मंगलबार, माघ ७, २०७६

समाचार समाज

अन्तरजातीय प्रेमले सडकको बास, अरुलाई सिकाउँदा आफैंलाई डिप्रेसन

अन्तरजातीय प्रेमले सडकको बास, अरुलाई सिकाउँदा आफैंलाई डिप्रेसन

रातको साढे आठ बजिसकेको थियोे। पुसको छोटा दिन, काठमाडौंको सडक क्रमशः सुनसान हुँदै थिए। बौद्ध–जोरपाटी सडक खण्डमा पनि  चहलपहल थिएन। खुलेका एकादुई पसलहरु पनि बन्द हुने तरखरमा थिए।

त्यहीबेला एक महिला चाउचाउ किन्न पुगिन्। आधा शरीर ढाक्ने कपडा, महिनौंदेखि नकोरिएको कपाल, खुट्टामा थोत्रा चप्पल, फुस्रो अनुहार र मयलले कटकटिएका हातगोडा। चाउचाउ किनेर खान मात्र लागेकी थिइन्, उनलाई केही मान्छेहरुले घेरे। उनी भाग्न खोजिन् तर उनको प्रयास असफल भयो।

रक्सीको नसामा लट्ठ परेकी उनी कसैको परवाह नगरी सडकमै सुत्न खोजिन्। उनीसँग ती मानिसले केही कुरा गरे र गाडीमा हालेर बालाजुको एक घरमा पुर्‍याए। उनलाई आफू कहाँ आएँ, किन आएँ, कुनै हेक्का थिएन।

चन्द्रनिगाहपुरकी जया ठकुरीको सडकसँग माया बसिसकेको थियो। सडकको फोहोर, कुकुर, धुलोधुँवासँग उनी बानी परिसकेकी थिइन्। मानिसहरु उनीसँग रुखो व्यवहार गर्थे, अश्लील बोल्थे। उनी त्यसमा पनि बानी परिसकेकी थिइन्। कहिलेकाहीँ असुरक्षित महसुस हुँदा प्रहरी चौकी वरपर बस्थिन्। उनलाई सडक छोड्न निकै गाह्रो भयो। 

कसरी पुगिन् सडकमा ?

जया त्यतिबेला बीए पढ्दै थिइन् काठमाडौंको एक कलेजमा। त्यहीबेला उनी तामाङ थरका एक व्यक्तिको प्रेममा परिन्। त्यसपछि उनलाई आफू संसारकै खुसी मानिस जस्तो महसुस हुन थाल्यो। कलेजको लागि सबेरै घरबाट निस्कनु, कलेज सकिएपछि प्रेमीलाई भेटेर घर फर्कनु उनको दैनिकी बनेको थियो। सुनौलो भविष्यका योजनाहरु बनाउँथे उनीहरु।

बीएको रिजल्ट नआउँदासम्म उनले प्रेमीको बारेमा घरमा कुरा गरेकी थिइनन्। बिहेको कुरा चल्न थालेपछि भने भन्नैपर्ने भयो। जया ठकुरीकी छोरी तर उनका प्रेमी तामाङ। घरमा स्वीकार्य नहुने भयो अन्तरजातीय विवाह।

उनका सपना चकनाचुर भए। कसैसँग बोल्न सकिनन्। एक्कासि घरबाट निस्केर दुई खिल्ली चुरोट सिध्याइन्। त्यो उनको पहिलो चुरोट सेवन थियो। जया विस्तारै डिप्रेसनको शिकार बन्दै गइन्। केही समयपछि जया र उनका प्रेमीले भागेर बिहे गर्ने निर्णय गरे र सँगै बस्न थाले। तर, प्रेमीसँग बस्न थालेपछि उनलाई घरको यादले निकै सताउन थाल्यो। ४–५ महिनापछि परिवारलाई भेट्न गइन्। परिवारमा बस्न थालेपछि डिप्रेसन पनि कम हुन थाल्यो।

त्यतिबेलासम्म जया मास्टर्स पढ्न थालिसकेकी थिइन्। घर गएपछि परिवारले पतिकहाँ जान दिएन। उनी पुनः डिप्रेसनमा गइन्। रक्सी र चुरोट सहारा बन्न थाल्यो। उनलाई परिवारले सुधार गृहमा राख्यो। पतिले उनको अवस्थाबारे कुनै चासो दिएनन्। भेट्न पनि आएनन्।

सुधार गृहमा बसेपछि सुधार आउन थाल्यो। विभिन्न स्कुलहरुमा गएर डिप्रेसनको विषयमा पढाउन पनि थालिन्। तर, बच्चाहरुलाई डिप्रेसनबारे पढाइरहँदा आफैं डिप्रेसनमा परेको भने पत्तो पाइनन्।

एकदिन स्कुलको तलब लिएर उनी भागिन्। तलबले केहीदिन होटलमा बसिन्।  पैसा सकिएपछि सोझै सडकमा। चुरोट, रक्सी, सडकका मानिसहरु, कुकुर, फोहोरमैला उनको साथी बने। दिनभरी माग्ने, खाने, अनि रात परेपछि सडकमै सुत्ने।

सडक पेटीमै बसेका बेला पुस पहिलो साता मानव सेवा आश्रमको टोलीले जयालाई भेट्टायो र बालाजुको स्क्रिनिङ सेन्टरमा पुर्‍यायो। उनको सरसफाइ, औषधि उपचार गरियो। अहिले जयाले नियमित औषधि सेवन गरिरहेकी छिन्। डिप्रेसन कम हुँदै गएको छ। उनले नयाँ जीवन पाएकी छन्। विगत सम्झिँदा उदासीले घेर्छ तर भाग्यको खेल भनेर चित्त बुझाउँछिन्।

उनले आफ्नो सडक अनुभव सुनाइन, सडकमा छोरीमान्छेले भोग्नुपर्ने पीडा बयान गरेरै साध्य छैन। मान्छेकै शिकार हुनुपर्ने ! हेर्दा राम्रो, भलादमी देखिने पुरुष पनि सडकमा महिलालाई देख्दा गिद्दे नजर लगाउन छोड्दैनन्।"

अब परिवारमा फर्किने मन छैन जयालाई। पतिको पनि माया लाग्दैन। भन्छिन्, ‘मेरो लागि परिवार नै यही आश्रम हो अब। बूढी आमाको याद त धेरै आउँछ तर घर फर्कें भने फेरि डिप्रेसनमा जान्छु होला। अनि फेरि सडककै बास।’

 

प्रतिक्रिया दिनुहोस्