शनिबार, वैशाख १५, २०८१

महान् वैज्ञानिक टेस्ला जो वेदान्तबाट प्रभावित थिए

७ जनवरी महान् वैज्ञानिक निकोला टेस्लाको जन्मदिन हो। आफ्ना आविष्कारबाट मानवजीवनलाई अथाह योगदान गरेको उनी वेदान्त दर्शनबाट प्रभावित थिए।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

७ जनवरी महान् वैज्ञानिक निकोला टेस्लाको जन्मदिन हो। आफ्ना आविष्कारबाट मानवजीवनलाई अथाह योगदान गरेका उनी वेदान्त दर्शनबाट प्रभावित थिए।

triton college

सन् १८८४ को जुन महिना, जब निकोला टेस्ला अस्ट्रियाबाट न्युयोर्क गए। उनी अर्का महान् वैज्ञानिक थोमस एल्बा एडिसनलाई भेट्न जाँदै थिए।

टेस्लासँग एडिसनका पूर्वसहयोगीले लेखेको पत्र थियो। जसमा लेखिएको थियो, ‘म यो विश्वका दुई महान् व्यक्तित्वलाई चिन्छु। यीमध्ये एक तिमी हौ र दोस्रो जोसँग तिमी भेटिरहेका छौ।’

‘सबैभन्दा महान् को ?’ कुनै पनि क्षेत्रका लागि यो सर्वकालिक चाखलाग्दो प्रश्न हो। २८ वर्षका अत्यन्तै प्रभावशाली युवा वैज्ञानिकको जब पहिलो पटक एडिसनसँग भेट भयो त्यसै बेला उनीसँगै आइपुगेको चिठीले यो प्रश्नको जग खडा गरेको थियो।

यी दुवै वैज्ञानिकलाई बिजुलीका क्षेत्रमा अद्भुत सिद्धान्त प्रतिपादन र जीवनोपयोगी अविष्कारका लागि सम्झिइन्छ। यसै कारण यी दुईबीच तुलना भइरहन्छ।

corrent noodles
Metro Mart

बल्ब बनाएर संसारलाई उज्यालो दिने थोमस एल्वा एडिसन महान कि अल्टरनेट करेन्ट (एसी) को प्रयोगलाई व्यावहारिक बनाएर पृथ्वीको कुनाकुनासम्म विद्युत पुर्‍याउने निकोला टेस्ला महान?

आममानिसको कुरा गर्ने हो भने एडिसन धेरै लोकप्रिय छन्। उनलाई एक प्रेरक व्यक्तित्वका रुपमा विश्वभरका विद्यालयका पाठ्यक्रममा पढाइन्छ।

बाल्यकालमै सुन्ने क्षमता गुमाउँदै गरेका एडिसनकोे यो शारीरिक कमजोरी विज्ञानप्रतिको उनको तन्मयतामा बाधक हुन सकेन। उनी एक्लैले अमेरिकामा एक हजारभन्दा धेरै आविष्कारको पेटेन्ट आफ्नो नाममा गराएका थिए।

अर्कोतर्फ निकोला टेस्ला यो मामिलामा केही दुर्भाग्यशाली मानिन्छन्। तर, यदि उनका वैज्ञानिक सिद्धान्त र आविष्कारमा ध्यान दिने हो भने उनी एडिसनभन्दा कत्ति पनि कम लाग्दैनन्।

टेस्लाले एडिसनलाई पछारेका थिए

थोमस एल्वा एडिसन

निकोला टेस्लाको जन्म १६४ वर्षअघि सन् १८५६ मा तत्कालीन सर्बियामा भएको थियो। उनी युवा अवस्थामै मातृभाषा सर्बोका साथै अंग्रेजी, फ्रेन्च, जर्मन लगायत आठ भाषामा पोख्त भइसकेका थिए। गणित र विज्ञानमा उनले विशेषज्ञता हासिल गरिसकेका थिए।

अस्ट्रियकाे ग्रेजस्थित पोलिटेक्निक इन्स्टिच्युटमा इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहँदा विद्युतकाे एउटा रुप डाइरेक्ट करेन्ट (डीसी) लाई त्यस बेला जसरी बढाइचढाइ गरेर उपयोगी भनिएको थियो उनले त्यो गलत छ भन्ने बुझिसकेका थिए। त्यसबखत टेस्लाले यसको अर्को विकल्पलाई धेरै उपयोगी बनाउन सकिनेबारे अनुसन्धान बढाए।

डीसी इलेक्ट्रोन एउटै दिशामा गतिमान रहने हुँदा यस्तो बिजुलीलाई लामो दूरीसम्म पठाउन सकिँदैन। उता एसीमा इलेक्ट्रोनले बारम्बार आफ्नो दिशा परिवर्तन गरिरहने हुँदा विद्युत धेरै टाढासम्म प्रसारण गर्न सकिनेमात्र होइन, त्यसलाई धेरै तरिकाले उपयोगी बनाउन पनि सकिन्छ।

१९ औं शताब्दीसम्म डीसी करेन्टलाई जादुका रुपमा हेरिँदै थियो, जादुगर थिए एडिसन। टेस्लाको रुचि पनि यसै क्षेत्रमा थियो। आखिरमा उनले सन् १८८४ मा एडिसनलाई भेटेका थिए, जसको उल्लेख यस आलेखको सुरुमै गरिएको छ।

त्यस बेलासम्म एडिसन आविष्कारकका साथसाथै उद्योगपतिसमेत भइसकेका थिए। उनले डीसी विद्युत वितरणका लागि प्लान्ट तयार पारेका थिए । उनी चाहन्थे टेस्लाले यसमा थप सुधार गरुन्।

टेस्लाले आफ्नो संस्मरणमा लेखेका छन्, ‘एडिसनले काम सम्पन्न भएपछि ५० हजार अमेरिकी डलर दिने वाचा गरेका थिए तर, पछि उनले टाउको फर्काए।’ यसले टेस्लालाई चोट पुर्‍यायो र उनले तत्कालै एडिसनको साथ छोडे।

त्यस बेलासम्म अमेरिकी लगानीकर्ता र वैज्ञानिकबीच ‘एसी पावर सिस्टम’ र ‘एसी मोटर’मा टेस्लाले गरेको कामले विद्युतका क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने प्रचार भइसकेको थियो।

यसै सोचका साथ वेस्टर्न युनियन कम्पनीले तुरुन्तै टेस्लालाई कामको प्रस्ताव गर्‍यो। टेस्लाले यहीं एसी पावर सिस्टम र मोटरको विकास गरेका थिए। यी यस्ता आविष्कार थिए जसले विद्युत प्रसारणका क्षेत्रमा एडिसनको कम्पनी– एडिसन इलेक्ट्रिक लाइटलाई धेरै पछाडि पारिदिए।

पछि टेस्लाले यी आविष्कार अर्को कम्पनीलाई बेचे । वेस्टिङ हाउस इलेक्टिक कम्पनीले यी नयाँ आविष्कारका आडमा एसी विद्युतलाई अमेरिकाभर प्रचलनमा ल्याइदियो र एडिसन यस क्षेत्रबाट पछाडि हटे।

उसो त यो कम्पनीहरुबीचको लडाइँ थियो तर, यसले वैज्ञानिक आविष्कारकका रुपमा टेस्लाको प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍यायो। उनले विकास गरेको एसी ट्रान्सफर्मर र एसी मोटरले विद्युतको उपयोगितालाई नयाँ पखेटा लगाइदिए । यी बिना हामी औद्योगिक क्रान्तिको कल्पना गर्न सक्दैनौं।

यसपछि टेस्लाले ‘टेस्ला क्वाइल’ को आविष्कार गरे। यो यस्तो खोज थियो जसको प्रयोग एक्स रेदेखि वायरलेस कम्युनिकेसनसम्ममा भयो। यसै खोजका कारण टेस्लाले एक अर्का उद्यमी गुलिलमो मार्कोनीसँग लामो कानुनी लडाइँ लड्नुपर्‍यो।

मार्कोनीलाई विश्वले रेडियोका आविष्कारकका रुपमा चिन्छ। तर टेस्लाको दाबी थियो, टेस्ला क्वाइलसँगै उनले रेडियोको पनि आविष्कार गरिसकेका थिए। पछि यो मुद्दा अमेरिकाको शीर्ष अदालतसम्म पुग्यो । याे धेरै कमलाई मात्र थाहा होला, अदालतले मार्कोनीका तमाम दाबीलाई खारेज गर्दै रेडियो आविष्कारकाे श्रेय टेस्लालाई दिएको थियो।

यद्यपि, यो फैसला आउँदा (७ जनवरी, १९४३) सम्म टेस्लाको निधन भइसकेको थियो।

स्वामी विवेकानन्दले एक पत्रमा लेखेका छन्, ‘टेस्ला आफ्नो प्रयोगमा सफल भए भने वेदान्तको वैज्ञानिक आधार पुष्टि हुनेछ।’

टेस्लामाथि वेदान्तको प्रभाव

स्वामी विवेकानन्द

स्वामी विवेकानन्द जुलाई १८९३ मा अमेरिका पुगेका थिए। सेप्टेम्बरमा विश्व धर्म संसद आयोजना भएको थियो जसमा विवेकानन्दले हिन्दू धर्मको वेदान्त दर्शनलाई अमेरिकी बौद्धिक जगत्‌का माझ पुर्‍याए।

टेस्ला र एडिसनको प्रतिद्वन्द्वीता र उनीहरुका आविष्कारको ठूलो प्रचार हुँदै गरेको यो कालखण्डमा अमेरिकाका सामान्य पढेलेखेका माझ विज्ञानप्रति जागरुकता र जिज्ञासा फैलिसकेको थियो।

यसै समय अमेरिकाको चेतनासम्पन्न वैज्ञानिक समाज वेदान्त दर्शनसँग परिचित हुन पुग्यो।

संसारको सबैभन्दा प्राचीन धर्मको वेदान्त दर्शनलाई यो समाजले धेरै अर्थमा वैज्ञानिक ठान्न थाल्यो। कुनै पनि वस्तु अथवा घटनाको मूलमा एउटा परम् सत्ताको उपस्थिति र प्रकृतिका साथ जीवनको एकात्मकता वेदान्त दर्शनको मूल सूत्र थियो, जसले त्यस बेलाको वैज्ञानिक समुदायलाई आकर्षित गर्‍यो।

भनिन्छ, निकोला टेस्ला पनि वेदान्त दर्शनबाट निकै प्रभावित थिए। सन् १९०७ मा उनले ‘मेन्स ग्रेटेस्ट अचिभमेन्ट’ शीर्षकमा एउटा आलेख लेखे। यसमा उनले ‘आकाश’ र ‘प्राण’ जस्ता संस्कृत शब्दहरु प्रयोग गरेका छन्।

उनले लेखेका छन्, ‘जुन पदार्थहरुको अनुभूति गर्न सकिन्छ ती मूल रुपमा एउटै तत्त्व वा त्यसको शून्यबाट निस्कन्छन् जसको कुनै सुरुआत हुँदैन, जसबाट प्रत्येक स्थान भरिएको छ । जो जीवनदायिनी प्राण वा रचनात्मक ऊर्जाबाट प्रभावित हुन्छ...’

टेस्ला पदार्थ–ऊर्जा सम्बन्धलाई गणितका माध्यमबाट स्थापित गर्न सफल भएनन् तर, उनमा परेको वेदान्त दर्शनको प्रभावका कारण यसलाई स्वीकार गर्थे।

भनिन्छ, स्वामी विवेकानन्दको भेटपछि नै उनले वेदान्त दर्शनमाथि गम्भीर चिन्तन सुरु गरेका थिए। यसको ठोस प्रमाण नभए पनि केही दस्तावेजहरुले यस्तै संकेत गर्छन्।

यीमध्य पहिलो त विवेकानन्दको पत्र नै हो जो उनले सायद टेस्लासँगको भेटभन्दा केही दिनअघि लेखेका थिए। पत्रमा उनी भन्छन्, ‘गणितीय सूत्रबाट बल र पदार्थ ऊर्जामा रुपान्तरण हुन्छन् भन्ने कुरा साबित गर्न सकिने टेस्ला ठान्छन्। अर्को साता म उनलाई भेटेर यो नयाँ गणितीय प्रयोग हेर्न चाहन्छु। (विवेकानन्द रचनावली, भोल्यूम– ४)।

यसै पत्रमा विवेकानन्द अगाडि भन्छन्, ‘टेस्लाको यो प्रयोगले वेदान्तको वैज्ञानिक आधारलाई प्रमाणित गर्नेछ। जसअनुसार यो सम्पूर्ण विश्व एक अनन्त उर्जाको रुपान्तरण हो।’

यसबाहेक अन्तर्राष्ट्रिय टेस्ला सोसाइटीका अध्यक्ष टबी ग्रोट्जको एक आलेखमा पनि एउटा सार्वजनिक कार्यक्रममा स्वामी विवेकानन्द र निकोला टेस्लाको भेट भएको उल्लेख छ।

यद्यपि, टेस्ला पदार्थ–ऊर्जा सम्बन्धलाई गणितबाट स्थापित गर्न सफल हुन सकेनन् तर, वेदान्त दर्शनको प्रभावका कारण उनी यसलाई स्वीकार्थे। पछि अल्बर्ट आइन्सटाइनले पदार्थ–ऊर्जा सम्बन्ध समीकरणलाई प्रमाणित गरेका थिए र यो एक किसिमले वेदान्त दर्शको मूल विचारको स्थापना थियो।

सत्याग्रहबाट अनूदित

प्रकाशित: Jan 07, 2020| 18:54 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।