शनिबार, वैशाख १५, २०८१

नाम चलेका उद्योगीका नाममा ऋण नदिने रणनीतिमा बैंकहरू

बैंक तथा वित्तीय संस्थाहरुले नाम चलेका उद्योगीका नाममा ऋण दिन बन्द गर्ने भएका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले नाम चलेका उद्योगीका नाममा ऋण दिन बन्द गर्ने भएका छन्।

ठूला उद्योगीहरुले आफ्नो नामको आधारमै बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने तर, समयमा नतिर्ने, ताकेता गर्दा प्रभाव र दबाबमा पार्ने गरेको भन्दै  बैंकहरुले त्यस्ता उद्योगीलाई ऋण नदिने रणनीति तय गर्न लागेका हुन्।

एक बैंकर भन्छन्, ‘नाम चलेका उद्योगी- व्यवसायीले धितो केही राख्दैनन्। एउटा सानो परियोजना हुन्छ र उनीहरुकै नाममा ऋण दिन बैंकहरु विवश हुन्छन्।’ नाम चलेका व्यवसायीहरुले राष्ट्र बैंक, अर्थ मन्त्रालय र राजस्व कार्यालयका कर्मचारीलाई प्रभावमा पार्न सक्ने बैंकरहरू बताउँछन्।

ऋण दिएपछि उनीहरुबाट उठाउन बैंकका कर्मचारीलाई कठिन हुने भएकाले सकेसम्म ऋण नदिने तयारी बैंकहरूको छ। कुनै पनि कम्पनीका नाममा बैंकहरुले ऋण प्रवाह गर्दा बैंकमा बुझाउने अडिट रिपोर्ट र आन्तरिक राजस्व कार्यालयमा बुझाएको रिपोर्ट ट्याली गर्नुपर्ने नियम छ। तर पछिल्लो समयमा बैंकलाई बुझाउने आन्तरिक राजस्व कार्यालयको कर चुक्ता र अडिट रिपोर्टसमेत कर अधिकृतको नक्कली हस्ताक्षर गराएर ल्याउने गरेको बैंकहरुले फेला पारेका छन्।

‘बैंकहरु अहिले दोहोरो मर्कामा छन्’, ती बैंकरले भने, ‘नाम चलेका उद्योगीलाई ऋण नदिऊँ राष्ट्र बैंक र अर्थ मन्त्रालयका कर्मचारीले समेत फोन गर्छन्। दिऊँ भने उनीहरुले समयमा ऋण चुक्ता गर्दैनन् र सधैं कर्मचारीहरुले दुःख पाउँछन्।’

अहिले सानिमा बैंकले नाम चलेका ठूला व्यावसायिक व्यक्तिहरुका नाममा ऋण प्रवाह गर्न बन्द नै गरेको छ भने एनआइसी एसियाले पनि त्यस्ता ऋणहरुलाई अस्वीकृत गर्ने रणनीति अख्तियार गर्दैछ।

नेपाल सरकारले रुग्ण उद्योगका नाममा दिने सहुलियतपुर्ण कर्जा पनि मध्यम वर्गका उद्योगीहरुले पाउने गरेका छैनन्। त्यस्ता सहुलियत पनि उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेकाहरुले मात्र प्रयोग गरिरहेका छन्। ती बैंकरले भने, ‘सामान्य व्यापारी व्यवसायीको पहुँच पुग्दैन। उनीहरुले कुनै सोर्स–फोर्स लगाउन सक्तैनन्।’

सरकारले रुग्ण उद्योगका लागि ब्याज सहुलियत दिएको छ। त्यसका लागि बैंकहरुको काम निवेदन छनोट गर्ने मात्र हो। बाँकी प्रक्रिया नेपाल राष्ट्र बैंकले नै अगाडि बढाउँछ। त्यसैले पहुँचवाला व्यापारी व्यवसायीले राष्ट्र बैंकलाई समेत प्रभावमा पारेर ऋण लिन्छन्। कतिपय रुग्ण उद्योगका नाममा लिएका ऋण सबै झुटा हुने वाणिज्य बैंकका उच्च अधिकारीहरू बताउँछन्।

मध्यमवर्गका व्यापारी र व्यवसायी समयमै ऋण तिर्ने र उनीहरुले धितो पनि आफूले जिन्दगीभर कमाएको घरजग्गा राख्ने गरेका छन्। तर नाम कमाएका ठूला उद्योगी व्यापारीले भने धितो नै राख्दैनन्।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले राष्ट्रिय वाणिज्य बैंकको अर्बौं रुपैयाँ बराबरको ऋण नतिरेर वाणिज्य बैंक हैरानीमा परेको छ। त्यस्तै हाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेका व्यक्तिहरुले पनि विभिन्न बैंकबाट लिएको ऋण तिरेका छैनन्। उनीहरु आफ्नो नाम बिकाएर तिर्न सक्ने ऋण पनि अटेर गरी नतिरी बसेको बैंकरहरुको गुनासो छ।

पछिल्लो समयमा बैंकहरु साना तथा मध्यम वर्गका व्यवसायमा ऋण प्रवाहतर्फ आकर्षित भइरहेका छन्। ठूला ऋणीहरुमा ऋण प्रवाह गर्दा झन्झट व्यहोर्नुपर्ने भएकाले पनि उनीहरु यसतर्फ आकर्षित भएका हुन्।

प्रकाशित: Nov 06, 2019| 09:56 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्