतकालिन प्रयोजनका लागि ३० वटा किट मात्रै छ । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको खण्डमा तत्कालन परीक्षण गर्न सक्ने अवस्था छैन ।

नेपालगञ्जमा कोरोना संक्रमित भेटिएपछि कर्णालीमा खतरा बढेको छ । तर खतरा बढेकै दिन कर्णालीमा नमुना परीक्षण गर्ने किट चरम अभाव भएको छ । सुर्खेतमा रहेको पोर्टेबल र ठूलो क्षमताको गरी दुई वटा पीसीआर मेसिन किट अभाव भएपछि रोकिएका छन् ।

कर्णाली स्वास्थ्य निर्देशनालय सुर्खेतका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार स्वाव संकलनका लागि प्रयोग हुने आरएन एक्सटेक्सन किट अभाव भएको हो । जसले गर्दा आइतबारदेखि परीक्षण नै रोकिएको छ । यही समस्याका कारण प्रदेश सिल गरिएको उनको बुझाइ छ ।

किट अभावकै कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलका अनुसार जुम्लामा २ सय जनाको परीक्षण गर्न मिल्ने किट उपलब्ध छ ।

संक्रमण फैलिन नदिन प्रदेश सिल गरिएको उनको बुझाइ छ । यद्यपि प्रदेश सरकारले भने जोखिम बढेको खण्डमा रातारात किट झिकाउन सकिने दाबी गर्दै आएको छ ।

न्यून परीक्षण

कर्णाली प्रदेश सिल हुनुको अर्काे कारण कोरोना सम्भावित र विदेशबाट आएका सबैको नमुना परीक्षण गर्न नसक्नु हो । एकातिर यसअघि विदेशबाट आएकाहरुको परीक्षण सम्पन्न भइनसक्नु अर्काेतिर नागरिकहरु प्रदेश भित्रने क्रम नरोकिँदा प्रदेश सिल गर्नु परेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘प्रदेश सिल नगरिए नागरिकहरु गाउँ फर्कने क्रम रोकिने थिएन,’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी भन्छिन्, ‘किट अभावका कारण तिव्र परीक्षण गर्न सकिएको थिएन, जसले गर्दा नाका सिल गर्ने विकल्प खोजिएयो ।’

उसो त कर्णालीमा पीसीआर र आरपीडी गरी हालसम्म झण्डै ७ हजारको हाराहारीमा कोरोना परीक्षण गरिएको छ । कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत, धनगढी र काठमाडौंमा गरी सोमबारसम्ममा १ हजार ६९ जनाको नमुना परीक्षण गरिएको छ ।

५ हजार ८ सय ११ जनामा आरडीटी गरिएको छ । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् १ हजार चारसय ३७, सल्यानमा ९ सय ४१, रुकुम पश्चिमा ९ सय ६७, मुगुमा २ सय ८६, कालिकोटमा ४ सय १५, जुम्लामा १ सय ५४, जाजरकोटमा ४ सय ४१, हुम्लामा १ सय ६६, डोल्पामा २ सय ४४ र दैलेखमा ७ सय ६० जनामा आरडीटी गरिएको छ ।

नाका बन्द पहिलो विकल्प

कोरोना भाइरस कर्णालीको किनारमै आइपुगेको छ । छिमेकी प्रदेश नम्बर ५ र त्यसमा पनि नेपालगञ्ज कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार हो । जसले गर्दा संक्रमित भित्रन नाकाहरु बन्द गर्नुको विकल्प नभएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावतको तर्क छ ।

कर्णालीका दश जिल्लामध्ये सुर्खेत, सल्यान र रुकुम पश्चिम बढी खतराको सूचीमा परेका छन् । कारण यी जिल्लाहरु प्रदेशका नाकाहरु हुन् । त्यसमा पनि सुर्खेत अझ बढी जोखिममा छ। सुदूरपश्चिमका कैलाली, डोटी र अछामले पनि सुर्खेतको पश्चिम क्षेत्रलाई छोएका छन् । सुदूरपश्चिमा पनि यसअघि नै कोरोना संक्रमित देखिइसकेका छन् ।

त्यस्तै प्रदेश नम्बर पाँचका बाँके, बर्दिया र दाङ जिल्लासँग पनि सुर्खेतको सिमाना जोडिएको छ । बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत प्रवेश गर्न सहज छ । बर्दियाकै भेरी–बबई खण्ड कर्णालीको मुख्य प्रवेशद्वार हो भने दाङबाट सुर्खेत प्रवेश गर्न सक्र्नेे दाङ–तुल्सीपुर अर्काे सहज प्रवेशद्वार हो ।

जसले गर्दा नाकाहरु बन्द गर्नु नै कोरोना संक्रमण फैलिन नदिने एउटा उत्तम विकल्प भएको गाउँपालिका महासंघ कर्णाली प्रदेशका संस्थापक अध्यक्ष कविन्द्रकुमार केसीको बुझाइ छ । प्रदेश नै सिल गरेपछि उद्धारका लागि नेता, मन्त्री र सांसद गुहार्ने बाटो पनि बन्द भएको उनको तर्क छ ।

स्वास्थ्यकर्मीको चेतावनी

लकडाउनको पहिलो दिन अर्थात् ११ चैतमा कर्णालीमा कार्यरत डाक्टरहरुले चेतावनीसहितको विज्ञप्ति प्रकाशित गरे । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरुले बाह्य क्षेत्रबाट कुनै पनि नागरिकलाई प्रवेश गर्न नदिन माग गरेका थिए ।

विज्ञप्तिमा डाक्टरहरुले कोरोना फैलिएको खण्डमा भयावह स्थिति आउन सक्ने भन्दै आवतजावत पूर्णरुपमा रोक्न माग गरेका थिए । तत्काल परीक्षण मेसिन झिकाउन पनि आग्रह गरेका थिए । चैत २० गते सानो क्षमताको पीसीआर मेसिन आयो । तर त्यो मेसिनबाट क्वारेन्टिनमा राखिएका र विदेशबाट आएका सबैको परीक्षण गर्न सम्भव भएन । त्यसपछि वैशाख १० गते ठूलो क्षमताको पीसीआर मेसिन आयो । तर किटको अभावमा परीक्षणको दायरा बढाउन सकिएन ।

किटहरु समयमै झिकाउनुको सट्टा प्रदेश सरकार नागरिक उद्धारमा खटियो । विभिन्न जिल्लामा भएका नागरिकलाई प्रदेशमा भित्र्याउन मन्त्रीहरुको जिम्मेवारी नै बााँडफाँड गरियो । प्रदेश सरकारको यस्तो कार्यलाई स्वास्थ्यकर्मी र नागरिक अगुवाहरुले प्रदेश सरकारको आत्मघाती कदमको प्रतिक्रिया दिए । तर छिकेकी प्रदेशमा कोरोना देखिएपछि मात्रै प्रदेश सरकार बाध्य भएर नाकाहरु सिल गर्न पुगेको हो ।

जनशक्ति र भौतिक संरचना अभाव

प्रदेश सिल गर्नुको अर्काे कारण कमजोर जनशक्ति र भौतिक संरचना पनि हो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टर मंगल रावलका अनुसार झण्डै १७ लाख जनसंख्यामध्ये ७ सयमा संक्रमण भेटिएको खण्डमा पनि कर्णालीमा उपचार सम्भव छैन ।

प्रदेशभर झण्डै २ सयको हाराहारीमा डाक्टरहरु छन् । स्वास्थ्यकर्मीहरुको संख्या पनि न्यून छ । त्यस्तै जटिल विरामीका लागि सुविधायुक्त अस्पताल छैनन् । कर्णाली प्रदेशमा १७ वटा आईसीयू र ११ वटामात्रै भेन्टिलेटर रहेका छन् । कर्णालीमा क्वारेन्टिन र आइसोलेन समेत पर्यात छैनन् ।

कर्णालीमा हालसम्म ४ हजार ७ सय ५३ बेड क्षमताको क्वारेन्टिइन र ४ सय ५७ बेडको आइसोलेसन छ । जुन पर्याप्त होइन । जसका कारण कोरोना संक्रमण रोक्न प्रदेश सरकारले प्रदेश नै सिल गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्