सोमबार, फागुन १२, २०७६

समाज
मन थिएन जोगी बन्नलाई ...

मन थिएन जोगी बन्नलाई
हात हेराउँदा ज्योतिषिले राम्रै हुन्छ भन्थे भन्नलाई

लोकदोहोरी गायक बद्री पंगेनीको यही गीतबाट सुरु हुन्छ कास्कीका दृष्टिविहीन दम्पती राजकुमार थापा र सम्झनाको दैनिकी। तीन वर्षअघि जुम्ल्याहा छोरा राम र लक्ष्मणलाई च्यापेर काठमाडौं छिरेको यो दम्पतीलाई काठमाडौंको सडक पेटीले सहारा दिएको छ।

बिहानको खाना खाएर छोराहरुलाई स्कुल पठाएपछि थापा दम्पती आफ्नो नित्यकर्मका लागि तयार हुन्छ। श्रीमानले ठूलो स्पिकर भएको झोला बोक्छन्। श्रीमतीले माइक्रोफोन, ब्याट्री र दिउँसोको लागि तयार गरेको खाजाको पोको झोलामा हाल्छिन्।

उनीहरु बस्ने सडक पेटीको ठेगान छैन। कहिले रत्नपार्क, कहिले जमल त कहिले सुन्धारा क्षेत्र चहार्छन्। घाम लाग्ने ठाउँ खोजेर म्याट बिछ्याउँछन् र झोलाबाट निकाल्छन् स्पिकर।

अनि सुरु हुन्छ

संसारी माया बिचित्र मरेर के पो लान्छ र
नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन...

कहिले श्रीमानको आवाजमा त कहिले श्रीमतीको आवाजमा गीत बजिरहन्छ। खाजा खाने समयमा पेनड्राइभमा भएको गीत बजाउँछन्। बाटोमा हिँड्ने कसैले १०–२० रुपैयाँ राखिदिन्छन्।

काठमाडौंको महँगीमा डेरा गरेर बस्नु, दुई सन्तानको पालनपोषण र पढाइ। आम्दानीको नियमित स्रोत नभएका दृष्टिविहीन थापा दम्पतीलाई फलामको च्यूरा चपाएसरह छ। तीन वर्षमा उनीहरुले धेरै हण्डर खाइसके। तरपनि हिम्मत हारेका छैनन्।

गाउँमा राम–लक्ष्मणको भविष्यका नदेखेपछि उनीहरुले काठमाडौंमा संघर्ष गर्ने निर्णय गरे। ‘आँखा नदेख्नेलाई गाउँमा पनि सबैले हेला गर्थे। त्यसको असर छोराहरुमा नराम्रो पर्ने सोचेर गाउँ छोड्यौं,’ राजकुमारले सुनाए।

गाउँमा हुँदा राजकुमारले मैनबत्ती र धुप (अगरबत्ती) बनाउने तालिम लिएका थिए। तर, उनीहरुले बनाएको सामान बिकेन। कमाइ केही नभएपछि सबैले हेला गर्न थाले अनि लागे काठमाडौंतिर।

गाउँमा सिकेको सीप यहाँ पनि काम लागेन। लोडसेडिङ हटेपछि मैनबत्ती बिक्ने कुरै भएन, धुपले पनि गुजारा चल्ने देखिएन।

आफूजस्तै दृष्टिविहीनहरु सडक पेटीमा गीत गाएर बसेको देखेपछि राजकुमार दम्पतीले पनि त्यही बाटो रोजे। दिनभरि गीत गाएर पाएको पैसा बेलुका घर गएर छोराहरुलाई गन्न दिन्छन्। जसोतसो दैनिकी चलिरहेकै छ।

काठमाडौं महानगरले सडक पेटीमा बस्नेलाई उठाउन थालेपछि भने उनीहरु त्रसित छन्। ‘अस्तिनै हामीजस्तै दृष्टिविहीनलाई प्रहरीले उठाएर सडकमा माग्न नपाउने भन्दै चेतावनी दिएछ। हामीले त गीतसंगीत सुनाएर मानिसहरुको मन खुसी पारेर कमाएका हौं, मागेको होइन नि। तरपनि किन महानगरले काम गर्न दिँदैन ?’ राजकुमार दुखेसो गर्छन्।

राजकुमारले बढेका छैनन्। श्रीमती सम्झनाले भने १२ कक्षा पास गरेकी छिन्। तर, काम पाउन कहाँ सजिलो छ र ! ‘अन्धा भनेर हामीलाई कसैले वास्ता गर्दैनन्। सडकबाट उठाउने भए काम देऊ न त,’ राजकुमार झोंक्किन्छन्।

३८ वर्षिया शालिन मिया पनि काठमाडौंको सडक पेटीमा वर्षौंदेखि स्पिकर र माइकको सहारामा जीवन धानिरहेकी छन्। प्रत्येक पल ठेस लाग्दै उठ्दै गरेकी मियाले आफन्त पनि बिर्सिसकिन्। सडकमै आएपछि भेटिएका साथीहरु नै उनका आफन्त बनेका छन्। तराई घर बताउने मियाले १२ वर्षदेखि काठमाडौंको सडकलाई आफ्नो बनाएकी छिन्।

सडकमा भोग्नुपर्ने सास्तीको फेहरिस्त लामै छ उनीसँग पनि। ‘ठेस लागेर लड्दा हात समाएर उठाइदिने पनि कोही छैनन् यो सहरमा। हात समात्ने असल नियतका हुँदैनन्। एकदिन टुँडिखेलमा कार्यक्रम रहेछ। केही रकम थप भइहाल्छ कि भनेर अलि ढिलैसम्म बसेकी थिएँ। घर जाने बेलामा केही केटाहरुले जिस्क्याउँदै हात समाते, मैले चिच्याएपछि भागे,’ मियाले सुनाइन्।

काठमाडौंको सडक पेटी सपांगका लागि त सुरक्षित छैन भने दृष्टिविहीनका लागि कति असुरक्षित होला ! सेतो छडीको सहारामा हिँड्नुपर्ने उनीहरु कहिले सवारीसाधनमा ठोक्किन्छन् त कहिले बिजुलीको पोलमा। कहिले खाल्डामा खस्छन् त कहिले गिटी–बालुवामा चिप्लिन्छन्।

रामेछापकी दृष्टिविहीन रविना परियार पनि ५ वर्षदेखि काठमाडौंको सडक पेटीमा गीत गाएर गुजारा चलाइरहेकी छन्। २५ वर्षको उमेरमै रविनाले दुःखका खात अनुभूति गरिसकिन्। दुःखमै अभ्यस्त भइसकिन्। नयाँबजारमा बस्ने रविनालाई गाडी पाउनै गाह्रो हुन्छ। हातमा सेतो छडी देखेपछि रोक्नै मान्दैनन्। रोकिहालेमा पनि दृष्टिविहीनलाई सार्वजनिक सवारीमा दुर्व्यवहार हुन्छ।

एकदिन रविना एनएसीबाट नयाँबजारको लागि बस चढेकी थिइन्। भीडमा एक पुरुष रविनासँग बेस्सरी टाँसिए। रविनाले यस्तो नगर्नुस् भन्दा स्वतन्त्र रुपले हिँड्न त ट्याक्सी चढ्नुपर्छ भनेर जवाफ फर्काए। रविना भन्छिन्, ‘यस्तो व्यवहारले मन कुँडिन्छ। कहाँको आम्दानीले ट्याक्सी चढ्नु हामी ? सार्वजनिक सवारी त सबैको लागि हो नि। हामीले चाहिँ किन उपभोग गर्न नपाउने ?’

दिनभरि सडक पेटीमा बस्दा स्वास्थ्य समस्या पनि उत्तिकै देखिन्छ। नाक, मुख सुख्खा हुन्छ। स्वरमा समस्या हुन्छ। सडकको धुलो र प्रदूषणका कारण रुघाखोकी लाग्ने, टाउको दुख्ने समस्या पनि उस्तै। दृष्टिविहीन सम्झना भन्छिन्, ‘बिरामी भएर अस्पताल जाँदा पनि सजिलो छैन। कुन कोठामा जाने, कसलाई सोध्ने ! सबैलाई आ–आफ्नै हतारो हुन्छ, हामीसँग बोल्ने फुर्सद कसको पो हुन्छ र ? अस्पतालमा हेल्प डेस्क पनि नहुँदा त झन् समस्या।’

गएको पुसदेखि काठमाडौं महानगरले काठमाडौंलाई सडक मानवमुक्त बनाउने भन्दै अभियान चलाइरहेको छ। सडकमा अलपत्र परेका मागेर बसेका सयौंलाई उठाएर बालाजुको स्क्रिनिङ सेन्टरमा लगेर राखेको छ।

महानगरले सडक पेटीमा गीत गाएर बस्ने दृष्टिविहीनलाई पनि सडकमा नबस्न चेतावनी दिँदै आएको छ। दृष्टिविहीन भन्छन्, ‘हामीलाई पनि सडक पेटीमा बस्न कहाँ रहर छ र ? सरकारले रोजगारी दिन्छ भने हामी सडकमा गीत गाउँदैनौं।’

प्रतिक्रिया दिनुहोस्