मंगलबार, जेठ १३, २०७७

शिक्षा विशेष
1587968817online_class.png
तस्बिरः मिडियम डटकम।

इन्टरनेटको पहुँच, बिजुलीकाे गुणस्तरीयता र आवश्यक प्रविधिको अभाव हुँदाहुँदै विश्वविद्यालय, क्याम्पसदेखि स्कुलसम्मले सुरु गरेको अनलाइन कक्षा देखावटी र लहडका नमुना हुन्।

कोभिड–१९ को प्रभावले गरिएको लकडाउन एक महिना बढी भइसकेको छ। सरकारले लकडाउन अघि नै सम्पूर्ण शिक्षण संस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। जसले गर्दा परीक्षा र नियमित पाठनपाठन ठप्प भए।

लकडाउन अवधि र त्यसपछि पनि जनजीवन सामान्य बन्न समय लाग्ने देखिएपछि काठमाडौंका कतिपय निजी स्कुलले वैशाख नलाग्दै अनलाइन कक्षा सुरु गरे। 

निजी विद्यालयको छाता संस्था प्राइभेट एन्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउन सुरु भएकै दिन ११ चैतमा अनलाइन माध्यमबाट पढाउन विद्यालय र अभिभावकलाई आग्रह गर्‍यो। तर अनलाइनका लागि चाहिने पूर्वाधारबारे केही ख्याल गरेन।

निजी शिक्षण संस्थाले अनलाइन कक्षाको निकै हल्लीखल्ली गरे। यसलाई ‘मार्केटिङको टुल’ नै बनाए। शैक्षिक सत्रलाई निरन्तरता दिएको देखाउन पनि अनलाइनबाट शिक्षा सुरु गरिएको हुन सक्ने विज्ञ बताउँछन्। निजी शिक्षण संस्थाले यसरी पढाएर शुल्क उठाउने आधार तय गरेको उनीहरुको बुझाइ छ।

निजी शिक्षण संस्थाले अनलाइन कक्षा लिन थालेपछि त्रिभुवन विश्वविद्यालय पनि जुर्मुरायो। ८ वैशाखमा सूचना निकाल्दै मातहतका विभाग र क्याम्पसलाई अनलाइन कक्षा सञ्चालनको वातावरण बनाउन परिपत्र गर्‍यो।

नियमित कक्षा सञ्चालन अनिश्चित भएकाले विद्यार्थीको भविष्यलाई ख्याल गर्दै वैकल्पिक शिक्षण विधि अपनाउन परेको त्रिविको दाबी छ। सम्बन्धन प्राप्त निजी क्याम्पसमा अनलाइन कक्षा धमाधम सुरु हुन थालेपछि त्रिविले ‘अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गर्‍यो।

निर्देशिकामा त्रिविका पूर्णकालीन अध्यापकलाई त्रिविबाहेकका स्कुल, कलेजका अनलाइन कक्षामा सहभागी हुन नपाइने उल्लेख छ। यसअघि त्रिविका शिक्षकले अनुगमन निर्देशनालयको अनुमति लिएर अन्य कलेजमा पनि अध्यापन गराउँदै आएका थिए।

अनलाइन कक्षाका समयमा शिक्षक विद्यार्थीले औपचारिक पोसाक लगाउनुपर्ने, विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा कारबाही गर्ने प्रावधान निर्देशिकामा छ।

सञ्चालित अनलाइन कक्षालाई नियमित कक्षासरह पाठ्यभारमा गणना गर्ने निर्णय कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले गरिसकेको छ। शिक्षक तथा विद्यार्थीको हाजिरीसमेत राख्न विश्वविद्यालयले निर्देशन दिएको छ।

त्रिविका अधिकांश विभाग र क्याम्पसले जुमबाट अनलाइन कक्षा चलाउँदै आएका छन्। कक्षा र हाजिरीको प्रमाणित सम्बन्धित विभागीय प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही हाजिरीका आधारमा शिक्षकलाई पारिश्रमिक र विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था गरिने निर्देशिकामा छ।

त्रिविको शिक्षण पद्धति र पाठ्यक्रम भौतिक उपस्थितिमा पढाइ हुने शैलीको छ। आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पढ्ने दुर्गम क्षेत्रका विद्यार्थी र अध्यापक मात्रै होइन, केन्द्रीय विभागमै पढ्ने अधिकांश विद्यार्थी लकडाउनका कारण काठमाडौंमा छैनन्।

अनलाइनमा पढाउन शिक्षक अभिमुखीकरणमा त्रिवि मौन छ। सिकाइ क्रियाकलाप कसरी विद्यार्थी बनाउने भन्ने केही प्रावधान नै छैन। म्यासेन्जर र स्काइपमा कुरा गरेर र इमेलमा असाइन्मेन्ट दिएर मात्र अनलाइन कक्षा हुन्छ?

हरेक विद्यार्थीसँग इन्टरनेटको पहुँच छ छैन भन्ने विषयमा निर्देशिकामा केही छैन। त्रिविमा पढ्ने हरेक विद्यार्थीसँग ल्यापटप त के हुन्थ्यो? स्तरीय एन्ड्रोइड मोबाइल पनि छैन। साथै लकडाउनका कारण विद्यार्थी विभिन्न भौगोलिक दुरीमा पुगेर अप्ठ्यारोसँग बसिरहेका छन्। अनि कसरी प्रभावकारी होला त्रिविमा अनलाइनबाट पढाइ?

ल्यापटप वा कम्प्युटर भए पनि बिजुली कुन बेला जान्छ कुन बेला आउँछ थाहा हुँदैन। गाउँगाउँमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा समेट्न झन् ठूलो चुनौती छ। मोबाइलमा डाटा होइन, दुर्गभ भेगमा राम्रोसँग नेटवर्कसमेत टिप्दैन। त्रिविले भने इन्टरनेट पहुँच नहुनेलाई डाटा लिएरै पढ्न आग्रह गरेको छ।

चौतर्फी अप्ठ्यारो हुँदाहुँदै अनलाइन कक्षाका लागि हतार किन? त्रिविका रजिस्टार प्रा. डा. पेशल दाहाल अनिश्चत समयसम्म शैक्षिक गतिविधि ठप्प राख्न नसकिने भएकाले कक्षा चलाउनुको विकल्प नभएको बताउँछन्।

“अबको एकहप्ता विद्यार्थीको ट्रेसिङ गर्ने र त्यसपछि नियमित कक्षा सुरु हुन्छ,” उनी भन्छन्, “सम्भवै नहुने विद्यार्थीको हकमा पछि पाठ्यसामग्री उपलब्ध गराउने योजना छ।”

उनका अनुसार त्रिविले नेपाल टेलिकम र एनसेलसँग विद्यार्थीलाई डाटामा सहुलियत दिन आग्रह गरिसकेको छ। टेलिकम र एनसेल विद्यार्थीलाई ६ महिनाको प्याकेज दिन सहमत भइसकेका छन्।

त्रिविसँग अनलाइन लाइब्रेरी र पठनपाठनका लागि सफ्टवेयरको व्यवस्थासमेत छैन। सामान्यतया अनलाइन कक्षामा प्रयोग हुने सफ्टवेयरमा शिक्षकका लागि ‘बोर्ड’ को व्यवस्था हुन्छ। त्यसमा शिक्षकले लेखका सामग्री सबै विद्यार्थीको पहुँचमा पुग्छ। उनीहरूले त्यसलाई पढ्न वा कपी गर्न सक्छन्।

तर, त्रिविले अबलम्बन गरेको गुगल जुम, स्काइप वा फेसबुक म्यासेन्जर दोहोरो कुराकानीका लागि मात्रै उचित छ। त्यो पनि त्रिवि जस्तो एउटै कक्षामा ५०औं विद्यार्थी पढाउने विश्वविद्यालयमा यी सामाजिक सञ्जाल उपयुक्त छैनन्। यसमा डाटा चोरी हुने र अनधिकृत रूपमा प्रयोग हुने चुनौती मात्रै होइन सिकाइको शैली समेत मिल्दैन।

रजिस्टार पोखरेलका अनुसार त्रिविसँग भएको माइक्रोसफ्टको सफ्टवेयरलाई अपडेट गर्ने काम हुँदै छ। “सफ्टवेयर छिटै तयार गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ,” उनी भन्छन्, “अहिले जेजस्तो साधन उपलब्ध छ, त्यसैबाट शिक्षण सिकाइलाई निरन्तरता दिऊँ भन्ने योजना हो।”

परिमार्जित दूरशिक्षा !

अनलाइनबाट मात्रै होइन, शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले रेडियो र टेलिभिजनबाट समेत शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ।

कक्षा ९ र १० का विद्यार्थीका लागि रेडियो नेपालमार्फत २०६३ सालबाट कक्षा सञ्चालन हुँदै आएको छ। त्रिविलेसमेत दूरशिक्षा केन्द्रमार्फत दुर्गम भेगमा रेडियोबाटै कक्षा चलाइरहेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलिया रेडियो, टेलिभिजनको अनुभवले अनलाइन कक्षा प्रभावकारी हुने दाबी गर्छन्।

“अनलाइनमा प्रत्यक्ष र दोहोरो संवाद हुने भएकाले झन् प्रभावकारी हुन्छ,” थपलिया भन्छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायत विभिन्न संघसंस्थाले यसअघि नै तयार पारेका सामग्रीमार्फत अनलाइन, टेलिभिजन र रेडियो मार्फत पढाइ भइरहेको थपलियाको भनाइ छ।

'समयको बर्बादी मात्रै'

क्याम्पस र विश्वविद्यालयभन्दा निजी स्कुल अनलाइन कक्षामा एक कदम अगाडि देखिएका छन्। सरकारको निर्देशनअनुसार ५ चैतअघि नै वार्षिक परीक्षा सकाएका अधिकांश विद्यालयले नतिजा प्रकाशन गरेका छैनन्। कतिले अनलाइन र मोबाइलमार्फत नतिजाको जानकारी अभिभावकलाई पठाएका छन्।

नतिजा प्रकाशन नगरेका विद्यालयले पनि ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई नियमित कक्षा लिँदै आएका छन्। विद्यालय तहको पाठ्यक्रममा प्रविधिको पढाइ नहुने भएकाले पनि यसै पनि हाम्रा बालबालिका प्रविधिमैत्री छैनन्।

नयाँ शैक्षिक सत्र सुरु हुने समय घर्किसकेको छ। त्यसैले पनि निजी शिक्षण संस्थाले कक्षा नचढाईकनै दैनिक रुपमा विद्यार्थीलाई एकाध घण्टा अलमल्याउन थालेका छन्। त्यसमा झन् जुम र स्काइपबाट लिइने कक्षाले बालबालिकाको सिकाइमा के सुधार होला?

शिक्षाविद् डा. विद्यानाथ कोइरालाका अनुसार अनलाइन कक्षा भनेर मोबाइलबाट पढाइने विधि समयको बर्बादी मात्रै हो। “भिडियो च्याट जसरी हुने पढाइले सिकाइमा तात्त्विक सुधार आउँदैन,” उनी भन्छन्, “विद्यालयमै उपस्थित हुँदा त सिकाइमा रुचि नजगाउने प्रणालीले अनलाइनबाट के सिकाउँछ?” 

स्रोतसाधन र सूचना प्रविधिको पहुँचका कारण पनि देशभरका बालबालिका बीच अनलाइन पढाइ तत्कालै सम्भव छैन।

यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

कोभिड–१९ को प्रभाव र लकडाउनले पठनपाठन बन्द भएपछि विश्वका अधिकांश देशका विद्यालयदेखि विश्वविद्यालयसम्मले अनलाइनमार्फत कक्षा गाडि बढाएका छन्।

उनीहरुको पाठ्यक्रम नै अनलाइन र क्याम्पसमा दैनिक उपस्थित भएर पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको हुन्छ। पढाइ मात्र होइन, परीक्षा प्रणाली पनि अनलाइनबाट लिने प्रावधान हुन्छ। पर्याप्त पूर्वाधार, तालिमप्राप्त शिक्षक र सूचना प्रविधिको पहुँचले अनलाइन पठनपाठन सहज हुन्छ।

युरोप, अमेरिकामा वार्षिक परीक्षाको समय मे महिनालाई मानिन्छ। अनलाइन कक्षा लिएका कारण त्यहाँको शैक्षिक क्यालेन्डरमा कुनै परिवर्तन आएको छैन। मेको परीक्षा पनि अनलाइनबाटै सञ्चालन गर्ने तयारी छ।

हाम्रो देशमा भने ३० हजार सरकारी विद्यालयमध्ये १० हजार विद्यालयमा मात्रै कम्प्युटर ल्याब छ। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ अनुसार तीमध्ये इन्टरनेट सुविधा भएका विद्यालय १३ प्रतिशत मात्रै छन्। बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छन्। 

प्रतिक्रिया दिनुहोस्