काठमाडौं- चितवनको एक अस्पतालमा काम गर्दागर्दै पेशा छाडेकी आकृति न्यौपानेलाई नर्सिङ पढेकोमा गर्वभन्दा बढी पीडा छ।
रहरैरहरमा नर्सिङ पेशामा होमिएकी आकृतिले समाजको कुदृष्टि, अस्पतालमा आफूभन्दा ठूलाबाट भोग्नुपर्ने दुव्र्यवहार, अस्पतालका विभेदपूर्ण नीति आदिका कारण पेशा छोड्न बाध्य भइन्।
फ्लोरेन्स नाइटिङ्गेलको सपना बोकेर नर्सिङ पेशामा प्रवेश गरेकी आकृति यतिबेला वैदेशिक रोजगारीमा जाने तरखरमा छिन्। लाखौँ खर्च गरेर नर्सिङ अध्ययन गरेकी उनले पढाई सकेको केही महिना काम पाइनन्। पाचौँ महिनामा काम पाए पनि उनले झण्डै एक वर्ष स्वयंसेवकको रुपमा काम गरिन्। बल्लबल्ल जागिर त पाइन् तर समस्यै समस्या।
न पर्याप्त पारिश्रमिक, न सेवासुविधा। न ड्युटीको यकिन समय न पेशागत सुरक्षा, न त मर्यादा नै। आफैं बिरामी हुँदासमेत बिदामा बस्न पाइनन् उनले। यस्ता अनेकौँ पीडा खप्नै नसकेपछि उनले पेसा नै छाडिदिइन्। नर्सिङ पढ्न सुरु गर्दाको उत्साह सबै सेलाएर पेशालाई छोड्नुपरेको उनी बताउँछिन्।
यस्तै अनेकौँ पीडाहरु लिएर नेपालमा आज नर्सहरूले नेपाल नर्सिङ दिवस मनाइरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पनि सन् २०२० लाई विश्व नर्स वर्षको रुपमा मनाइरहेको छ। नर्सहरूको समस्यालाई वास्ता नगरिँदा झनै पीडा दिन यो दिवस मनाइएको नर्सहरूले महसुस गरेका छन्।
बाहिरबाट हेर्दा नर्सिङ पेशा जति सजिलो देखिन्छ, व्यवहारिक रुपमा त्यति नै जटिल पनि छ। नर्सिङ पेशामा व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै बेरोजगार भएर बस्न नपर्ने चर्चा भइरहँदा लाखौं खर्च गरी पढाइएका नर्स दिदीबहिनीले अस्पतालमा वषौँर्सम्म स्वयंसेवककै रुपमा रातदिन ड्युटी गर्नुपर्दाको पीडा छन्।
त्यस्तै जाडो, गर्मी, घरपरिवार, चाडपर्व नभनी चौबिसै घण्टा काममा खटिएका नर्सहरूको पारिश्रमिक ज्यादै कम हुनु, रातको ड्युटीमा जानआउन सवारी साधनको व्यवस्था नहुनु, नर्सहरूले पेशागत सुरक्षाको अनुभूति गर्न नपाउनु र कार्यबोझ बढी, सुविधा कम प्राप्त हुनु नर्सका पीडा हुन्।
एक नर्स बराबर ४० बिरामी
नेपालमा १ सय ९० कलेजले नर्सिङ पढाउँछन्। ती कलेजबाट हरेक वर्ष ७–८ हजारको हाराहारीमा नर्स उत्पादन भइरहे पनि उनीहरूको रोजगारी र व्यवस्थापन हुन नसक्दा गम्भीर समस्या देखापर्ने गरेको छ। एक जना नर्स बराबर ३० देखि ४० जनासम्म बिरामीको स्वास्थ्य हेरचाह गर्नुपर्ने बाध्यता छ। जबकि विश्व स्वास्थ्य संगठनका अनुसार ६ बिरामी बराबर १ जना नर्स हुनुपर्ने प्रावधान छ भने आईसीयुमा एउटा बिरामीलाई एक जनाको दरले नर्स हुनुपर्छ।
तर नेपालमा ३० जना बिरामीलार्ई एउटै नर्सले हेर्नुपर्ने अवस्था रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सरकारी अस्पतालमा समेत २५ वर्षअगाडिकै दरबन्दीमा नर्सहरु छन्। अस्पतालमा अझै २० प्रतिशत दरबन्दी खाली छन्।
क्षमतावान् व्यक्तिहरू विदेश पलायन हुनु र नेपाली स्वास्थ्य क्षेत्रमा नर्सको अभाव सधैँ खड्कनु अर्काे समस्याका रूपमा देखिएको नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठ बताउँछिन्। नेपालमा पर्याप्त नर्स हुँदाहुँदै पनि विश्व स्वास्थ्य संगठनको लक्ष्य पुरा हुन सकेको छैन। नेपालमा संचालित नर्सिङ शैक्षिक कार्यक्रमअनुसार वार्षिक २ हजार अनमी, करिब ५ हजार नर्स र करिब १ हजारको हाराहारीमा बिएस्सी का विद्यार्थीहरु उत्पादन हुन्छन्। विश्व स्वास्थ्य संगठनको (२०१३) र स्वास्थ्य मन्त्रालय (२०१३) को तथ्याकं अनुसार नेपालमा प्रति १० हजार जनसंख्याका लागि ६ दशमलब ८ स्वास्थ्यकर्मीहरू रहेका छन्।
विदेश पलाएन हुँदै नर्सहरु
महिलाका लागि नर्सिङ आकर्षक करियर बनेको छ। त्यसैले नर्सिङ सकेर बिदेसिन चाहने पनि धेरै छन्। त्यस्तै नेपालमा योग्यता र दक्षता अनुरुपको काम नपाएपछि विदेशिन बाध्य भएको उनीहरुको अनुभव छ।
नेपालमा ठूलो मात्रामा नर्सको आवश्यकता हुँदाहुँदै पनि त्यतिकै संख्यामा बेरोजगार छन्। नेपालमै पनि १ सय ९० कलेजमा नर्सिङको पढाई हुन्छ। वर्षेनी करिब ८ हजार हाराहारीमा नर्सहरु उत्पादन भइरहेका छन् तर उनीहरुको श्रमको उचित मुल्यांकन हुननसक्दा नर्सहरु विदेशिन बाध्य भएका छन्।
नर्सको पेसागत हकहित र विकासका लागि ५८ वर्षअघि स्थापित नेपाल नर्सिङ संघले नर्सको न्यूनतम पारिश्रमिक १७ हजार हुनुपर्छ भनेर संघर्ष गरिरहेको लामो समय भइसक्यो तर उपलब्धि हात पार्न सकेको छैन। अझै पनि नर्सहरु ८–१० हजारमै काम गर्न बाध्य हुँदा विदेशिनुपरेको उनीहरुको अनुभव छ।
त्यस्तै नेपाल नर्सिङ काउन्सिलमा करिब ९१ हजार नर्सहरुको दर्ता छ। यीमध्ये १५ हजारको हाराहारीमा रोजगारी तथा अध्यायनको लागि विदेशिएको काउन्सिलको तथ्यांक छ। त्यस्तै काउन्सिलमा दर्ता नभई विदेश जाने वा नर्सिङ पेशाभन्दा अन्य कामका लागि जाने नर्सको कति छन् भनी काउन्सिलमा कुनै तथ्यांक छैन।
नेपाल नर्सिङ काउन्सिलकी रजिष्टार विन्दा घिमीरेका अनुसार यकिन तथ्यांक नभए पनि रोजगारी र अध्ययनको लागि विदेशिनेको संख्या ३० हजारको हाराहारीमा छ। काउन्सिलका अनुसार हाल नेपालमा करिब ६० हजार नर्स छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका सरकारी स्वास्थ्य संस्थामा १० हजार नर्स कार्यरत छन् भने निजीक्षेत्रमा कति छन् भन्ने यकिन तथ्यांक छैन। मन्त्रालयको तथ्यांकअनुसार १ हजार ४ सय ४४ स्टाफ नर्स र ८ हजार १ सय २४ अनमी सरकारी सेवामा रहेका छन्। भने नेपालमा रहेका कुल नर्समध्ये एक तिहाइले मात्रै रोजगारी पाएको काउन्सिलको अनुमान छ।
निजी अस्पतालमा झनै समस्या
नेपालमा निजी अस्पताल तथा क्लिनिकमा काम गर्ने नर्सहरू बढी उदासिन देखिने गरेका छन्। बिदाको दिन, चाडपर्वमा पनि काम गर्नुपर्ने, आफैँ बिरामी हुँदासमेत विदामा बस्न नपाउने, अतिरिक्त कामको भत्ता नपाईने, समयमा तलव नआउनेलगायत समस्या छन्।
सरकारीमा भन्दा निजी अस्पतालमा नर्सले जागीरको सुनिश्चितताको महसुस गर्न सकेका छैनन्। अस्पतालको अवस्था र नर्सहरूको समस्याबारे बोल्न पनि नसक्ने एक स्टाफ नर्स बताउँछिन्। संर्घष गरेर पाएको जागिर पनि खोसिएला भन्ने डरले निजी अस्पतालका नर्सले आफ्ना समस्या लुकाउने गरको उनी भन्छिन्।