शुक्रबार, वैशाख १४, २०८१

धितोपत्र बोर्डमा को बन्ला अबको अध्यक्ष ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- यही कात्तिक १ गतेदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली भएको छ।

तत्कालीन अध्यक्ष डा. रेवत बहादुर कार्कीको चारवर्षे समयावधि सकिएपछि अबको अध्यक्ष को हुने भन्नेतर्फ लगानीकर्ताहरुको चासो बढ्न थालेको छ। 

पछिल्लो समयमा सेयर बजारमा जारी गिरावटका कारण पनि धितोपत्र बोर्डको अध्यक्ष को आउने र उसले कस्तो नीति अख्तियार गर्ने ? भन्ने विषयले ठूलो महत्व राख्नेछ। 

नेपाल धितोपत्र बोर्डले अख्तियार गर्ने नीतिले सेयर बजारलाई प्रत्यक्ष असर पार्दछ। सेयर बजार विदेशी लगानीकर्ताहरुको लागि ऐना भएको मान्यता लगानीकर्ताहरुले राख्दै आएका छन्। 

गत असोज २९ गते तत्कालीन अध्यक्ष कार्कीको ४ वर्षे कार्यकाल पुरा भएको छ। उनी असोज १६ देखि नै विदामा बसेका छन्। तर सरकारले अहिलेसम्म बोर्डको अध्यक्ष नियुक्त गरेको छैन। 

बोर्डको अध्यक्ष अर्थमन्त्रालयद्वारा गठित समितिले नियुक्त गर्नेछ। जसमा राष्ट्रिय योजना आयोगको सदस्य, अर्थसचिव र धितोपत्र बजारको विषयमा जानकार व्यक्ति रहेको तीन सदस्यीय समिति रहने व्यवस्था छ। समितिले सिफारिस गरेको व्यक्तिबाट मन्त्रिपरिषदले अध्यक्षको टुंगो लगाउने व्यवस्था छ।

बोर्डमा राजनीतिक नियुक्ति हुने गरेको छ। जुन पार्टी सत्तामा छ सोही पार्टीको नीतिहरु सेयर बजारमा कार्यान्वयनका लागि सो पार्टीले आफू निकट अर्थविद्लाई चार वर्षको लागि बोर्डमा नियुक्त गर्ने गरेको छ।

त्यसैले यो सरकारले पनि आफू निकट मानिसलाई नै बोर्डको अध्यक्ष बनाउने पक्का छ। बोर्डको अध्यक्ष बन्न अहिले तीन जनाको नाम चर्चामा छ। जसमा नेपाल राष्ट्र बैंकबाट अवकासप्राप्त दुई जना भीष्मराज ढुंगाना र नेपाल बैंकका हालका अध्यक्ष बासुदेव अधिकारीको नाम चर्चामा रहेको छ। त्यस्तै नेप्सेका पूर्व अध्यक्ष टंक पनेरु पनि अध्यक्षको दौडमा लागि परेका छन्। 

बोर्डमा अध्यक्ष बनाउने योजनाका साथ अर्थ मन्त्रालयले गत भदौमा मात्र बोर्डको विज्ञ सदस्यको रुपमा भीष्मराज ढुङगानालाई नियुक्त गरेको थियो। ढुंगानाले राष्ट्र बैकमा बहालवाला हुँदाको समयमा नै बोर्डको अध्यक्षको लागि दौडधुप गरेका थिए।

उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छ। यसर्थ उनको सम्भावना रहेको छ। तर ढुंगानालाई विज्ञ सञ्चालकमा सिमित गराएर अध्यक्षको लागि आफू निकट व्यक्ति ल्याउने दाउमा अर्थमन्त्री युवराज खतिवडा लागेको चर्चा पनि चलेको छ। 

नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा आफूलाई सहयोग गरेका बासुदेव अधिकारीलाई अध्यक्षमा लैजाने सोच अर्थमन्त्रीको रहेको छ। 

त्यस्तै नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष टंक पनेरु पनि बोर्डको अध्यक्षका लागि दाबेदार हुन्। उनी प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री खतिवडाको जिल्लाबासी मात्र नभएर सेयर बजारका राम्रा विज्ञ पनि भएकोले उनको सम्भावना पनि बलियो देखिएको अर्थमन्त्री निकट स्रोतले जनाएको छ।

बोर्डको अध्यक्षका लागि बोर्डकै कर्मचारीहरुको नाम पनि बेला बेलामा आइरहेको छ। जसमा कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल र निरज गिरीको नाम चर्चामा छ। तर अहिलेसम्म कुनै पनि संस्थानमा सरकारले कर्मचारीबाट छानेर अध्यक्ष नबनाएको हुँदा उनीहरुको सम्भावना न्युन देखिन्छ।

यसैबीच लगानीकर्ताहरुले भने सेयरबजार सम्बन्धी विज्ञलाई नै बोर्डको अध्यक्ष नियुक्त गरिनुपर्ने माग सरकारसँग राख्दै आइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्