शुक्रबार, वैशाख १४, २०८१

सर्वसाधारणको बैंक खातामा निगरानी बढाउँदै सरकार

अबदेखि अरूको बैंक खातामा रकम जम्मा गर्दा पनि आफ्नो तीनपुस्ते विवरण भर्नुपर्ने भएको छ।
 |  आइतबार, पुस १३, २०७६

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, पुस १३, २०७६

काठमाडौं– अबदेखि अरूको बैंक खातामा रकम जम्मा गर्दा पनि आफ्नो तीनपुस्ते विवरण भर्नुपर्ने भएको छ। साथै, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र देखाएपछि मात्र रकम जम्मा गर्न पाइनेछ। एउटै व्यक्तिका नाममा धेरै बैंकमा निक्षेप संकलन भएको छ भने त्यसमाथि पनि निगरानी हुनेछ । आम्दानीको स्रोत खुलाउनैपर्ने व्यवस्था त छँदै छ ।

triton college

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गोएएमएल नामक सफ्टवेयर प्रयोगमा ल्याउन निर्देशन दिएपछि ग्राहकले यस्तो झन्झट व्यहोर्नुपर्ने भएको हो। यस्तो व्यवस्था वाणिज्य बैंकहरूमा ०७६ माघ १ गतेदेखि लागू हुनेछ।

व्यवसायीले भने यस्तो व्यवस्थाका कारण बैंकिङ कारोबार झन्झटिलो हुने बताएका छन्। उनीहरूका अनुसार बैंकमा भन्दा सहकारी र अनौपचारिक बजारमा कारोबार बढ्न सक्ने भएकाले अर्थतन्त्रमै समस्या पर्न सक्छ ।

अहिले बैंकहरूमा केवाईसी (नो योर कस्टमर) फर्म अनिवार्य रुपमा भर्नुपर्ने नियम छ । यसबाट सर्वसाधारण बैंकमा भन्दा सहकारीतर्फ आकर्षित भएका छन्। बैंकको निक्षेप घटिरहेको छ भने सहकारीमा बढिरहेको छ।

राष्ट्र बैंकले गोएएमएल लागू नगर्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने बताइसकेको छ। तोकिएको समयमा गोएएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीले ५ लाखदेखि १० करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। राष्ट्र बैंकको निर्देशनसँगै बैंक तथा वित्तीय संस्था उक्त सफ्टवेयर भित्र्याउने तयारीमा लागेका छन्।

corrent noodles
Metro Mart

बैंकिङ क्षेत्र पारदर्शी र सुरक्षित बनाउन गोएएमएल लागू गर्न लागिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । यस्तो व्यवस्थापछि बैंकिङ प्रणाली अन्तर्राष्ट्रिय स्तरको हुने र बैंकिङ जोखिम एवम् आपराधिक घटना न्यून हुने उनको दाबी छ ।

बैंकप्रति घट्न सक्छ आकर्षण

राष्ट्र बैंकले नीतिनियम परिवर्तन गरिरहँदा आफूले कमाएको रकमको सुरक्षा नहुने चिन्ता कतिपयलाई बढेको छ। यस्तै चिन्ताले बैंकमा रकम जम्मा गर्नै छाडेको बताउँछन् सिन्धुलीका जयराम गुरागाईं ।

उनी भन्छन्, ‘म पेसाले पुरोहित, कहिले हप्तामा एक लाख कमाउँछु कहिले कमाउन सक्तिनँ। पहिले–पहिले कमाएको रकम गाउँमै २० प्रतिशत ब्याजमा लगाएको थिएँ। अहिले मसँग ब्याजबाट आएको र आफूसँग भएको रकम ठूलो छ। बैंकमा राख्न जाँदा त रकमको स्रोत पो माग्यो । मैले कसरी देखाउनु स्रोत ? त्यसैले पैसा घरमै राखेको छु ।’ सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार पुरोहित काम व्यवसाय वा नियमित आम्दानीको क्षेत्र होइन।

अनौपचारिक क्षेत्रमा काम गर्ने र आम्दानीको औपचारिक स्रोत देखाउन नसक्ने गुरागाईंजस्ता नेपालीहरुलाई राष्ट्र बैंकको नयाँ नियमले समस्यामा पार्ने देखिएको छ।

गोएएमएल सफ्टवेयरका कारण बैंकहरुलाई निक्षेप संकलनमा पनि सहज हुने छैन । सफ्टवेयरबाट कुन मानिसले कति रकम कहाँबाट कारोबार गर्यो भन्ने जानकारी वित्तीय जानकारी एकाइमा हुनेछ ।

अहिले ठूलो परिमाणमा बैंक खातामा रकम जम्मा गर्नुपर्दा मानिसहरुले फरक–फरक खातामा राख्ने गरेका छन्। जस्तो– ५० लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ भने विभिन्न पाँचवटा बैंकको खातामा ९ लाख ९ हजार ९ सय ९९ रुपैयाँका दरले राख्ने । कारण– १० लाखभन्दा माथि बैंकमा जम्मा गर्दा आम्दानीको स्रोत अनिवार्य रुपमा देखाउनुपर्छ।

गोएएमएल लागू गरेपछि भने कुनै पनि बैंकको कारोबार एकीकृत रुपमा वित्तीय एकाइमा पुग्छ । कुनै व्यक्तिले एकै दिन ५० लाख रुपैयाँ फरक–फरक बैंकका फरक–फरक खातामा जम्मा गरे पनि उसको कुल निक्षेप वित्तीय जानकारी एकाइले पाउनेछ । र, एकाइले उसको आम्दानीको स्रोत खोज्नेछ । कसैले घरजग्गा बेचेर एक करोड रुपैयाँ आम्दानी गरेको छ र उसले निक्षेप राख्दा आयस्रोतमा ‘घरजग्गा बिक्री’ भनेको छ भने २५ लाख रुपैयाँ आयकर तिर्नुपर्छ । नत्र उसको सो रकम वैध मानिँदैन ।

‘निक्षेप अभाव हुन सक्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सरकारले जनतालाई सम्पत्ति स्वघोषणा गर्ने मौका दिएरमात्र यस्ता नीतिनियम लागू गर्नुपर्ने बताउँछन्। एक्कासि यस्तो नियम लागू गर्दा जनताले आफूसँग भएको रकम बैंकमा नलगी सिरानीमुनि राख्ने क्रम बढ्ने उनको तर्क छ। यसबाट बैंकमा निक्षेप अभाव भई देशको अर्थतन्त्रमै असर गर्न सक्ने उनको अनुमान छ।

नेपाल राष्ट्र बैंकले भने गोएएमएल प्रयोगमा ल्याएपछि पारदर्शिता बढ्ने दाबी गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक मिश्र गोएएमएल लागू भएपछि सम्पूर्ण जानकारी एकीकृत रूपमा राष्ट्र बैंकमा आउने र कसैले पनि छल गर्न नपाउने बताउँछन्।

‘अहिले स्रोत खुलाउन नचाहनेले धेरै रकम निक्षेप राख्न विभिन्न बैंक खाता प्रयोग गरे पनि गोएएमएल लागू भएपछि सम्पूर्ण खाताको विवरण एकीकृत रुपमा आउने र निक्षेपको स्रोत खोज्न वित्तीय जानकारी एकाइलाई सहज हुनेछ’, उनले भने ।

जनताले नयाँ कुरा स्वीकार्न बिस्तारै बानी पर्ने उनी बताउँछन् । मिश्रले भने, ‘केवाईसी लागू गर्दा पनि यस्तै हंगामा भएको थियो। तर बिस्तारै जनताले यसलाई स्वीकारेका छन्।’

के हो गोएएमएल ?

गोएएमएल सम्पत्ति शुद्धीकरण र अपराध एवम् आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयले प्रवद्र्धन गरेको सफ्टवेयर हो। यो सिस्टम विश्वका प्रायः सबै देशको बैंकिङ क्षेत्रमा लागू गरिएको छ ।

गोएएमएलका फाइदा/बेफाइदा

- ग्राहक पहिचान, संस्थागत र क्षेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ
- निक्षेपकर्ताले पनि तीनपुस्ते विवरण भर्नुपर्ने
- सम्पत्तिको स्रोत खोज्ने परिपाटीले निक्षेपकर्ता बैंकसँग टाढिन सक्ने
- मुलुकको वित्तीय जानकारी संकलन गरी विश्लेषण गर्न सघाउ
- बैंकमा चेक जम्मा गर्नेको व्यक्तिगत विवरण र आयस्रोतको प्रमाण आवश्यक
- विवरण तत्कालै सफ्टवेयरमा उतार्नुपर्दा ग्राहकले दोब्बर समय खर्चनुपर्ने
- बैंकिङ प्रणाली ग्राहकमैत्री र सरल नभएको व्यवसायीको दाबी
- बैंकमा निक्षेप जम्मा हुने क्रम सुस्त हुने
- बैंकिङ प्रणाली अन्तर्राष्ट्रिय स्तरको हुनुका साथै वित्तीय पारदर्शिता बढ्ने
- बैंकिङ जोखिम र अपराधिक घटनाहरु न्यून हुने
- राष्ट्र बैंकले मातहतका सबै बैंक तथा वित्त कम्पनीको कारोबारको विवरण आफैंले हेर्न सक्ने

प्रकाशित: Dec 29, 2019| 09:30 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्