शुक्रबार, मंसिर १९, २०७७

स्वास्थ्य/जीवनशैली समाचार
1585722945coronavirus_china_doctors_afp-.jpg

‘पीपीई शतप्रतिशत सुरक्षाका लागि लगाउने हो। ९० प्रतिशत वा ९५ प्रतिशत सुरक्षित भन्ने तर्क मेडिकल तथा क्लिनिकल हिसाबमा सही हुन्न। केही नपाए कन्दमूल खाऔंला भन्ने तर्क जीवाणु सुरक्षाको सन्दर्भमा लागू हुँदैन।’

relifeinsurance

काठमाडौं- १८ गतेको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयले हरेक प्रदेशमा १३ सयदेखि २५ सयसम्म पीपीई तयारी अवस्थामा रहेको र स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मौजदात रहेको दाबी गर्‍यो। ती कति फ्रन्टलाइनमा पुगे भन्ने तथ्य भने प्रेस ब्रिफिङमा दिइएन।

सरकारले एक लाख थान पीपीई ल्याउने तयारी गरेको बताए पनि चीनबाट १० हजार थान मात्र ल्याएको छ।

जनस्वास्थ्यविद्का अनुसार कोरोना भाइरस संक्रमितलाई जाँच्ने डाक्टर, नर्स तथा एटेन्डेन्ट तीन जनाको मात्र हिसाब गर्दा पनि बिरामी राख्ने एउटा कोठामा एक साताका लागि घटीमा २१ वटा पीपीई चाहिन्छ, त्यो पनि नर्सलाई दस–बाह्र घण्टा काममा लगाउँदा।

५० कोठामा कोरोनाका बिरामी वा आशंका गरिएकालाई जाँच गर्नुपरे तीन सदस्यीय चिकित्सिक टोलीलाई दुई साताका लागि २१ सय पीपीई चाहिन्छ। यस्तो अवस्थामा १० हजार पीपीईले कति दिन धान्ला?

के हो पीपीई?

पीपीई अर्थात् पर्सनल प्रोटेक्सन इक्युपमेन्ट एक खालको वर्षादीजस्तै बर्को हो, जसले ससाना जीवाणु मानव शरीरमा पस्नबाट बचाउँछ।

पीपीई एक पटक लगाएपछि फेरि प्रयोग गर्न मिल्दैन। यो लगाएर खाना खान र शौचालय जान पनि मिल्दैन। संक्रमितको संख्या बढेमा थोरै पीपीईले पुग्दैन।

चीनमा कोरोना महामारीका बेला चिकित्सकले डाइपर लगाएर खाना नखाई १२ घण्टाभन्दा बढी समय एउटा पीपीई लगाएर काम गरेको समाचार आएका थिए।

नेपालको पीपीई कति सुरक्षित ?

कोरोना उपचारमा आवश्यक पीपीई नेपाल आविष्कार केन्द्रका महावीर पुनको अगुवाइमा यहीँ बन्न थालेको समाचार छ। केही स्थानीय तहले पीपीई बनाइरहेका छन्। काठमाडौंस्थित ओम अस्पतालले आफ्नै पहलमा पीपीई बनाएको बताएको छ।

‘कोरोना भाइरसको जीवाणुबाट बच्ने खालको पीपीई नेपालमा बन्न सक्छ त ?,’ संक्रमणविद् डा. सुशील ताम्राकार भन्छन्, ‘फेरि नेपालले बनाएको पीपीईको गुणस्तर मापन कसले गर्ने?’ 

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय निर्देशिकाका आधारमा बनाएको डकुमेन्टजस्तै पीपीई बनाउने सामग्री पनि नक्कल गर्न सकिएको छ कि छैन भन्नेमा ख्याल गर्नुपर्छ।

‘जुन कच्चा पदार्थले जसरी बन्नुपर्ने हो त्यसरी नै बनेको छ भनेर ग्यारेन्टी कसले गर्ने ? डकुमेन्ट नक्कल गरेर गाइडलाइन बनाउन त सकिएला तर सामग्री र प्रविधि नक्कल गर्न सकिएको छ त?’ उनको प्रश्न छ।

लाखौं-करोडौं भाइरस भएको ठाउँमा स्वास्थ्यकर्मीले लगाउने साधनमा खेलाँची गर्न नहुने सुझाव ताम्राकारको छ।

‘बिरामी राखिएको ठाउँमा बाहिरी हावा रोकिएको हुन्छ। एसी पंखालगातयका कृत्रिम हावा चलायमान हुन्छ। त्यसले सतहमा बसेको जीवाणुलाई हावामा तैराइदिन्छ। त्यस्ता जीवाणु नाकबाट छिर्यो भने त संक्रमण फैलिहाल्छ नि,’ उनी भन्छन्।

जीवाणुको थोरै मात्राले पनि कोरोना संक्रमण हुन सक्छ। ‘औसतमा ११० पीएफयू (PFU) भाइरसले कोरोना संक्रमण देखाएको छ। पीएफयू  भन्नाले प्लेक (Plaque Forming Unit) भाइरसको संख्या गणना गर्ने एकाइ हो’, उनी भन्छन्। उनका अनुसार जीवाणुका थोरै संख्याले पनि क्षति गर्ने भएकाले अत्यन्तै जोखिमपूर्ण मानिएको हो।

पीपीई अत्यन्तै जोखिमको अवस्थामा मात्र लगाउने हुँदा अन्य बेला यसको प्रयोग कम हुन्छ। विकसित मुलुकमा पनि यसको जगेडा कम हुन्छ।

‘विदेशबाट ल्याउँदा पनि सरकारले मान्यता दिएको कम्पनीबाट मात्र मगाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘हामीले चीनबाट मगाएका छौं, त्यो सरकारी स्तरबाट आएको हुँदा राम्रै होला।’

पीपीई प्रयोगमा गम्भीर हुनुपर्छ

मंगलबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्कीले चिकित्सकले अनावश्यक रुपमा पीपीई लगाएको भन्दै यसको दुरुपयोग नगर्न सबैलाई स्मरण गराएका थिए।

बर्ड फ्लु नियन्त्रणका गर्ने बेलामा नेपालमा पीपीईको व्यापक प्रयोग भएको थियो। त्यति बेला पशु स्वास्थ्य सेवाअन्तर्गतका चिकित्सक तथा प्राविधिकले पीपीई लगाएर घरबाहिर काम गरेका थिए।

बर्ड फ्लु नियन्त्रण अभियानको नेतृत्व गरेका डा. नारायणप्रसाद घिमिरेका अनुसार पीपीई प्रयोगका लागि विशेष तालिमको खाँचो छ।

‘विगतमा पनि निकै सकसका साथ पीपीई लगाएर काम गरेका थियौं,’ नेपाल भेटेरिनरी काउन्सिलका रजिस्ट्रार घिमिरेले भने, ‘तर त्यो घरबाहिर बसेर कुखुरा नियन्त्रणका लागि प्रयोग भएको थियो। यसपटक इन्डोरमा र मानिसको उपचारमा प्रयोग गर्नुपर्ने देखिएको छ।’

विशेष अवस्थामा मात्र यसको प्रयोग हुने भएकाले यसको प्रयोगबारे सबैलाई जनकारी र अभ्यास नहुने उनी बताउँछन्। ‘हाम्रो त्यो बेलाको अनुभव अहिले उपयोगी हुन्छ। हामी सहकार्यका लागि तयार छौं। भारतमा त फ्रन्टलाइनमै भेटेरिनरी सक्रिय भइसकेका छन्,’ घिमिरेले भने, ‘नेपालमा पनि आवश्यक पर्दा भेटेरिनरी काउन्सिल र एसोसिएसन तयार छ।’

विज्ञहरुका अनुसार पीपीई लगाएर मात्र हुँदैन, सहकर्मीले बेलाबेलामा त्यसको निगरानी गरिरहनुपर्छ। अनुभवीको सहयोगमा फुकाल्नुपर्ने हुन्छ। फुकाल्दा संक्रमण नफैलियोस् भनेर चनाखो हुनुपर्ने घिमिरे बताउँछन्।

इपिडेमियोलोजिस्ट डा. सुरेन्द कार्कीले बर्ड फ्लु नियन्त्रण बेला एउटा पीपीई पाँचछ घण्टाभन्दा बढी समय लगाउन नसकिएको अनुभव सुनाए। ‘तराईमा बाहिरी वातावरणमा पीपीई लगाएर पाँच छ घण्टा मात्र काम गरेका थियौं,’ कार्कीले भने, ‘यसपटक त इन्डोरमा प्रयोग गर्नुपर्ने अवस्था छ। त्यसैले धेरै बेर लगाउन सकिन्छ कि सकिन्न भन्ने प्रश्न छ।’

कार्कीले पीपीई किट प्रयोगअघि कस्तो तहको जोखिमको लागि बनेको हो त्यसको निर्क्याेल गर्नुपर्ने बताए।

‘बिरामीसँगै रहने चिकित्सक तथा प्राविधिकलाई त सर्टिफाइड पीपीई नै दिनुपर्छ। जोखिमको पहिलो घेरामा सधैं चिकित्सक नै पर्ने हुँदा तिनलाई त जसरी पनि जोगाउनुपर्छ,’ उनले भने। 

 

प्रतिक्रिया दिनुहोस्