काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत २२ पुसमा खेल थियो, मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबको । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होहल्ला थियो । झन्डै एक महिनापछि रंगशालामा माहोल तातेको थियो ।
त्यसो त २४ मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएलगत्तै सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको थियो । तर रंगशालामा माहोल खासै जम्न सकिरहेको थिएन । मैदानमा खेल चलिरहन्थ्यो, प्यारापिट भने रित्तै ।
२२ पुसको माहोल भने केही फरक थियो । अरु दिनको तुलनामा भीआईपीतर्फ र खेलकुद परिषद्तर्फको प्यारापिट दुःखसुख भरिएको थियो । कारण– हेभिवेट क्लब मछिन्द्र र साविक विजेता मनाङको खेल थियो त्यसदिन । शीर्ष दुईमा रहेका टिमको खेल हेर्न आएका दर्शकको संख्या अरु दिनको तुलनामा धेरै देखिए पनि उल्लेख्य भने थिएन ।
‘ए’ डिभिजन लिगमा पनि दर्शक नआएपछि आयोजक एन्फाले दर्शक तान्ने तरिका खोज्न थालेको छ । त्यो हो– गोला प्रथा र उपहार । लिगको दोस्रो चरणको खेल सकिएपछि एन्फाले दर्शक लोभ्याउन अफर ल्यायो । विदेश घुमाउन लैजानेदेखि जाडोमा टोपी, मफलरलगायत पुरस्कार घोषणा गर्यो । यतिमात्र होइन, विश्वकप क्वालिफायरका खेलमा टिकट उपलब्ध गराउनेसम्मका अफर एन्फाले ल्याएको छ।
जारी लिगका लिग निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘अन्य प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडी खेल्दा टिकटै नपाउने स्थिति हुन्छ तर एन्फाले आयोजना लिगमा भने दर्शक पाउनै मुस्किल ।’
एन्फाको अफरमा पनि दर्शक लोभिएका छैनन्। हेभिवेट क्लबको खेल भएकै दिन (२२ गते) पनि अपेक्षाकृत रुपमा दर्शक छिरेनन् दशरथ रंगशालामा । सो दिनको खेल तीन हजार दर्शकले हेरेका थिए, जुन जारी लिगको सबैभन्दा धेरै दर्शक संख्या हो । दशरथ रंगशालाको क्षमता भने १५ हजार हो ।
जारी लिगमा म्याचको टिकट बेचेरै एक करोड रुपैयाँ उठाउने लक्ष्य एन्फाको छ । अहिलेकै अनुपातमा टिकट बेचेर यो लक्ष्य नभेटिने एन्फाकै अधिकारीहरु बताउँछन् । १३ चरणमा हुने ‘ए’ डिभिजन लिगको अहिलेसम्म छैटौं चरण सकिइसकेको छ ।
किन आएनन् त दर्शक देशकै सबैभन्दा ठूलो लिग हेर्न ? फुटबलप्रति नेपाली दर्शकको मोहभंग भएकै हो त ? ठ्याक्कै उत्तर छैन एन्फासँग । निर्देशक मिश्र भन्छन्, ‘हामीले ०६९ सालमा पोखरामा र बुटवलमा होम एण्ड अवे गराउँदा पनि लिगमा दर्शकको उपस्थिति न्यून नै हुन्थ्यो । ०७२ सालमा पोखरा, बुटबल, काठमाडौं र झापामा गरी चार ठाउँमा खेल गरायौं । झापामा राम्रो दर्शक पायौं, तर बाँकी तीन ठाउँमा हेर्ने मानिसको समस्या नै भयो । यद्यपि, दर्शकमा फुटबलप्रतिको मोह घटेकै चाहिँ होइन ।’
विगतका वर्षमा ‘ए’ डिभिजन खेलेका केही राम्रा खेलाडी विदेशी लिग खेल्न गएका छन् । किरण चेम्जोङ, रोहित चन्दलगायत खेलाडी विदेशी लिगमा आबद्ध भएका छन् । पाए विदेशी लिगमा र नपाएमात्र आफ्नो देशको लिग खेल्ने मनसायमा खेलाडीको देखिन्छ । विदेशमा कमाइ धेरै हुने भएकाले पनि खेलाडीको रोजाइमा नेपाली लिग नपरेको एन्फा स्वीकार्छ ।
अर्कोतिर नेपालीहरुमा खेल हेर्ने संस्कृति बनिरहेका बेला फुटबलको पर्याय बनेको दशरथ रंगशालाको गेट चार वर्षभन्दा बढी समय बन्द हुन पुग्यो । ०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुनर्निर्माण हालैमात्र सकिएको हो । यहीबीचमा एन्फामा पनि आन्तरिक विवाद बढ्दा लिगमा प्रत्यक्ष असर पर्न गयो ।
मुलुक संघीयतामा गएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ । तर, खेलकुद केन्द्रिकृत नै छ। फुटबल पनि यसबाट अछूतो छैन । ‘ए’ डिभिजन लिग खेल्ने सबै क्लब काठमाडौं उपत्यकाका छन् । लिगमा आबद्ध १४ टोलीमध्ये १० वटा काठमाडौंका छन् भने चारवटा ललितपुरका । साविकको विजेता टोली मनाङ मस्र्याङ्दी क्लब काठमाडौंको हो । मनाङसहित हिमालयन शेर्पा, मछिन्द्र, विभागीय टोलीहरु सशस्त्र प्रहरी, नेपाल आर्मी र पुलिस क्लब पनि काठमाडौंकै हुन् ।
त्यस्तै न्युरोड टिम, संकटा र सरस्वती युथ पनि काठमाडौंकै क्लब हुन् । ब्रिगेड ब्वाइज, च्यासल, जावलाखेल र थ्रीस्टार भने ललितपुरका क्लब हुन् । लिग खेल्ने टोली सबै काठमाडौं उपत्यकाका भएकोले सबैलाई अपनत्वको महसुस नहुँदा त्यसको असर दर्शकमा पनि परेको कतिपयको बुझाइ छ । लामो समयसम्म चल्ने खेल फर्म्याट हो लिग । एकै ठाउँमा एकै क्लबहरुबीचको खेल लामो समय चल्दा दर्शकमा रुची कम हुने अनुमान पनि एन्फाको छ ।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का क्लबले समाजको प्रतिनिधित्व गर्न नसक्दा लिगको विकासमा पनि असर परिरहेको तर्क गर्छन् । ‘क्लब पनि एकै ठाउँका धेरै भए, यसले गर्दा सबै क्षेत्र र भूगोलको प्रतिनिधित्व हुन सकेन । काठमाडौं उपत्यकाको सवालमै पनि न्युरोड टिम छ । न्युरोड–असनमा नेवारहरुको बसोबास धेरै छ । तर यो क्लबले त्यहाँकै नेवारहरुको पनि प्रतिनिधित्व गर्न सकिरहेको छैन,’ खड्का भन्छन् ।
‘विदेशकै उदाहरण हेरौं न । स्पानिस लिग ला लिगाको सर्वाधिक विजेता रियल म्याड्रिड र साविक विजेता बार्सिलोना सबैभन्दा राम्रा मानिएका क्लब हुन् । स्पेनिस लिगमा रियल म्याड्रिडले देशको राजधानीको प्रतिनिधित्व गर्छ भने बार्सिलोनाले क्याटालोनियाको प्रतिनिधित्व गर्छ । स्पेनको राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रको महत्व यी दुई टोलीले बोकेका छन् । त्यसैले यस्ता टोलीको खेलमा दर्शक धेरै नै हुने गरेका छन्,’ स्पेनको उदाहरण दिँदै उपाध्यक्ष खड्काले थपे ।
यस वर्षदेखि एन्फाले ‘ए’ डिभिजन लिगमा एउटामात्रै क्लब रेलिगेसनमा पर्ने प्रावधान राखेकाे छ। अर्थात् जस्तो प्रदर्शन गरे पनि एउटामात्र क्लबको घटुवा हुनेछ। रेलिगेसनमा पर्ने हुँदा क्लबहरुलाई राम्रो प्रदर्शन दबाब हुन्छ । तर, रेलिगेसन नहुँदा क्लबहरुले तुलनात्मक रुपमा कमजोर खेल प्रस्तुत गर्न सक्छन् र लिगको प्रभावकारितामा कमी आउँछ । चालू लिगमा त्यसलाई पनि दर्शक नआउनुको कारणका रुपमा कतिपयले व्याख्या गरेका छन् ।
लिग निर्देशक मिश्र रेलिगेसनको अप्रत्यक्ष प्रभाव दर्शक संख्यामा परेको स्वीकार्छन् । ‘दर्शकले उत्कृष्ट खेलको अपेक्षा गर्नु स्वाभाविक हो । रेलिगेसन नहुने भएपछि खेलाडीको प्रदर्शन कमजोर हुनसक्छ । कमजोर खेल हेर्न दर्शक आएनन् भने त्यो कुरा जायज नै हो,’ मिश्र भन्छन् ।
एन्फा उपाध्यक्ष खड्का भने यसमा सहमत छैनन् । ‘रेलिगेसन बिनाको संसारमै नभएको खेल पनि हुन्छ ? भनेर साथीहरुले प्रश्न गर्नुभयो । तर, राष्ट्रिय टीमका खेलाडी सबै टिममा बाँडिएर खेलेका करण रेलिगेसन जोनका टिमसँग पनि शीर्षस्थानका क्लबले बराबरी खेलेका छन्,’ उनको तर्क छ।
फुटबलका दर्शक घट्नुको कारण वैदेशिक रोजगारीलाई पनि लिने गरिएको छ । फुटबल बढी रुचाउने युवाले तर लाखौं युवा वैदेशिक रोजगारीमा गएकाले त्यसको असर नेपालमा हुने खेलमा देखिएको सरोकारवाला बताउँछन् ।