शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई उपचारको पिरलो, आलमबारे प्रहरीको अर्को खुलासा

प्रधानमन्त्रीलाई उपचारको पिरलो, आलमबारे प्रहरीको अर्को खुलासा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले सुनकोसीमा भएको बस दुर्घटना र सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त भएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले प्रधानमन्त्रीको उपचारको विषयलाई मुख्य समाचार बनाएको छ । उसले डायलाइसिस कि प्रत्यारोपण ? शीर्षकमा खबर लेखेको छ ।

कान्तिपुरले समाचारमा लेखेको छ- मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलाइसिस नै गरिरहनुभएको छ, डायलाइसिस यहाँ सजिलै हुन्छ, अरू विकल्पबारे टुंगो लागिसकेको छैन,’ उनले भने ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रो पटक मिर्गौलाप्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् । यद्यपि वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

आजको नयाँ पत्रिकाले  भने तत्कालिन एसपी र आलमको सल्लाहमा घाइतेलाई इटा भट्टामा हालिएको प्रहरीले नै खुलासा गरेको विषयलाई मुख्य समाचार बनाएको छ । 

नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो ।’
 
अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्र्याक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख रहेको नयाँ पत्रिकाले लेखेको छ ।
 
अन्नपूर्ण पोस्ट् र नागरिक दैनिकले भने सुनकोसीमा भएको बस दुर्घटना र सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

आइतबार दिउँसो अरनिको राजमार्गको सुकुटेबाट सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ५० यात्रु घाइते भएका छन्।

दोलखा जिल्लाको मागादेउरालीबाट राजधानी काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु बस चौतारा–साँगाचोकगढी नगरपालिका–९ सुकुटेबाट झण्डै २० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा तीन महिने शिशु र सात बालबालिकासहित १७ जनाको मृत्यु भएको हो।

यसै विषयलाई मुख्य समाचार बनाउँदै अन्नपूर्ण पोस्ट्ले बस खस्दा १७ को मृत्यु शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले सुनकोसीमा बस खस्योः १७ जनाको मृत्यु, ५० घाइते शीर्षकमा खबर लेखेको छ । कान्तिपुरले यात्रुको भारले बस सुनकोसीमाः १७ को मृत्यु, ५२ घाइते शीर्षकमा खबर छापेको छ ।
 
यो विषयसँगै शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखहरु पदमुक्त भएको विषयलाई पनि आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार आइतबार साँझ प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्।

संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई कामचालाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए। 

देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले सातै प्रदेश प्रमुख बर्खास्त शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले सातै प्रदेश प्रमुख पदमुक्त शीर्षकमा खबर लेखेको छ । कान्तिपुरले पनि यहि शीर्षकमा खबर छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।