शुक्रबार, फागुन १६, २०७६

समाचार समाज
जब मुस्कानले ‘छपाक’ हेरिन्

गत साता काठमाडौंको एक हलमा ‘छपाक’ फिल्म हेरिरहँदा एउटा दृष्यमा पुगेपछि मुस्कान खातुन बेस्सरी चिच्याइन्।

मुस्कान तिनै किशोरी हुन्, जसमाथि गत भदौ २१ गते वीरगन्जमा एसिड प्रहार भएको थियो। जीवन–मरणको दोसाँधमा पुगेकी मुस्कान लामो उपचारपछि तंग्रिँदै छन्, अनुहार र मनभरी एसिडका दागहरु बोकेर ।

भारतसँगै बलिउडका फिल्म रुचाइने देशहरुमा अहिले ‘छपाक’ को चर्चा छ।

‘छपाक’ १५ वर्षको उमेरमा एसिड आक्रमणको सामना गरेकी लक्ष्मी अग्रवालको जीवन कथा हो। १५ वर्षकी किशोरी लक्ष्मी (फिल्ममा मालती) जो कुनै बेला आफ्नो मुद्दा लड्न पनि चाहँदैनथिन्, उनी हिम्मत बटुलेर सर्वोच्च अदालतसम्म पुगिन् र अदालतले ऐतिहासिक फैसला गर्‍यो।

फिल्ममा लक्ष्मीको संघर्ष र एसिड आक्रमणमा परेका अन्य महिलाका लागि उनले गरेको कामलाई देखाइएको छ। कैयन यस्ता दृष्यहरु छन्, जसले दर्शकलाई स्तब्ध बनाउँछन्। फिल्मले निराशा भरिदिने यस्ता दृष्यसँगै ‘जीवन यहीँ समाप्त हुँदैन है’ पनि भनिरहन्छ। जीवनका प्रति आशा देखाइरहन्छ।

अतीका चौहान र मेघना गुलजारको पटकथा र मेघनाकै निर्देशनमा बनेको फिल्मले निकै सौम्य र सन्तुलित आवाजमा कथा बोल्छ। फिल्ममा मनोरञ्जन पनि प्रचुर छ। चञ्चलता र मस्तीसँगै एउटा पीडा सँगै बोकिराखेकी लक्ष्मीको अभिनयमा दीपिका पादुकोण (मालती) ले आफूलाई फेरि प्रमाणित गरेकी छन्।

रुन निषेध छ

आफूजस्तै किशोरीको कथा, उमेर उस्तै, भोगाइ उस्तै। मालतीमा आफूलाई देखिन् मुस्कानले। सँगै रहेका मुस्कानका बाबु–आमा पनि सम्हालिन सकेनन्।

मालती (दीपिका पादुकोण) को अनुहारमा एसिड छ्यापिँदाको दृष्य थियो त्यो। मुस्कानलाई आफ्नै अनुहारमा छ्यापिएजस्तो लाग्यो, उनले दुई हातले अनुहार छोपिन्। एसिड छ्यापिँदाको जलन र त्यसपछिको पीडा फेरि दोहोरियो।

एसिडले मुस्कानको अनुहारमात्रै होइन, उनकी आमा सहनाज र बाबु रसुलको मन पनि उसैगरी जलाएको छ। छोरीको अनुहारमा खुसी ल्याउन प्रयत्नशील छन्, दक्षिणी सहर वीरगञ्जका यी दम्पती।

आमाबुवासँग कलंकीमा बस्छिन् मुस्कान। हप्तैपिच्छे अस्पताल जानुपर्छ। उसो त काठमाडौंको हावा समेत मुस्कानका लागि पीडादायी छ। एसिडले जलेको घाउमा प्रदूषित हावाले हिर्काएर संक्रमण गराइदिन्छ। त्यसैले खुला अनुहार लिएर बाहिर ननिस्कन सुझाव दिएका छन् डाक्टरले। बाहिर निस्कनै परे बुर्काले अनुहार छोप्छिन्।

गएको मंगलबार कुरा गरिरहँदा उनका मसिना औंला विस्तारै अनुहारतर्फ चलमलाइरहेका थिए। केही बेरमा उनका कौतुहलपूर्ण ठूला आँखा रसिला हुँदै गए।

तर, रुन पनि निषेध छ मुस्कानलाई। आँखाबाट निस्केको नुनिलो पानी गालासम्म झर्‍यो भने घाउ चहर्‍याउन थाल्छ।

“मलाई सानैदेखि गुडिया मन पर्छ,” कोठामा राखिएका थुप्रै साना–ठूला गुडिया देखाउँदै भनिन्, “यी हेर्नु न! यो गुडिया शृंखला दिदी (मिस नेपाल शृंखला खतिवडा)ले ल्याइदिनु भा’को।”

घरीघरी आफ्नो विगततिर फर्किन्थिन् मुस्कान। एसिड आक्रमण हुनुअघिको आफ्नो फोटो देखाइन्। फेरि आँखा भरिए। “असाध्यै राम्री छ मेरी छोरी,” भनेपछि रसुलका पनि आँखा बग्न थाले। सबै मौन।

त्यसैबेला मुस्कानकी बहिनी सानिया कोठामा पसिन्। भर्खरै मामाघरबाट आएकी बहिनीलाई देखेर मुस्कुराउन खोजेकी मुस्कान सकिनन्। उनलाई हाँस्न पनि सहज छैन । हाँस्दा अनुहारका मांसपेशी तन्किन्छन्, घाउ दुख्छ।

अहिलेसम्म अनुहारमा पाँचवटा सर्जरी भइसकेको छ। पेट र तिघ्राको छाला काटेर अनुहारमा लगाइएको छ।

‘शरीरमा चोट, मनमा चोट, असाध्यै दुःख दियो पापीले। अनुहार जलेर पनि सुख भएन। घाउ टाल्न फेरि उसकै शरीरबाट छाला निकाल्नुपर्ने!” मसिनो स्वरमा रसुल भन्दै थिए।

“मेरो अनुहारकै छाला हाल्न मिल्ने भए पनि हुन्थ्यो नि,” आमा सहनाजले भनिन्।

मुस्कानलाई अझै दुई वर्षसम्म अस्पताल गइरहनुपर्छ। समय जति लागोस्, पैसा जति लागोस्, मुस्कानको मुस्कान फर्किने आशामा छन् सहनाज र रसुल। मुस्कानमा पनि त्यो दृढता आउँदै गरेको देखिन्छ।

आक्रमणपछि कीर्तिपुर अस्पताल बसाइका दिन सम्झिए रसुलले, “बेडबाट उठ्न सक्ने भएपछि उसले बाथरुम जान्छु भनी। म झस्किएँ। के गरौं, के गरौं भयो।”

कारण– बाथरुममा ऐना थियो। छोरीले आफ्नो अनुहार हेरी भने !

“त्यसबेला हामी त उसको अनुहार हेरेर सम्हालिन गाह्रो हुन्थ्यो,” रसुल भन्छन्, “उसले कसरी हेर्न सक्ली जस्तो लाग्यो ।”

रसुल हतारहतार बाथरुम गए र तातोपानीको बाफले ऐना मधुरो बनाइदिए। बाहिर निस्केर सहनाज र रसुल छोरीले आफ्नो अनुहार नहेरे हुन्थ्यो भनेर प्रार्थना गरिरहे।

एकैछिनमा बाथरुमबाट बेस्सरी चिच्याएको आवाज आयो। सहनाज र रसुललाई सासै रोकिएजस्तो भयो। हत्तपत्त बाथरुमबाट छोरीलाई बाहिर ल्याए। मुस्कानको रुवाइले अस्पताल नै स्तब्ध भयो।

त्यसपछि लामो समय मुस्कानको मुस्कान फर्केन।

त्यो दिन

गएको भदौ २१ गते बिहान। वीरगञ्ज छपकैयास्थित घरबाट विद्यालयका लागि हिँडेकी थिइन्, मुस्कान। केही पर गणेशमान चोकमा पुग्दा दुईजना केटा हातमा जग लिएर उभिएका थिए। उनीहरुले मुस्कानलाई जिस्क्याए, “मुस्कान, पानी खानी हो? लौ।”

मुस्कानले खान्न भनेर अलिक अगाडि के बढेकी थिइन्, ‘छपाक !’ मुस्कानको अनुहारमा एसिड छ्यापेछन्, केटाहरुले। उनी सडकमै लडिन्।

देख्नेले उनलाई नजिकैको नारायणी अस्पताल पुर्‍याए। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याइयो। त्यसयता मुस्कान फर्केर घर जान पाएकी छैनन्।

घर, साथी, विद्यालय, शिक्षक सबैको सम्झना आउँछ। उडेरै पुगौं जस्तो हुन्छ। तर, त्यो दिनको सम्झनाले फेरि निराश बनाउँछ। अनि भन्छिन्– “अब कहिल्यै जान्न कि।”

१५ वर्षअघि काठमाडौंमा जन्मिएकी हुन् मुस्कान। चार वर्षअघिसम्म रसुल डल्लुमा जिन्स कपडाको व्यापार गर्थे। सहनाज छोराछोरी स्याहार्थिन्।

तर, वैशाख २०७२ को महाभूकम्पले सबै भताभुंग बनाइदियो । व्यापार गर्दै आएको ठाउँ भत्किएपछि रसुल परिवारसहित वीरगञ्ज फर्किए।

पुख्र्यौली थलो भए पनि काठमाडौंमा जन्मे–हुर्केकी मुस्कानका लागि वीरगञ्ज नयाँ थियो। नयाँ अनुहार देखेर गाउँकै केटाहरु मुस्कानलाई जिस्क्याउन थाले।

सुरुमा त यो कुरा आमा–छोरीमै सीमित रह्यो । तर, असह्य हुन थालेपछि उनीहरुले केटाको हर्कतबारे रसुललाई सुनाए। रसुलले ती केटाहरुलाई सम्झाए। केटाहरुले माफी पनि मागे। घटना यतिमै सकियो जस्तो लागेको थियो। तर, झन् ठूलो विपत् आउनु रहेछ।

घटनाको ५ महिना पुग्नै लाग्दा अलिक हिम्मत बटुलेकी छन् मुस्कानले। दैनिकजसो उनलाई भेट्न कोही न कोही पुगेकै हुन्छ। अस्पतालमा हुँदा पनि उनलाई हौसला दिन सर्वसाधारणदेखि सेलिब्रेटीसम्म पुगेका थिए।

बलिउड कलाकारहरु अमिताभ बच्चन र डेभिड धवनले भिडियो सन्देश पठाए। “अब खुसी देखिने प्रयास गर्न थालेकी छ,” रसुल भन्छन्, “कहिलेकाहीँ हाँस्छे, छोरी अब बुझ्ने भइछ क्यारे!” तर, कोठामा एक्लै हुँदा अझै पनि मुस्कान रुने गरेको उनले सुनाए।

“पहिले ऐना हेर्नै सक्दिनथें, नकारात्मक सोचमात्रै आउँथ्यो । अब अलि स्ट्रङ भएकी छु । सकारात्मक सोच आउन थालेको छ,” मुस्कान भन्छिन्।

मुस्कानको कोठामा गुडिया सजिएका छन्, शुभेच्छुकका सन्देशहरु भित्तामा टाँसिएका छन्। कोठाको कुनामा रहेको र्‍याकमा ‘आई एम मलाला’ ‘चुली’ ‘जीवन काँडा कि फूल’ लगायतका पुस्तकहरु छन्।

“किताबले मलाई संघर्षका लागि आँट दिन्छ,” मुस्कानले भनिन्, “कुनै राम्रो किताब पढिसकें भने ऐना अगाडि उभिएर भन्छु, मेरो सोचलाई कसैले जलाउन सक्दैन।”

म समाज र देशका लागि पनि केही गरेरै छोड्छु।

आजीवन कारावास

गत साता ‘छपाक’ हेरेर आएपछि मुस्कान निकै बेर घोत्लिइन् । भन्छिन्, “यति ठूलो पीडा दिनेलाई जम्मा १० वर्षको जेल सजाय कम भएन र? अनुहारसँगै मन जलाएर बाँच्नुपर्दाको पीडा कसले बुझ्छ?”

पीडकलाई आजीवन कारावासको सजाय दिने गरी कानुन संशोधन हुनुपर्ने उनको माग छ। भन्छिन, “कति कमजोर कानुन! केही वर्ष जेल बसेर अपराधी निस्कन्छ अनि पीडितचाहिँ सधैं मुख छोपेर हिँड्नुपर्ने?”

उनी एसिडको खुलेआम बिक्री बन्द गरिनुपर्ने बताउँछिन्।

मुलुकी फौजदारी संहितामा ‘कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरूप पार्ने काम गरे ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिबाना हुने’ उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्