काठमाडौं– आज पुस १६ गते मेलमिलाप दिवस। २०३३ सालको यही दिन नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत प्रवासबाट ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए।
यो दिनलाई नेपाली कांग्रेसले विशेष रुपमा मनाउँदै आएको छ। आज पनि मलमेलाप नीतिबारे पूर्वराष्ट्रपति तथा कांग्रेसका पूर्वनेता रामवरण यादवदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मले विभिन्न कार्यक्रममा सहभागी भएर विचार व्यक्त गरेका छन्।
कांग्रेस अहिले आफैंभित्र संवादहीनताको स्थितिमा छ। नेताहरु गुटबन्दीमा छन्। मुलुककै पुरानो लोकतान्त्रिक दलमा सहकार्यको राजनीति अन्त्य भएजस्तै छ। यस्तो बेला बीपीको मेलमिलाप नीतिको औचित्य के ?
कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरे भन्छन्, ‘पञ्चायत सरकारले बीपीलाई मृत्युदण्डसम्म दिने सम्भावना थियो। उहाँ मृत्युको परवाह नगरी स्वदेश फर्किनुभयो, राष्ट्रियता बलियो बनाउन र स्वदेशभित्रै संघर्ष गरेर प्रजातन्त्र स्थापना गर्न।’ उतिबेला कोइरालालाई राज्यले सातवटा मुद्दा लगाएको थियो।
‘राष्ट्रियता कमजोर हुँदै छ। यसलाई बचाउनुपर्छ। राष्ट्रियता जोगाउन सबै शक्तिबीच मेलमिलाप हुनुपर्छ। राष्ट्रियता नजोगाई प्रजातन्त्र स्थापना गर्न सकिन्न। प्रजातन्त्र नभई ग्रामीण तहसम्म समाजवाद पुग्न सक्दैन। समाजवादबिना आर्थिक विकास हुन सक्दैन,’ यिनै नीति बोकेर बीपी स्वदेश फर्किएका थिए। यसैले आजसम्म वामपन्थी दलहरूले पनि बीपीलाई नेता स्वीकारेका छन्।
बीपीको मेलमिलापको नीतिलाई तत्कालीन दरबारले बुझ्दै नबुझेको टिप्पणी गर्छन् नेता घिमिरे। उनी भन्छन्, ‘दरबारले बीपीलाई नबुझेर नै जनमत संग्रह घोषणा गर्यो। दरबारले बहुदलीय प्रजातन्त्र स्वीकारेको भए नेपालको स्वरूप नै अर्को भइसक्थ्यो।’
बीपीले पञ्चायतमा उठाएको कुरा, बहुदलीय व्यवस्था, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासम्म आइपुग्दा मेलमिलाप नीतिको सान्दर्भिकता सकिएन र ? घिमिरे भन्छन्, ‘राष्ट्रिय एकताका लागि बीपीको मेलमिलाप नीतिको सान्दर्भिकता कहिल्यै सकिँदैन।’ कांग्रेसका लागि त यो नीति पार्टी रहेसम्म जीवन्त रुपमा रहिरहने उनी बताउँछन्। उनी थप्छन्, ‘धेरै कार्यकर्ता बीपी विचारधाराबाट प्रभावित छन्। तर वर्तमान नेतृत्व भाँडभैलो मच्चाउन सक्रिय छ।’
मुलुकको ठूलो लोकतान्त्रिक दल कांग्रेस यति बेला विखण्डनमा छ। पार्टी नीति स्पष्ट छैन। नारा के हो अन्योल छ। प्रतिपक्षी भूमिका मलीन छ। नेता त धेरै छन् तर सबै भाँडभैलो मच्चाउन सक्रिय। त्यसैले कांग्रेससँग बिपीको नाम जोड्नै अप्ठ्यारो परिरहेको घिमिरे बताउँछन्।
धेरैको बुझाइ २०६२–०६३ पछि कांग्रेसले मौलिक राजनीतिक पहिचान गुमाउँदै गएको भन्ने छ।
तत्कालीन ७ दल र विद्रोही माओवादीबीच १२ बुँदे सहमति भएपछि कांग्रेसले आफ्नो मौलिक नीति जनतासामु ल्याउन सकेको छैन। संघीयता, धर्म निरपेक्षता, समावेशिताजस्ता वामपन्थी दलले उठाएको मुद्दामै कांग्रेस रुमल्लिइरहेको छ।
घिमिरे भन्छन्, ‘कांग्रेसको मौलिकता के हो ? यो चाहिँ मुद्दा हामीले उठाएका हौं, त्यस कारण हामी वामपन्थी दलभन्दा भिन्न छौं भनेर जनतासमक्ष जाने हैसियत कांग्रेस नतेृत्वमा हराउँदै गएको छ।’ यसैले सर्वप्रथम कांग्रेस नेतृत्वले नै मेलमिलापको भावना बुझ्नु आवश्यक रहेको उनको सुझाव छ।