शनिबार, वैशाख १५, २०८१

समलिंगी आमाले हुर्काएकी विश्‍वकै कान्छी प्रधानमन्त्री

सन् २०१५ मा उनले एक फिनिस मिडियासँग भनेकी थिइन्, ‘म नदेखिने परिवारमा हुर्केको थिएँ किनभने मेरो परिवारलाई वास्तविक परिवार मानिएकै थिएन।’
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

पश्चिम युरोपेली मुलुक फिनल्यान्डले पाँच दलीय गठबन्धन सरकारमा नयाँ प्रधानमन्त्री पायो।

triton college

नयाँ प्रधानमन्त्री सान्ना मरिनको मंगलबार शपथ सकिएसँगै विश्वभर उनको उमेर सञ्चारमाध्यमका ‘हेड लाइन’ बनेका छन्। 

३४ वर्षीया मरिनले उमेर र लिंगका बारेमा सोधिएको प्रश्नमा प्राथामिकता दिइनन्।

प्रधानमन्त्रीको शपथ सकेर उनले भनिन्, ‘मैले कहिल्यै पनि मेरो उमेर र लिंगको बारेमा सोचेकी छैन। म किन राजनीतिमा आएँ र मलाई किन मेरो चुनाव क्षेत्रबाट जिताइएको थियो भन्ने मात्रै सोच्छु।’

उनले क्षमतामा विश्वास राख्ने गरेको स्पष्ट पारेकी छन्।

corrent noodles
Metro Mart

मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलका नेतृत्व महिलाले गरेका छन्।

गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलायन्स र स्विडिस पिपल्स पार्टी छन्। ५५ लाख जनसंख्या भएको फिनल्यान्ड खुसी मापन सूचकमा पहिलो नम्बरमा छ।

गठबन्धन सरकारमा रहेका पाँच दलमध्ये फिनल्यान्ड सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी) ले प्रधानमन्त्रीमा उनको नाम सिफारिस गरेको थियो।

२०० सदस्यीय फिनल्यान्डको प्रतिनिधिसभामा गत अप्रिल १४ मा भएको चुनावमा ४० सिट ल्याएर वामपन्थी दल सोसल डेमेक्रेटिक पार्टी सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्यो। सोही पार्टीकी सांसद हुन् मरिन।

हुलाक सेवामा भएको हडतालको विषयले ब्यापक रूप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले राजीनामा गरेका थिए।

सात सय हुलाक कर्मचारीको तलब कटौती भएपछि प्रधानमन्त्री रेन्नीको तीव्र आलोचना भयो। नोभेम्बरमा दुई सातासम्म आन्दोलन चल्यो।

आन्दोलनमा फिनल्यान्डको सरकारी ध्वजावाहक फिनिस एयरका कर्मचारीले पनि साथ दिए। एयरका कर्मचारीले एक दिन हडताल गर्दा ३ सय उडान प्रभावित भए।

आन्दोलनकारी र गठबन्धनको दबाबमा आए प्रधानमन्त्री रेन्नी। ३१ सिट भएको गठबन्धनको प्रमुख साझेदार सेन्टर पार्टीले रेन्नीसँग विश्वास गुमेको औपचारिक वक्तव्य निकालेपछि रेन्नी झनै दबाबमा आएर डिसेम्बर ३ मा राजीनामा दिए।

रेन्नीले राजीनामा दिएपछि मरिनको प्रधानमन्त्री बन्ने बाटो खुल्यो। तर, बाटो सहज थिएन।

नयाँ प्रधानमन्त्री सोसल डेमोक्रेटिक पार्टीबाटै छान्ने सहमति भयो। दलमा प्रधानमन्त्रीका लागि दुई जनाको उम्मेदवारी पर‌्याे।

प्रधानमन्त्रीको उमेदवार छान्ने दलीय चुनावमा मरिन तीन मतले विजयी बनिन्। आइतबार भएको चुनावी प्रतिस्पर्धामा प्रतिस्पर्धी लिन्डमेनले २९ मत ल्याउँदा उनले ३२ मत प्राप्त गरिन्।

प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै मरिनले वक्तव्य दिँदै सबै दललाई एकजुट हुन आह्वान गरेकी छन्।

रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सञ्चारमन्त्री थिइन्। उनी सन् २०१५ देखि सांसद सदस्य थिइन्। उनी यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेकी थिइन्।

आमाले एक्लैले हुर्काएकी मरिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति हुन्।

फिनल्यान्डको नयाँ मन्त्रिमण्डलका सदस्यहरु । 

महिलामय मरिनको सत्तारुढ गठबन्धन

मरिन फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री बनेकी हुन्।

फिनल्यान्डमा मरिन अगाडि सेन्टर पार्टीकी एन्नेली जाटेनमाकी पहिलोपटक सन् २००३ अप्रिल १७ देखि जुन २४ सम्म तीन महिना प्रधानमन्त्री भएकी थिइन्।

सेन्टर पार्टीबाटै सन् २०१० जुन २२ देखि २०११ जुन २२ सम्म मारी किभिनिमी महिला प्रधानमन्त्री बनिसकेकी छन्।

फिनल्यान्डको हालको सत्तारुढ पाँच दलीय गठबन्धन पनि महिलामय छ।

बहुमतको ११६ सिट भएको गठनबन्धनमा सोसल डेमोक्रेटिक पार्टी (४० सिट) सहित लेफ्ट अलाइन्स (१६ सिट), ग्रिन लिग (२० सिट), सेन्टर पार्टी (३१ सिट) र स्विडिस पिपल्स पार्टी (९ सिट) अफ फिनल्यान्ड छन्।

मरिनको सोसल डेमोक्रेटिक पार्टी बाहेकका सबै दलका नेतृत्वमा महिला छन्। लेफ्ट अलाइन्स दलमा ३२ वर्षीया ली एन्डरसन छिन्। ग्रिन लिग पार्टीमा ३४ वर्षीया मारिया ओहिसालो छिन्।

सेन्टर पार्टीमा कात्री कुलमुनी छिन् भने स्विडिस पिपल्स पार्टी अफ फिनल्यान्डको नेतृत्वमा ५५ वर्षीया माजा हेन्रिकसन छिन्। मरिनको १९ सदस्यीय मन्त्रिमण्डलमा १२ महिला छन्।

महिलामय फिनल्यान्डको सत्तारुढ गठबन्धनको तारिफ विश्वभरबाट आएको छ। तारिफ गर्नेमा हाल प्रतिपक्षि रहेको फिनल्यान्डको नेसनल कोलिजन पार्टीबाट प्रधानमन्त्री भइसकेका अलेक्जान्डर स्टबसमेत छन्।

‘फिनल्यान्ड आधुनिक र प्रगतिशील देश हो’, सन् २०१४ देखि २०१५ सम्म प्रधानमन्त्री बनेका स्टबले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टी सरकारमा छैन तर मलाई यो कुरामा आनन्द छ कि सरकारमा सहभागी ५ पार्टीका नेता महिला छन्।’

आठ वर्षको राजनीतिक यात्राबाट प्रधानमन्त्री

३४ वर्षीया मरिन फिनल्यान्डमा राजनीतिक यात्राको आठ वर्षमै प्रधानमन्त्री बनिन्। राजधानी हेलसिन्कीमा जन्मेकी मरिन पछि फिनल्यान्डको तेस्रो ठूलो सहर टेम्पेरेमा बसाइँ सरिन्।

उनको राजनीति पनि त्यहींबाट सुरु भयो। सन् २०१२ मा उनी टेम्पेरेको सिटी काउन्सिलको अध्यक्षमा निर्वाचित भइन्। काउन्सिलमा निर्वाचित भएको एक वर्षपछि २०१३ मा उनी फेरि काउन्सिल अध्यक्ष बनिन्।

सन् २०१४ मा उनी सोसल डेमोक्रेटिक पार्टीको द्वितीय उपाध्यक्ष बनिन्। सन् २०१५ मा उनी फिनल्यान्डको पिरकान्मा क्षेत्रबाट सांसदमा निर्वाचित भइन्। २०१९ मा पनी सोही क्षेत्रबाट चुनाव जितिन्।

२२ महिने छोरी इम्मा अमालिया र व्यापारी पति मार्कुस राइकोनसँग बस्दै आएकी मरिनले आफ्नो समलिंगी आमाको बारेमा सार्वजनिक अभिव्यक्तिसमेत दिएकी छन्।

सन् २०१५ मा उनले एक फिनिस मिडियासँग भनेकी थिइन्, ‘म नदेखिने परिवारमा हुर्केको थिएँ किनभने मेरो परिवारलाई वास्तविक परिवार मानिएकै थिएन।’

एजेन्सीको सहयोगमा

प्रकाशित: Dec 11, 2019| 04:54 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।