शनिबार, फागुन १७, २०७६

समाचार

प्रदेश–२ को नामकरणमा लचक बन्दै प्रतिपक्षी दल

प्रदेश–२ को नामकरणमा लचक बन्दै प्रतिपक्षी दल

जनकपुरधाम– तीन वर्ष पूरा गर्नै लागेको प्रदेश–२ ले नामकरण गर्न सकेको छैन। प्रदेश सरकार कार्यान्वयनमा आएको ३ फागुनमा तीन वर्ष पूरा हुँदैछ। जनकपुरलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भए पनि नामकरण विवाद सुल्झन सकेको छैन।

सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो। तर अहिले आएर स्थायी राजधानीझैं प्रदेश नामकरणमा समेत सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक देखिएका छन्।

प्रदेशको स्थायी राजधानी र नामकरणमा सहमति जुटाउन सभामुख सरोज यादवको नेतृत्वमा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले आ–आफ्नो अडानबाट पछि हट्दै सहमतिको नयाँ विकल्प प्रस्तुत गरेका छन्।

समितिको बैठकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएको प्रस्तावबाट पछि हट्दै ‘जानकी–मधेस’ नामकरण गर्न विकल्प अघि सारेका छन्। यसअघि नेकपाले प्रदेशको नाम ‘जानकी’ हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।

यसैगरी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले ‘मिथिला–मधेस’ नामकरण गर्न विकल्प दिएका छन्। प्रदेशसभा सचिवालयमा कांग्रेसले प्रदेशको नामकरणबारे ‘मिथिला–भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ।

दलगत अडानबाट पछि हटेर सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुनेगरी आफूहरुले विकल्प दिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए। ‘राजधानीझैं नामकरणमा पनि सर्वसम्मति होस् भन्ने हाम्रो चाहना छ, यसैले दलगत अडानबाट पछि हटेर नयाँ विकल्प अगाडि सारेका छौं । तर सत्ता पक्षधर समाजवादी र राजपा आफ्नो अडानबाट पछि हट्न चाहेको छैन,’ उनले भने।

यसैगरी सर्वसम्मति गर्न सत्ता पक्षधर दलले पनि आफ्नो अडानमा लचकता देखाउनुपर्ने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए। ‘हामीले सहमति खोजेका छौं, सहमतिमै प्रदेशको नामकरण हुनुपर्छ। तर यसो गर्न सत्तापक्षधर दल पनि लचक हुनु जरुरी छ,’ यादवले भने।

नेकपाले अघि सारेको विकल्प ‘जानकी–मधेस’ वा कांग्रेसले सारेको ‘मिथिला–मधेस’ जुनसुकै विकल्पमा सत्तापक्ष राजी भए पनि आफूहरु सहमतिको लागि तयार रहेको यादवले बताए।

यता नेकपा संसदीय दलका नेता मण्डलले प्रदेश नामकरणका लागि ‘जानकी–मधेस’ को विकल्प अघि सारे पनि नेकपाका प्रदेशसभा सांसद रामचन्द्र मण्डलले भने ‘मिथिला–भोजपुरा–मधेस’ आफ्नो पुरानो अडान अझै कायम रहेको बताउँछन्।

‘मिथिला–भोजपुरा–मधेस’ ले संस्कृति र भूगोल दुवैको प्रतिनिधित्व गर्ने भएकोले यसबाहेक अन्य कुनै राम्रो विकल्प हुन नसक्ने उनको भनाइ छ।

नामकरणबारे सहमति जुटाउन समितिको बैठक आगामी फागुन ४ गते बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्