शुक्रबार, मंसिर १९, २०७७

विचार

‘समाज र अर्थतन्त्र पुनर्संरचना हुँदै छ’

1586952822binod_chaudhary.jpg

विनोद चौधरी

relifeinsurance

कोभिड–१९ महामारीले विश्वलाई पिरोलेको छ। अहिलेसम्मको तथ्यांक हेर्ने हो भने अल्पविकसित वा विकासोन्मुख मुलुकमा यसको प्रभाव कम देखिएको छ। यसको निर्मूल चाँडोभन्दा चाँडो होस्, हामी सबैको कामना यही हो।

विकसित घटनाक्रम हेर्दा संसार पुनर्संरचना हुँदै छ कि जस्तो लागेको छ। समाज डिजिटल दुनियाँमा धकिलिइरहेको छ। व्यापार, व्यवसाय हरेक गतिविधि डिजिटल केन्द्रित हुन थालेका छन्। ढिलोचाँडो यसमा हामी प्रवेश गर्नैपर्ने थियो। अहिलेको परिस्थितिले यसलाई झन् नजिक ल्याइदिएको छ।

विश्वका राष्ट्रको शक्ति सन्तुलन र व्यापारमा पनि यसले फेरबदल ल्याउने सम्भावना छ। व्यक्तिलाई आध्यात्मिक चेत र परिवारको महत्त्व बुझाइदिएको छ। हरेक कोणबाट समाजमा परिवर्तन आउँदै छ।

अर्थतन्त्रमा प्रभाव

विकसित र ठूलो अर्थतन्त्र भएको मुलुकमा यसको झन् ठूलो असर परेको छ। विश्व बैंक, एडीबीलगायत संस्थाले गरेको प्रारम्भिक अध्ययनअनुसार चीनबाहेकका देशको अर्थतन्त्र १० प्रतिशतले खुम्चिने सम्भावना छ।

चीनमा भने कोभिडले अर्थतन्त्रमा खासै असर पु¥याउन सक्दैन कि जस्तो लाग्छ। संसारभरकै पूरै आर्थिक गतिविधि यस वर्ष मात्रै नभएर केही वर्ष घट्ने देखिन्छ। विश्वको अर्थतन्त्र अहिलेकै समयमा आउन एकाध वर्ष लाग्नेछ।

कोभिडपछि व्यक्तिको क्रयशक्ति घट्नेछ। यसले गर्दा आमनागरिकले उपभोग घटाउन बाध्य हुनुपर्नेछ। अनि आपूर्ति र उत्पादन शृंखला खल्बलिन सक्छ।

सबैभन्दा ठूलो असर संसारका पर्यटन, हवाई र हस्पिटालिटी व्यवसायमा पर्छ। मानिसको घुम्ने मुड बन्न निकै समय लाग्नेछ।

मेरो विचारमा नेपालको सन्दर्भमा हवाई, पर्यटन, रेमिटेन्स क्षेत्रको आम्दानी ५० प्रतिशतले घट्न सक्छ। रोजगारी गुमाउने पनि सबैभन्दा बढी यही क्षेत्रका हुनेछन्।

यसो भन्दै गर्दा हामीले असंगठित क्षेत्रका मजदुरलाई बिर्सन हुँदैन। सबैभन्दा बढी मार त उनीहरूलाई छ। मासिक तलब खाने, सानाठूला व्यवसाय गर्नेलाई भोलि समस्या पर्न सक्छ। तर, दैनिक ज्यालादारीमा काम गर्नेलाई आजै गाह्रो भइसकेको छ।

संसारभर बेरोजगारी बढ्नेछ। वैदेशिक रोजगारीमा गएका थुप्रै नेपाली फर्किने अवस्था छ। युरोप, अमेरिकामा ‘लक्जरियस’ जीवन बिताइरहेका पनि फर्कने मनस्थितिमा छन्। अहिलेको परिस्थितिले देशबाहिर रहेकाहरूलाई आफ्नो परिवार, समाज र देशको महत्त्व वा आवश्यकता बोध गराइदिएको छ।

स्रोत जुटाउने उपाय

समस्या आउने त पक्का छ। यो निजी क्षेत्र वा राज्य एक्लैले धान्न सक्ने समस्या होइन। त्यसैले सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन।

नेपालको सन्दर्भमा प्रयोग नभएका थुप्रै स्रोत छन्। ती स्रोतलाई प्रयोगमा ल्याउने उपयुक्त बेला हो। सामाजिक सुरक्षा भत्ता कटौती गर्न सकिन्छ।

फजुल खर्च घटाउने थुप्रै ठाउँ छन्। सांसद विकास कोषको रकम प्रयोग गर्न सकिन्छ। अहिले यो विषय छलफलमा पनि छ।

बूढीगण्डकीमा ४० अर्ब बढी रकम जम्मा भएको छ। यस्ता अनेकन् स्रोत छन् जहाँबाट राज्यले खर्च जुटाउन सक्छ। तर, त्यसका लागि इच्छाशक्ति हुनुप¥यो।

परोपकार

मलाई कहिलेकाहीं हाम्रो समाज र मिडिया पनि बहकिन्छ कि जस्तो लाग्छ। बिल गेट्सले के गरे? अन्य देशका धनाढ्यले के दिए भन्ने हामीले सोचेर हुँदैन। स्रोत र क्षमताअनुसार सहयोग गरिरहेका नेपाली व्यवसायीलाई नजरअन्दाज गर्न मिल्दैन। भूकम्पका बेला हामीले गरेका काम यति छिटै बिर्सिसक्यौं। तर, समाजमा गर्ने र नगर्नेको बीचमा फरक देखाउनुपर्छ । सबैलाई एउटै स्थानमा राखेर हेर्नु भएन।

पैसाले मात्रै परोपकारका काम गर्न सकिन्छ भन्ने भ्रम राख्नु भएन। यस्ता प्रकोपका समाधान लागि स्रोतसँगै चुस्त व्यवस्थापन पनि चाहिन्छ। जस्तो: स्वास्थ्य सामग्री किन्नलाई पैसाको अभाव भएर ढिला भएको होइन नि।

चौरधी फाउन्डेसनले कोभिड–१९ को जोखिम कम गर्न तीन चरणमा काम गरिसकेको छ।

पहिलो चरणमा पाटन, टिचिङ, टेकु र उपत्यकाबाहिरका ४४ भन्दा बढी स्वास्थ्य संस्थामा पीपीई पु¥यायौं। दोस्रो चरणमा परीक्षणका लागि ५ स्थानमा पीसीआर मेसिन सरकारलाई दियौं। १० ठाउँमा अहिले पीसीआर मेसिनमार्फत परीक्षण भइरहेको छ।

तेस्रो चरणमा कोभिडको बढी जोखिम मानिएका प्रदेश–२, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्वाथ्यकर्मी र फ्रन्टलाइनमा बसेर काम गर्ने अन्यलाई सहयोग पु¥याएका छौं। अहिलेसम्म करिब २ करोड रकम बराबरको सहयोग गरिसकेका छौं।

विपद् व्यवस्थापनका लागि एउटा स्थायी सेन्टर बनाउन सकिन्छ कि भनेर लागिपरेका छौं। फाउन्डेसनले तल्लो तहसम्म गरिरहेको काम देखेरै विश्वका थुप्रै दाताले हामीलाई साथ दिइरहेका छन्।

(किताब यात्राले आयोजना गरेको ‘भर्चुअल लिटरेचर फेस्टिभल’ मा चौधरीले व्यक्त गरेको विचारको सम्पादित अंश)

 

प्रतिक्रिया दिनुहोस्