विहीबार, असार १८, २०७७

विचार

कोरोनाले घात गर्न सक्छ, सचेत बनौं, सहकार्य गरौं

1584615064army_corona.jpg
कोरोना संक्रमितलाई राख्न नेपाली सेनाले टुँडिखेलमा बनाएका टेन्टका आइसोलेसन कक्ष। तस्बिर: दिनेश श्रेष्ठ

समाजमा उत्पन्न अन्योल र त्रास बेलैमा चिर्न सरकार, सञ्चारमाध्यम र अन्य सरोकारवालाले थप काम गर्नु जरुरी छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयका परीक्षा स्थगित भएसँगै कोरोनाको त्रास अब लाखौं विद्यार्थी, अभिभावक, शिक्षक हुँदै समाजमा फैलिँदो छ।

योसँगै जोखिम कम गर्न सरकारले गरेका घोषणा (जुन अत्यावश्यक थियो) ले पनि एक प्रकारको सन्देह उत्पन्न गरेको छ।

त्रास र भ्रमको आयतन कोरोना भाइरसको वास्तविकताभन्दा धेरै गुणा ठूलो हुन सक्छ। त्यसैले समाजमा उत्पन्न अन्योल र त्रासलाई बेलैमा चिर्न सरकार, सञ्चारमाध्यम र अन्य सरोकारवालाले थप काम गर्नु जरुरी भइसकेको छ।

यो किन पनि जरुरी छ भने चीनमा कोरोना तीव्र रूपमा फैलँदै गर्दा त्यसकाे त्रासका कारण हृृदयघातबाट ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य थियो।

हो, मिडियाले सत्य सूचना दिनैपर्ने हुन्छ। तर, कोरोनाबाट विश्वमा भइरहेको क्षतिका विवरण दिँंदै गर्दा यसबाट नआत्तिन र बचाउका लागि के गर्ने भन्ने उपाय पनि भरपर्दो तरिकाबाट पस्किनैपर्छ।

कुनै संस्थाले गरेको शोधलाई राम्रोसँग अध्ययन नगरी, त्यसको विश्वसनीयता जाँच नगरीकनै ‘कोरोनाबाट लाखौंको मृत्यु हुने’ जस्ता अनुमानका समाचार दिनु भनेको समाजमा त्रास फैलाउनु मात्रै हो। त्यसैले सरकारसँगै यतिबेला मिडिया पनि सचेत हुनु जरुरी छ।

कोरोनाबाट संक्रमितमध्ये करिब ८० प्रतिशत आफैंं ठिक हुन्छन्, संंक्रमणबाट जोगिन नियमित हात धुनुपर्छ र सामाजिक दूरी कायम गर्नुपर्छ जस्ता सूचना मात्रै पनि आमजनतामा राम्रोसँग सम्प्रेषण हुन सकेको छैन।

संक्रमितमध्ये अधिकांशको ज्यान जाँदैन भनेर विज्ञहरूले भनिरहँदा आमजनताले कोरोनासँग कसरी जुध्ने भन्ने थाहा पाएका छैनन्।

संक्रमित भएकामध्ये अधिकांश ठिक भएर घर फर्किसकेको र करिब नौ हजारको मृत्यु भएको संख्यालाई सानो भन्ने कि ठूलो? हामीले ती मृत्यु भएकाहरुको स्वास्थ्य अवस्था पहिले कस्तो थियो भन्ने बुझाउन सकेका छैनौं।

‘वनको बाघभन्दा मनको बाघ ठूलो’ भन्ने नेपाली उखान त्यसै बनेको होइन।

२०७२ को भूकम्पपछि नेपालीलाई सामान्य जीवनमा फर्कन कति सकस परेको थियो– विशेष गरी बालबालिका तथा वद्धवद्धालाई, त्यो भुल्नु हुँदैन।

तसर्थ समाजका यी संवेदनशील एकाइमा पर्न सक्ने कोरोनाको मानसिक त्रास न्यून गर्न तथा समस्या बेलैमा नियन्त्रण गर्न फेरि एकपटक सबैले बल गर्नु जरुरी छ।

सत्तासीन दलकाे घमण्ड

एसईईलगगायत अन्य परीक्षा स्थगित गर्नु जरुरी थियो र सरकारले त्यो गर्‍यो पनि। तर, देशमा हुने सबभन्दा ठूलो परीक्षा सुरु हुनुभन्दा १३ घण्टाअघि मात्र परीक्षा स्थगितको सूचना जारी गर्नुले चाहिँ कोरोनाबारेको बुझाइमा सरकार गम्भीर नरहेको पुष्टि भएको छ।

त्यसमाथि परीक्षा स्थगितको निर्णय गरेको नेकपा हाइकमान्डले विश्वविद्यालय र एसईईका बोर्डका पदाधिकारी त के शिक्षा मन्त्रालयसँग समेत परामर्श नगरी सूचना बाहिर चुहाउनुले उसको घमण्ड र गैरजिम्मेवारीपन प्रस्ट हुन्छ।

यसअघि इबोला, सार्सलगायतको संक्रमणबाट संयोगवस बचेको घटनालाई आधार बनाएर अहिले पनि ‘पशुपतिनाथले जोगाउँछन्,’ भन्ने केही व्यक्तिको भ्रम छ।

केही अघिसम्म सरकारको पनि यस्तै धारणा रहेको उसले गरेका निर्णय र मन्त्रीहरूको अभिव्यक्तिले प्रस्ट हुन्छ।

होसियार हुने बेलामा हाम्रा सरकारी निकाय देशलाई ‘कोरोना मुक्त’ घोषणा गरिरहेका थिए। चीनबाट अन्य देशमा समेत कोरोना फैलिसक्दा पर्यटनमन्त्री भिजिट नेपालको प्रचारमा घुम्दै गर्नुबाट पनि यो प्रस्ट भइसकेको थियो।

अघिल्ला महामारीभन्दा यस पटकको संक्रमण घातक छ किनभने यो फैलने दर उच्च छ। इटालीले चीनबाट गएका कामदार बेपत्ता हुँदा तिनलाई निगरानी नगरेपछिको परिणामले जुन मानवीय क्षति व्यहोरिरहेको छ र सारा युरोपलाई कोरोनाको चपेटामा पार्दै छ त्यसबाट हामीले पाठ सिक्नुपर्छ।

नेपालमा हाल संक्रमण भएको पुष्टि नभए पनि ढुक्क भएर बस्न सकिने अवस्था छैन।

त्योे, किन पनि भने जतिबेला चीनमा कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको थियो, त्यसबेला नेपालमा चीन र अन्य प्रभावित देशका थुप्रै नागरिक नेपाल भित्रिरहेका थिए। अहिले पनि विदेशबाट आउनेहरु क्वारेन्टाइनमा नबसी घुम्न निस्केका खबर आइरहेका छन्। उनीहरुको परीक्षण पनि गरिएको छैन।

नेपाल आएकाहरूको स्वास्थ्य जानकारी नराखिँदा ढुक्क हुन सक्ने आधार छैन। एक हजारभन्दा थोरै संख्यामा परीक्षण गरेर देशभर कोरोना छैन भनेर ठोकुवा गर्नु युक्तिसंगत नहोला।

करिब पचास लाख आवादी भएको काठमाडौं उपत्यका र प्रमुख सहर पोखरा, विराटनगर, वीरगन्ज, जनकपुर वा साना सहर तथा चीन र भारतसँग नाका जोडिएका सहर कहींकतै कोरोना भए नभएको ढुक्कसँग परीक्षण गरिएको छैन।

पक्कै पनि, नेपालमा कोरोना संक्रमण कहींकतै भए पनि यसले महामारीको रूप धारण गरेको छैन। हामीले संक्रमणबाट जोगिने तयारीका लागि पर्याप्त समय पाएका छौं। 

अब कसरी अघि बढ्ने भन्नेमा गम्भीर नहुने हो भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ।

अहिले नै कोराना परीक्षणका लागि पर्याप्त मात्रामा ‘किट’ नभएको समाचार आइरहेका छन्। संक्रमण फैलन थाल्यो भने बिरामीलाई आइसोलेसनमा राख्न नेपाली सेनाले टुँडिखेलमा कसेका टेन्टले मात्रै थेग्न सक्ने छैन। बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीका लागि अझैसम्म तालिम, बडी सुट, पञ्जा र विशेष मास्कको व्यवस्था पनि पर्याप्त हुन सकेको छैन।

कोरोना संंक्रमितको उपचारका लागि विश्वका विभिन्न देशमा गरिएका नयाँ प्रयास अनुसन्धानबारे जानकारी राख्ने दक्ष जनशक्ति हामीले विकसित गर्न सकेका छैनौं।

अहिलेसम्मको अनुभवका आधारमा के देखिएको छ भने कोरोेना संक्रमितमध्ये ८० प्रतिशत आफैं ठिक हुन्छन्। तर तीमध्ये ६ देखि ८ प्रतिशतको अवस्था गम्भीर हुन्छ।

गम्भीर बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन सक्छ। यस्ता बिरामीलाई उपचार अभाव हुन नदिन सरकारले बेलैमा सोच्नुपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओली लामो समयदेखि आफैंं अस्वस्थ र ‘आइसोलेटेड’ छन्। सरकार झन्डैझन्डै ‘अटो मोड’ मा चलेको जस्तो देखिन्छ।

सत्य के हो भने अहिले हामीलाई ‘प्रिभेन्टिभ’ कार्यसँगसँगै संक्रमण तीव्र भएमा के गर्ने भन्ने स्पष्ट कार्ययोजना र त्यसअनुसारको सम्पूर्ण व्यवस्था चाहिएको छ।

कोरोनाले घात गर्न सक्छ, सचेत बनौं, सहकार्य गरौं।

याे पनि :

कोरोनाबारे कसरी कुरा गर्ने बालबालिकासँग ?

कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, सरसफाइमा ध्यान दिऔं

कोरोना : सामाजिक दूरी किन जरुरी ?

प्रतिक्रिया दिनुहोस्