मंगलबार, असार २३, २०७७

समाचार
1579012501Maghi.jpg

बाँके– “माघी लइली सिखार खेली
सखिय हो, माघकी पिलीगुडी जाँड...”

पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को उल्लासमय वातावरण उनीहरूको घरआँगन तथा गाउँबस्तीमा छाएको छ।

आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङलगायत २४ जिल्लामा थारुहरूको घर–आँगनमा ‘माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड...’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ।

यो गीत थारू फिल्म कमैयाको हो। यो थारु लोकभाका पनि हो। माघी पर्वमा विशेषगरी पाहुनाले खाने रक्सी र बंगुरको मासु हो। जति मीठो बनायो, उति पाहुना खुसी हुन्छन्। माघीमा बंगुरको मासु, दारु, तरुल, ढिक्री, घुंगी, गन्जी (सखरखण्ड) थारू समुदायको विशेष परिकार हो । माघीमा रक्सी नखाए देउता रिसाउने कथन छ। बच्चादेखि बुढाबुढीले समेत चाख्नैपर्ने थारु अगुवाको भनाइ छ।

विधिवत् रूपमा पुस २९ गतेबाट सुरु हुने यो पर्वको तयारी थारु बस्तीमा सुरु भइसकेको छ। माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गर्छन्। पर्वका अवसरमा थारू समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्छन्।

माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ। त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन्। माघे संक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफू भन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ। माघीको अवसरमा विवाहित छोरी चेलीलाई (निश्राउ) चामल, नुन, तेल, बेसार लगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ। जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ।

थारू समुदायमा यो पर्वमा विषेश गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्त्व दिने गर्छन्। थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ। यो प्रक्रिया माघ महिना भर चल्ने भए पनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ।

कामको सिलसिलामा युवाहरुले गाउँ छोड्नु पर्ने बाध्यताका कारण यो पर्व दुई–चार दिनमै सीमित हुने गरेको बताइएको छ। थारू समुदायमा माघी पर्व र नयाँ वर्षलाई मनाउने शैली फेरिन थालेको छ। माघी सुरु भएदेखि १०/१५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रर्दशनी गर्ने परम्पराभन्दा अहिले रमाइलो मेलाका माध्यमबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ।

मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ। यस वर्ष पनि बर्दियाका विभिन्न स्थानमा माघीलाई लक्षित गरी महोत्सव र रमाइलो मेला आयोजना गरिएका छन्। मेलामा युवाको आकर्षण समेत राम्रो देखिन्छ।

नयाँ वर्ष र माघी पर्वलाई विशेषरूपमा मनाएको दोस्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ। त्यसदिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ। जसलाई भलमन्सा र गुरुवा भनिन्छ। उनीहरुले गाउँको रक्षा गर्ने, अपठ्याारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका काम गर्छन्। भलमन्सालाई नेतृत्वका रुपमा लिइन्छ भने गुरुवालाई पुजारीका रूपमा लिइन्छ।

यति मात्र हैन, राजनीतिमा पनि उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। निर्वाचनका क्रममा थारू समुदायका भलमन्सा र गुरुवाले दिने निर्णय नै आधिकारिक हुने भएका कारण सवै दलले गुरुवा र भलमन्सालाई विशेषरूपमा हेर्ने गरेका हुन्छन्।

आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण र संवद्र्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन्।

माघ वा माघे संक्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनिय विषय छ। थारुहरुले प्रयोग गर्ने मैलिक शब्द नेपालीकरण गरेको यो पहिलो पटक होइन । थारुहरूको मौलिक शब्दका गाउँका नाम परिवर्तन गरिने पुरानै परिपाटी छ। जस्तो थारूगाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनु जस्ता थुप्रै उदाहरण छन्। त्यस्तै थारूहरूको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो।

त्यसकै निरन्तरता हो, माघलाई माघी बनाइनु। थारुका ठेट र मौलिक शब्द परिवर्तित हुँदै जानु थारु भाषामाथिको प्रहार हो। हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो। तर, यी शब्द केवल शब्द मात्र होइनन्। यी शब्द थारूका पहिचानसँग जोडिएका विषय हुन्। यी शब्दसँग थारूको इतिहास जोडिएको छ।

थारू मात्रै किन सबै भाषाका आफ्नै मौलिक र ठेट शब्द र त्यसको उच्चारण हुन्छ, सबैको आफ्नै महत्त्व, आफ्नै पहिचान र इतिहास हुन्छ। कसैको पनि पहिचान र इतिहास मेटाउनभन्दा त्यसको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ।

रासस

प्रतिक्रिया दिनुहोस्