शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • १० वर्षमा २२ बाट ६३ हजार पुग्‍याे सुन, व्यवसायी भन्छन्– हाम्राे हातमा छैन

१० वर्षमा २२ बाट ६३ हजार पुग्‍याे सुन, व्यवसायी भन्छन्– हाम्राे हातमा छैन

नेपालमा सुन उत्पादन नहुने भएकोले अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्छ। यहाँको बजारमा मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै हुन्छ।
 |  शुक्रबार, पुस २५, २०७६

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– नेपाली समाज र संस्कृतिको एउटा अभिन्न अंग हो, सुन । जन्मदेखि मृत्युसम्मै विभिन्न अवसर र संस्कारमा सुन चाहिन्छ । मूल्य घटोस् वा बढोस्, सुन किन्न छाड्दैनन् नेपाली उपभोक्ता।

triton college

त्यसो त विश्वभरमै लगानीका मुख्य चारवटा क्षेत्र / वस्तुमध्येमा पर्छ सुन। ठूला लगानीकर्ताहरुले सेयर बजार, अमेरिकी डलर, इन्धन र सुनमा ठूलै परिमाणमा लगानी गर्छन्। सुनमा त केन्द्रीय बैंकहरुले नै लगानी गर्छन्।

विज्ञहरुका अनुसार सुनको लगानी सबैभन्दा सुरक्षित मानिन्छ । त्यसैले आर्थिक अस्थिरता बढेपछि सुनमा पनि लगानी बढ्छ। बजारमा माग बढेपछि मूल्य पनि बढ्ने नै भयो ।

विश्व बजारलाई हेर्ने हो भने ०६६ वैशाखमा सुनको मूल्य प्रतिऔंस ८६८.८ अमेरिकी डलर रहेकोमा अहिले (०७६ पुस २५ गते) १५ सय ५० डलर प्रतिऔंस पुगेको छ ।

जब विश्वमा राजनीतिक अस्थिरता बढ्छ, तेल (इन्धन)को मूल्यमा उतारचढाव आउँछ, सुनको मूल्यमा उतारचढाव आउँछ । अस्थिरता बढेपछि लगानीकर्ता सुरक्षित बजार खोज्न थाल्छन् र सुनमा लगानी गर्छन्। लगानी बढेपछि माग बढ्छ ।

corrent noodles
Metro Mart

‘अर्थशास्त्रको सर्वव्यापी सिद्धान्त नै हो– माग बढी र आपूर्ति कम भएपछि मूल्य बढ्नु,’ अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी भन्छन्।

नेपालमा सुन उत्पादन नहुने भएकोले अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्छ। यहाँको बजारमा मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै हुन्छ । त्यसैले विश्व राजनीति र अर्थतन्त्रको असर नेपालको सुन बजारमा पनि पर्छ।

२०३१ सालसम्म ८४० रुपैयाँमा एक तोला सुन पाइन्थ्यो । गोरखापत्रको २०३१ साल भदौ ९ गते आइतबारको अंकमा सुनको मूल्य अघिल्लो बुधबारको तुलनामा २० रुपैयाँ बढेर प्रतितोला ८४० रुपैयाँ पुगेको उल्लेख छ । आज (शुक्रबार) नेपाली बजारमा प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा सुन कारोबार भयो ।

नेपाली सुन बजारको पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने सुनको मूल्य १८७ प्रतिशतले बढेको देखिएको छ। २०६६ सालमा २२ हजार ८५० रुपैयाँमा पाइने १० ग्राम सुनलाई अहिले (०७६ पुस २५ गते) ६३ हजार ९ सय ६० रुपैयाँ तिर्नुपर्छ । अर्थात् १० वर्षमा सुनको मूल्य १० ग्राममै ४१ हजार रुपैयाँभन्दा बढीले बढेको छ ।

‘पछिल्लो १० वर्षयता विश्वको शक्तिशाली राष्ट्रको रुपमा रहेको अमेरिका र अर्को शक्तिको रुपमा उदाउँदै गरेको रुसबीच समय–समयमा क्रोएसिया र युक्रेनको विषयलाई लिएर हुने द्वन्द्व र त्यसले उत्पन्न हुने आर्थिक अस्थिरता सुनको मूल्य बढ्ने कारण हो,’ अर्थशास्त्री डा. अधिकारी भन्छन् ।

अमेरिका र उत्तर कोरियाबीच बढेको द्वन्द्व, इराक र इरानमा अमेरिकाले गरेको हस्तक्षेप, अमेरिका र चीनबीचको व्यापार युद्ध, क्यानडा र चीनबीचको व्यापारिक द्वन्द्व, साउदी अरबले कतारमाथि लगाएको आर्थिक नाकाबन्दीलगायतका कारण विश्वको आर्थिक क्षेत्र अस्थिर भइरहेको बताउँदै अधिकारीले यसका कारण लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित देखिएको बताए।

अर्का अर्थविद् तथा आर्थिक संघका अध्यक्ष विश्वम्भर प्याकुर्‍याल पनि पछिल्लो एक दशकमा विश्वका लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भएको बताउँछन् ।

‘भारतसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (पेग) भएका कारण कहिलेकाहीँ भारतमा भएको आर्थिक अस्थिरताका कारण पनि नेपालमा मूल्य बढ्छ,’ उनले भने ।

सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीले लगानीकर्तालाई अत्याएका कारण सानो आर्थिक समस्या आए पनि लगानीकर्ता सुनतर्फ आकर्षित भइहाल्ने गरेको र यसले गर्दा मूल्य बढेको उनको भनाइ छ ।

पछिल्लो एक दशकमा लगानीकर्ताले पूर्णरुपमा आफ्नो लगानी सुरक्षित भएको अनुभव गर्न नसकेको र उनीहरुले सुनमा लगानी बढाएका कारण पनि सुनको मूल्यमा चाप परेको प्याकुर्‍याल र अधिकारीको तर्क छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य कायम हुने भएकोले कसैले पनि चाहेर सूनको मूल्यमा घटबढ नहुने बताउँछन् । उनले भने, ‘भन्सार दर केही कम गरे तोलामा एक–दुई हजार कम गर्न सकिएला, नत्र केही हाम्रो हातमा छैन।’

नेपालमा सुनको मूल्य निर्धारण गर्ने अधिकार व्यवसायीलाई नै छ । अन्तर्राष्ट्रिय मूल्य, नेपालको भन्सार दर, बैंकर्स एसोसिएसनलाई सुन ल्याइदिएबापत दिनुपर्ने कमिसन र ०.५ प्रतिशत व्यापारीको ज्याला जोडेर सुनचाँदी व्यवसायी महासंघले बजार मूल्य निर्धारण गर्छ।

कहिले कति थियो सुनको मूल्य (प्रति १० ग्राम)
२०६६– २२,८५०
२०६७– ३४,९३५
२०६८– ४७,७५५
२०६९– ५३,०२५
२०७०– ५४,२७०
२०७१– ५४,२७०
२०७२– ४०,४६५
२०७३– ४७,६७०
२०७४– ५०,५००
२०७५–५४,२७०
२०७६– ६३,९६०

प्रकाशित: Jan 10, 2020| 17:05 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्