आइतबार, जेठ १८, २०७७

विशेष

मध्ययुगीन सहर, जसले शताब्दीयौं अघि क्वारेन्टिन सुरु गरेको थियो

1588360769dubrovnic.jpg

संक्रमित व्यक्तिलाई समाजबाट अलग्गै (आइसोलेसनमा) राख्ने प्रयास प्राचीनकालदेखि नै भएको पाइन्छ। अहिले विश्वव्यापी प्रचलनमा रहेकाे आइसोलेसन क्वारेन्टिन शब्द कहिलेदेखि प्रयाेग गर्न थालियाे त?

क्वारेन्टिन शब्दको प्रयोग चौधौं शताब्दीदेखि हुन थालेको हो। त्यतिबेला युरोपका तटवर्ती सहरलाई ब्ल्याक डेथ (प्लेग) को महामारीबाट बचाउने प्रयास गर्दा यो शब्द प्रयोगमा आएको थियो।

संक्रमित स्थानबाट इटलीको भेनिस आउने पानीजहाजलाई समुद्र तटमै ४० दिनसम्म राखिन्थ्यो। ४० दिनलाई इटालियन भाषामा क्वारेन्टा गियोर्नी भनिन्छ। जहाजहरु एंकरमा ४० दिनसम्मै राखिने व्यवस्थाले क्वारेन्टिन शब्द जन्माएको हो।

सन् १३७४ मा संक्रमित क्षेत्रबाट भेनिस जाने पानीजहाज र मानिसलाई स्यान लजारो नजिकै टापुमा बस्न लगाइन्थ्यो। उनीहरुलाई स्वास्थ्य परिषद्को स्वीकृति बिना सहर प्रवेशमा रोक लगाइएको थियो।

‘यसले गर्दा केही देशका जहाज र यात्रीसँग भेनिसमा फरक व्यवहार हुन थाल्यो,’ द बिगनिङ अफ द क्वारेन्टिन इन युरोपका सहलेखिका एनेट मिलोसेभिक भन्छिन्।

सन् १३७७ मा एड्रियाटिक समुद्रपारि रागुसा (अहिलेको क्रोएसियामा पर्ने डुब्रोभनिक) को नगर परिषद्ले संक्रमित क्षेत्रबाट आउने जहाज र व्यापारी ३० दिनसम्म आइसोलेसनमा रहनुपर्ने निर्णय गरेको थियो।

प्लेग संक्रमित क्षेत्रबाट आएका व्यक्तिले एक महिना केभट्याट वा मार्कन टापुमा बस्नैपर्थ्याे। मिलोसेभिक लेख्छिन्, 'डुब्रोभनिकमा लागू गरिएको यो विधि संसारभर लोकप्रिय भयो।' 

सोही कृतिका सहलेखिका आना बकिजा कोन्सुवोका अनुसार डुब्रोभनिक संक्रमित क्षेत्रबाट आएका मानिस, जनावर र व्यापारीलाई स्वस्थ जनसंख्याबाट अलग्गै बन्दरगाहमा राखिन्थ्यो।

उता भेनिसले सबै जहाज र व्यापार बन्द गराउँदा सहरी जीवन कष्टकर बनेको थियो।

रागुसन रिपब्लिकले ३० दिने क्वारेन्टिन कानुन पालना नगर्नेलाई कडा सजाय र जरिबाना तोकेको थियो। ३० दिने क्वारेन्टिन पछि ४० दिनसम्म लम्ब्याइएको थियो।

क्वारेन्टिन किन ४० दिनको बनाइयो भन्ने तथ्य भेटिँदैन। कोही संक्रमित व्यक्तिको पहिचान गर्नका लागि ३० दिन पर्याप्त नभएका कारण क्वारेन्टिन ४० दिन पुर्याइएको विश्वास गर्छन्। कोही भने यो बाइबलसँग जोडिएको तर्क गर्छन्।

भेनिसले सन् १४४८ मा ४० दिनको क्वारेन्टिनलाई मान्यता दिएको थियो। बाकिजा कोन्सुवोका अनुसार डुब्रोभनिक प्रशासनमा कुष्ठरोगीलाई अलग्गै राख्ने प्रचलनबाट क्वारेन्टिनको सोच आएको थियो। इतिहासमा डुब्रोभनिकलाई कुष्ठरोग, प्लेग जस्ता घातक रोगले निकै सताएको पाइन्छ।

क्वारेन्टिनको सुरुआत डुब्रोभनिकबाट भएको प्रमाणित भइसकेको छ। बाकिजा कोन्सुवो भन्छिन्, ‘स्ट्याचु अफ द सिटी डुब्रोभनिकमा उल्लेख भएअनुसार आइसोलेसनको अवधारणा सन् १३७७ भन्दा धेरै अघि लागू भइसकेको थियो। सन् १२७२ मा कुष्ठरोगीहरुलाई आइसोलेसनमा राखिएको उल्लेख छ।’

रागुसाले मिलजेट टापुमा युरोपको पहिलो अस्थायी प्लेग अस्पतालको स्थापना गरेपछि युरोपभर क्वारिन्टन सुविधालाई लेजारेटो (कुष्ठ रोग भएका बाइबलका एक पात्रको नाममा) भनेर चिनिन थालियो,’ कोन्सुवो भन्छिन्।

सुरुआती चरणका क्वारेन्टिन निकै दयनीय थिए। क्वारेन्टिनका रुपमा कहिलेकाहीं खु्ला ठाउँनै प्रयोग गरिन्थ्यो। कुनै बेला छाप्रोमा राखिन्थ्यो। छाप्रोमा बिरामी राख्नुको फाइदा के थियो भने पछि त्यसलाई जलाएर किटाणुरहित बनाउन सकिन्थ्यो।

रागुसाले सन् १३९७ मा मिलजेट टापुको बेनेडिक्टिन मठमा सुविधायुक्त क्वारेन्टिन बनाएको थियो। सन् १४३० मा डान्समा र पछि लोक्रुम टापुमा अझ ठूलो र आधुनिक क्वारेन्टिन बनाइयो।

१२ फेब्रुअरी १५९० मा डुब्रोभनिकको विधान परिषद्ले पुरानो सहरको पूर्वी प्रवेशद्वार प्लोसमा अन्तिम लेजारेटो निर्माण गर्ने आदेश दिएको थियो। सन् १६४७ मा मात्र उक्त लेजारेटो कम्प्लेक्स निर्माण भएको थियो। सन् १७२४ मा विधान परिषद्ले यसलाई सहर सुदृढीकरणको अभिन्न अङ्गका रुपमा घोषित गर्याे।

डुब्रोभनिक गणतन्त्रको पतन भएको लामो समयसम्म पनि लेजारेटोले प्रदान गर्दै आएको स्वास्थसेवालाई निरन्तरता दिइरह्यो। सन् १८७२ को आसपासबाट भने यसलाई स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपबाट हटाइयो।

शताब्दीऔँ अगाडि संक्रामक रोग सामना गरेको डुब्रोभनिकका लेजारेटो अहिले आकर्षक पर्यटकीय गन्तव्य बनेकाे छ। जहाँ कन्सर्ट, परम्परागत लोक नृत्यजस्ता सांस्कृतिक कार्यक्रम आयोजना भइरहन्छन्।

पुरानो सहरको पर्खालभन्दा करिब ३०० मिटर दुरीमा अवस्थित लेजारेटो कम्प्लेक्समा जम्मा १० लेजारेटो, ५ आँगन र २ वटा गार्डहाउस छन्।

क्वारेन्टिनमा रहेकाहरु वरपर हिडँडुल गर्न सक्थे र छतबाट ताजा हावा लिन सक्थे। तर उनीहरुलाई अन्य व्यक्तिसँग भेटघाट निषेधित हुन्थ्यो।

अहिले कोभिड– १९ का कारण डुब्रोभनिक सहर क्वारेन्टिनमा छ। क्रोएसाली अर्थतन्त्रको जीवन र डुब्रोभनिकको आम्दानीको मुख्य स्रोत बन्द भएका छन्।

सबै क्रुज जहाजलाई जुनदेखि नै स्थगित गरिएको छ। भाइरस संक्रमणलाई रोक्न क्रोएसियाले १९ मार्चदेखि अस्थायी रुपमा सीमा बन्द गरेको छ।

डुब्रोभनिकको हालको क्वारेन्टिन कानुन पहिलेभन्दा केही फरक छ। अहिले आफ्नै घरमा वा रोजेको स्थानमा क्वारेन्टिनमा बस्ने सुविधा दिइएको छ।

पर्यटक गाइड भुकोभिक भुका भन्छन्, ‘डुब्रोभनिकका अधिकांश मानिस संयुक्त परिवारमा बस्ने भएकाले आफ्ना वृद्ध आमा बा र हजुरबा हजुरआमाका लागि भए पनि भाइरसबाट जोगिन आवश्यक छ।’

यद्यपि, विगत ६०० वर्ष पुरानो क्वारेन्टिनको प्रचलनमा अहिलेसम्म खासै परिवर्तन भएको छैन। यसले आइसोलेसन र अनुशासन रोगविरुद्ध लड्न आवश्यक पर्ने दुई महत्त्वपूर्ण कुरा हुन् भन्ने सम्झाइरहन्छ।

बीबीसी ट्राभलबाट

प्रतिक्रिया दिनुहोस्