शुक्रबार, वैशाख १४, २०८१

शून्यबाट होइन, माइनसबाट उठ्नु छ

‘दैव लाग्यो तिमेरूलाई। काँधमा जिम्मेवारी थपिएको छ बाबु तिम्रो। बा भएको भए यता सोच्न पर्दैनथ्यो पढ्ने उमेरका तिमेरूले। खै कसरी के गर्छौ होला?’ भन्ने अनगिन्ती प्रश्नहरु आइरहन्छन्। हुन पनि न आयस्रोत न अब आयस्रोत आउने कुनै स्रोत बाँकी छन्। यति हुँदाहुँदै पनि म के कुरामा आशावादी छु भने दैव लाग्यो, दैवले नै उठाउँछन्।
 |  आइतबार, असार २०, २०७८

दीपकिरण खड्का

दीपकिरण खड्का

आइतबार, असार २०, २०७८

triton college

भवितव्य भन्ने कुरा जसलाई जतिखेर जहाँ पनि पर्न सक्छ भन्ने कुरा त्यो बेला मलाई मनैदेखि ज्ञात भयो जुनदिन मलाई संसारकै सबैभन्दा सुन्दर लाग्ने उपत्यकाले विध्वंश र विपत्ति भोग्यो। सबैलाई आफू बसेको, हुर्केको ठाउँको माया हुन्छ नै। र, यो कुरा स्वाभाविक नै हो यदि हेर्ने आँखाहरू निरपेक्ष भइदिए भने। नत्र मसँगै पढेका यमनी साथीहरूलाई यमनको मरूभूमि किन राम्रो लाग्थ्यो र? किन माया लाग्थ्यो र? 

मेरा जीवनकथाको यो एउटा अंश भवितव्यको एउटा अंश हो। ‘यही उमेरमा कति धेरै दुःख भोग्नुपरो है बाबु तिम्रो परिवारले’ भनेर सान्त्वना दिने आफन्त र शुभचिन्तक टन्नै थिए। तर मजस्तै अरु आम मानिसले भोगेको, देखेको दुःखका अगाडि मलाई मेरो दुःख केही पनि लाग्दैन। किन पनि लाग्दैन भने मलाई दुःख पर्दा आफ्नै किसिमबाट साथ दिने र सघाउने मानिसहरू थिए। हेर्नोस् त रातदिन एक्लो संघर्ष गर्दै गरेको एउटा मान्छेलाई! के हुन्थ्यो मैले मेरो मार्ग नै परिवर्तन गरेर अन्यत्र मोडिन परेको भए? कम्तिमा मलाई त्यसको कुनै फिक्री त छैन नि!

असार १ गते बा बितेको २४ दिन पुगेको थियो। चिया खाँदै बालाई पनि सम्झिएँ। जिन्दगीमा यस्तो अप्रत्याशित घटना किन घट्छ होला? बाले किन सुटुक्क छाडेर गएका होलान्? द्वन्द्वकाल, अभाव, परिवर्तन र हरेक दुःखमा हातेमालो गरेर हिँडेका हामी किन यति चाँडै छुटिएका हौंला? त्यो चियाको चुस्कीसँगै बादल, आकाश र टाढाको पहाड हेर्दै मनमा अनेक तर्कनाहरु आइरहे। पोखरीको डिलबाट विशाल कुइरीमण्डल हेर्दा बाले हामीलाई चियाउँदै छन् होला भन्ने लागिरह्यो। लाग्नु र हुनुबीच आकाश–पातालको फरक छ भन्ने नबुझ्ने म कहाँ थिएँ र तर पनि मनै त हो नि मेरो पनि। 

द्वन्द्वकालको एउटा छुट्टै अध्याय छ हाम्रो जीवनमा। त्यो समयको अभाव र दुःखका अगाडि अचेल आइपर्ने दुःखहरुले उति पिरोल्दैन। पछिल्लो समय जीवन यात्रामा आइपरेका खेलहरु एकपछि अर्को अप्रत्याशित हुँदै आइपुगे। भर्खरै ५५ वर्ष पुगेका मेरा बाले अस्पताल बसाइको पाँचौं दिनमा नै देहत्याग गर्छन् भनेर कसले सोचेको थियो होला र!

corrent noodles
Metro Mart

सबैभन्दा बढी आफूले आफैंलाई चिनेका बालाई नै त्यो थाहा थिएन। मृत्युु हुँदैछ भन्ने पत्तो हुन्थ्यो भने मेरा बा किन हिँड्थे होला र गाउँमा अर्ग्यानिक कृषि गर्नका लागि कागजात बटुल्न र मानिसहरु भेट्न? किन दौडिन्थे घर र सहर गर्दै मानिसहरु भेट्न? नत्र किन फेरि राष्ट्रिय राजनीतिमा आउँछु भनेर उद्घोष गर्थे होला र? सधैं देश र गाउँ भन्ने मेरा बालाई राष्ट्रिय राजनीतिमा आउने कत्रो रहर थियो। पक्कै आउँथे पनि, म पनि बाको त्यो असली निष्ठालाई अझै राजनीतिमा खारिएको देख्न चाहन्थें। ‘तपाईंसँग राष्ट्रको लागि योगदान दिनसक्ने खाकाहरु छन्, तपाईंले चुनाव लड्नुभयो भने साथ दिनेहरु छन्। मूल त हामी नै छौं’ भनेर हामीले ढाडस दिएपछि बा किन यसै रगरग गर्थे र? बाले पनि मृत्युुको सुइँको पाउँथे भने जीवनका दृश्यहरु भिन्न हुन सक्थे होला। 

भैसकेको कुरोलाई म ‘हुन सक्थे’ मा बिलौना गर्दै किन बसुँ? बालापनमा बाआमा माउ चराहरु थिए, हामी बचेराहरु थियौं। यसरी अभाव नै अभावबीच हामी यहाँसम्म आइपुग्यौं। बा पछिल्लो समय हाम्रा साथी जस्तै थिए, एक असल पिता थिए तर एक असल पति चाहिँ बा बन्न नसकेको हो कि भन्ने अझै लागिरहन्छ। बा मेरा प्रयोगात्मक राजनीतिका गुरु थिए, बासँगँग घरैमा वाद र संवादहरु भैरहे, बाले प्रशिक्षण दिइरहे। तर बा मलाई एक असल चिकित्सक पछिमात्रै राजनीतिमा देख्न चाहेको कुरा बारम्बार भनिरहनुहुन्थ्यो। खैर जे होस् बा सम्झनामा मात्रै बाँकी रहे।

मेलम्चीले बगाउनुअघिको खेत

प्रिय मानिसहरू स्मृतिका पन्नाहरुमात्र बस्ने गरी एक्लै सुटुक्क बैकुण्ठ यात्रामा निस्किपछि सम्झनाले कसलाई सताउँदैन र? लामो यात्रापछि निस्किएका बादलहरु जब विशाल पहाडछेउ पुग्छन्, तब गह्रौं भारी बिसाएर बर्सिन्छन्। मेरा सम्झनाका बादलहरु पनि यस्तैगरी बर्सिए। पहाड र आकाशका परिधिहरुबीच छरिएका बादलहरुलाई एकटकको हेराइपछि मन पनि केही क्षण गह्रुँगो  बर्खे बादल भैदिन्छ। मनका गंह्रौ भारीहरु बिसाएर केही क्षण सम्झनाका बादलहरु वर्षाउनु छ। अनि कपासरूपी हल्का भई अनन्ततातिर डुली हिँड्नु छ। बाको सम्झनामा सयर गर्दागर्दै ठूलो पोखरीको पानी गैसक्छ। भावनामा बगेर मात्रै के गर्नु? अब त जिम्मेवारी थपिएका छन् भनेर एकमनले भन्दैन। कहाँ भन्न सकिन्छ र? मनै त हो, जता जहाँ जतिखेर नि डुलिसक्छ! 

असार लागेको छनक आइसकेको थियो। असारे धान रोप्न खेतहरू तयार हुँदै थिए। घोगा लागिसकेका मकैहरु झपक्क भएका थिए मकैबारीमा। पोहोरो सालजस्तै यो साल पनि जुरेली चराहरु मकैको घारीबाट ओहोरदोहोर गरिरहेको देखिन्थे। मौसम हरियाली थियो, हिमाली हावाको त के कुरा गरुँ र! मेलम्ची नदीका तीरैतीरका सुन्दर उपत्यका, फाँट र बस्तीहरु कसरी निमेषभरमै सकिए। यो सबैभन्दा आश्चर्यचकित पार्ने कुरो छ, रहस्यमय छ।

त्यो दिन म सधैंजस्तै माछा फार्मका पोखरीहरु सफा गर्दै थिएँ। आमा याङ्ग्री र माथिको डाँडोमा डुलिहिँडेको कुहिरो हेरेर म मुग्ध थिएँ। शोकको पीडा हुँदैमा मान्छे खुसी नै नहुने त कहाँ हो र! मनमनै म यी कुहिरोसँगै डुलिहिँड्न पाए त भनेर सोच्दै थिएँ। सिमसिम पानी परिरहेकै थियो। म सिमसिम पानीमा रुझ्दै पोखरी सफा गर्दै गरेको देख्दा ‘ए कान्छा पोखरी ऐले सफा गरे नि हुन्छ, आइज च्या खान’ भनेर हजुरामाले बोलाउनुभयो। ठूलो पोखरी हिजो पनि सफा गर्न पाएको छैन, खोलो यस्तो धमिलो छ, कति बालुवा ल्यायो होला। आज नखोले भोलिलाई गाह्रो। मैले हजुरआमालाई यसैगरी भनेँ। हजुरआमाले चिया दिएपछि म चिया लिएर फेरि उतै पोखरीतिर लागेँ।

मेलम्चीको बाढी पसेपछि ट्राउट फार्म रहेको स्थान

प्रत्येक साल बर्खाले ल्याउने बालुवालाई यसपल्ट पनि माछा पोखरीहरुले ननिको मान्दै स्वागत गर्दै थिए। विकल्प नै नभएपछि स्वागत नगरुन् पनि कसरी? पोखरी सफा गर्दै गरेको देखेपछि भाइ पनि तल ओर्लियो। पोखरी सफा गर्न हामी दुई भाइ थियौं। ट्विटरमा मैले ट्राउट माछा पालनबारे लेखेको एउटा लामो थ्रेड छ, त्यहाँ अझै थप कुरा बेला मौकामा प्रसंगहरु भेटिँदा मेसो मिलाएर थपिइरहन्थे। इच्छुकलाई जानकारी जसो पनि र ट्राउट माछा पाल्नेहरुलाई थप केही आइडिया पनि  होला भन्ने सोचेर त्यो दिन पनि मैले भाइलाई खोलाले ल्याएको बालुवा पोखरीबाट सावेलले झिकेको तस्बिर खिच्न लगाएँ। हामी दुई भाइले घन्टौँ लगाएर पोखरी सफा गर्यौं। मम्मीलाई चिया बनाउँदै गर्नु है भन्यौं। घरमा भैंसी थाकेकोले दूध थिएन। फुपूको छोरा सानो भाइ पनि त्यहीँ भएकाले उसलाई बोलाएर हजुरआमा भएको ठाउँमा दूध लिन पठायौँ। मम्मीले दूधको चिया बनाउनुभयो। मैले त्यहाँ बसुन्जेल बिहान खिचेका ४ वटा तस्बिरहरु ट्विटरमा पोस्ट गरिहालें।

पोखरी सफा गरे पनि खोलो सफा नभएकोले भोलि पनि दुःख त छँदैछ भन्ने सम्झिँदै चिया खाइयो। मम्मी साना भुरा माछाहरुले दाना खान्छन् कि भनेर दाना हाल्न पोखरीतिर जानुभयो। तर पानी धमिलै भएकाले खासै खाएनन्। त्यसपछि मम्मी खाना पकाउन आउनुभयो। भाइ क्लास लिन गयो। म भने मेरो अर्कै दैनिकी भकारो सोहोर्नतिर लागेँ। भैंसी भन्दा पनि ऊ हाम्रो घरको कान्छी थिई। प्रत्येक दिन गोबर सोहोर्न गएपछि उसले मलाई टाउकोमा चाट्थी। भकारो राम्रोसँग सोहोरेर गोठ सफा गरिसकेर कान्छीलाई सोत्तर ओछ्याएको हेर्न मलाई कम्ता मज्जा लाग्दैनथ्यो। खुशी हुन्छन् नि आ–आफ्नै ठाउँमा।

भैंसीगोठ चिटिक्क बनाएको तस्बिर पनि खिच्न लाग्यो। किन यत्तिकै क्यामेरामा राख्ने र भन्दै मैले ट्विटरमा पोस्ट्याएँ– सबैभन्दा हेयमा परेको काम, भकारो सोहोर्ने भनेपछि कृषककै लिस्टमा पनि उत्सुकताले पर्दैन। साढे १ वर्षदेखिको दैनिकी भएको छ मेरो। घाँस काट्न आउँदैन, जे आउँछ त्यो त गर्नैपरो। मल कुन्यु लगाउने र भकारो सोहोरेर गोठ चैं म चिटिक्क नै बनाउँछु भन्छन् भन्नेहरु। कान्छीले पनि माया गर्छिन् मलाई।

यसरी बिहानको कर्म सकेपछि खाना खान लागियो। खाना खाइसकेपछि केही बेर किताब हेरें। नेपाली समय अनुसार साँझ ४ बजे ओपन बुक इक्जाम पनि थियो। म इक्जाम दिनतिर लागेँ। भाइहरु बजारतिर गए। इक्जाम सकेर एकैछिन माथि हाम्रो मिलसम्म गएँ। बा छँदा बा आफैंले सबै गर्नुहुन्थ्यो। भाइहरु तल पोखरीमै थिए, म पनि गएँ। मेलम्ची खोलो बढ्दै थियो। ठूला ठूला मुढाहरु बगाउँदै किनारातिर लाँदै थियो। सिमसिम पानी परिरहेकै थियो। हामी भने रूझ्दै कुलोमा आएको दाउराहरु, मुढाहरु निकाल्दै बस्यौं। यति गरेपछि हिउँदमा आगो बाल्न दाउरा पनि हुने, यता कुलो सफा पनि हुने। सफा गर्दागर्दै पनि अब भने पोखरीहरु लेदोले भरिन थालिसकेको थियो। 

जीवनमा एक मिनेट के हो भन्ने कुराको महत्वबारे हामीले पढेका थियौं मात्रै। पढ्नु र पर्नुमा फरक नहुने कुरो कहाँ छ र? त्यो १ मिनेट भन्ने चीज त्यति बलियो भन्ने असार १ गतेको साँझ ७ बजे बुझियो जीवनमा। तल ट्राउट फार्ममा रहेका हामी त्यो १ मिनेटभित्रको खेलाले बाँचेका थियौँ, तर दुर्भाग्य! हामीले हजुरआमा गुमायौं। तल घरतिर बाढीको अलिअलि सूचना आएको थियो तर हामीलाई त त्यै नि पत्तो थिएन। त्यहाँ चलेको त्यो १ मिनेट अद्भूत थियो। पारी घरबाट रामकुमारी, सरिता, अनिता दिदी र भिनाजु नआएका भए हामी रहन्नथ्यौं सायद। यसअघि नै माथिबाट दीपक अङ्कल र दीपा आन्टी आएर तल फार्मका काकाहरुलाई माथी जाऔं भनेर भन्दै हुनुहुन्थ्यो। त्यतिञ्जेल खोलाले काठमात्रै बगाउँदै ल्याएको थियो। त्यसो त सधैं बर्खामा खोलामा यही दोहोरिन्थ्यो नै। पारीबाट दिदीहरु आउनुअघि हामी कुलो सफा गर्दै थियौं, ट्राउटका भुराहरु जोगाउन भरपूर लागेका थियौं, ट्याङ्कीहरु सबै बालुवा र लेदोले भरिन थालिसकेका थिए।

पारीघरबाट दीप भाइ, खोलो त निक्कै बढेको छ रे, तिम्बुको पुल नै क्रस गरेको छ रे। सबैलाई माथि जान भन। तिमी पनि हिँड भनेर दिदीहरुले भनेपछि मैले फुपूका छोराहरु र सुरज भाइलाई माथि पठाएँ र म पनि हिँडेँ। घर पुगेको ४०–५० सेकेन्डमा यताउता गर्दागर्दै उत्तिस घारी जोडले कराएको सुनियो, हेर्दा त खोलो तम्मासले उर्लिसकेछ। कान्छी हजुरआमालाई समाएर हामी दौडन थाल्यौं। को कता थिए पत्तो छैन। सबै तितरबितर। काकाहरु र काकीहरु सबै बगाइसकेर अलिक तल्लो छेउका केराघारी समाएर आइपुगेछन्।

हाम्रो ह्याचरीका जस्ताहरुले थिचेछ तल घरको काका काकीलाई, भाइहरुले उद्धार गरेछन्। खोलो पारीबाट होइन, मेरो घरको आँगनबाट बगेर आइसकेको थियो। डेढ सय मिटर पारीबाट बग्ने खोलो घरै अगाडिबाट बग्दै गरेका दृश्यहरु बडो भयानक थियो।

सदियौंदेखि केही बेर अघिसम्म भ्रम भएर बसेको कुरो अर्को अकाट्य सत्य बनेर निस्कियो। हाम्रा बाहरुले पारी देखेको खोला अब हामी वारि नै देख्दैछौं। खैर जे होस्, त्यो कहालीलाग्दो समयको साक्षी बन्दै गर्दा कोही सिम खेतमा भासिँदै माथि लाग्दै थिए, कोहि कुलैकुलो। सबै माथि डाँडामा पुगेपछि एकअर्का र आफ्नो परिवारको खोजी गर्न थाले। हामी ३ घरका मान्छे र तल तामाङ दाइहरुको ४ परिवार गरेर ७ घर परिवारका मान्छेहरु तल खोला छेैव बस्थ्यौं। तल काकाहरु नदेखेपछि म तल्तिर गएँ। काकाहरु, काकीहरु सबै हिलोमा गाडिँदै उकालो लाग्दै थिए। सबै आइपुगे तर हजुरआमा भेटिनु भएन। रूवाबासी चलेको थियो। सबैको जीवनमा एक्कासि अँध्यारो छाएको थियो, मानौं अब त्यहाँ कुनै दियो बल्ने वाला छैन। कोलाहलमय वातावरणमा हजुरआमा भेटिनु भएन भनेपछि एकैछिन सबै झसक्क झस्किए, सन्नाटा छायो। त्यो सन्नाटा धेरै बेर रहेन, आन्टीहरु आमा आमा भन्दै रोइरहे।

अब भने मेरो मनभित्र पनि अनेकन तर्कनाहरु भुटिन थाले। मन अशान्त भयो। मनभित्र आँधी चलिरह्यो, लाग्छ त्यति चाँडै शान्त हुने वाला छैन। बा बितेको आलै घाउमा ती प्रिय आमा नदेख्दा मनभित्र थकथकी लागिरह्यो। त्यो क्षण यस्तो लाग्यो यस्तो जिन्दगी पनि बाँच्नु र! हजुरआमा खोज्न पारिका भिनाजुसँग परैसम्म गएँ, भेटिएन। पछि भाइसँग गएँ, भेटिएन। रूवाबासी चलिरहेकै छ। डाँडामा आफन्त र छिमेकीहरु सबै जम्मा भैसकेका थिए। हजुरआमाकै गोठ भएपट्टिबाट कोही बत्ती बाल्दै माथी फाँट जाने उकालो बाटो चढ्न लागेको देखियो। हजुरआमा अब भने पक्कै त्यतैबाट आए होलान् भन्दै मनले आशाको दीप जलायो। आखिर मन त हो ससानो कुरोमा पनि आशा देख्छ र पो बाँच्ने आस जागिरहन्छ। हामी दगुर्दै त्यो बत्ती बल्दै गरेको ठाउँमा पुगियो। ती अरु कोही नभएर तामाङ दाइ र उनका परिवार पो रहेछन्। 

‘हजुरामा देख्नुभो दाइ?’ भनेर सोधेँ। देखेनौं भाइ भन्ने जवाफ आइसकेपछि आशाको दीप पनि निभ्यो। चारैतिर अन्धकार भयो। त्यो उकालो हिँडेको पत्तो छैन। हजुरआमाको मात्रै याद आइरह्यो। त्यो यस्तो हँसिलो र रसिलो अनुहार मात्रै झल्झल्को आइरह्यो। बा बितेपछि हामी काममा बस्दा हजुरआमाले हामीलाई सघाएका ती क्षणहरु मात्रै सम्झिरहेँ। घरमा श्राद्ध हुँदा मम्मीलाई सघाउने मान्छे र प्रत्येक मेरो घर बसाइ नहुँदा ‘यो नाति नहुँदा सबैलाई शून्य बनाएर जान्छ’ भन्ने मान्छेले हामीलाई शून्य बनाएर गएको देख्दा एकपल्ट जिन्दगी देखेर पनि वैराग जागेर आयो।

किन यति कठोर हुन्छ मृत्युु? किन यति प्रिय मान्छेहरु छाडेर जान्छन् हामीलाई? सारा चीज गुमिसकेको थियो। त्यसमा रत्तिभर पनि गुनासो थिएन। कम्तिमा आमाको सास भैदिएको भए हुन्थ्यो नि? खै के भनेर चित्त बुझाउने? नियति भन्ने त होला नि?

अर्को दिन बिहान सबेरै उठ्यौँ। उठ्नेबित्तिकै त्यो दृश्य हेर्न गयौँ। एउटा सुन्दर फाँट एउटा कठोर बगर भैसकेको रहेछ। दृश्य बडा कहालिलाग्दो थियो। त्यो आँखाले सधैं देखेको पारीबाट बगेको मेलम्ची आज हाम्रो आँगनबाट बगेको रहेछ। त्यो सुन्दर हरियाली फाँट ढुङ्गा र लेदोले भरिएको बगर भैसकेछ। जिन्दगी भ्रम हो भनेको उत्तर थियो सायद नत्र हिजोको आजै त्यो दृश्य देखेकै भरमा कसरी पत्याउने र? त्यो कठोर थियो तर सत्य उत्तिकै थियो। हामी जस्ता भ्रमका जालोमा बाँच्न बानी परिसकेकाहरुलाई त्यो कठोरता सजिलै कहाँ पत्याउन सक्थ्यो र? हजुरबुवाहरुले रोप्न ठिक्क परेको खेत आज खोला बग्ने भैसकेछ।

दशकौंसम्म हाम्रा बाहरुले नदेखेको त्यो दृश्य यति सजिलै हामीलाई विश्वास लाग्ने कुरै थिएन। हामी मौन हेरिरहेका थियौं। हाम्रो घर भने अझै ठिङ्ग उभिएको थियो, मानौँ ऊ एउटा अपराजित योद्धा जस्तै अडिग उभिएको थियो। मैले उसमा हिमाली साहस देखेँ। खोलाको त्यस्तो बहाव कसरी सह्यो होला? त्यो एक्लो रात हामी बिना कसरी बस्यो होला है त्यो घर र त्यो घर भित्र भैंसी र पाडा? कसरी कटाए होलान् त्यो रात? हामी त्यति माथि बसेकालाई त कम्पन महशुस भैरह्यो रातभर। तल खोला छेउका गोठमा बसेको भैँसीको हालत के भयो होला? सँगै लैजाने मन कसको थिएन र? नियतिको विवशताको सिकार बन्दो रहेछ मान्छे। यो सम्झिँदै म काका र अरु छिमेकीहरु तल हाम्रो घर भएतिर अघि बढ्यौं। 

सबैभन्दा पहिले काकाहरू पछाडिबाटै गोठ तिर जानुभयो। भैंसी र पाडो भित्रै थिए। आत्तिएर बसेको देखियो, हामी जाने बित्तिकै करायो। सायद उसलाई हामी देउता बनेर गएको अनुभूति पो भयो कि? काकाले भित्र पसेर दाम्लो निकाल्नुभयो। त्यति सानो ढोकाबाट भैंसी सर्लक्क बाहिर निस्केको देखेर जिल नखाने कोहि थिएन। भैंसी र पाडो दुवै निस्किएपछि काकाहरुले लिएर जानुभयो। त्यसपछि घरको पछाडिको ढोका फोडेर हामी भित्र छिर्यौ। हाम्रो खेतभरी हिलो र दलदले लेदो थियो। जसोतसो गरेर छिर्यौं। जाने बित्तिकै किताबको दराज भएतिर पुगेँ। किताबहरु निकाल्न थालेँ। मात्रै १ हप्ता अगाडि २ दराज किताब एउटै दराजमा मिलाएर राखेको थिएँ।

खोलाको गडगडाहट डरलाग्दो थियो, मुटु काँपिरहेको थियो। फेरि त्यस्तै उर्लने हो कि? घर भासिने हो कि?  खोला अझै थुनिएको छ कि? ओहो मनको डरको के कुरा भयो र! आफू बसेको घरमा म त्यो क्षण यताउति गरिरहेँ। अरु हाम्रा बचेखुचेका सामानहरु निकाल्दै थिएँ। झ्यालबाट ती बगर बनेको दृश्यलाई निक्कैबेर हेरिरहेँ। मलाई मेरो घर कैले पनि एउटा ठिङ्ग उभिएको भौतिक बिम्ब मात्रै! सास थिएन तर जीवन थियो घरमा।

मेलम्चीको बहाव पुरानै अवस्थामा ल्याउने प्रयास 

बुढाबाहरुले सयौं वर्ष अगाडि रगत चुहाएको माटो, हजुरबाहरूले पसिनाको धारो बगाएको माटो र बासँगै हामीले यौवनकाल बिताएको त्यो माटोमा उभिएको मेरो घरभित्र सम्झनाका पोकाहरु थिए, सपनाका भकारीहरु थिए। तयार हुँदै गरेका खुड्किलाहरु थिए, खडा हुँदै गरेका आधारशिलाहरु थिए, बामे सर्दै गरेका उद्देश्यहरु थिए, कोरिँदै गरेका खाकाहरू थिए। दशकौंदेखिका ती तमाम मिलीबसेका सम्झना, योजना, कल्पना र सपनाहरु धर्मराए। हो म मान्छे म बसेको घर ठूलो थिएन तर सानो पनि त थिएन, त्यो घरले बाजस्तै असल मानिसलाई शरण दिएको रहेछ, फुल्दै गरेका गुराँसहरुलाई पनि आँट दिएको रहेछ। किताबहरु, खाटहरु र लत्ताकपडा निकालेर हामी त्यहाँबाट निस्कियौं। मैले घरलाई चियाइरहें। सधैं सँगै बसेको साथीलाई चटक्क यसरी छाडेर हिँड्नुपर्दा मन भक्कानियो।

त्यसपछि हामी माथि अङ्कलको घरमा बस्न थाल्यौं। अघिल्लो दिन कान्छो हजुरबुवा भएको ठाउँमा बस्यौं, साइँलो हजुरबुवाकोमा खाना खायौं। धन्न आफ्ना सन्तानहरु माथि थिए र पो बस्न खान केही समस्या भएन भन्ने लाग्यो। मोबाइलमा बचेको चार्जबाट हामी बाँचेका छौँ भन्ने सन्देशसहित सामाजिक सञ्जालमा लेखेँ। सबैले राहतको साहस फेरेछन्। कम्बोडिया जानुभएको हाम्रो अर्को काकाले भुइँचालोपछि फाँटमा बनाएको घरमा किञ्चित पनि अप्ठ्यारो नमानी बस्नु भनेर भन्नुभयो, त्यो ठूलो राहत भयो। उता साइँलो हजुरबुवा र हजुरआमा अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो।

यस्तो विपदमा कसरी जाने भनेर अप्ठेरो मान्दै हुनुहुन्थ्यो। मैले कत्ति पनि अप्ठेरो नमान्नुस् हजुरबुवा, हामी सबै जना छौं, भैसकेको कुराको किन चिन्ता लिने अब भनेर भनेँ। बाहरूले अमेरिका जानुअघि भैंसीहरु बेच्नुभएकोले गोठ खाली थियो। हामीले हाम्रो भैंसी र पाडो त्यहिँ ल्याएर बाँध्यौं। खान, बस्न र सुत्नको यत्तिको व्यवस्था भएपछि मन कम्ता खुशी भएन।

आखिर खुशी हुन कति नै धेरै कुरा चाहिने रहेछ र। त्यो दिन तलबाट ल्याएको किताबहरू मिलाइयो। अनि साँझतिर माथि टहलिन गएँ। फोनहरु आएका आए रहेछन् तर एनटीसीमा मिस्ड कल भन्दै म्यासेज आइरहेको थियो। विपत्तिमा एनटिसीको ताल देखेर जिल मात्रै पर्न सकियो।

अर्को दिन बिहान घर थिएन। उठिसकेपछि सर्लक्क डिलमा गएर तलको बगर हेर्नु २–३ देखिको दैनिकी नै भइसकेको थियो। गोठमात्रै ठिङ्ग उभिएको देखेँ। सायद त्यो कठिनता र विषमता सहेर पनि त्यो प्रकोपसँग घर जुधिरह्यो, सायद ऊ हाम्रै प्रतीक्षामा बसिरह्यो। तर अफसोस जब ऊ पनि झार खाँदाखाँदै हार खारेर गयो, मनको कुनै अन्तःस्करणले सोच्यो होला, नियति निर्दयी हुँदो रहेछ। घरका ती झ्यालहरुबाट चियाएको मान्छेको डाँडो उस्तै झल्झली याद आउँछ, त्यो काखमा बसेर हेरेको मेलम्ची उस्तै देख्छु, त्यो छातीमा आफूलाई राखेर प्रत्येक दिन भावुक हुन्छु। बाजस्तै तिमीले पनि शोक पारेर गयौ। अन्तिमपल्ट मैले त्यो दिन घरलाई निक्कैबेर नियालेको क्षण सम्झिरहेँ। आखिर बाँकी सम्झना भन्दा के नै रह्यो र? त्यो साँझ अन्त गाउँतिर घुम्न गएको थिएँ। फर्किँदा मम्मी  घरतिर आँखा डुलाउँदै बसेको देखेँ। 

मम्मी तपाईं दुःखी त हुनुहुन्न नि है?
छैन, किन हुनु।
तपाईं किन दुःखी हुनुहुन्न ऐले म भनुम्?
किन?

किनकी तपाईं र हामीले सबैभन्दा ठूलो सम्पत्ति गुमाइसक्यौँ, जो फर्केर कहिले आउँदैन, जसको सपना र सम्झना मात्रै छ छ हामीसँग अब। तपाईंसँग न लाखौं पैसा थियो न तोला सुन नै थिए। असली सम्पत्ति थियौँ त केवल हामी, जो तपाईंकै सामुन्ने उभिएका छौँ। 

हो ! आमाले बडो धपक्क बलेको अनुहार पारेर भन्नुभयो। हामीले आमाको मनमा पसेर त के दुःख अनुभूति गरेका हौँला र? आमाले त एउटा सहारा गुमाएकी छिन्, एउता साथी गुमाएकी छिन्। नगुमाउन पर्ने जीवनका सहारा त गुमाउन परेपछि त्यो भन्दा ठूलो चोट के होला र यी नाशवान सम्पत्ति गुमाउँदा दुःखी हुन परोस्।

बाढीले बगाउनुअघि आफ्नो घरसँग सेल्फी लिँदै दीप

जिन्दगीमा आइलागेका यस्ता दुःखहरु सम्झिँदा हाम्रा श्रद्धेय दाइ डा. अनिल बरालसँग कुराकानी गर्दा उहाँले भनेको कुरो सम्झिन्छु– जिन्दगी एउटा सिनेमा हो। दृश्यहरू परिवर्तन हुँदै जान्छन्। पात्रहरू परिवर्तन हुँदै जान्छन्। तर, कथा भने कसैले पहिल्यै निश्चित तोकेकै छ, त्यही कथा वरिपरि खेलिरहेका हुन्छौँ, रुन्छौँ, हाँस्छौँ, जोडिन्छौँ, तोडिन्छौँ र अन्त्यमा हराउँछौं। सायद नियतिको एउटा चक्र हो जिन्दगी। सायद त्यस्तै कुनै कथाको नियतिमा अल्झन र भूमरिमा फसेको पात्र बनेको अनुभूति भयो मलाई। नियतिको खेल नमिठो हुँदो रैछ। 

जीवनका अनगिन्ती परीक्षाहरु पार गर्दै यहाँ आइयो, अनगिन्ती परीक्षाहरू आउँदै होलान्। योसँगै मेरो मेजर विषयका केही बाँकी इक्जामहरू छन्। यो सेमेस्टर सल्टाइसकेपछि म एउटा यात्रामा निस्किन चाहन्छु, एकपल्ट फेरि त्यो विशाल हिमाली भूगोलमा आफू र आफ्ना दुःख सानो हो भनेर मनैदेखि अनुभूति गर्न चाहन्छु। यस्तो यात्रा जहाँबाट थाकेको मस्तिष्कलाई अझै उर्जाशील बनाउन सकुँ। यस्तो यायावरीय यात्रा जहाँबाट शोकहरुलाई शक्तिमा बदल्न सक्ने आँट र साहस मिलोस्। एउटा अनवरत, हिमाल हाम्रै प्रतीक्षामा हुनेछ।

‘दैव लाग्यो तिमेरूलाई। काँधमा जिम्मेवारी थपिएको छ बाबु तिम्रो। बा भएको भए यता सोच्न पर्दैनथ्यो पढ्ने उमेरका तिमेरूले। खै कसरी के गर्छौ होला?’ भन्ने अनगिन्ती प्रश्नहरु आइरहन्छन्। हुन पनि भर्खरै पढ्दै गरेका हामी। न आयश्रोत न अब आयश्रोत आउने कुनै स्रोत बाँकी छन। यत्ति हुँदाहुँदै पनि म के कुरोमा आशावादी छु भने दैव लाग्यो, दैवले नै उठाउँछन्। जे हुनु भैसक्यो, जाने गैसके अब कैले फर्केर आउँदैनन्। दुःख त सधैं नित्य छ, प्रिय साथी जस्तै छ, सबैले छाड्छ्न् तर उसले छाड्दैन। आफू र परिवार बनाएर यो राष्ट्रमा बाले देखेका सपनाहरुको मार्गमा उभिएर केही गरेर मर्नु छ। बेला बेला गीता याद गर्छु– कर्म गर्नु तिम्रो अधिकार हो, तर कर्मको फल तिम्रो नियन्त्रणमा छैन।

म जीवनमा असल कर्महरु गरिरहनेछु। म अरूझैं शून्यबाट कहाँ हो र माइनसबाट उठ्नु छ, २० औं लाख बैंकका ऋणहरुले कुत्कुती गरेर जिस्काउँदैछन्, तिनलाई पार लगाउँदै आफू एमबीबीएस पढेर चिकित्सक बन्नु छ, इञ्जिनियरिङ पढ्दै गरेको भाइलाई इञ्जिनियर बनाउन सघाउनु छ, आमालाई खुशी बनाएर यो राष्ट्रमा केही गरेर मर्नु छ। मलाई सामाजिक सञ्जालबाट आएका प्रतिक्रियाहरुले, सम्झनाहरुले उmर्जा दिएको छ, त्यो मेरो आगामी दिनको यात्राको लागि थप प्रेरणा बन्नेछ। 

अन्तिममा मुन्धुमले भनेजस्तै बन्नु छ– माङसिङ्निप्मा, हाङसिङ्निप्मा, कुसिङ्निप्मा, कुसङलमा, कुलिङ्धो केप्मा। देवनीति जान्नु, राजनीति जान्नु, सबै सबै जान्नु, चिन्नु अनि सबैलाई छिचोलेर धेरै माथि पुग्नु। 

म फेरि कुइनेटोबाट उठेको कुहिरोजस्तै फेरि माथि उठ्नु छ, बढ्नु छ, एउटा लामो यात्रा तय गर्नु छ।


प्रकाशित: Jul 04, 2021| 16:05 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...