शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको अनुभव– काठमाडौंमा दुःखबाहेक केही नपाइने रहेछ

उखु किसानको अनुभव– काठमाडौंमा दुःखबाहेक केही नपाइने रहेछ

चाउरी परेको अनुहार, टाउकोमा सेतो फेटा, सेतै पातलो कछाड। चरचरी फुटेका खुट्टामा चप्पल, कलेटी परेका ओठ। यस्तै अवस्थामा माइतीघर मण्डलमा सुतिरहेका थिए।
 |  बुधबार, पुस १६, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, पुस १६, २०७६

काठमाडौं– चाउरी परेको अनुहार, टाउकोमा सेतो फेटा, सेतै पातलो कछाड। चरचरी फुटेका खुट्टामा चप्पल, कलेटी परेका ओठ। यस्तै अवस्थामा माइतीघर मण्डलमा सुतिरहेका थिए रामविलास महतो। उमेर ६० नाघिसके पनि दुई दिन अघिसम्म उनी निकै फुर्तिला देखिन्थे। अहिले भने उनलाई बोल्ने जाँगर पनि छैन। हातखुट्टा थर्थरी काम्न थालेका छन्, बेलुका भएपछि ज्वरो आउँछ, निरन्तर टाउको दुखिरहेको छ। दिउँसो त घामले जिउ तात्छ तर रात कटाउन मुस्किल छ।

triton college

रामविलास दिनभर माइतीघरमा धर्ना दिन्छन् र रात परेपछि कलंकीको कबाडीखानामा गएर सुत्छन्। पातलो सर्ट र पछ्यौराले दिउँसो त धान्छ तर राति मुस्किल। एउटा तन्ना र म्याटको भरमा कठ्यांग्रिँदै रात बिताउँछन्।

रामविलासले पहिलोपटक काठमाडौं देखेका हुन्। छिमेकीसँग ५ हजार रुपैैयाँ सापटी लिएर बारीमा काट्ने बेला भएको उखु छोडेर पुरानो उखुको भुक्तानीको आशामा केन्द्रीय राजधानी छिरेका हुन्। दुई साता भइसक्यो, एक सुको हात परेको छैन। ‘काठमाडौंमा त दुःखबाहेक केही नपाइने रहेछ,’ उनको निष्कर्ष छ।

सर्लाही दुई चिनी मिल महालक्ष्मी र अन्नपूर्णले तीन वर्षदेखिको भुक्तानी नदिएपछि रामविलास साथीहरुसँगै काठमाडौं आएका हुन्। परिवार पाल्ने आम्दानीको स्रोत नै उखु खेती हो रामविलासको तर मिलले भुक्तानी नदिँदा अवस्था नाजुक बन्दै गएको छ। वार्षिक ३६ प्रतिशत ऋण लिएर उखुखेती गरेका रामविलाससँग साँवा त के ब्याज तिर्न पनि पैसा छैन।

रामविलासजस्ता धेरै उखु किसानको अवस्था उस्तै छ। वर्षभरीको दुःखलाई अलपत्र बनाएर काठमाडौं आएका किसानहरु कहिले सडकमा त कहिले सिंहदरबारमा दुःख पोखिरहेका छन्। सिंहदरबार छिर्दा आश्वासन त पाउँछन्, पैसा पाएका छैनन्।

corrent noodles
Metro Mart

काठमाडौंको चिसोले बिरामी बनाउन थालेको छ किसानहरुलाई। किसान संघर्ष समितिका सचिव हरिश्याम राय काठमाडौंको बसाइ कष्टकर भइरहेको र स्वास्थ्य कमजोर हुँदै गएको बताउँछन्। गाउँबाट लिएर आएको पैसा सकिएको छ। बिहान–बेलुका पेटभरि खानसमेत पाएका छैनन्। बिरामी हुँदा उपचार गर्ने पैसा छैन।

‘काठमाडौंमा बहुत चिसो रहेछ, रातभरि चिसोले ज्यान तात्दैन। हिजोदेखि बिरामी परेको छु,’ रायले भने, ‘उपचार गर्न पैसा नभएपछि ४–५ जना साथीहरु गाउँ फर्किसके। यस्तै हो भने काठमाडौंमै ज्यान जाला जस्तो छ।’

मन्त्रालयले चिया बिस्कुट दिन्छु भन्यो

दुई हप्ताअगाडि काठमाडौं आएका किसानहरु एक हप्तादेखि धर्नामा छन्। उनीहरु आफूले दुःखले गरेको उत्पादनको मूल्यका लागि संघर्ष गरिरहेका छन्। सरकारी निकायबाट आश्वासनमात्र पाइरहेका छन्। ‘मन्त्रालयबाट चिया र बिस्कुट पठाइदिन्छौं भन्दै फोन आयो। हामी चिया र बिस्कुट खान नपाएर धर्ना बसेका होइनौं, आफ्नो भुक्तानी पाउने वातावरण बनाइदिए पुग्छ,’ किसानको गुनासो छ।

मधेशीलाई हेप्नी ?

माइतीघरमा हरेक दिनजसो विभिन्न आन्दोलनहरु भइरहन्छन्। कुनै आन्दोलन तथा धर्नाहरु एक दुई दिनमै शान्त हुन्छन्। उखु किसानले धर्नाथालेको एक हप्ताभन्दा बढी भइसक्यो तर समस्या समाधान भएको छैन।

एक किसान गुनासो पोख्छन्, ‘पहाडीया वा अन्य मूलका मानिसको आन्दोलन भएको भए सरकारले उहिल्यै कुरा सुुन्थ्यो होला तर हामी मधेशी भनेर हेपिएको जस्तो लाग्छ। उखु किसानले सरकार भएको अनुभूत गर्नै पाएका छैनन्।’

प्रकाशित: Jan 01, 2020| 11:33 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।