शनिबार, चैत १५, २०७६

समाचार समाज

शासकदेखि श्रमिकसम्म सबैलाई चाहिने आलुको कथा

शासकदेखि श्रमिकसम्म सबैलाई चाहिने आलुको कथा
क्यानडामा सन् १६२३ देखि आलु खेती सुरु भएको मानिन्छ। तस्बिर स्रोत : अन्तर्राष्ट्रिय आलु केन्द्र

दुनियाँभरका संस्कृतिमा मुख्य भोजन बनेको आलु, किसान, शासक, सन्त, मजदूर सबैका लागि अनिवार्य जस्तै छ। यसका सम्भावना अनन्त छन्।

रोलाँ बार्थले सन् १९५७ मा प्रकाशित निबन्ध संग्रह ‘मिथोलोजी’ मा आलु चिप्सबारे लेखेका छन्– यो अमेरिकाको रैथाने खान्की हो, जुन ‘राष्ट्रवादी’ तथा ‘फ्रान्सेली पोषणयुक्त खानाको 'प्रतीक’ पनि हो।

आलु दक्षिण अमेरिकाको एन्डिज क्षेत्रमा झन्डै ८ हजार वर्षअघिदेखि प्रयोगमा आउन थालेको मानिन्छ। युरोपमा त सन् १५०० को मध्यतिर मात्रै पुगेको हो। तर, अहिले आलु विश्वभरमै लोकप्रिय खानेकुरा बनेको छ।

‘दक्षिण अमेरिकाको एन्डिज क्षेत्रमा उत्पत्ति भएको आलु विश्वकै एउटा सफल खाना हो,’ खानपान विषयकी ज्ञाता रिबेका अर्ल भन्छिन्।

उनको पुस्तक ‘फिडिङ द पिपुल : द पोलिटिक्स अफ पोट्याटो’ मा आलुको विश्वव्यापी यात्राबारे वर्णन छ। उनी भन्छिन्, ‘आलु विश्वको जुनसुकै ठाउँमा उत्पादन गरिन्छ। सबै ठाउँका मान्छेले यसलाई आफ्नै खानाका रूपमा लिएका छन्।’

रिबेका आलुलाई ‘एउटा अत्यन्तै सफल आप्रवासी’ मान्छिन्। धेरै ठाउँका उत्पादक तथा उपभोक्तालाई आलुको उत्पत्तिबारे जानकारी छैन।

अमेरिकाको इडाहो क्षेत्रका किसान तथा आलुको ‘नो–की’ खान रुचाउने इटालियन मात्र होइन, पेरुका बासिन्दा पनि आलुलाई आफ्नै दाबी गर्छन्।

अहिले चीन, भारत, रसिया र युक्रेन आलु उत्पादक प्रमुख देश हुन्। तर आलु उत्पादन नहुने देश संसारमा छैन।

प्रत्येेक राष्ट्रको आलुसँग अन्तरंग तथा जटिल सम्बन्ध हुनुका साथै सामाजिक र अर्थव्यवस्था पनि अन्तरघुलित छ। यद्यपि यी मुलुकले आलुलाई आफ्नो रैथाने भन्न सक्दैनन्।

विश्वका महत्त्वपूर्ण अन्न बालीमध्ये धान, गहुँ र मकैपछि आलु चौथोमा छ। गैरअन्न बालीमा त आलु पहिलो स्थानमै छ। आलुले कसरी केही शताब्दीमै संसारलाई मोहित गर्न सक्यो त?

आलुमा भएको पोषण तत्त्वले नै यसलाई सबल बनाएको हो। अरु बालीभन्दा आलु खेती गर्न सजिलो हुने भएकाले पनि यसको विस्तार भएको हो।

नबिग्रने गरी भूमिगत रुपमा लुकाउन सकिने भएकाले आलुले युद्ध तथा कर असुल्नेबाट जोगिने अवसर पायो । खेतमा काम गर्ने किसानसँगको मित्रताका कारण पनि यसले विस्तार हुने मौका पायो।

आलुमा भएको पोषण तत्त्वले नै यसलाई सबल बनाएको हो। अरु बालीभन्दा आलु खेती गर्न सजिलो हुने भएकाले पनि यसको विस्तार भएको हो।

एन्डिज क्षेत्रमा आलुमा सबैभन्दा धेरै जैविक विविधता पाइन्छ,’ अन्तर्राष्ट्रिय आलु केन्द्र (सीआईपी) का सिनियर क्युरेटर रेने गोमेज भन्छन् ।

पेरुको राजधानी लिमाभन्दा एक हजार किलोमिटर दक्षिणपूर्व बोलिभियामा पर्ने ३८ सय मिटरमा अवस्थित टिटिकाका तालनजिकै आलुलाई घरेलुकरण गरिएको गोमेज बताउँछन्। त्यसपछि आलुको तीव्र विस्तार भयो र आदिवासी समुदायको प्रमुख खाना बन्यो।

अमेरिका बाहिर

सन् १५४३ मा स्पेनले आक्रमण गरेपछि इन्का सभ्यताको महत्ता सकियो तर आलुखेती रोकिएन। स्पेनिसले आलुलाई प्रशान्त महासागरपारि पुर्‍याए।

उनीहरुले आलु मात्र होइन- गोलभेँडा, मकै, एभोकाडो पनि लगेका थिए । तर, आलुले मात्र अमेरिका पार गरेर अन्यत्र पुग्ने अवसर पायो।

आलुका सुरुवाती प्रजातिलाई स्पेन र युरोपका मुख्य क्षेत्रमा हुर्कन सहज भएन।

विकासवादी जेनेटिक विज्ञ हर्नान ए बुर्बानो राओका अनुसार जहाँ पहिलोपटक आलुलाई घरेलुकरण गरिएको थियो, त्यहाँ दिनको समय एकनासको हुन्थ्यो र आलुका बिरुवाले दैनिक १२ घण्टा घामकोे उज्यालो पाउँथे।

युरोपमा ल्याइएका आलुका बिरुवा लामो गर्मीका कारण हुर्कन सकेनन्। शरद् ऋतुमा बल्लबल्ल हुर्किए। हिउँदको प्रखर चिसोमा बच्न सकेनन्।

सन् १५८० मा आयरल्यान्डमा आलु राम्रोसँग फस्टायो। तुसारोरहित चिसोमा आलु हुर्कियो।

एक शताब्दी खेती गरेपछि किसानले त्यस्तो प्रजातिको आलु छनोट गरे, जुन गर्मीमा पनि फल्न थाल्यो। अनि त आलुले शताब्दीसम्म ‘किसानको मुख्य बाली’ को पगरी लगाउन पायो।

विनयी कन्दमूल

पौष्टिक आहार दिने आलुको अद्वितीय विशेषताका कारण गाउँलेले आलुलाई महत्त्वपूर्ण बनाइदिए। आयरल्यान्डमा साहुले जग्गाको भाडा बढाइदिँदा भाडामा लिएकाले पनि अर्कोलाई भाडामा दिनुपर्ने अवस्था थियो।

अनि थोरै ठाउँमा पनि धेरै आलु उत्पादन गर्नुपर्ने बाध्यता आइलाग्यो।

‘प्रति एकड धेरै फल्ने बाली आलु नै थियो। यसलाई धेरै हेरचाह गर्नु पर्दैनथ्यो। भण्डारण गर्नुपर्ने समस्या पनि थिएन,’ जेम्स ल्याङले आफ्नो पुस्तक ‘नोट्स अफ अ पोट्याटो वाचर’ मा लेखेका छन्।

भिटामिन ‘ए’ र ‘डी’ बाहेक आलुमा सबै महत्त्वपूर्ण भिटामिन पाइन्छ। त्यसैले सबै बालीभन्दा आलु आफ्नो जीवन सहयोगी गुणले गर्दा अतुलनीय छ।

आलुको बोक्रा नताछीकन दुग्धजन्य पदार्थ मिसाउने हो भने आलुमा भिटामिन ‘ए’ र ‘डी’ पनि पाइन्छ र यो आडिलो मानवीय खान्की बन्छ। प्रत्येक १ सय ग्रामको एउटा आलुमा २ ग्राम प्रोटिन पाइन्छ।

सन् १६०० को मध्यतिर प्रत्येक वयश्क मानिसले प्रतिदिन साढे पाँच किलो आलु खान्थे।

आयरल्यान्डमा अठारौं तथा उन्नाइसौं शताब्दीमा एक एकड भूमिमा लगाइएको आलु र एउटा गाईको दूध सात–आठ जनाको परिवारका लागि पोषणका दृष्टिले पर्याप्त हुन्थ्यो।

आलुबाहेक कुनै पनि अन्नले त्यो स्तरको पोषण दिन सक्दैन। यसरी आयरिस र ब्रिटिस किसानबीच शताब्दी लामो भाडाको जमिनमा लगाइएको आलु नियन्त्रणको होड नै चल्यो।

आयरल्यान्डमा अठारौं तथा उन्नाइसौं शताब्दीमा एक एकड भूमिमा लगाइएको आलु र एउटा गाईको दूध सात–आठ जनाको परिवारका लागि पोषणका दृष्टिले पर्याप्त हुन्थ्यो।

ल्याङका अनुसार सन् १६५० सम्ममा आलु युरोपका होचो भूभागमा पुगिसकेको थियो। सन् १७४० मा आलु जर्मनी, पर्सिया र पोल्यान्ड पुग्यो भने सन् १८४० मा रसिया।

स्थानीय वातावरणमा राम्रोसँग नफल्ने प्रजातिलाई किसानले छाँट्दै गए। उन्नत प्रजातिलाई प्रवर्द्धन गरे।

सात वर्षसम्म चलेको अस्ट्रियन युद्धले युरोप थिलथिलो भएको थियो। युद्धग्रस्त युरोपेली फाँटमा किसानले आलु लगाउनुको अर्को फाइदा फेला पारे– आलु लगाउँदा खेती लुटिने तथा कर तिर्नुपर्ने सम्भावना कम थियो।

‘खेतबारीका गह्रामा लगाइएको गहुँ टड्कारै देखिन्छ, लुकाउन सकिँदैन,’ रिबेका अर्ल भन्छिन्। आलुको फसल कस्तो र कति हुन्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ। कति कर तोक्ने भन्ने पनि यकिन हुँदैनथ्यो। जमिनमुनिको आलु एक-एक उधिनेर हेर्नु सम्भव थिएन।

‘यसरी खण्डीकृत रुपमा गरिने आलुखेतीले किसानलाई कर तिर्न जोगायो भने युद्धका बेला दह्रिलो खान्की पनि उपलब्ध भयो,’ ल्याङले लेखेकी छन्, ‘लुटेरा सैनिकले खेती नष्ट गरिदिन्थे, अन्न भण्डारमा लुटपाट मच्चाउँथे तर उनीहरु भूमि खन्न रोकिन्थे ।’

यो कुरा तत्कालीन सम्भ्रान्त वर्ग तथा सैनिक रणनीतिकारले बुझे। पर्सियाका राजा फेडरिकले सरकारलाई आलुखेती गर्ने तरिकाबारे निर्देशन दिन आदेश दिए।

अस्ट्रियन युद्धका बेला बैरी जाइलाग्न आएमा किसानले यथेष्ठ खान्की पाउँछन् भनेर उनले यस्तो गरेका थिए। अरू राष्ट्रले पनि जनतालाई आलु रोप्न लगाउने रणनीति सिको गरे।

सन् १८८० मा नेपोलियनको पालाको युद्धमा त युरोपभरि आलु जगेडा खाद्यान्नका रूपमा थियो।

युद्धका समयमा कन्दमूल प्रजातिको खाद्यान्नको धेरै महत्व थियो।

‘युरोपमा सन् १५५० पछि भएका प्रत्येक सैन्य अभियानमा आलुखेती बढ्दै गयो, जुन दोस्रो विश्वयुद्धसम्म निरन्तर थियो,’ इतिहासकार विलियम म्याकनिलले सन् १९९९ मा प्रकाशित ‘कसरी आलुले विश्व इतिहासलाई परिवर्तन गर्‍यो’ मा भन्ने लेखमा उल्लेख गरेका छन्।

आलुको विस्तार कसरी भयो भन्नेबारे अन्तर्राष्ट्रिय आलु केन्द्र (सीआईपी) ले तयार पारेको नक्सा।

 

पोषण तथा शक्ति

युरोप तथा विश्व अर्थतन्त्रमा आलु एउटा मुख्य बालीका रुपमा देखियो। खाद्य इतिहासकारहरु भन्छन्– आलु विस्तार हुनुमा प्रबुद्ध सन्तहरुको पनि योगदान छ, जसले आलु लगाउन तथा उपभोग गर्न अनिच्छुक परम्परागत सोच ग्रसित जनतालाई सम्झाए।

रिबेका अर्लको धारणा अर्कै छ। उनी तर्क गर्छिन्– युरोपमा किसानले नै आलु भित्र्याएका हुन् र उनीहरूलाई कसैले सम्झाइबुझाइ गर्नुपर्ने आवश्यकता थिएन। सम्भ्रान्तहरुले नयाँ बाली पत्ता लगाएका होइनन्।

युरोपेली खानामा उनीहरुले पोषणमा ध्यान दिनु बढी जरुरी ठाने र कुनचाहिँ बालीले पोषणयुक्त खानाको आवश्यकता पूरा गर्ला भन्नेमा केन्द्रित भए। त्यस बेला विनयी कन्दमूल आलु हाजिर भइसकेको थियो।

‘साम्राज्य विस्तार गर्न स्वस्थ खानाको प्रचुरता अति आवश्यक हुन्छ,’ रिबेकाले सन् २०१८ मा प्रकाशित ‘अठारौं शताब्दीको युरोपमा आलुको विस्तार’ शीर्षकको कार्यपत्रमा लेखेकी छन्।

युरोपका करेसा तथा खेतबारीमा आलु लगाउने श्रेय किसानलाई नै जान्छ।

उनको तर्क छ, एउटा नयाँ फसलको उदयका रुपमा आलुप्रतिको आकर्षण भएको होइन, बरु राज्य र खाद्यबीचको नवीन धारणाका रूपमा भएको हो ।

‘गहुँ खेतीबाट उत्पादित खाद्यभन्दा आलु खेतीबाट उत्पादित खाद्य धेरै उत्कृष्ट छ,’ द वेल्थ अफ नेसनमा एडाम स्मिथले लेखेका छन्, ‘अरु कुनै पनि खाद्यान्नले मानव स्वास्थ्यका लागि आवश्यक पोषणयुक्त तत्त्व दिन सक्दैन ।’

युरोपका करेसा तथा खेतबारीमा आलु लगाउने श्रेय किसानलाई नै जान्छ।

‘एडाम स्मिथ र उनका समकालीनले पोषण तत्त्वको मापन कसले गरे ? १८ औं शताब्दीका वैज्ञानिकहरू भिटामिन, प्रोटिन तथा मिनरल बारेको बुझाइमा एकमत थिएनन्,’ वरविक विश्वविद्यालयकी इतिहास विभाग प्रमुख रिबेका भन्छिन्, ‘उनीहरुले केसम्म मानेका हुन् भने आलु खाने गरेका मानिस अरु खाद्यान्न खाने मानिसभन्दा हृष्टपुष्ट र दह्रा छन् ।’

द्रुत रुपमा बढिरहेको जनसंख्यालाई राम्रो आहार दिएर आलुले मुठ्ठीभरका युरोपेली शासकलाई विश्वका अधिकांश भूभागमा आधिपत्य जमाउने आधार दियो।

एउटा आर्थिक लेख जसमा सन् १७०० पछि जन्मिएका फ्रेन्च सैनिकको विवरण अध्ययन भएको थियो। त्यसमा के उल्लेख छ भने १७०० पछि जन्मिएका सैनिक हल्का अग्लो भएको पाइयो।

द क्वाटरली जर्नल अफ इकोनोमिक्सका अनुसार आलु खेतीका लागि उपयुक्त गाउँमा आलु लगाउँदा त्यहाँका वयस्कको उचाइ एक–डेढ इन्च बढेको पाइयो ।

आलुको विस्तारसँगै युरोप तथा एसियामा जनसंख्या विस्फोटक रुपमा बढ्यो । अनुसन्धानदाताको भनाइमा यो कन्दमूलले सन् १७०० देखि १९०० बीचको दुई सय वर्षमा विश्वको एक चौथाइ जनसंख्या बढाउन योगदान दिनुका साथै सहरीकरणमा पनि योगदान दिएको छ।

‘आलुले द्रूत गतिमा बढिरहेको जनसंख्यालाई खाना उपलब्ध गराएर सन् १७५० देखि १९५० सम्म केही युरोपेली मुलुकलाई विश्वका अधिकांश भूभागको अधिपति बन्ने अनुमति दियो,’ म्याक निलले लेखेका छन्।

एन्डिज प्रत्यागमन

आयरल्यान्डमा सन् १८४५ देखि १८४९ सम्मको भोकमरीअघि आलुको निर्विवाद आधिपत्य कायमै थियो। आलुको फसल असफल हुँदा र ब्रिटिस सरकारले समस्या समाधान नगर्दा अवस्था पेचिलो बन्न पुग्यो।

लाखौं मानिसले ज्यान गुमाउनुपर्‍यो। भोकमरीले लाखौं मान्छे मर्दा पनि ब्रिटिस सरकारले राहत कार्यक्रम अघि सारेन। झन्डै १० लाख मान्छे अमेरिका प्रवासिए। १० लाख मान्छे अन्तै गए। केही दशकमै आयरल्यान्डको जनसंख्या आधा भयो।

आलुको १ सय ५१ प्रजाति रहेको मानिन्छ। ती आज हामीले उपभोग गर्ने आलुका पुर्खा हुन्। २० औं शताब्दीको सुरुमा बनेलु र घरेलु आलुको आनुवंशिकता मिश्रण गर्न थालियो।

आलुमा प्रतिरोध क्षमता विस्तार होला कि भन्ने आस वैज्ञानिकहरुको थियो। अचेल उत्पादन हुने आलु सोही प्रयासका प्रतिफल हुन्।

चीन सरकारले आलुलाई प्राथमिकताका साथ अघि बढाएको छ। भारतीयहरूमा पनि आलु पुस्तौंदेखि जीवनमा घुलमिल भइसकेको छ।

पेरु र चिलीबीच आलु कुन देशको हो भन्ने विवाद चर्किएका बेला लिमा र एन्डिजका प्रसिद्ध परिकार विज्ञ भर्जिलियो मार्टिनेजले आलुका विभिन्न नौला तथा प्राचीन परिकार पस्कने रेस्टुरेन्ट खोलेका थिए।

पेरुवासीको भनाइ के भने अहिले पेरुमा पर्ने भूभागमै प्राचीनकालमा आलुलाई घरेलुकरण गरिएको हो। पेरुको सो दाबी खण्डन गर्दै सन् २००८ मा चिलीका मन्त्रीले भने, ‘आलुका विविध प्रजाति पाइने स्थान चिली भएकाले वनस्पतिशास्त्रको सिद्धान्तअनुसार पनि चिली नै आलुको उत्पत्ति स्थल हो।’

यो विवाद आलुको गौरवपूर्ण इतिहासले गर्दा भएको हो। ‘आलु उत्पत्ति कुन देशमा भयो भन्ने विवाद गर्नु बेकार छ। किनभने जहिले आलुको विकास र विस्तार भयो, त्यतिखेर राष्ट्रको धारण नै विकसित भएको थिएन,’ आईपीसीका अनुसन्धानकर्ता चाल्र्स क्रिसम्यान भन्छन्, ‘सत्य के हो भने आलु उत्पत्ति भएको ठाउँ अहिलेको पेरुमा पर्छ ।’

बीबीसी ट्राभलका लागि डियेगो अर्गिडस अर्टिज लिखित फिचरको भावानुवाद  महेश्वर आचार्यले गरेका हुन्।)



प्रतिक्रिया दिनुहोस्