शनिबार, फागुन १७, २०७६

समाचार समाज

‘बाँचुन्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’

‘बाँचुन्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’

२०७३ चैत अन्तिम साता। मलेसियामा रहेका काभ्रे भकुण्डेबेसीका वसन्त शाही ठकुरी घर फर्किने तयारी गर्दै थिए। नयाँ वर्षकै दिन पर्ने उनको ‘म्यारिज एनिभर्सरी’ ले उत्साह दोब्बर बनाएको थियो।

मलेसियामा काम गरेर जोगाएको रकमबाट नेपालमा घडेरी जोड्ने, छोरीलाई राम्रो स्कुलमा भर्ना गर्ने सुखद योजना थिए उनका। करिब ३० लाख रुपैयाँ श्रीमतीको खातामा पठाइसकेका थिए।

नेपाल फर्कन ५ दिन बाँकी थियो, श्रीमती चेली तामाङलाई फोन गरे। चेलीको फोन उठेन। पटक पटक गर्दा पनि नउठेपछि उनी आत्तिए।

फेसबुकमा सम्पर्क गर्न खोज्दा पनि जवाफ आएन। मलेसियामा साथीहरूले भनेको सम्झिए, ‘कमाएको पैसा सबै श्रीमतीलाई नपठाउनू है, पैसा लिएर अर्कैसँग भागी भने के गर्ने?’

चेलीप्रति उनको गाढा विश्वास थियो। कतैबाट पनि सम्पर्क नभएपछि मनमा चिसो पस्यो। कतै दुर्घटना भयो कि! अन्तरजातीय विवाह भएकाले उनीहरुसँग दुवै परिवार रुष्ट थिए। त्यसैले आफन्तलाई सोध्न पनि सकेनन् वसन्तले।

वसन्तको मोबाइलमा फोन आयो। चेलीको होला भनेर हेरेको, सालीको रहेछ। उताबाट हेलो भन्न नपाउँदै भक्कानिएको आवाजमा साली बोलिन्, ‘भिनाजु ! दिदीलाई त मोटरसाइकलले हान्यो!’ सुरुमा उनी निकै आत्तिए। तर सालीले नै घटना त्यति ठूलो नभएको जानकारी दिएपछि उनी काममा लागे।

पाँच दिनपछि नेपाल फर्किए। त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा मानिसको भीड थियो। परदेशिएका आफन्तलाई स्वागत गर्न उत्सुक अनुहार देखिए। तर वसन्तका आँखाले चेलीलाई खोजिरहेका थिए। त्यसैबेला उनले देखे– मलीन अनुहारमा उभिएकी साली र ६ वर्षे छोरी।

वसन्त चुपचाप सालीको पछि लागेर नर्भिक अस्पताल पुगे।

चेलीलाई आईसीयूमा राखिएको थियो। दुर्घटना सामान्य थिएन, स्पाइनल इन्जुरी भएकी चेली अचेत थिइन्।

वसन्त घर फर्कने थाहा पाएपछि चेली अति उत्साहित थिइन्। ‘त्यहाँबाट केही नल्याउनू, महँगो पर्छ, यतै किनौंला’ भन्थिन्।

२४ चैत २०७३ मा श्रीमान् र छोरीका लागि केही लुगा किन्नका लागि उनी पैसा निकाल्न फाइनान्स कम्पनीमा गइन्। पैसा लिएर फर्कंदै गर्दा तीनकुनेमा हुइँकिएर आएको मोटरसाइकलले चेलीलाई ठक्कर दियो। बाटो काट्दै गर्दा मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी चेली तीन वर्षदेखि ट्रमा सेन्टरको बेडमा छन्। हलचल गर्नसमेत सक्दिनन्।

दुर्घटनालगत्तै नजिकैको अस्पताल लगिएकी चेलीलाई त्यहाँबाट नर्भिक अस्पताल रेफर गरिएको थियो। नर्भिकमा ४५ दिनको उपचारपछि ट्रमा सेन्टर लगियो। त्यहाँ पनि ६ महिना आईसीयूमा राखेपछि ५१४ नम्बर बेडमा सारियो।

०००

अहिले उनलाई सास फेर्न समेत सहज छैन। चार वर्ष पुग्नै लाग्यो उनले भ्यान्टिलेटरको सहयोगमा सास फेरेको। श्रीमान् वसन्त अनवरत स्याहारमा जुटेका छन्। श्रीमतीलाई औषधि र खाना खुवाउनु, बेलाबेलामा कोल्टे फेराउनु, डाइपर चेन्ज गर्नु उनको दैनिकी हो।

मलेसियामा कमाएको पैसा सबै सकिएर थप ३० लाख रुपैयाँ ऋण लागिसकेको छ।

बेडको छेउमै बसेर वसन्तले यो ‘कथा’ सुनाइरहरँदा चेलीका आँखा रसाए। उनको घाँटीबाट तलको शरीर केही चल्दैन। अरु बोलेको सुन्छिन्, बुझ्छिन् तर आफूलाई बोल्नुपर्दा सहज छैन। औषधिले गर्दा कहिले शरीर फुल्छ त कहिले चिर्पटझैं सुक्छ। श्रीमतीको हालत देखेर मुटुमा गाँठो पर्छ वसन्तको।

मलेसियाबाट फर्किंदा देखेको सपना सपनामै सीमित रह्यो। घर बनाउने पैसा श्रीमतीको उपचारमा सकिइसक्यो। छोरीलाई राम्रो स्कुलमा हाल्न पनि सकेका छैनन् वसन्तले।

उनलाई थाहा छ, चेली अब पहिलेजस्तै स्वस्थ्य भएर हिँडडुल गर्न सक्दिनन्। हिँड्नु त परेको कुरा, मुस्कुराउन पनि सक्दिनन्। “एकपटक मुस्कुराए पनि मन हल्का हुन्थ्यो नि!’ वसन्त भन्छन्। चेलीका आँखा फेरि रसाए। वसन्तले श्रीमतीलाई अर्कोपटि कोल्टे फर्काइदिए।

अस्पतालमा सेक्युरिटी गार्ड

वसन्तका अनुसार चिकित्सकले १६–१७ लाख भारु खर्च गर्ने हो भने चेलीलाई भ्यान्टिलेटरबाट निकाल्न सकिने बताएका छन्। ‘विदेशमा उपचार गराउने हो भने चेली ठिक हुन सक्ने भनेका छन् डाक्टरले तर त्यत्रो पैसा कहाँबाट ल्याउनु? भेन्टिलेटरबाट निकाल्ने गरी उपचार गराउन पनि पैसा छैन,” विवशता सुनाउँछन् वसन्त।

ट्रमा सेन्टरले चेलीका लागि बेड र खाना निःशुल्क गरिदिए पनि औषधि, फलफूल, डाइपर किन्ने पैसा जुटाउन सकस छ वसन्तलाई। त्यही रकम जुटाउन वसन्तले अस्पतालमै सेक्युरिटी गार्डको काम थाले। तर, ड्युटीमा खटिँदा चेलीको स्याहारमा बाधा पुगेपछि एक वर्षअघि जागिर छाडिदिए।

उनले अस्पतालमा बिरामी कुरुवा भएर पनि काम गरे। एकजना बिरामी कुरेबापत १ दिनमा ५०० रुपैयाँसम्म कमाउँथे। तर, त्यो काम पनि सधैंका लागि रहेन। अहिले फेरि सेक्युरिटी गार्डकै काम गर्न थालेका छन्।

श्रीमतीको स्वास्थ्य सुध्रने आशामा दौडधुप गरिरहेका छन्।

वसन्तलाई थाहा छ, चेली केही समयको पाहुना हुन् भन्ने। भन्छन्, ‘भेन्टिलेटरबाट निकालेपछि उनको बाँच्ने समय जम्मा २० मिनेट हो, त्यसपछि उनी बाँच्दिनन्।’

आफन्त र चिनेजानेका मान्छेको कुराले झनै पिरोल्छ वसन्तलाई। धेरैले चेलीलाई भेन्टिलेटरबाट निकालेर सकसपूर्ण जीवनबाट विदा दिन सुझाव दिएका छन्। वसन्त भन्छन्, “यो संसारमा मायाको अभाव छ। त्यस्ता मान्छेहरु अस्पताल नै नआइदिए हुन्थ्यो भन्ने लाग्छ।”

कहिलेकाहीँ चेलीले पनि त्यस्तै कुरा गर्छिन्। जवाफमा वसन्त भन्छन्– ‘म बाँचुञ्जेल तिमी मेरो छेवैमा हुनुपर्छ।’ “मैले सबैभन्दा धेरै माया गरेकी मान्छेलाई जानीजानी कसरी मारौैं?”

चेलीलाई मोटरसाइकलले ठक्कर दिने व्यक्तिहरुले नर्भिकमा रहँदासम्म केही सहयोग गरे पनि त्यसपछि सम्पर्कमा आएनन्।

“ठक्कर दिने मोटरसाइकलवाला पनि अहिले अस्ट्रेलिया पुगेको छ भन्ने सुनेको छु,” वसन्त भन्छन्, “ती मान्छे प्यूठानका हुन् भन्नेसम्म थाहा छ।” अब न्यायका लागि कानुनी प्रक्रिया अघि बढाउने उनको सोच छ।

तर, मोटरसाइकल धनीलाई खोजिदिन आग्रह गर्दा प्रहरीले चासो नदेखाएको वसन्तको गुनासो छ।

वसन्तका अनुसार नर्भिकमा उपचार गराउँदासम्म दुर्घटना गराउने व्यक्ति बेला–बेला आउँथे। पटकपटक गरेर झन्डै १५ लाख रुपैयाँ उपचार खर्च पनि दिए। त्यसपछि भने न फोनमा सम्पर्क हुन्छ न त भेट्नै आएका छन्। अहिले यसबारे कुरा गर्न प्रहरीकहाँ जाँदा प्रहरीले पनि ‘१५ लाख त दिएकै रहेछ’ भनेर फर्काउन थालेको छ।

“मोटरसाइकल चलाउनेको लाइसेन्ससम्म थिएन,” वसन्त भन्छन्, “त्यसबेला उपचार खर्च सबै व्यहोर्छु, छोरीलाई पढाइदिन्छु भनेको थियो। अहिले सम्पर्कमै छैन।”

मोटरसाइकलवालाले पैसा नदिए पनि अस्पतालमा आएर चेलीको कुरुवा बसिदिए उनी आफैं कमाएर उपचार गर्ने बताउँछन्। तर, उनलाई आफ्नै परिवारको पनि सहयोग छैन।

अब वसन्तलाई आर्थिक सहयोगको ठूलो खाँचो छ। केही पैसा जुटाउन पाए थप उपचार गर्न भारत लैजाने उनको योजना छ।

०००

१६ वर्षअघि वसन्त लोकन्थलीमा एउटा कम्पनीको गाडी चलाउँथे। जडिबुटीमा चेलीका दाइको होटेल थियो, चेली त्यहीँ काम गर्थिन्। खाना खान जाँदा–आउँदा चेली र वसन्त प्रेममा परे। उनीहरुको प्रेमलाई परिवारले स्वीकार नगरेपछि भागी विवाह गरे।

बिहेपछि चेलीले ब्युटिपार्लर चलाइन्। छोरी जन्मिएपछि दुवै जनालाई आर्थिक अवस्था थप बलियो बनाउनुपर्छ भन्ने लाग्यो। चेलीकै सल्लाहमा वसन्त विदेश गए।

वसन्त लामो सास फेर्छन्, “त्यसबेला देखेका सबै सपना तुहिए।”

प्रतिक्रिया दिनुहोस्